रीतिरिवाज

आज घटस्थापना

शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

इकागज |
असोज २१, २०७८ बिहिवार ९:४० बजे

बडादसैँ पहिलो दिन घटस्थापनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहेको शक्तिपीठ चण्डेश्वरी मन्दिरमा पूजाआजा गर्दै भक्तजन । तस्‍बिर: रासस

काठमाडौँ - दुर्गा पक्ष सुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । 

विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भीड लागेको हो । नवरात्र नपरेका बेला पनि आज देवी मन्दिरमा भक्तजनको भीड लाग्छ । शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ । 


डादसैँको पहिलो दिन घटस्थापनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ५ मा रहेको शक्तिपीठ चण्डेश्वरी मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्‍बिर: रासस

बडादसैँका रूपमा समेत मनाइने यो नेपालीको राष्ट्रिय चाड हो । बडादसैँको पहिलो दिनदेखि नै घरघरमा घटस्थापना गरी नवदुर्गाको विशेष पूजा आराधना गरिन्छ । आज घटस्थापनाको साइत बिहान ११:४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि शान्ति गर्नुपर्ने शास्त्रीय विधि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । चित्रा नक्षत्रको स्वामी त्वष्टाअर्थात् विश्वकर्मा र वैधृति योगका स्वामी अदितिको पूजा अराधना गरेर दोष मुक्तिका लागि शान्ति गर्नुपर्छ ।

नक्साल भगवतीको स्वरुप बिगारिँदा सफाइमा समस्या 

 काठमाडौँ महानगरपालिका–१ मा रहेको नक्साल भगवती क्षेत्रको सफाइमा बुधबार बेलुकीदेखि नै स्थानीयवासी सक्रिय भएका थिए । मन्दिर परिसरमा घटस्थापना गरी आजदेखि नवदुर्गाको विधिवत् पूजा आराधना गर्ने तयारी भइरहेको छ । विसं २०६६ मा जीर्ण मन्दिर भत्काएर पुनःनिर्माण गर्ने क्रममा पहिलेको भन्दा स्वरुप बिगारिएकाले मन्दिरमाथि जम्मा भएको फोहर सफा गर्न अप्ठ्यारो भएको स्थानीयवासी अविल कपालीले बताए । 

 पहिले मन्दिरभित्र दलिन राखेर गजुरसम्म पुगेर सफाइ गर्न सकिने संरचना रहेकामा विसं २०७० मा मन्दिर पुनःनिर्माण सम्पन्न हुँदा यो स्वरुप बिग्रिएको उनको गुनासो थियो । पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्व भएका संरचना पुरानै स्वरुपमा बनाउनुपर्ने कानूनी व्यवस्था भए पनि पुरातत्व विभागको हेलचेक्र्‍याइँले यस्तो भएको स्थानीयवासीको दुःखेसो छ । मन्दिरको पुरानो स्वरुप बिगारिएकै कारण बाहिरबाट भर्‍याङ राखेर मन्दिरमाथि सफाइ गर्न जानुपर्ने बाध्यता परेको छ ।

 मन्दिर पुनःनिर्माणका बेला परिसरको ढुङ्गेधारासमेत साँघुरो बनाइएकाले पानीको दह जम्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र राजकर्णिकार बताउनुहुन्छ । यसका कारण मन्दिर क्षेत्रमा फोहर पानी जम्ने गरेको छ । यन्त्र लगाएर ठूलो पाइपले फोहर पानी बाहिर फाल्नुपरेको उनले सुनाए । मन्दिर कहिले बन्यो भन्ने यकिन इतिहास नभए पनि मन्दिर क्षेत्रमा रहेको जलद्रोणीमा लिच्छविकालीन अभिलेख रहेकाले त्यसअघि नै बनेको मन्दिर हो भन्न सकिन्छ ।

घटस्थापनाका दिन बिहीबार बागलुङ कालिका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न आएका भक्तजनको भिड । तस्‍बिर: रासस

 यसैगरी काठमाडौँ–३० मा रहेको मैतीदेवी मन्दिरमा सफाइसहित आजदेखि विशेष पूजाको तयारी गरिएको छ । मैतीदेवी मन्दिर क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष दलबहादुर कार्की भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नवरात्रमा मन्दिर आउने भक्तजनलाई दर्शन एवं पूजा आराधनाको व्यवस्था मिलाइएको बताउँछन् ।

 काठमाडौँ–८ मा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ । मन्दिर क्षेत्र सफाइ गरी विशेष पूजा आराधनाको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्रका अन्य शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । दुर्गा पक्षका पनि सार्वजनिक बिदाका दिन पशुपति क्षेत्रका शक्तिपीठमा भक्तजनको बढी भीड लाग्ने गर्छ ।

काठमाडौँ उपत्यकाका कालिकास्थान, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी, इन्द्रायणी, चामुण्डादेवी, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराहीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । 

 यसैगरी काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ । पाथीभरा, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, इच्छाकामना देवी, मनकामना देवी, शैलेश्वरी, बागलुङ कालिकालगायत देवी मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकाङ्क्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भीड लाग्ने गर्छ । रासस
 


Author

थप समाचार
x