यो हो नेपालगञ्जदेखि ठाकुरद्वारासम्मको साइकल रूट
बर्दिया : बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको साइकल रूट नक्सा सार्वजनिक गरिएको छ । ठाकुरद्वारामा नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीले नेपालगञ्जदेखि ठाकुरद्वारासम्मको साइकल रूटसहितको नक्सा सार्वजनिक गरेका हुन् ।
यसले अब साइकल यात्रा गरेर बाँके र बर्दिया घुम्न चाहने पर्यटकका लागि प्रत्यक्ष सहज हुनेछ । शुक्रबार नेपालगञ्जदेखि ठाकुरद्वारासम्म झण्डै दुई सय जनाले साइकल यात्रा गरेपछि शनिबार साइकल रूट सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको साइकल रूटको नक्सा नेपाल पर्यटन बोर्डको वेबसाइटमा समेत राखिएको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए । सिग्देलका अनुसार साइकल यात्रा गर्दा पर्यटक नझुक्कियोस भन्नका लागि साइकल रूटको नक्सा सार्वजनिक गरिएको हो ।
कुन रूटमा कुन पर्यटकीय स्थल ?
नेपालगञ्जदेखि ठाकुरद्वारासम्मको साइकल रूट ८५ किलोमीटरको छ । नेपालगञ्जदेखि बर्दियाको राजापुर, गुलरिया, ओरालीबजार हुँदै ठाकुरद्वारासम्म पुग्न सकिन्छ । ठाकुरद्वारा पुगेर बर्दिया राष्ट्रिय निकुञ्ज घुमेर नेवालपुर, बाँसगढी हुँदै कोहलपुर पुग्न सकिन्छ ।
नेपालगञ्जदेखि साइकल यात्रा गर्दा मुख्यतया केही पर्यटकीय क्षेत्रको भ्रमण गर्न सकिन्छ । नेपालगञ्जदेखि गुलरिया आउँदा बाटोमा बढैयाताल देख्न सकिन्छ । बाँके र बर्दियाको प्रमुख माछा उत्पादन तथा निर्यात गर्ने महत्वपूर्ण ठाउँ बढैयाताल हो ।
जहाँ माछापालन खेती फस्टाएको छ । बढैयातालमा अहिले भ्युटावर निर्माण गरिएको छ । जहाँबाट बाँके र बर्दियालाई पनि अवलोकन गर्न सकिन्छ । बढैयाताल घुमेर साइकलमै गुलरिया पुग्न सकिन्छ । गुलरिया पुगेर थोरै अगाडि बढेपछि कृष्णसार संरक्षण क्षेत्र पुगिन्छ ।
जहाँ संरक्षण गरिएका कृष्णसार हेर्न सकिन्छ । कृष्णसार संरक्षण क्षेत्रपछि केही अगाडी बढेमा ओराली बजार पुगिन्छ । ओराली बजारबाट केही नजिकै रहेको नेपालकै लामो कर्णाली नदीमाथिको गेरुवा पुल हेर्न सकिन्छ । यस पुललाई कोठियाघाट पुल पनि भनिन्छ ।
यो पुलको लम्बाई एक किलोमीटर छ । कर्णाली र कोठियाघाट नदीमाथि यो पुल निर्माण गरिएको छ । पछिल्लो समय यो पुल हेर्ने आन्तरिक पर्यटक बढ्दै गएका छन् । दिउँसो तथा बेलूकीको समयमा यो पुलमा सेल्फी हान्नेको भीड लाग्ने गरेको छ ।
त्यसपछि कच्ची बाटो हुँदै ओरालीबजार भएर ठाकुरद्वारा पुग्न सकिन्छ । ठाकुरद्वारा बर्दिया राष्ट्रिय निकुञ्जको केन्द्र हो । जहाँ घरपालुवा हात्ती छन् । जंगल सफारी गर्न पाइन्छ । जंगल सफारीका क्रममा पाटेबाघ, हात्ती, गैँडा, कृष्णसारदेखि धेरै वन्यजन्तु हेर्न पाइन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया