रीतिरिवाज

ठमेलमा 'हलाल फुड' खुवाउने एमडी शेख

अतिन आचार्य |
साउन १, २०७९ आइतवार १३:५९ बजे

काठमाडौँ- ठमेल रात्रीकालीन जीवनको पर्याय पनि मानिन्छ । युवालाई संगीत र मस्त झुम्न मन लागे कहाँ जाने भन्दा मुखबाट ठमेल निस्कन्छ होला ।

दिनभर सवारीसाधनका आवाज गुन्जिने ठमेल । साँझ पर्दै गएपछि बत्तीको उज्यालो र संगीतले गुल्जार बन्छ । संगीतले मात्र नभइ खानाको पारखीलाई पनि ठमेलले लोभ्याउने गरेको छ ।


पब, सुन्दर रेष्‍टुरेण्ट, लाइभ म्यूजिक, दोहोरी साँझ र क्लब खोजे जस्तै पाइन्छ । मुख्यगरी मानिसहरू संगीतसँगै आफूलाई मनपर्ने खाना पनि खोज्दै आउने गरेका छन् ।

कोभिड-१९ को महामारी नियन्त्रण भएसँगै ठमेलमै विभिन्न रेष्टुरेण्ट खुल्ने क्रम पनि बढेको छ । अरुबेला जस्तै ठमेल पुरानो लयमा फर्किसकेको छ । हिजोआज रेष्टुरेण्टमा ग्राहकको संख्या बढेको पनि देख्‍न सकिन्छ ।

दीवा र रात्रीकालीन समयमा मानिसहरूको बाक्लो उपस्थिति हुन्छ । स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

ठमेलमै यस्तो पनि रेष्टुरेण्ट छ जहाँ मदिरा पाइँदैन । तर, अरु प्राय: सबै पाइन्छ । चिकेन ब्रियानी, मटन डम ब्रियानी, मटन स्ट्वी, चिकन कोर्मा बफ, कोर्मा बफ, नेहारी बफ,  बफ किमा, दाल फ्राइ,  पाया भेराइटिज, कट्टी रोल र डिर्जट आदि । 

अमृत साइन्स क्याम्पस पछाडि रहेको मुस्लिमको पुरानो बस्तीमा छ 'मोहम्मद किचन' । रेष्टुरेण्ट दिउँसो १२ बजेदेखि साढे १० बजेसम्म खुला हुन्छ । जसका सञ्चालक हुन् ३७ वर्ष युवा एमडी शेख ।

पेशाले रेष्टुरेण्ट सञ्चालक मात्र नभइ उनी गहना व्यापारी पनि हुन् । करिब १० वर्षदेखि खानाको बारेमा अध्ययन गरिरहेका थिए उनले । ठमेलमा सबैभन्दा बढी 'हलाल' खानाको अभाव रहेको उनले महसुस गरेका थिए । ठमेलमा आउने मुस्लिम समुदायका पर्यटकहरू खाना खान ठमेल बाहिर जान्थे । खाना खान मात्रै बाहिर जाने होइन उनीहरूको ठमेल बसाइ समेत छोट्टिन्थ्यो ।

उनले मुस्लिम समुदायका पर्यटकलाई हलाल खानामा सबैलाई पहुँच पुर्‍याउने साहस गरे  ।

पर्यटकीय क्षेत्र ठमेलमा विभिन्न समुदायका मानिसहरू घुम्न आउँछन् । यात्रा गर्न, हिमाल आरोहण मात्र गर्न आउँदैनन् । कतिपय पर्यटकहरूले आफ्नो मौलिक खाना पनि खोज्दै आउँछन् ।

सबै सम्प्रदायका मानिस घुम्न आउँदा खाना नपाउने समस्या शेखले महसुस गरेका थिए । भारत, पाकिस्तान, बंगलादेश, युरोप र अमेरिकाबाट आएका मुस्लिम समुदायका पर्यटकको पीडा उनले नजिकबाट देखेका थिए ।

'विदेशी मुस्लिम समुदायका पर्यटकलाई लक्षित गरी रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हुँ,' टेबलमा राखेको खानालाई देखाउँदै भने,' विशेषगरी हिन्दु र मुस्लिम दुवै सम्प्रदायका गेष्टहरू आउने गर्छन् ।'

काठमाडौँमा हलाल खाना पाउन छाडेकाले पर्यटकलाई लक्षित गरी रेष्टुरेण्ट खोलेको उनले सुनाए । नेपाली समुदायका मुस्लिमहरूका लागि हलाल खाना दुर्लभ हुँदै गएकाले उनी होटल खोल्न हौसिए ।

सञ्चालक शेखका अनुसार ९ लाख रुपैयाँको लागतमा रेष्टुरेष्ट सञ्चालन भएको हो । अहिले दैनिक २० हजार बढीको कारोबार हुने गरेको छ । 'भेज र नन भेज' दुवै खानाका प्रकार छन् । उनकोमा १५० रुपैयाँमै पनि खाना पाइन्छ । 

'सबैभन्दा बढी ब्रियानी, रोटी, तन्दुरी, रुमाली रोटी, मटन इस्टु, चिकेन पोमा र कट्टी रोल खानाको माग रहेको छ,' उनले भने,' सफा वातावरणमा आउने पाहुँनालाई सेवा दिएका रहेछौ ।'

उनलाई दाजु जाफर हुसेनले सहयोग गर्छन् । ज्वेलरीमा बसेर आफूले गरेको व्यापारलाई निरन्तरता दिनु पर्ने भएकाले धेरै समय होटलमा समय दिन नसक्ने उनले आफ्नो बाध्यता सुनाए ।  

केही साताअघि मात्र खुला भएको रेष्टुरेण्टमा दैनिक करिब सय जना ग्राहक आउने गरेको उनले बताए ।

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x