पर्यटन

ट्राभल मार्ट

भर्जिन कर्णालीमा पर्यटन फस्टाउने दुर्लभ अवसर

नाट्टाले नेपालगञ्जबाट खोल्यो भारतीय पर्यटकको प्रवेशद्वार

विष्णु विवेक |
फागुन २७, २०७८ शुक्रवार ९:३३ बजे

ग्राफिक्स : यमन मानन्धर

नेपालगञ्ज- मानसरोवर, रारा र शे–फोक्सुन्डो ताललाई केन्द्रबिन्दुमा राखेर बाँकेको नेपालगञ्जबाट भारतीय पर्यटकका लागि कर्णालीको ढोका खुलेको छ । नेपाल ट्राभल एण्ड टुर एशोसिएसन नाट्टाले बिहीबार ‘वेष्र्टन ट्राभल मार्ट’ गरेर नेपालगञ्जबाट भारतीय पर्यटकको ढोका खोलेको हो ।

पश्चिम नेपालमा पहिलोपटक भएको मार्टमा आधाभन्दा बढी भारतीय पर्यटन व्यवसायीको सहभागिता थियो । यसअघि नेपालगञ्जसम्म आउने उनीहरुले अब कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रका लागि प्याकेज बनाउने औपचारिक सहमति पाएका छन् । जसमा नेपाल पर्यटन बोर्ड र नाट्टा बाँकेले प्रत्यक्ष सघाउनेछ ।


नेपालमा अहिले पनि ‘भर्जिन ल्याण्ड’का रुपमा रहेको कर्णालीमा भारतीय पर्यटकको चाँसो, चिन्तन र आशालाई यतार्थमा बदल्न नाट्टा बाँकेले पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरेर ट्राभल मार्टको सुरुवात गरेको हो । पहिलोपटक नेपालगञ्जमा भएको मार्टले अब वर्षेनी यसको निरन्तरतासँगै भारतीय पर्यटकका लागि प्रवेशद्धवारको काम गर्नेछ । र, यसलाई पर्यटन बोर्ड र नाट्टाले नै ‘गेट वे कर्णाली’ भनेका छन् ।

पश्चिम नेपालमा बुटवलको प्रयास असफल भएर पहिलोपटक नेपालगञ्जमा सम्भव भएको मार्टले चुनौतिपूर्ण सुरुवात लिएपनि धेरै सम्भावना देखाएको छ । यद्यपी, कर्णालीको प्रशस्त पर्यटकीय सम्भावनालाई समृद्धिमा बदल्ने अवसरमा भने कर्णाली प्रदेश सरकार र कर्णालीकै पर्यटन व्यवसायी निरन्तर चुकिरहेका छन् । 

नेपालगञ्ज मार्टले कर्णालीमा खोलेको ढोका 

सीमानाकासँग जोडिएका बाँके र बर्दियामा पछिल्लो समय भारतीय पर्यटकको आकर्षण बढ्दो छ । धार्मिक हिसाबले नेपालगञ्जको बागेश्वी मन्दिरमा आउने पर्यटक विस्तारै पारिवारिक घुमघाम र व्यस्तताका लागि सुर्खेतसम्म पुग्ने गरेका छन् ।

कतिपय भने नेपालगञ्जमा क्यासिनो खेल्न आउने गरेका छन् । नेपालगञ्जमा मात्रै अहिले पाँच वटा होटलमा मिनी क्यासिनो सञ्चालनमा छन् । कतिपय व्यापारिक कारोबार र लगानीका लागि समेत कर्णालीका विभिन्न जिल्लामा पुग्ने गरेका छन् ।

यसका साथै हुम्लाबाट तिब्बतको मानसरोवर जानका लागि धेरै भारतीय पर्यटक नेपालगञ्ज आइपुग्ने गरेका छन् । ८० प्रतिशत भारतीय पर्यटक भारतका विभिन्न ठाउँमा नेपालगञ्ज आएपछि हवाइ उडानबाट हुम्लाको सिमकोट पुग्ने गरेका छन् ।

त्यसपछि हुम्लाबाट पैदलयात्रा गरेर मानसरोवर जानुपर्ने भएकाले भारतीय पर्यटकको मुख्य बाटो भनेकै नेपालगञ्जदेखि हुम्लासम्मको कर्णाली यात्रा हो । केही समयअघि सद्गुरु आएर नेपालकै लिमी भ्यालीबाट मानसरोवरको दर्शन गरेपछि भारतीय पर्यटकको चाँसो त्यसपछि ह्वात्तै बढेको छ । तर यसरी लाइन लागेर मानसरोवर पुग्ने भारतीय पर्यटक नेपालको प्रमुख आकर्षण मानिने रारा र शे–फोक्सुन्डो ताल भने कमै पुग्ने गरेका छन् ।

खासगरि प्रचार प्रसारको अभावमा पनि उनीहरु मुगुको रारा ताल र डोल्पाको शे–फोक्सुन्डो ताल जानबाट बञ्चित छन् । जबकी रारा र फोक्सुन्डो ताल घुम्न पूर्वी नेपालदेखि काठमाडौँसम्मका पर्यटक लामो सडक यात्रा छिचोलर पुग्ने गरेका छन् ।

पछिल्लो समय नेपालगञ्जकै पर्यटन व्यवसायीले भारतीय पर्यटकलाई लक्षित गरेर प्याकेजमा टूर योजना ल्याइरहेका छन् । नेपालगञ्ज आइपुगेपछि तारे होटलमा बस्ने उनीहरुलाई प्याकेजअनुसार कर्णालीका विभिन्न पर्यटकीय क्षेत्र घुमाइने गरेको छ ।

यसमा हेलिकोप्टर वा जहाजबाट रारा र फोक्सुन्डो घुम्नेदेखि मानसरोवरसम्मको यात्रासमेत पर्दछ । अहिलेसम्म नेपालगञ्जकै पर्यटन व्यवसायीले आफ्नो बलबुतामा भारतीय पर्यटक तानिरहेका उनीहरु अब ‘गेट वे कर्णाली’बाट थप भारतीय पर्यटक बढाउन अग्रसर छन् ।

बिहीबारदेखि आयोजित मार्टमा मात्रै झण्डै ७० जना भारतीय पर्यटक सहभागि छन् । उनीहरु कर्णालीसहित लुम्बिनी र सुदूरपश्चिमका विभिन्न पर्यटकीय क्षेत्रको प्याकेज बनाउन उत्साहित देखिन्छन् ।

‘यसअघि हाम्रो चिनजानले मात्रै भारतीय पर्यटक र पर्यटन व्यवसायी आउँथे,’ आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘अब मार्टले गर्दा उनीहरु प्याकेज बनाएर भारतीय पर्यटक नेपाल ल्याउन तयार देखिएका छन् । पाँच प्रतिशत मात्रै भारतीय पर्यटक नेपाल आएको खण्डमा नेपाली पर्यटन क्षेत्रले कोल्टो फेर्छ ।’

भारतीय पर्यटक लक्षित मार्टले कर्णालीजत्तिकै लुम्बिनी र सुदुरपश्चिमलाई पनि जोड्छ । सुदूरपश्चिमको खप्तड र बडिमालिका तथा लुम्बिनीको गौतमबुद्ध जन्मस्थल र पोखरामा पनि भारतीय पर्यटकको आकर्षण धेरै छ ।

संसारको सबैभन्दा सस्तो गन्तव्यमा जान नेपालगञ्ज–पोखरा सिधा उडान छ । गएको फागुनदेखि नाट्टाले नै चार्टर उडानमार्फत अहिले बुद्ध र गुण एयरलाइन्सको सिधा उडान खोल्न सफल भएको हो ।

कर्णालीको पर्यटन फस्टाउने दुर्लभ अवसर

यस वर्षदेखि सुरु भएको मार्ट अब हरेक वर्ष हुनेछ । जसको मुख्य उद्धेश्य कर्णालीको पर्यटन विकासलाई प्रत्यक्ष टेवा दिनु रहनेछ । यसअघि कर्णाली लक्षित पर्यटकीय गतिविधि नेपालगञ्जमा कमै हुने गरेका थिए ।

‘कर्णाली अहिले पनि भर्जिन प्लेस हो । पर्यटकका लागि कर्णाली कति धेरै स्वर्ग जस्तो ठाउँ छ भन्ने कुरा रारा पुगेकै पर्यटकलाई थाहा छ,’ बिहीबार मार्टको कर्णाली लक्षित पर्यटन बहसमा नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाइँले भने, ‘अब रारासँगै फोक्सुन्डो र मानसरोवर जाने पर्यटकले पनि कर्णालीको वास्तविक पर्यटनको महत्व थाहा पाउँछन् ।’

यस्तै नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले कर्णालीको पर्यटन विकासका लागि नेपालगञ्जको ट्राभल मार्टले ठूलो टेवा दिने बताए । भारतीय पर्यटकलाई तान्ने उद्धेश्यले सुरु गरिएको मार्ट कर्णालीको पर्यटन विकास र अर्थतन्त्र टेवाको लागि ‘गेमचेन्जर’ कार्यक्रम भएको बताए ।

‘अहिले यो सामान्य लाग्ला । सजिलो लाग्छ । तर यसले भारतीय पर्यटकको मुख्य पर्यटकीय बजार कर्णाली बनाएर कर्णालीकै अर्थतन्त्रमा गेमचेन्जरका रुपमा ठूलो टेवा दिन्छ,’ उनले भने । उनले कर्णालीका विभिन्न जिल्लामा रहेका राउटे समुदायलाई मार्टमा प्रमुख अतिथीको स्थान र भूमिका दिएर कर्णालीको नयाँ पर्यटकीय गन्तव्यका रुपमा राउटे बस्ती विकास हुने पनि बताए ।

‘लोपोन्मुख आदिवासी जनजाती राउटेको जुन महत्व र दुर्लभ पहिचान छ, त्यसले कर्णालीकै पर्यटनलाई नयाँ उचाई दिने काम गर्छ,’ उनले भने, ‘कर्णालीको राउटेको महत्व चिनेर पर्यटनसँग जोड्नु नाट्टा बाँकेको ऐतिहासिक काम हो । अब कर्णालीले पनि राउटेको महत्व र पर्यटन प्रचारप्रसारमा सहयोग पुग्छ ।’

मार्टको उद्घाटन सल्यानबाट आएका राउटे मुखिया सुर्यनारायण शाहीले गरेका थिए । तर कर्णालीको पर्यटन विकासका लागि कर्णाली प्रदेश सरकार, कर्णालीकै पर्यटन व्यवसायीले गरेका निकै कम प्रयासप्रति नेपालगञ्ज आइपुगेका पर्यटन व्यवसायी र विज्ञले चिन्ता व्यक्त गरेका थिए ।

मार्टमा कर्णालीबाट एक जना मात्रै र्‍याफ्टिङ व्यवसायी देवराज जैसीको सहभागिता छ । यति नजिकै कर्णालीकै लागि दुर्लभ अवसर रहेको ट्राभल मार्टमा कर्णाली प्रदेश सरकार र पर्यटन व्यवसायीको बेवास्ता रह्यो । यसले कर्णाली लक्षित मार्ट भएपनि यसबाट फाइदा लिएर कर्णालीको पर्यटन विकास गर्न कर्णालीकै पर्यटन व्यवसायी फेरि पनि चुक्ने हुन् कि भन्ने चिन्ता बढाएको छ ।

 


 


Author

विष्णु विवेक

राजनीति, समाज, शिक्षा, पर्यटन लगायत समसामयिक विषयमा कलम चलाउने विवेक करेस्पोन्डेन्ट हुन् ।


थप समाचार
x