रीतिरिवाज

लमजुङमा रोपाइँ जात्राको रमझम

इकागज |
भदौ ३, २०७९ शुक्रबार २१:५७ बजे

लमजुङ- सदरमुकाम बेंसीशहरमा शुक्रबार नेवार समुदायमा प्रचलित रोपाइँ जात्रा निकालिएको छ । कृष्ण जन्माष्टमीका दिन बेँशीसहरका नेवार समुदायले सदरमुकाम बेंसीशहरमा विभिन्न भेषभूषमा पहिरिएर रोपाइँ जात्रा निकालेका हुन् ।

सदरमुकाम बेंसीशहरमा नेवार समुदायमा प्रचलित रोपाइँ जात्रा निकालिएको छ ।


कृष्ण जन्माष्टमीका दिन बेँशीसहरका नेवार समुदायले सदरमुकाम बेंसीशहरमा विभिन्न भेषभूषमा पहिरिएर रोपाइँ जात्रा निकालेका हुन् । उनीहरूले पञ्चेबाजासहित बजार परिक्रमा गरेर धान रोपेको अभिनय गरी जात्रा निकालेका थिए । बाजाको तालमा उनीहरूले धान रोपेको अभिनय गरेका थिए  ।

रोपाइँ जात्रा भोटेओडार, सुन्दरबजार, उदिपुर लगायत क्षेत्रमा पनि निकालिने गरिन्छ । बेंसीशहरमा नेवा खल: लमजुङको नेतृत्वमा ५ वटा गुठीमा आबद्ध नेवार समुदायले रोपाइँ जात्रा निकालेका हुन् । दिउँसो बेंसीशहरको भीमसेनस्थान चोकबाट सुरु भएको जात्रा नारायणस्थान चोक, प्रशासन चोक, दनाइँफाँट चोक, शेरा चोकमा जात्रा देखाएर पुनः भीमसेनस्थान चोकमा आएर टुंगिएको थियो । 

‘रोपाइँ जात्रा नेवार वस्ती भएका सबै ठाउँमा निकाल्ने गरिन्छ,’ नेवा खल:का उपाध्यक्ष कृष्णलाल प्रधानले भने । उनका अनुसार व्यापार व्यवसायमा बढी रूचि राख्‍ने नेवार समुदायले मनोरञ्जनका लागि रोपाइँ जात्राको सुरुवात गरेको हुन् ।                                      

जात्रामा पञ्चेबाजा बजाएर, महिलाको पहिरन लगाएर पुरुषहरू अनेक शृङ्गार गरी सडकमा धान रोपाइँको अभिनय गरिन्छ । 

सहनाइमा असारे भाका निकालेर, नरसिंगा, ढलकी, झ्याली र दमाह बजाएर त्यसैको तालमा महिलाको भेषमा सजिएका पुरुषले खेत रोपेको अभिनय गर्ने गरिन्छ । नाग पञ्चमिकाे दिनदेखि लाखे नाच, गाइजात्रा, राेपाइँ जात्रा लगायतका जात्रा तीजसम्म निकाल्ने गरिएको छ ।


Author

थप समाचार
x