रीतिरिवाज

डोल्पामा त्रिपुरकोट गाउँमा छुट्टै दसैँ : टीकाको आफ्नै साइत, जमरा लाउने आफ्नै चलन

इकागज |
असोज २८, २०७८ बिहिवार १०:१६ बजे

तस्बिर सौजन्य : रामचन्द्र न्यौपाने

सुर्खेत - देशभर दसैँमा टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ । त्यहाँको देवताका नियमअनुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलन रहेकको छ । 

त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्की लगायतले परापूर्वकालदेखि नै आफ्नै साइतमा दसैँको टीका-जमरा लगाउँदै आएका छन् ।


घटस्थापनाको दिन सुरु भएको पूजा प्रायः दसैंको दिन दिउँसो ३ बजेतिर मात्रै सकिने भएकोले त्यसअघि दसैँको टीका लगाए गाउँमा अनिष्ट हुने विश्वास रहेको पुजारी लक्ष्मीरुद्र उपाध्याय बताउँछन् । ‘पूजा सकेर भगवती माईलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै गाउँलेले टीका जमरा लगाउनु पर्छ,’ उनले भने, ‘अरु अर्धपीठ हुन् । त्रिपुरासुन्दरी पूर्णपीठ हो । त्यसैले त्रिपुरासुन्दरीको नियमअनुसार काम गर्नुपर्छ ।’

दसैँ टीकाको साइत बिहान हुने भए पनि त्रिपुराकोट गाउँमा भने बेलुकादेखि टीका ग्रहण र जमरा लगाउने चलन रहेको पुजारी उपाध्यायले बताए । ‘हाम्रो पूजाआजा बेलुकामात्र सकिन्छ,’ उनले भने, ‘टीका जमरा बेलुकाबाट सुरु भएर मध्यरातसम्म लगाउने चलन छ ।’

घरको काम सकेर साँझको समयमा परिवारका सबै सदस्य र आफन्तजनहरू एकै ठाउँमा भेला भएर त्रिपुराकोटवासीले अग्रजको हातबाट टीका थाप्ने र आशीर्वाद लिने गर्छन् ।

दुई सयभन्दा धेरै घरपरिवारको बस्ती रहेको त्रिपुराकोटबाहेक डोल्पा जिल्लाका अरु गाउँमा भने पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतमै दसैँको टीकाजमरा लगाउने चलन रहेको छ ।


Author

थप समाचार
x