पर्यटन

नाट्टाको पहलमा पोखरा-नेपालगञ्ज उडान सुरु गर्दै बुद्ध एयर

सीता एयरको उडान हप्तामा तीन दिन थपियो

इकागज |
चैत १३, २०७७ शुक्रबार १४:१२ बजे

काठमाडौँ : बाँके र बर्दियाका पर्यटकलाई लक्षित गरेर बुद्ध एयरले बैशाखदेखि नेपालगञ्ज-पोखरा नियमित उडान थाल्ने भएको छ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा बाँकेको पहलमा बुद्ध एयरले नेपालगञ्ज-पोखरा उडान थाल्ने भएको हो ।

नाट्टाले सीता एयरको चार्टर्ड उडानमार्फत हप्तामा तीन दिन नेपालगञ्ज-पोखरा उडान गरिरहेको छ । अहिले हप्तामा तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान भइरहेका छन् । गएको फागुनदेखि सुरु भएको पर्यटक लक्षित उडानमा आकर्षण र यात्रु बढेपछि बुद्ध एयरले नियमित उडान थाल्ने घोषणा गरेको हो ।


‘पर्यटन व्यवसायी, पर्यटक र यात्रुको माग हेरेर नेपालगञ्ज-पोखरा उडान थाल्ने निर्णय गरेका छौँ’ बुद्ध एयरका नेपालगञ्ज विमानस्थल प्रमुख बिनित शाहले इकागजसँग भने, ‘हप्तामा तीन दिनको माग भएपनि दुई दिन नियमित उडान थाल्ने गरी उडान तालिका सार्वजनिक गर्दै छौँ ।’

उनका अनुसार बुद्धले ४२ सिटे जहाज पोखरा उडाउन लागेको हो । जहाजमा ४७ जनासम्म अटाउँछन् । बुद्ध एयरले सुरुवाती एकतर्फी भाडा पाँच हजार लिने तयारी गरेको छ । 

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले सीता एयरको जहाज चार्टर्ड गरेर जनप्रतिनिधि, पर्यटन व्यवसायी, व्यापारी, पत्रकार लगायतको टोली पोखरा घुमाएका थिए । त्यस्तै पोखराबाट पनि पर्यटन व्यवसायीको टोली नेपालगञ्ज पुगेको थियो । यो क्रम अहिले पनि जारी छ । सुरुदेखि चार्टर्ड भनिएको उडान अहिले नियमित र व्यवसायिक जस्तो भइसकेको छ । 

हप्तामा तीन दिन उडान 

फागुनदेखि सीता एयरले हप्तामा दुई दिन नेपालगञ्ज-पोखरा उडान गरिरहेको छ । पोखरा-नेपालगञ्ज रुटमा पर्यटकको आकर्षण बढेपछि हप्तामा बुधबार पनि उडान हुने भएको छ । यसअघि आइतबार र शुक्रबार मात्रै उडान हुन्थ्यो ।

पोखरा जाने र आउने पर्यटकको संख्या बढेपछि हप्तामा तीन दिन उडान थप गरिएको नाट्टा बाँकेका अध्यक्ष सिग्देलले बताए । ‘पर्यटकको आकर्षण बढेपछि यसै हप्तादेखि हप्तामा दुई तीन दिन उडान बनाएका छौँ’ उनले भने ।

बर्दिया र पोखरा मुख्य आकर्षण 

पर्यटकले चाहेको तर सरकारले ध्यानै नदिएको नेपालगञ्ज–पोखरा उडान जबर्जस्त थालिएको उडान हो । सुरुमा व्यवसायी पनि त्यति तयार नभएपछि नाट्टा बाँकेका अध्यक्ष सिग्देल र सीता एयरको नेपालगञ्ज कार्यालयले जबर्जस्त नेपालगञ्जबाट पोखरा उडान थालेको थियो ।

कोभिड १९ महामारीपछि ठप्प रहेको पर्यटन व्यवसाय उकास्न कुनै योजना आवश्यक भएपनि जोखिम मोल्न पोखराका व्यवसायी तयार देखिएका थिएनन् । तर नाट्टा बाँके र बाँकेका पर्यटन व्यवसायी तयार भएर चार्टर्ड उडान थाल्ने घोषणा गरेपछि पोखराका पर्यटन व्यवसायी उडानमा सहकार्य गर्न बाध्य भएका थिए ।

त्यतिबेला जबर्जस्त थालिएको उडान अहिले व्यवसायिक उडानमा पुगेको हो । नेपालगञ्ज-पोखरा उडानमा आकर्षण बढ्नुको मुख्य कारण बर्दिया र पोखरा हो । पोखराबाट सफारीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज आउनेको संख्या बढ्दो छ ।

यस्तै बाँके र बर्दियाका आन्तरिक पर्यटक पोखरा घुम्न लालयित देखिन्छन् । तर सडक यात्रा लामो र सकसपूर्ण भएकाले धेरैजसो आन्तरिक पर्यटक मनमै रहर सिमित पार्न बाध्य थिए । तर सीता एयरको चार्टर्ड उडानपछि बुद्ध एयरले समेत नियमित उडान थाल्ने भएपछि अब बर्दिया र पोखरामा पर्यटक बढ्ने भएका छन् । 

यसअघि बाँके, बर्दिया लगायत पश्चिम नेपालका आन्तरिक पर्यटकलाई हवाई यात्रामार्फत पोखरा जान काठमाडौँ जानुपर्ने बाध्यता थियो । 


Author

थप समाचार
x