बर्दियामा पाँच गुणाले बढ्याे बाघकाे संख्या
बर्दियासँगै भारतको सत्यमंगलम टाइगर रिजर्भलाई ‘टिएक्सटु’ पुरस्कार
काठमाडौँ : नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले सन् २०१० देखि हालसम्ममा बाघको संख्या दोब्बर पुर्याएकाले यस वर्षको ‘टिएक्सटु’ पुरस्कार जितेका छन्। यसैगरी, ‘बाघ संरक्षण उत्कृष्टता’को दोस्रो पुरस्कार नेपाल र भारतबीच बाघहरूका लागि अन्तरदेशीय जैविक मार्ग प्रदान गर्ने नेपालको खाता वन संरक्षण क्षेत्रलाई प्रदान गरिने छ ।
पुरस्कारहरू सन् २०२२ लाई बाघको वर्षका रुपमा मनाउने पूर्वसन्ध्यामा प्रदान गरिएको हो । आगामी भाद्र महिनामा बाघको संख्या दोब्बर बनाउने ‘टिएक्सटु’ जस्तो महत्वाकांक्षी लक्ष्यको प्रगतिको मूल्याङ्कन गर्न बाघ पाइने राष्ट्रका प्रतिनिधिहरु भ्लादिभोस्तोकमा दोस्रो ‘ग्लोबल टाइगर समिट’मा भेला हुनेछन् । उक्त सम्मेलनमा आगामी १२ वर्षका लागि बाघ संरक्षणका लागि प्राथमिकताहरूको पनि पहिचान गरिनेछ ।
अवार्ड विजेता बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या सन् २००९ मा २० भन्दा कम रहेकोमा सन् २०१८ मा झण्डै पाँच गुणाले बृद्धि भई ९० पुगेको छ । विश्वको सबैभन्दा बढी जनघनत्व भएको बर्दियामा हासिल यो एक आश्चर्यजनक उपलब्धि हो।
सन् २०१३ मा बाघ आरक्ष बनाइएको सत्यमंगलममा सन् २०११ मा मात्र २५ वटा बाघहरु रहेका थिए । तर हाल उक्त क्षेत्रमा करिब ८० वटा बाघहरु रहेका छन्। पश्चिमी जैविक विविधता हटस्पटमा अवस्थित सत्यमंगलम टाइगर रिजर्व अन्य दुई संरक्षित क्षेत्रहरूसँग जोडिएको छ । यहाँ विश्वको सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा ठूलो बाघको संख्या रहेको छ ।
अन्तरदेशीय जैविक मार्गका रुपमा रहेको खाता जैविक मार्गलाई बाघ संरक्षण उत्कृष्टताको लागि पुरस्कार प्रदान गरिएको छ । २०२ वर्ग किलोमिटर क्षेत्रफल ढाकेका ७४ वटा सामुदायिक वनहरूको सञ्जाल सहित यस क्षेत्रमा सञ्चालन गरिएका समुदायमा आधारित संरक्षण प्रयासहरूले नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु आरक्षबीच बाघहरूका लागि सुरक्षित मार्ग प्रदान गरेका छन् । पछिल्ला पाँच वर्षमा ४६ वटा बाघहरू सहित एसियाली हात्ती र एकसिङ्गे गैँडालगायत अन्य संकटापन्न स्तनधारी प्रजातिहरुले यस जैविक मार्ग प्रयोग गरेको पाइएको छ ।
पुरस्कार कन्जर्भेसन एस्युर्ड टाइगर स्ट्यान्डर्ड्स, फौना एण्ड फ्लोरा इन्टरनेशनल, ग्लोबल टाइगर फोरम, आइयुसिएनको एकीकृत बाघ आवास संरक्षण कार्यक्रम, प्यान्थेरा, युएनडिपी, द लायन्स शेयर, वाइल्डलाइफ कन्जर्भेसन सोसाइटी र डब्लुडब्लुएफद्वारा प्रदान गरिन्छ।
डब्लुडब्लुएफको ‘टाइगर्स अलाइभ इनिसिएटिभ’का प्रमुख स्टुअर्ट च्यापम्यानले भने, ‘सन् २०१० मा गरिएका प्रतिबद्धताहरूले बाघ संरक्षणमा दीर्घकालीन प्रतिबद्धताहरू मार्फत के हासिल गर्न सकिन्छ भनेर प्रस्ट पारेका छन् । यी असाधारण नतिजाहरू स्थलगत टोली, संरक्षण साझेदारहरू र बाघहरूसँगै बस्ने समुदायहरूका समर्पणक कारण हासिल भएका हुन् ।’
एकीकृत बाघ आवास कार्यक्रम, आइयुसिएनका संयोजक सुगोतो रोयले भने, ‘सफल बाघ संरक्षणका लागि भूपरिधिस्तरमा बाघको बासस्थानको निरन्तर व्यवस्थापन र सुधार, बाघ र तिनीहरूको आहारा प्रजातिको निरन्तर अनुगमन र स्थानीय समुदायहरूसँग व्यापक रूपमा काम गर्नु आवश्यक हुन्छ । यी सबै मापदण्डहरू हामीलाई विश्वव्यापी महत्त्वपूर्ण परिणामहरू दिँदै उत्कृष्टताका साथ पूरा भएका छन् ।’
यस्तै वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीका बाघ कार्यक्रम संयोजक डेल मिकेलले भने, ‘यी तीनवटा क्षेत्रहरूले प्रदान गरेका नतिजाहरूले सरकारी निकायहरू, गैर(सरकारी निकायहरू र स्थानीय समुदायहरूले बाघ र मानिसहरू दुबैका लागि राम्रो भविष्य सिर्जना गर्न विज्ञानमा आधारित कार्यक्रमहरु सञ्चालन गर्दा बाघ संरक्षणमा कस्तो सफलता पाइन्छ भनेर देखाउँछन्। वाइल्डलाइफ कन्जर्भेसन सोसाइटी यी देशहरू र स्थानीय समुदायहरूलाई उनीहरूको उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि बधाई दिन्छ।’
मिडोरी प्याक्सटन, प्रमुख ( इकोसिस्टम र बायोडाइभर्सिटी, युएनडिपीले भने, ‘पुरस्कार(विजेता आरक्षहरू आशाका किरणका रूपमा आएका छन् । द्रुत गतिमा बढ्दै गइरहेका अर्थव्यवस्थाहरूमाझ पनि बाघ संरक्षण सम्भव छ र बाघहरू मानिसहरु सँगै रहन सक्छन् भन्ने देखाउँदछन् । अर्को ग्लोबल टाइगर समिट र बाघ संरक्षणका नयाँ लक्ष्यहरू तय गर्ने क्रममा हामीलाई यी प्रेरणाहरु अवश्य चाहिन्छ।’
‘टिएक्सटु’ लक्ष्य एउटै प्रजातिका लागि अहिलेसम्म तय गरिएको सबैभन्दा महत्वाकांक्षी संरक्षण लक्ष्यहरू मध्ये एक हो र भ्लादिभोस्तोकमा दोस्रो ग्लोबल टाइगर समिट, सेप्टेम्बर २०२२ ले उनीहरूको भविष्य सुरक्षित गर्न नयाँ दृष्टिकोण तय गर्ने अवसर प्रदान गर्दछ।
एक शताब्दी अघि बाघको संख्या करिब १,००,००० रहकोमा तर २०१० मा ३,२०० सम्म आइपुगेको थियो । सन् २०१६ मा बाघ पाइने देशहरूको अनुमानको आधारमा तिनीहरूको संख्या बिस्तारै करिब ३,९०० पुगेको पाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया