पर्यटन

र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारी

इकागज |
फागुन २६, २०७८ बिहीबार १६:३४ बजे

काठमाडौं–युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन्।

बुधबार त्रिशुली नदीमा भएको १९ औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरिरहेको बताए। उनले  खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्योगसँग जोड्नु पर्ने आवश्यकता रहेको औल्याए। 
नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्‍याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रुपमा विकास गर्नु पर्ने बताए । र्‍याफ्टिङलगायत अन्य जलाशय युक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशुली, सुनकोसी र भोेटेकासीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने बताए । र्‍याफ्टिङ जस्ता अन्य पानीमा खेल्ने खेललाई सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ छ।


‘त्रिशुली, सुनकोसी र भोटेकोसी नदी राजधानीबाट नजिकमा रहेकाले जलाशययुक्त खेलहरुमा यी नदीलाई उपयोग गरी आयआर्जनको स्रोतको रुपमा विकास गर्न हामी लागिपरेका छौं,’ उनले भने, ‘हाम्रो समृद्धिको महत्वपूर्ण आधार भनेको हाम्रो प्रकृति र हाम्रो संस्कृति हो ।’  

त्यस्तै,नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी निर्देशक (सिइओ) डा. धनञ्जय रेग्मीले र्‍याफ्टिङ खेल एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गदै जानु पर्ने बताए । उहाँले र्‍याफ्टिङ खेलाडीको क्षमता विकासको लागि पर्यटन बोर्ड विगतदेखि आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने प्रतिबद्धता जनाए । 

त्यस्तै, मेघ आलेले त्रिशुली नदिमा कोरोना महामारीपछिको पहिलो १९ औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप भएको बताए । उनले त्रिसुली नदीबाट र्‍याफ्टिङ मात्रै नभएर रिभर पर्यटनको सुरुवात भएको बताए । तर, अहिले क्रिशुली नदिमा रिभर पर्यटनको लागि अबौं  लगानी भए पनि र्‍याफ्टिङको लागि महत्वपूर्ण स्थानमा विद्युतको लागि ड्याम बनाउने योजनाले समस्या आएको बताए । क्रिशुलीको र्‍याफ्टिङ क्षेत्रमा सुपर क्रिशुली हाइड्रोपावर बनाउनु उचित नभएको उनको दाबी छ ।

त्यस्तै र्‍याफ्टिङ खेलाडी हरि आलेले क्रिशुली नदिको संरक्षण नभएर नदिलाई दुषित बनाउने काम भएले र्‍याफ्टिङ गर्ने वातावरण नभएको बताए । त्रिशुलीको र्‍याफ्टिङ गर्ने महत्वपूर्ण क्षेत्रमा विद्युतीय ड्याम बनाउने भएकाले ड्याम बनेसँगै नदी र र्‍याफ्टिङ खेलाडीको भविष्य नै समाप्त हुने उनको भनाइ छ।


Author

थप समाचार
x