पर्यटन

पश्‍चिम नेपालको पर्यटन विकास

यसरी बन्यो नेपालगञ्‍ज-पोखरा उडानको ‘सरप्राइज’ योजना

विष्णु विश्‍वकर्मा |
फागुन ९, २०७७ आइतबार १०:५४ बजे

काठमाडौँ : विश्‍वमा सबैभन्दा बढी प्रचार भएको नेपालको सस्तो पर्यटकीय गन्तव्यका रूपमा पोखरा परिचित छ । तर त्यही पोखरा पश्‍चिम नेपालका लागि सबैभन्दा महंगो र झन्झटिलो गन्तव्य हो । कर्णाली र सुदुरपश्‍चिमबाट बरु काठमाडौँ आउन सहज छ । तर पोखरा पुग्‍न महाभारत हुन्छ ।

जुन कुरा बर्षौसम्म न राज्यले सुन्यो । न त कुनै वायु सेवा कम्पनीले बुझ्न आवश्यक ठाने । सिधा हवाई उडान नहुँदा बुटवल वा मुग्लिन हुँदै पोखरा पुग्‍नुपर्ने सकसपूर्ण यात्रा पर्यटकका लागि झन्झटिलो थियो ।


नेपालगञ्‍ज, सुर्खेत, धनगढीका पर्यटन व्यवसायी यसबाट जति निराश थिए, त्यति चिन्तित पनि । आन्तरिक पर्यटक पोखरा पुग्‍नका लागि उही घुमाउरो घण्टौ पैदल यात्राको घनचक्करमा थिए । 

वर्षायाममा झन् हिलाम्मे बाटो र ठाउँ ठाउँमा पहिरो जाने भएकाले पनि पोखरा पश्‍चिम नेपालका लागि रहरसँगै सकसको गन्तव्य थियो । तर अब कर्णाली र सुदुरपश्‍चिमका लागि पनि सजिलो हुने गरी नेपालगञ्ज-पोखरा सिधा उडान सुरु भएको छ ।

शुक्रबार नेपालगञ्‍ज-पोखरा उडानमा ब्रेकथ्रु भएसँगै अब फागुन महिनाभर पश्‍चिम नेपालका पर्यटक विश्वकै परिचित नेपालको सस्तो पर्यटकीय गन्तव्यमा सजिलै घुमघाम गर्न पाउनेछन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलको ‘पायोनियर’ योजनामा नेपालगञ्‍ज-पोखरा उडानमा ब्रेकथ्रु भएको हो । 

माघको अन्तिम हप्ता बाँके र बर्दियाका सबै पर्यटकीय क्षेत्र घुमाएर ऐतिहासिक अभियान चलाएका सिग्देलले पश्‍चिम नेपालका पर्यटकलाई पोखरा पुर्‍याउने अर्को योजनालाई मूर्त रुपमा दिएका हुन् । जसलाई नाट्टा कास्की, गण्डकी च्याप्टर र सीता एयरले कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका खेले । 

यसरी बन्यो ‘सरप्राइज’ योजना 

कोभिड १९ को महामारीपछि बर्दियाको ठाकुरद्वारा मा पहिलोपटक तीन दिनसम्म पर्यटकको चहलपहल भयो । बाँकेबाट साइकल यात्रा गरेर ठाकुरद्वारा पुगेका आन्तरिक पर्यटकले कोभिडपछि बाँके र बर्दियाको पर्यटनलाई चलायमान बनाए ।

जसको आयोजना नाट्टा बाँके च्याप्टरले गरेको थियो । यसका लागि नाट्टा बाँकेले कृष्णप्रसाद भट्टराई नेतृत्वको पर्या–पर्यटन प्रवर्द्धन मञ्चसँग सहकार्य गरेको थियो । नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको तीन दिने कार्यक्रमले सातै प्रदेशका ४० भन्दा बढी जिल्लाका पर्यटन व्यवसायीसँग प्रत्यक्ष अन्तरक्रिया गरेर पश्‍चिम नेपालको पर्यटन विकासलाई नयाँ गतिमा अगाडि बढाउने योजना बुन्यो ।

‘टुर दी ठाकुरद्वारा ’ अभियान सकेर नेपालगञ्‍ज फर्केका पर्यटन व्यवसायी अब के गर्ने ? भन्ने विषयमा सोचमग्न थिए । यही सोचमा डुबेका नाट्टा बाँकेका अध्यक्ष सिग्देलले नयाँ योजना अघि सारे । त्यो थियो, नेपालगञ्‍ज-पोखरा सिधा उडान गर्ने । 

यसका लागि थप परामर्श गर्न उनले सीता एयरका म्यानेजर र नेपालगञ्‍जका पत्रकार झलक गैह्रेलाई बोलाए । जसले पर्यटन विकासलाई प्राथमिकता राख्दै आएका छन् । आफ्नै अर्गानिक स्वादको खाना पाइने ‘कोल्टे’मा तीन जनाबीच दुई घण्टा गर्मागर्मी बहस चल्यो । पोखरा उडान कहिले थाल्ने ? कसरी थाल्ने ? त्यो पनि एक दुई वा हप्ता दिनभित्रै । यो माघ २७ गतेको कुरा हो ।

झण्डै तीन घण्टा लामो छलफलपछि निचोड आयो, नेपालगञ्‍ज-पोखरा चार्टर्ड उडान गर्ने । १८ सिटे जहाज पोखरा उडाउन बाँकेका पर्यटन व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गर्ने । 

सिग्देलको योजनालाई सीता एयरका म्यानेजर र पत्रकार गैह्रेले प्रोत्साहन दिए । नेपालगञ्‍जबाट पोखरा उड्ने १८ जनाको सूची तयार भए एक दुई दिनमै पोखरा जहाज लैजाने सीता एयरका म्यानेजरले बताए ।

त्यसपछि नाट्टा बाँकेका अध्यक्ष सिग्देलले अरु पर्यटन व्यवसायी र स्थानीय तहका मेयर, अध्यक्ष तथा वडाध्यक्षसँग परामर्श थाले । सबैले सिग्देलको ‘सरप्राइज’ योजनामा सही थपे । जसलाई नेपालगञ्जको पर्यटन उकास्ने व्यवसायीको संस्था पर्यटन प्रवर्द्धन मञ्चले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनायो । कर्णाली र सुदुरपश्चिमको पर्यटन विकासका लागि नेपालगञ्जलाई ट्रान्जिट बनाउने योजनामा लागिरहेका मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ नेपालगञ्ज-पोखरा सिधा उडानलाई पहिलो प्राथमिकता दिन अघि सरे । 

तीन जनाबीच बन्द कोठामा तयार भएको योजनाले एककान, दुईकान मैदान हुँदै नेपालगञ्‍जभरी चर्चा बटुल्यो । यता पोखराका पर्यटन व्यवसायीलाई पनि यसले नयाँ ऊर्जा दियो । सबैले सिग्देलको सरप्राइज योजनामा आफ्नो भूमिकाको हिस्सा लिए । योजना सफल बनाउन हातमा हात मिलाए ।

जुन योजनाले प्रजातन्त्र दिवसको दिन मुर्त रुप पायो । पोखराबाट पहिलोपटक पर्यटन व्यवसायी बोकेको सीता एयरको जहाज शुक्रबार नेपालगञ्‍जको राँझा विमानस्थलमा अवतरण भएपछि पर्यटकका लागि ‘नेपालगञ्‍ज-पोखरा’ उडानमा ब्रेकथ्रु भयो । त्यसको भोलिपल्ट नेपालगञ्‍जका पर्यटन व्यवसायी बोकेर जहाज पोखरा ल्याण्ड भयो । बिहानै नेपालगञ्‍जका आन्तरिक पर्यटकले ३० मिनेटमै पोखरा पुगेर  लोभलाग्दो दृश्य हेर्न पाए ।

सिग्देल लगायत नेपालगञ्‍ज र पोखराका पर्यटन व्यवसायीले चलाएको यो अभियानलाई सफल पार्न नेपालगञ्‍ज उपमहारनगरपालिका र पोखरा महानगरपालिका ‘ब्याक बोन’ बन्न तयार भए । सुरुमा केही दिनका लागि गर्ने भनिएको चार्टर्ड उडान एक महिनाभर चलाउने योजना अघि सारियो । जसअनुसार अब फागुन महिनाभर हप्तामा दुई वटा उडान हुनेछन् । 

आइतबार र शुक्रबार हुने उडानको एकतर्फी भाडा पाँच हजार तोकिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पाँच वटा टिकट नेपालगञ्‍ज उपमहानगरपालिकाले ‘बुक’ गरेका छन् । यसले पर्यटन व्यवसायीको योजनालाई स्थानीय सरकारले अपनत्व लिएको देखिन्छ भने पश्‍चिम नेपालको पर्यटन विकासमा आफै जाँगेको उदाहरण पेस गरेको छ ।

‘राज्यले सोच्नुपर्ने कुरा थियो । राज्यले नै गर्नुपर्ने दायित्व थियो । तर गरेन । हामीले अब आफै गर्नुपर्छ भनेपछि योजना बनाएका थियौ’ नाट्टा बाँकेका अध्यक्ष सिग्देलले इकागजसँग भने, ‘अब नेपालगञ्‍ज–पोखरा उडानमा ब्रेकथ्रु भएसँगै पश्‍चिम नेपालले पर्यटन विकासमा अब ठूलो फड्को मार्नेछ । पोखरा, लूम्बिनी, कर्णाली र सुदुरपश्‍चिमको पर्यटन विकासमा साच्चै नयाँ र फरक काम हुनेछ ।’ 

यस उडानले अब छोटो समयमै पोखरा पुगेर सबै पर्यटकीय गन्तव्य घुम्ने नेपालगञ्‍जदेखि कर्णाली र सुदुरपश्‍चिमका आन्तरिक पर्यटकको सपना पूरा गरेको छ । साथै पोखरा पुगेका पर्यटकलाई सोझै नेपालगञ्‍ज उडान भरेर कर्णाली र सुदुरपश्‍चिम घुम्ने योजना पनि सहज हुनेछ ।

नयाँ प्याकेज के छ ? 

काठमाडौँबाट सोझै नेपालगञ्‍ज वा धनगढी उत्रिएर कर्णाली र सुदुरपश्‍चिम घुम्ने पर्यटकका लागि अब पोखरा तथा नेपालगञ्‍ज ‘ट्रान्जिट’ बनेको छ । पोखरा घुमेका पर्यटक अब सोझै नेपालगञ्‍ज पुगेर कर्णाली र सुदुरपश्‍चिम पनि घुम्न पाउनेछन् ।

पोखराबाट नेपालगञ्‍ज हुँदै कर्णाली रारा पुग्‍ने पर्यटकका लागि यसले ठूलो सहयोग गर्नेछ । अथवा नेपालगञ्‍जबाट सोझै दिपायलको जहाज चढेर खप्तड घुम्न पनि सकिनेछ । बाँकेको बागेश्वरी मन्दिर, बर्दिया राष्ट्रिय निकुञ्‍ज, कर्णाली पुलदेखि कर्णालीका अरु पर्यटकीय गन्तव्य र सुदुरपश्‍चिमका पर्यटकीय गन्तव्य घुमाएर पश्‍चिम नेपालको पर्यटन विकासमा ‘पायोनियर’ काम गर्ने सिग्देलको योजना छ ।

‘तत्कालका लागि पोखरा र नेपालगञ्‍जका पर्यटकलाई एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्‍न सक्ने गरी सिधा उडान सुरु गर्न सफल भएका छौँ’ आगामी पर्यटन योजनाबारे सिग्देल भन्छन्, ‘अब नेपालगञ्‍ज आइपुगेका पर्यटकलाई प्याकेज बनाएर कर्णाली र सुदुरपश्‍चिमका मुख्य पर्यटकीय गन्तव्य घुमाउने तयारी गर्दैछौ ।’

यसका लागि सडक र हवाई यात्राको प्याकेज बनाएर पश्‍चिम नेपालका सबै ठाउँ एकैपटक घुम्न मिल्ने गरी चाँडै योजना ल्याउन लागिएको सिग्देलले बताए । 


Author

थप समाचार
x