रीतिरिवाज

चेतना प्रतिष्ठानद्वारा वरिष्ठ पत्रकार कोइरालासहित सात स्रष्टा सम्मानित

इकागज |
माघ २८, २०७९ शनिवार १७:१२ बजे

काठमाडौँ- चेतना संरक्षण प्रतिष्ठानले यस वर्ष वरिष्ठ पत्रकार तीर्थ कोइरालासहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अन्य व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

शनिबार प्रतिष्ठानको १८ औं  वार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा साहित्य, संस्कृति, पत्रकारिता, समाजसेवा, कलालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरेको हो ।  


प्रतिष्ठानले वरिष्ठ  पत्रकार तीर्थ कोइराला , संस्कृतिविद् डा. गोविन्द टण्डन, साहित्यकार डा तुलसी भट्टराई, बाल काव्यकार विभुती अधिकारी, भागवतवाचिका राधिका दाशी, समाजसेवी आस्मा अर्याल, मूर्तिकार श्रीप्रसाद किराँती लगायतका व्यक्तिलाई सम्मान गरेको हो ।

त्यसैगरी, साहित्यसम्मान स्वरूप डा. तुलसी भट्टराई १ लाख १ हजार नगदसहित सम्मानित भएका छन् ।

प्रमुख अतिथि प्रदेश १ सामाजिक विकास मन्त्री बुद्धी प्रकाश राजभण्डारी, विशेष अतिथि विराटनगरका नगरप्रमुख नागेश कोइराला र चेतना प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी तथा समाजसेवी दिनवन्धु गोयल लगायतका अतिथिले एकसाथ स्रष्टाहरूलाई सम्मानित गरेका हुन्।

प्रतिष्ठानले प्रत्येक वर्ष विभिन्न विधामा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष सम्मानित हुने व्यक्तिहरूलाई दोसल्ला ओढाएर र ५१ हजार नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

स्रष्टा सम्मान कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनेहरूलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्दै आएको बताइन् । प्रतिष्ठान २०६१ मा स्थापना भएको थियो ।

 


Author

थप समाचार
x