रीतिरिवाज

बदलिँदो तीज

कर्णालीमा हराउँदै पुराना भाका र मादल

लक्ष्मी भण्डारी |
भदौ २३, २०७८ बुधबार ८:२२ बजे

फाइल तस्‍बिर

सुर्खेत - 

बिहानै उठेर ठूलो खोला तरुँला
बेलुकी पखमा माइत पुगुँला
स्वामी मेरा जड्या छन् खरा सासू–ससुरा
भन आमा त्यस्तो घरमा क्यारी बसुँला

आमा–छोरीका बिलौना र माइतीघरको सम्झना वरिपरि रहेर तीजमा गाइने पुराना लयका गीत आजभोलि घन्किन छाडे । गाउँभरिका चेलिबेटी जम्मा भई माइतीको आँगनमा मादल बजाएर वर्षभरिको वेदना पोख्ने थलो हुन्थ्यो तीज । दर खाएपछि लालटिन र दियालो बालेर रातभरि तीजका गीत मादलको तालमा गाउँदै/नाच्दै गरिने रमाइलो एकाएक हराउँदै जान थालेको छ ।


आजभोलि उहिलेको जस्तो तीज मनाउने चलन हराइसकेको बताउँछिन् गुर्भाकोटकी ६५ वर्षीया शर्मिला थापा । ‘हाम्रो पालामा वर्षमा एक चोटी तीजको बेलामा मात्र माइत जान पाइन्थ्यो, त्यहाँ गएर तीजका गीतमार्फत आफ्ना वर्षभरिका विलौना पोखिन्थ्यो’ पहिलेको तीज सम्झदै उनी भन्छिन्, ‘आमाले पकाएको दर खाइन्थ्यो, खीर खाजा भात, तामाको तरकारी बारीकै काँक्रा टिपेर अचार बनाउँथ्यौ ।’ 

पछिल्लो समय तीज भड्किलो हुँदै गएकोकोमा सोही गाउँकी मनसरी खत्री पनि दुःखी छन् । ‘आजभोलिका गीत र नाच हाम्रो उहिलेको जस्तो हुँदैन’ उनी भन्छिन्, ‘नाचेको हेर्न पनि जान मन लाग्दैन ।’

पछिल्लो समयमा सहरीकरण हुँदा भिन्न समुदायका व्यक्तिसँगको रहन–सहन, बोलीभाषा नमिल्दा सामूहिक रूपमा गाइने तीज गीत हराउँदै गएको सुर्खेत सिम्ताकी किमशरा खत्रीको भनाई छ ।  उनी भन्छिन्, ‘सहरी बसाइँले एक्लिँदा मान्छेहरू मोबाइल, डिजे प्रविधिको सहयोग लिएर तीजका गीतमा नाच्न थालेका छन्, जसले गर्दा तीजका पुराना भाका हराउनुका साथै तीज भड्किलो बन्दै गएको छ ।’

तीजका पुराना भाकाहरू लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्छिन् लोक गायिका मनु मन्दीर । ‘पहिले तीजका भाकामा मादल बजाएर नाच्ने गरिन्थ्यो । अहिले डेग बजाएर नाच्न थालेका छन्’ उनी भन्छिन्, ‘विस्तारै तीज भड्कीलो बन्दै गएको छ । पुरानो संस्कृति लोप हुँदै आएको छ ।’ पुराना भाका लोप हुने मात्र होइन दर खाने प्रचलनमा पनि तीज भड्कीलो बन्दै गएको छ । 

तीजको एक महिनाअगावै दर खाने र रमाइलो गर्ने नाममा खर्चिलो बन्दै गएको छ । पहिले घरमै पाक्ने दर अहिले ठूला होटल, पार्टी प्यालेस र विभिन्न संघ संस्थामा पाक्न थालेको छ । उहिले दरमा  खिर, खाजा भात, तामाको र गाभाको तरकारीको साथै काँक्राको अचार हुन्थ्यो । दूध, दही र घिउबाट बनेका परिकारको सट्टामा अहिले दर खाने नाममा मासु र बियरको प्रयोग हुन थालेको छ । 

‘पहिले दिदी–बहिनी, आमा–भाउजू मिलेर शुद्ध परिकारहरू बनाएर दर खाने गर्दथे’ लोक गायिका मनु भन्छिन्, ‘अहिले जता हेर्‍यो दरको खाने नाममा रक्सी, बियर खानेहरू मात्रै छन् ।’ 

तीजको मान्यता के हो र  कसरी मनाउनु पर्छ  भन्ने कुरा नयाँ पुस्ताले बिर्सिदै गएको उनको भनाई छ । धार्मिक परम्परा अुनसार माईती घरमा रमाइलो गर्दै खाइने दर अहिले पार्टी प्यालेस र होटलमा सर्दै जान थालेको उनको गुनासो छ  । 

‘अहिलेका तीज गीतहरुमा न मौलिकता छ, न त तीजको मर्म नै’ शिक्षक चन्द्रा खत्री भन्छिन् ‘परम्परालाई आधुनिकता दिँदै जाँदा चाडपर्वको मूलभाव र महत्व नै मासिएर गएको छ ।’ 

उनी मौलिक संकृति बोकेको पर्वलाई भड्किलो बनाउँदै गएको बताउँछिन् । तीज पर्वलाई संस्कृति नभई फेसनको रूपमा लगिएको भन्दै उनले यसलाई मौलिक संस्कृतिकै रूपमा विकास गर्नुपर्ने बताउँछिन् । 

जसका कारण पछिल्लो समय समाजमा तीज पर्व आर्थिक हैसियत देखाउने पर्वको विकसित हुन थालेको देखिन्छ । ‘तीजलाई पछिल्लो समयमा फेसनको रुपमा विकृति फैलाई रहेको अवस्था छ’ शिक्षक खत्री भन्छिन्, ‘बाहिरी आवरणकै लागि अहिलेको पुस्ताले चाडपर्वलाई फेसन पर्वको रूपमा मनाउँदै आएकाले यस्ता चाडपर्वको धार्मिक महत्वलाई विशेष ध्यान दिनुपर्ने हुन्छ ।’ 


Author

थप समाचार
x