पर्यटन

पाँच वर्षपछि बल्ल पुनर्निर्माण, शिलान्यासमै तामझाम !

इकागज |
फागुन १६, २०७७ आइतबार १९:२२ बजे

काठमाडौँ : भूकम्प गएको पाँच वर्ष बित्यो । तर सेतो मच्छिन्द्रनाथ मन्दिर संरक्षणका लागि भन्दै शिलान्यास गर्ने काम बल्ल सुरु भयो । त्यो पनि तामझामका साथ ।भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणले मन्दिर बनाउन लागेको हो । वर्षौपछि बन्‍न लागेको मन्दिर निर्माण भन्दा तामझाममै काठमाडौँ महानगरपालिका र पुनःर्निर्माण प्राधिकरण रहेकाे देखिन्‍छन् ।


आइतबार नयाँ मन्दिरको शिलान्यासमा भारतीय राजदूत विनयमोहन क्‍वात्रा पनि पुगे। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीसहित महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी पनि थिइन् ।

साँस्कृतिक सम्पदा निर्माणका लागि भारतले झण्डै ६ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ । जसमा यो मन्दिर पनि परेको हो । भारतले प्रतिबद्धता घोषणा गरेका अन्य २७ सम्पदा छन् । यसका लागि तीन वर्ष अघि नै सम्झौता भएको थियो ।

भूकम्पले क्षति पुर्‍याएका सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा पुनःस्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनःस्थापना हुनेछ । 

२०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्‍वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौँ सहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाई दुवै हिन्दू र बौद्ध धर्मावलम्बीहरूले आस्थाका साथ पूजा गर्छन् ।

 

 

 

 


Author

थप समाचार
x