रीतिरिवाज

राधाकृष्ण खटयात्रा आज, भिडभाड रोक्न समय गोप्य

इकागज |
भदौ १५, २०७८ मंगलबार ८:२५ बजे

 विराटनगर - श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष विराटनगरमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा कोभिड-१९ को महामारीका कारण यो वर्ष पनि खटयात्रामै सीमित गरिने भएको छ । रथयात्रा गर्दा मानिसहरूको भिडभाड हुने भएकोले त्यसलाई निरुत्साहित गर्न आयोजक समितिले आज खटयात्रा निकाल्दैछ । भक्तजनहरूको भिड लाग्ने भएकोले खटयात्राको समय समेत गोप्य राखिएको छ । 

अघिल्लो वर्षको भन्दा केही फरक हुने गरी यसवर्ष रथयात्रा गर्न लागिएको राधाकृष्ण मन्दिरका कार्यसमिति अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । उनले कोभिडकै कारण विगत वर्षको जस्तो झाँकीसहितको रथयात्रा नहुने बताए । 


‘यस वर्ष पनि रथलाई मान्छेले तान्ने छैनन्, एउटा गाडीलाई विशेष रूपमा सजाएर त्यसैमा राधाकृष्णको प्रतिमा राखेर विराटनगर बजार परिक्रमा गराइनेछ’ उनले भने ।

राधाकृष्ण मन्दिरबाट सुरु हुने खटयात्रा मेनरोड हुँदै रोडषेश चोक पुग्नेछ । त्यहाँबाट कोशी राजमार्ग अन्तरगत महेन्द्रचोक–बरगाछी–कन्चनबारी–आयल निगम हुँदै राजवंशी चोकसम्म पुग्ने जनाइएको छ । राजवंशी चोकबाट पुष्पलाल चोकतर्फ घुमाएर पुनः विराटनगर–१ तिनपैनीस्थित राधाकृष्ण मन्दिर पुगेर रथयात्रा समापन गरिने ओझाले बताए ।

राधाकृष्ण रथयात्रा वि.सं. १९८८ मा खटयात्राबाट सुरु भएको थियो । वि.सं. २०२४ सालदेखि मात्रै रथयात्रामा परिणत गरिएको थियो । विराटनगरमा यस पटकको खटयात्रा ५४औं संस्करण हो । 

विगत वर्षहरूमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा हिन्दु धर्मावलम्बीहरूका बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा र महत्वका साथ लिन थालिएको थियो । 
रथयात्रामा  नेपाल र भारतबाट पाँच लाखसम्म भक्तजनहरु सहभागी हुने गरेका थिए । तर कोभिड महामारीका कारण दुई वर्षयताको रथयात्रा भने औपचारिकतामात्रै सीमित बनेको हो ।


Author

थप समाचार
x