रीतिरिवाज

बुद्धकृष्णले आठौँ पटक जिब्रो छेडे (भिडिओ)

इकागज |
बैशाख २, २०७८ बिहिवार १५:३२ बजे

काठमाडौँ  : भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेडाएका छन् ।  मध्यपुर थिमी ८ बोडेका श्रेष्ठले बिहीबार आठौँ पटक जिब्रो छेडाएका हुन् । यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका श्रेष्ठले २०७४ सालदेखि लगातार जिब्रो छेडाउँदै आएका छन् ।


पेशाले एम्बुलेन्स चालक रहेका बुद्धकृष्णले अघिल्लो वर्ष कोरोनाको कारणले एम्बुलेन्स चलाउनुपरेकाले जिब्रो छेड्न पाएनन् । जिब्रो छेड्नकै लागि तीन दिनदेखि उनी भोकै बसेका थिए । जिब्रो छेड्नकै लागि करिब एक फिट लामो सियोलाई एक महिनादेखि तेलमा डुबाएर राखिएको थियो ।

 जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी लगाएर जिब्रो छेड्नुअघि शक्ति पिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती बोकी बोडे नगर परिक्रमा गरियो । 

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाएर तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो । 

भीमदत्तले अब उप्रान्त बोडेमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने बाचा गराएर छाडिदिएको किंवदन्ती छ । 


Author

थप समाचार
x