रीतिरिवाज

इकागज आर्काइभ

महिनावारीमा टीका: ‘दसैँमा दुर्गा भवानी नै पर सरेकी त छैनन् ?’

सृजना खड्का |
असोज २९, २०७८ ८:५४ बजे

काठमाडौं : दमक उर्लाबारीकी एलिसा निरौलाको हजुरबुबालाई आन्द्राको क्यान्सर थियो । डाक्टरले उनका ८७ वर्षीय हजुरबुबा पुण्यप्रसाद निरौलालाई जतिसुकै बेला जे पनि हुन सक्ने बताएका थिए । दसैँ नजिकिदै थियो । एलिसालाई जुनसुकै हालतमा पनि हजुरबुबाको हातबाट दसैँको टीका थाप्नु थियो । यो दुई वर्षअघिको कुरा हो ।

यही बेला उनको महिनावारी हुने मिति पनि नजिकिदै थियो । हजुरबुबाको हातबाट जसरी पनि  मलाई टीका लगाउनु थियो,’ उनले सुनाइन्, महिनावारी भइहाले भने पनि कसैलाई नभनी टीका लगाउँछु भन्ने योजना बनाएको थिएँ । नभन्दै अष्टमीको दिन म महिनावारी भएँ ।’


एलिसाकी हजुरआमा धर्मकर्ममा असाध्यै विश्वास गर्थिन् । उनको घरमा दिनदिनै पूजापाठ हुन्थ्यो । आरती गरिन्थ्यो । हजुरआमाको डरले एलिसा र उनकी बहिनी महिनावारी भएको बेलामा पूजा कोठामा चिहाएर  पनि हेर्दैनथे । महिनावारी भएको बेला पूजा कोठा चिहाउँदा मात्रै पनि उनकी हजुरआमा काम्‍न थाल्थिन् । ‘दसैँको मुखैमा महिनावारी भएपछि अन्त जतासुकै गए पनि पनि पूजा कोठामा चैं जान्न भन्ने सोच बनाएकी थिएँ,’ उनले विगत सम्झँदै भनिन्, ‘तर, त्यहि दिन बुबाले पूजा गर्न बोलाउनुभयो । डराइडराइ पूजा गरें । ’ तर, यसरी पूजा गरिरहँदा उनको ध्यान भगवानमा हैन हजुरआमामा थियो ।

उनी मुटु थामेर हजुरआमा कतिबेला काम्न थाल्नुहोला भनेर प्रतीक्षा गरिरहेकी थिइन् । तर, त्यो दिन अचम्मै भयो । हजुरआमा काम्दै काम्नु भएन । हजुरआमा नकामेको देखेपछि उनी  ढुक्क भइन् । भोलिपल्ट पनि पूजा कोठामा गएर पूजा गर्नेदेखि भान्सामा गएर खाना पकाउनेसम्मका सबै काम गरिन् । दसैँको दिन अरुसरह बुढो हजुरबुबाको हातबाट टीका थापिन् । परिवारसँगै लागेर आफन्तकहाँ पनि टीका लगाइन् ।

टीका सकियो । दैनिकी पुरानै लयमा फर्कियो । एक दिन परिवार एकै ठाउँ भेला भएको बेला दसैँको समयमा छुई भएको खबर सुनाइन् ।  भनिन्- ‘म अष्टमीको दिन महिनावारी भएकी थिएँ । अर्को साल हजुरबाको हातको टीका लगाउन पाइएला/नपाइएला भनेर तपाईंहरुलाई केही भनिँन ।’ एलिसाको कुरा परिवारका लागि अमेरिकाले हिरोसिमामा बम खसालेभन्दा कम डरलाग्दो थिएन । एलिसाकी आमा बेस्सरी रिसाइन् । सारसौंदी हजुरआमा एलिसाको कुरा पूरा नहुँदै काम्न सुरु गरिन् ।

‘अस्ति छुई भएको बेला दुनियाँथरि गर्दा केही नहुने । अहिले सुन्दा मात्रै भगवान चढ्ने ? एलिसाले हजुरआमालाई हप्काइन् । छुई हुने कुरा धर्मसँग हैन शरीरसँग जोडिएको हुन्छ भनेर आमालाई सम्झाइन् । ‘मलाई मैले लिएको त्यो निर्णयको कहिल्यै पछुतो भएन । त्यो निर्णयले मैले हजुरबुबाको हातको अन्तिम टीका लगाउन पाएँ । परिवारको सोच अलिकति भए पनि परिवर्तन गर्न सकें ।’ त्यो दिनदेखि आजसम्म एलिसाले जमहिनावारी बारेकी छैनन् । महिनावारीकै कारण अहिलेसम्म उनको दसैँ, तिहार, तीज, विवाह, ब्रतबन्ध केहि रोकिएको छैन । 

महिनावारीमा पनि लगायौँ दसैँको टीका
काठमाडौं किर्तिपुरकी निशा रुम्बा महिनावारी बार्नेमै पर्थिन् । महिनावारी हुँदा पूजा र भान्छा कोठा नछुने परम्परा पनि लामै समय धानिन् ।  तर, जुन दिन उनले महिनावारी श्राप होइन मासिक चक्र हो भनेर बुझिन् त्यो दिनदेखि चटक्कै महिनावारी बार्न छाडिन् । महिनावारी भएकै कारण उनले तिहारमा लगातार सात वटा भाइटीकामा ‘मिस’ गरिन् ।  महिनावारीकै कारण कति अरु कति चाडपर्व खल्ला भए त्यसको त झन् कुनै गणना नै छैन ।

 

रुखमा सियो घोपेर महिनावारी नहोस् भनेर प्रार्थना गरेकी छिन् । बिहान उठ्ने बित्तिकै पैतालाको सात ओटा टीका पनि लगाएकी छिन् ।

एकदिन उनकी आमाले शरीरबाट सिँगान, खकार, पिसाब गए जस्तै गएको रगत त हो नि यसलाई किन नछुने भनेको होला भनेपछि निशा झसङ्ग भइन् । 'त्यसपछि मैले अब चाहिँ महिनावारी भए पनि दसैँ र तिहारमा टीका लगाउँछु भन्ने मानसिकता बनाएँ,’ उनले भनिन्, ‘महिनावारी कुनै श्राप होइन भनेर धेरैसँग धेरैपटक तर्क गर्नुपर्‍यो ।’ विवाह भएको पहिला वर्ष भएकाले यो वर्ष दसैँको टीका लगाउन उनी इटहरी पुगेकी थिइन् । नवमीको दिन महिनावारी भइन् । ‘घरमा मेरो पिरियड भयो तर, म दसैँको टीका लगाउँछु भने,’ उनले सुनाइन् , ‘कसैले केहि भनेन । ससुरा बुबाले थपक्क टीका लगाइिदनु भयो । मगर समुदाय भएर पनि होला घरमा खासै अप्ठ्यारो परेन ।’ तर, उनको माइतीमा भने आनाकानी गरे । ‘उता लगाएर आइसकें, केहि हुँदैन भनेर जिद्दी गरेँ,’ उनले भनिन्, ‘मेरो ढिपीको अघि उहाँहरुको केहि लागेन । थपक्क थाली निकालेर सबैले टीका लगाइदिनु भयो ।’ यसपछि निशालाई पनि लाग्यो ,  ‘हो रैछ, परिवर्तन वास्तवमा आफ्नै घरबाट सुरु गर्नुपर्ने रहेछ ।’

भक्तपुर ताथलीकी मुन्नी केसीले पनि महिनावारी भयो भनेर दसैँ टीका बारिनन् । उनले महिनावारी भएकै कारणले दसैँको टीका कहिल्यै छुटाएकी छैनन् । मुन्नीलाई यो निर्णय लिन भने बुबाले नै सघाउँदै आएका छन् । दसैँको बेला महिनावारी भयो भने उनका बुबा भन्छन्, ‘दसैँ भनेको दुर्गा भवानीलाई पुज्ने पर्व हो । दुर्गा भवानी पनि महिला हुन् । हामीलाई के थाहा अहिले दुर्गा भवानी पनि पर सरेकी छिन् कि । त्यसैले, केहि हुँदैन आऊँ सँगै बसेर टीका लगाऔँ ।’

बिराटनगरकी अनुशा खकुरेल चाडपर्व नजिकिदै गर्दा महिनावारी हुने महिना पुग्यो भने फेमिट्रोन (महिनावारी रोक्ने औषधि) किन्न फार्मेसीतिर दौडिन्थिन् । धेरैपटक चाडपर्व नछेकियोस् भनेर उनले फेमिट्रान खाएकी छिन् । ‘महिनावारी नियमित प्रक्रिया हो, यसलाई रोक्नु हुँदैन भन्ने थाहा थियो,’ उनले भनिन्, ‘यस्ता औषधिले पछि स्वास्थ्यलाई राम्रो गर्दैन भन्ने पनि थाहा थियो । तर, छोयो भने कुल रिसाउँछन् भनेको सुनेर औषधि खान्थें ।’ औषधिले मात्र नहोला भनेर उनले महिनावारी रोक्नका लागि अनेक घरेलु उपाय पनि अपनाएकी छिन् । परिवार र आफन्तले सिकाएअनुसार बिहान खाली पेटमा बेसार फिटेर खाएकी छिन् । रुखमा सियो घोपेर महिनावारी नहोस् भनेर प्रार्थना गरेकी छिन् । बिहान उठ्ने बित्तिकै पैतालाको सात ओटा टीका पनि लगाएकी छिन् ।

केहि वर्षअघिको दसैँमा महिनावारी हुँदा भने उनले कसैलाई थाहै नदिई टीका थापिन् । त्यहाँदेखि उनी महिनावारी भएको बेला मन्दिर पनि जान थालिन् । ‘यो विषयमा जहिल्यै घरमा कचकच हुन्थ्यो,’ उनले भनिन्, ‘अरु सबै एकातिर हुन्थे म एक्लै, अर्कोतिर । पछि मैले विहे, ब्रतबन्ध, पूजा केहिमा पनि महिनावारी नबारेपछि उहाँहरुले मलाई केहि भन्नै छाड्नुभयो । यसपाली महिनावारी भएको दुईदिन भएको थियो । आफैँ टीका लगाउन आइज भनेर बोलाउनुभयो । बल्ल सन्तोकले टीका लगाएँ ।’ उनका आफन्तहरुले भने उनलाई टीका लगाउन मानेनन् । तर, परिवारले जस्तै आफन्तले पनि बोलाएरै टीका लाइदिने दिन चाँडै आउनेमा अनुशा विश्वस्त छिन् ।

रामेछापकी अनामिका पौडेललाई दसैँमा महिनावारी भएको बेला बुबाले छुट्टै दुनामा हालेर टीका दिन्थे । त्यो टीका उनी आफैँ लगाउँथिन् । यो वर्ष दशैँमा उनी महिनावारी हुँदा भने उनले दुनामा दिएको टीका लाउन मानिनन् । ‘लगाइदिने भए आफैं लगाइदिनु नत्र लगाउँदिन भनेर बुबालाई धम्काएँ,’ उनले भनिन्, ‘म परिवारकी एक्ली छोरी भएकाले मेरो खाली निधार उहाँले देख्न सक्नु भएन र टीका लगाइदिनुभयो । महिनावारी भएको बेला कतै छोइयो भने गंगाजल छर्किने घरमा यो परिवर्तन देखेर खुशीले मेरो खुट्टा भुँइमा छैन ।’ अर्को वर्षदेखि महिनावारी भएपनि वादविवाद नगरी टीका लगाउन पाउने भएकोमा अनामिका अहिलेदेखि नै खुशी छिन् ।

काठमाडौँकी गरिमा चौलागाईं महिनावारी हुँदा अपवित्र भइन्छ भन्ने कुरा मान्दिनन् । यो कुरा उनले आफ्नो परिवारलाई पनि सम्झाएकी छिन् । उनी महिनावारी हुँदा परिवारको स्विकृतिमै मठमन्दिरदेखि घरको चारैकुनामा जान्छिन् । यसपटकको दसैँमा उनी टीकाको अघिल्लो दिन महिनावारी भइन् । ‘मेरो घरमा महिनावारीलाई ठूलो रुपमा लिनहुन्न,’ उनले भनिन्, ‘त्यसैले अरु वर्षको जस्तै यो वर्ष पनि हामीले साइतमै दसैँको टीका लगायौँ । यो वर्ष मैले धेरै दिदीबहिनीलाई महिनावारी भए पनि टीका लगाउँदा केहि हुँदैन भनेर आफ्नो स्टोरी सुनाएँ ।’ 

महिनावारी : पाप र धर्म ?
झापाकी इन्दिरा गिरीलाई टीकाको तीन दिन अघि महिनावारी भयो । उनको घरमा कसैले टीका लगाउन रोकटोक गरेनन् । ‘तर, टीका लगाउने बेला एकजना छिमेकी आउनुभयो,’ उनले भनिन्, ‘धर्म, संस्कृत र पुराणको कुरा निकालेर माहिनावारीमा छोइछाइ हुँदा के-के पाप लाग्छ भनेर लिस्ट निकाल्न थाल्नुभयो । मैले नमानेर टीका लगाउन ढिपी गरेपछि, ‘अहिलेका पढेलेखेका भनाउँदालाई केहि थाहा छैन तैपनि, म जस्तो जान्ने कोही छैनन् जस्तो गर्छन्’ भन्दै रिसाएर जानुभयो ।’

बाल्मिकी संस्कृत विद्यापीठका उपप्राध्यापक दीपक घिमिरेले धर्मले व्याख्या गरेको कुरा व्यवहारमा लागू गर्दा तलमाथि पर्न जाने बताए । तर, उनी मानिसले गरेको कर्मअनुसारको फल भोग्नुपर्ने बताउँछन् । ‘धर्म संस्कृति भन्ने कुरा हाम्रो दैनिकीसँग जोडिएको हुन्छ,’ उनी भन्छन्, ‘महिनावारी नबार्दा पाप लाग्छ भन्नुको मतलब धार्मिक डर देखाउनु हो । त्यसभित्र धेरै कारणहरु लुकेका छन् । त्यसले पार्ने प्रभावहरु लुकेका हुन्छन् । अन्ततः मानिसले जस्तो कर्म गर्‍यो त्यही अनुसारको फल भने भोग्नुपर्छ । चाहे त्यो अर्को जन्ममा नै किन नहोस् ।’

महिला अधिकारकर्मी बबिता राई विभेदकारी सामाजिक नियमका कारण महिनावारी सार्ने औषधि खानुपर्ने अवस्था सिर्जना हुनु एकदमै डरलाग्दो अवस्था रहेको बताउँछिन् । ‘यसले आजको वैज्ञानिक युगमा पनि हाम्रो चेतना कति पछाडि छ भनेर संकेत गर्छ,’ उनी भन्छिन्, ‘यद्यपि थोरै महिलाबाट भएपनि यस्ता नियमलाई तोडेर सुरु भएका परिवर्तनका प्रयास सह्रानीय छन् ।’

महिनावारी नबार्दा पाप लाग्छ भन्ने कुरालाई उनी कति पनि मान्न तयार छैनन् । ‘महिनावारी नबार्ने विश्वका करोडौँ अरबौँ मानिसलाई पाप लागेको छ त ?’ उनी प्रश्न गर्छिन् । बबिताको समुदायका धेरै महिलाले महिनावारी बार्दैनन् । नेपालका अरु समूदाय पनि छन् जसले महिनावारी बार्दैनन्,’ उनी भन्छिन्, ‘पाप लाग्ने भए ति सबैलाई लाग्नुपर्ने हो । महिनावारी नबार्ने विकसित देशका महिलाहरुलाई पनि हुनसम्मको पाप लाग्नुपर्ने हो । तर, किन उनीहरुको जीवन हाम्रोभन्दा समृद्ध छ ?’

 

महिनावारी नबार्ने विकसित देशका महिलाहरुलाई पनि हुनसम्मको पाप लाग्नुपर्ने हो । तर, किन उनीहरुको जीवन हाम्रोभन्दा समृद्ध छ ?’

यस्ता विषयको परिवर्तनलाई अझै व्यापक बनाउन सबैले आफ्नो परिवारभित्रबाटै विद्रोह सुरु गर्नुपर्ने उनी बताउँछिन् । ‘सबैभन्दा मुख्य कुरा त महिनावारीलाई छलफल र बहसको विषय बनाइराख्नु पर्छ,’ उनी भन्छिन्, ‘जति धेरै यसको बारेमा छलफल हुन्छ त्यति नै यसलाई सहज मान्न थालिन्छ । महिनावारीका विषयमा संवाद गर्ने क्रम बढ्दै जानु भनेको एक अर्काका ज्ञान, बुझाइ, अभ्यास र अनुभव पनि बाँडिदै जानु हो ।’ एउटा परिवारले महिनावारी बार्न छोडेको कथाले अरु कैयौं परिवारलाई प्रोत्साहित गर्ने उनी बताउँछिन् ।

‘महिनावारी नलुकाइ घरको भान्सादेखि पूजा कोठासम्म जान सक्ने हुनुपर्छ’
सावित्री गौतम, महिला अधिकारकर्मी 


महिनावारी भएको बेलामा महिलाहरुले दसैँको टीका लगाए । यो राम्रो हो । तर, कसरी लगाए त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । महिनावारी भएको कुरा लुकाएर टीका लगाएका छन् भने त्यसलाई परिवर्तन वा उपलब्धी मान्न सकिदैन । तर, पोहोरसम्म महिनावारी बारेर यो पटक लुकाइलुकाइ भए पनि टीकामा सहभागी भएको छ भने एक स्टेप अगाडि बढेको चाहिँ भन्न मिल्छ ।

महिनावारी भएको बेलामा महिलालाई आराम चाहिन्छ । महिनावारी भएको बेला धेरै महिलालाई शारीरिक पिडा हुन्छ । घरको काम गर्न सक्दैनन् । त्यस्तो अवस्था आफ्नो पीडा लुकाएर टीका लगाउनु ठूलो क्रान्ति होइन । लुकाएको कुरा पछि परिवारले थाहा पाउँदा झनै रडाको मच्चिन्छ । यसकै कारण महिलाले थप हिंसा भोग्नुपर्ने पनि हुन सक्छ । त्यसैले, महिनावारी लुकाएर सहभागी हुनु समस्याको समाधान होइन । महिनावारी लुकाउँदा सामान्य अवस्थामा जस्तो फूर्तिसाथ केहि कुरामा पनि सहभागी हुन सकिदैन ।

जुन दिन हामी महिनावारी भएको कुरा नलुकाइ घरको भान्सादेखि पूजाको कोठासम्म जान सक्ने हुन्छौँ । त्यो वास्तविक परिवर्तन हो । यसको लागि बहस गर्नुपर्छ । वादविवाद गर्नुपर्छ । एक पटक झगडा गरेर टीका लगाउनेहरुले अर्को पटक टीका लगाउनकै लागि झगडा गर्नु पर्दैन । एक पटक भान्सामा झगडा गरेर छिर्नेले अर्को पटक भान्सामा छिर्न झगडा गर्नुपर्दैन । तर, व्यवहारसँगै हामीले मानसिकतामा पनि परिवर्तन ल्याउनु जरुरी छ । यो कुरामा परिवर्तन गराउने जिम्मा महिलाको मात्रै होइन । रुढीवादीको साङ्लो एकदमै नराम्रोसँग जकडिएको हुनाले समाजका सबै यसमा जिम्मेवार छन् ।

नीति निर्माताहरुको पनि यसमा ध्यान जानुपर्छ । कानुनमा जे लेखेपनि छाउपढी अझै कायम छ । गाउँतिरको छाउपढीभन्दा पनि सहरिया छाउपढी झनै डरलाग्दो  छ । महिनावारी बार्न लगाउनु भनेको महिलामाथि हिंसा गर्नु हो । यो कुरा बुझाउनका लागि सबैले आ-आफ्नो ठाँउबाट पहल गर्नुपर्छ ।

पहिलो पटक प्रकाशित : ‘दसैँमा दुर्गा भवानी नै पर सरेकी त छैनन् ?’

 



Author

सृजना खड्का

स्वास्थ्य तथा सुरक्षा मामिलामा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार