रीतिरिवाज

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका-प्रसाद ग्रहण

इकागज |
असोज ९, २०७८ शनिवार ६:४२ बजे

काठमाडौँ - ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको  लिङ्गो गएराति १० : ३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । आज राति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।  
 
यसअघि आजै राति राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेकी हुन् । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत सम्पन्न भएको छ । शुक्जैरबार दिउँसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो । यो यात्रा इन्द्रजात्राको अन्तिम यात्रा हो ।

इन्द्रजात्राका अवसरमा अवसरमा असोज ४ गते माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । इन्द्रजात्राको मुख्य दिन असोज ३ गते आइतबार तल्लोटोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । यस दिन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रिगण, सांसदलगायत जनप्रतिनिधिले जात्रा अवलोकन गरेका थिए ।


इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकू दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा भाद्र शुक्ल द्वितीयाका दिन लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । 

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । इन्द्रजात्राकै दिन पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय पाएको ऐतिहासिक तथ्य पनि छ ।

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको भदौ ३ गते आइतबार विधिपूर्वक पूजा  आजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच, पुलुकिसी नाच, रामचन्द्र नाचलगायत सांस्कृतिक झाँकी, नाचगान प्रस्तुत गरिएको थियो । 

इन्द्रजात्राको अन्तिम दिन हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो । यस अवसरमा जीवित देवी कुमारीको दर्शन गर्ने भक्तजनको पनि भीड लागेको थियो । रासस
 


Author

थप समाचार
x