रीतिरिवाज

पाल्पामा आज भगवती रथायात्रा निकालिँदै

इकागज |
भदौ १५, २०७८ मंगलबार १३:१० बजे

फाइल तस्‍बिर

बुटवल - पाल्पा सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथायात्रा आज निकालिँदै छ । भगवती जात्राले नेपाल–अंग्रेजको जितगढी युद्धलाई सम्झाउने गर्छ । वि. सं. १८७१/७२ तिर जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो । 

भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ । जितगढी युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजीर सिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए । वि.सं. १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो ।


तानसेन भगवती टोलस्थित श्री ७ रणउजीरेश्वरी भगवतीको आज २०३ औं संस्करणको रुपमा भगवतीको सिन्दुर जात्रा एवं विजयोत्सव निकालिने भएको हो । तर कोरोना महामारीका कारण यो वर्ष जात्रा भव्य नहुने भएको छ। कोरोनाको जोखिम रहेकाले सीमित व्यक्तिको उपस्तिथिमा मन्दिर परिसरमै रथयात्रा निकाल्ने तयारी भइरहेको छ । निजामती कर्मचारी, सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति र पत्रकारको सहभागिता रहने छ । सर्वसाधारण सहभागी हुने छैनन् ।

मंगलबार दिउँसो साढे १२ देखि १ बजेभित्र भगवतीको रथ उठाउने साइत जुरेको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए । नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्ती वाचन गरेर रथयात्राको प्रारम्भ हुनेछ । तीनपटक मन्दिर घुमाएपछि प्रमुख जिल्ला अधिकारीले पूजा गर्नेछन्। त्यसपछि नेपाली सेनाका जिल्ला प्रमुखले गर्नेछन्। जिल्ला समन्वय समिति र तानसेन नगरपालिकाले पूजा गरेपछि पुनः रथलाई तीनपटक मन्दिर घुमाएर भित्र राखिने छ । रथयात्रा विसर्जन हुने उदयले बताए ।
 


Author

थप समाचार
x