रीतिरिवाज

इन्द्रजात्राको लिङ्गो आज ठड्याइँदै

इकागज |
असोज २, २०७८ शनिबार ६:४६ बजे

फाइल तस्बिर । २०७४ः इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारी, गणेश, भैरवको रथयात्रा हेर्न वसन्तपुरमा उपस्थित सर्वसाधारण । तस्‍बिर: रासस

काठमाडौं - काठमाडौं- वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (असोज २) बिहान ६:५१ बजेको साइतमा गर्ने तयारी भएको छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। असोज ८ गते नानिचा यात्रा गरिनेछ। त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ। यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ। 

कोभिड महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो। यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।


जात्राको तयारीस्वरूप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ। तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ। 


Author

थप समाचार
x