रीतिरिवाज

जनैपूर्णिमा

देशभरका मन्दिरमा जनै लगाउने र रक्षासूत्र बाँध्‍नेको भीड

इकागज |
भदौ ६, २०७८ आइतबार ९:५४ बजे

जनैपूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वमा वैदिक सनातन धर्मावलम्बीले शनिबार दाङको बबई नदीमा स्नान गर्न तयारी हुँदै । तस्बिर: रञ्जिता अधिकारी/रासस

काठमाडौँ - हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवित धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । काठमाडौंको पशुपतिनाथसहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ ।

आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई यथासख्य दक्षिणा दिने चलन छ । आजको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी व्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ । 


पाल्पाको अमरनारायण मन्दिरमा जनैपूर्णिमाको अवसरमा मन्दिर परिसरमा बसी हातमा जनै बाँधिदिँदै पुरोहित । तस्बिर: कृष्ण दर्नाल/रासस

यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षासूत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ । आजको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । 

सत्ययुगमा दानवहरूद्वारा लखेटिएका देवताहरूलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकोले देवताहरू अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ । सोही कथनअनुरुप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासूत्र बाँध्ने र क्वाँटी खाने गर्दछन् ।  
 


Author

थप समाचार
x