रीतिरिवाज

आज ऋषिपञ्चमी

महिलाहरूले सप्तऋषिको पूजा आराधना गर्दै

इकागज |
भदौ २६, २०७८ शनिवार ७:० बजे

काठमाडौं - भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।


यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । पौराणिक समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्‍यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।

यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको पण्डित मधुसुदन सुवेदीले बताए ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा गौतमको भनाइ छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेको छ । कोभिड महामारी कम हुँदै गएकाले मन्दिर खुला गरिए पनि भौतिक दूरी र स्वास्थ्य मापदण्‍ड पालना गरेर पूजा आराधना गर्न प्रशासनले आह्वान गरेको छ ।


Author

थप समाचार
x