पर्यटन

नेपालगञ्‍जदेखि ठाकुरद्वारासम्म नाट्टाको पर्यटक बस सञ्चालनमा

इकागज |
फागुन १५, २०७७ शनिबार १३:४४ बजे

काठमाडौँ : बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म नाट्टाको पर्यटक बस सञ्चालन भएको छ । शुक्रबार नेपालगञ्‍ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले रिवन काटेर पर्यटक बसको सञ्चालन भएको घोषणा गरेका हुन् ।


नेपालगञ्जबाट सुरु भएको पर्यटक बस बर्दियाको मैनापोखर, बढैयाताल, गुलरिया, मधुवन, ओरालीबजार हुँदै ठाकुरद्वारा पुगेको हो ।  ठाकुराद्वारा पुगेका पर्यटन व्यवसायीले नियमित बस सञ्चालनबारे बहस तथा छलफल गरेर नेपालगञ्ज फर्किनेछन् ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा बाँकेले स्वीफ्ट होलिडे कम्पनीसँग सहकार्य गरेर पर्यटक बस सञ्चालन गरेको हो । हप्तामा दुई दिनसम्म बस सञ्चालन गर्ने नाट्टाको योजना छ ।

यसका लागि व्यापक प्रचार प्रसार र पर्यटन गतिविधि बढाउने योजना रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए । यो रुटमा सञ्चालन भएपछि नेपालगञ्जदेखि सुर्खेतको देउतीबज्यै, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, कपिलवस्तुको तिलौराकोट लगायतका ठाउँमा पनि पर्यटक बस सञ्चालन गर्ने तयारी छ ।

तर यसका लागि नेपालगञ्ज-ठाकुरद्वारा रुटमा नियमित बस सञ्चालन हुने अवस्था सिर्जना गरिने सिग्देलको भनाई छ । ‘हामी नेपालगञ्जबाट पर्यटक बस चढेर ठाकुरद्वारा पुगेका छौँ’ सिग्देलले भने, ‘सबैको साथ, सहयोग र समन्वयमा पर्यटक बस नियमित र व्यवस्थित रुपमा चलाउने योजना छ । यसका लागि सरोकारवालाले पनि साथ दिन जरुरी छ ।’


 


Author

थप समाचार
x