रीतिरिवाज

औपचारिकतामा सीमित रहेर मनाउनुपर्ने बाध्यता

आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

इकागज |
भदौ ७, २०७८ सोमवार ६:५६ बजे

फाइल तस्‍बिर

काठमाडौ - प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज (सोमबार)देखि विभिन्न कार्यक्रमगरी देशभर मनाइँदै छ। यही वर्ष दिवङ्गत भएका आफन्तको पुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँन्‍छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन छ। यद्यपि विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यस वर्षका चाडपर्व औपचारिकतामा सीमित रहेर मनाउनुपर्ने बाध्यता छ । 

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भएको रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन यो जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ। यिनै राजा प्रताप मल्लले जो जसका घरमा मानिस मरेका छन्, ती घरबाट गाई ल्याऊनू भनेर उर्दी दिएकाले आशौच परेका घरबाट गाई शृङ्गार गरेर हनुमानढोका दरबारमा उपस्थित गराउने चलनअनुसार यो पर्व मनाउँदै आइएको छ।


केही वर्षयता नेवारी बस्ती विकास भएको मुलुकका विभिन्न भागमा समेत यो दिन गाईजात्रा मनाउने गरिन्छ। जात्रामा आएकालाई पितृको स्मृतिमा फलाहार र दक्षिणा दिने प्रचलन पनि छ। निकैपछि यो पर्वलाई व्यङ्ग्यात्मक प्रहसन प्रस्तुत गरेर कुण्ठित भावलाई उजागर गर्ने गरिएपछि यसले जात्राका रूपमा लिएको हो भनिन्छ। सरकारले यस वर्ष गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा र देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ।


Author

थप समाचार
x