रीतिरिवाज

पशुपति क्षेत्रमा साउन महिनाको तयारी

इकागज |
असार २१, २०७९ मगलवार १५:३० बजे

काठमाडौँ - विगत दुई वर्षका साउन महिनामा आराध्यदेव पशुपतिनाथको दर्शन गर्न नपाएका भक्तजनले यस वर्ष भने मूल मन्दिरमै प्रवेश गरेर दर्शन गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ को साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । 

मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा लाखौँ भक्तजन जम्मा भएर पशुपतिनाथको गजुर दर्शन गरेर फर्केका थिए । यो वर्ष अहिलेसम्म मन्दिर निरन्तर खुल्नुका साथै नित्य, विशेष पूजा चलिरहेको छ । कोरोनाको सङ्क्रमण दर पनि कमै रहेकाले पशुपतिनाथ मन्दिर खोल्ने गरी नै तयारी अघि बढाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।


 साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ । यसैले यो महिनामा धेरै भक्तजनले पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्ने चाहना गर्ने गरेका छन् । त्यसै अनुसार सुरक्षा, स्वयंसेवक परिचालनलगायत तयारी सुरु गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । साउन महिनामा पनि सोमबार पशुपतिनाथमा भक्तजनको धेरै भीड लाग्छ । 

 साउन महिनामा पशुपतिनाथमा वाग्मती मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउने बोल बम यात्री भक्तजनको पनि भीड लाग्ने गर्छ । कोरोनाका कारण विगत दुई वर्ष बोल बम यात्रा पनि रोकिएको थियो । यसवर्ष भने बोल बम यात्रा पनि जारी गरिने कोषले जनाएको छ । साउन महिना, हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि जस्ता पर्वमा लाग्ने भक्तजनको भीडका बेला पशुपति क्षेत्रलाई स्वच्छ राख्ने सीप सिकाउन कोषका सफाइ कर्मचारीलाई केही दिनअघि १० दिने तालिमसमेत दिइएको थियो । रासस


Author

थप समाचार
x