रीतिरिवाज

हराउँदै देउसीभैलीको रौनक

इकागज |
कात्तिक २०, २०७८ शनिबार १६:३० बजे

खोटाङ - खोटाङको विभिन्न ठाउँमा पछिल्लो समय देउसीभैलीको रौनक हराउँदै जान थालेको छ । विशेषगरी धर्म परिवर्तन तिव्र भएका ठाउँमा देउसीभैलीको रौनक घट्दै गएको हो । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ बाहुनीडाँडालगायत ठाउँमा करिब एक दशकयता देउसीभैलीको रौनक हराउन थालेको हो । क्रिश्चियन धर्म अपनाउने दर बढेसँगै केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी गाउँपालिका–३ बासपानीलगायतका वडामा देउसीभैलीको रौनकमा कमी आएको स्थानीय बताउँछन् । गाउँमा क्रिश्चियन धर्ममा लाग्नेको संख्या बढ्दै गएपछि देउसीभैलीको रौनकमा असर पुगेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, दाल्फुका स्थानीय केसीराज राईले बताए । 

किराँत, हिन्दु, क्रिस्चियन र स्वर्गीकमार्गीका रुपमा स्थानीय विभाजित बन्दै भएपछि पछिल्लो समय देउसीभैली खेल्ने समूह सानो बन्दै गएको स्थानीयको भनाइ छ । क्रिश्चियतन धर्ममा लागेपछि हिन्दू वा अन्य धर्मसँग सम्वन्धित परम्परा अस्वीकार गर्ने गरिन्छ । दशकअघिसम्म तिहार अगावै नयाँ मादल बनाउने वा पुरानो मादलको तालतुना कस्ने र खरी लगाउने गरिन्थ्यो । गाउँमा दुई तीन जोर मादल तयार पारेपछि तिहार आउनुभन्दा अगाडिदेखि नै गाउँमा घन्काइन्थ्यो, विभिन्न भाका गुञ्जिन्थ्यो । लक्ष्मीपुजाको दिनबाट भैली खेल्न थालिन्थ्यो । गाउँका चेलीबेटीको नेतृत्वमा भैली खेलिन्थेँ । लक्ष्मीपूजाको रात काटेर विहान ४ बजेपछि र भालेबासेपछि ‘देउसी रे’ भन्न थालिन्थ्यो । लक्ष्मीपूजाको दिनबाट सुरू हुने देउसीभैली भाईटीकाको दोश्रो दिनसम्म जारी रहन्थ्यो । प्रत्येक घरमा दोहोर्‍याएर देउसी खेल्न पुगिन्थ्यो । तर, अहिले गाउँ नै विभिन्न धर्ममा विभाजित भएपछि तिहारको रमझममा कमी आएको दाल्फु, च्यास्मीटारका रहरमान राईले बताए । ‘एउटा त आफ्नो रितिथितिको बारेमा वास्ता नगर्दा पनि देउसीभैली पहिलाजस्तो हुन छाडेको हो,’ राईले भने,  ‘देउसीभैलीका लागि रहरियामध्ये कोही क्रिश्चियन भए, कोही स्वर्गीकमार्गी भए, कोही हिन्दु रहे । देउसी खेल्ने समूह थोरै बन्दै गएपछि देउसीभैली पहिलाजस्तो रमाईलो हुन छाडेको हो । पाँच दिनसम्म देउसीभैली खेल्ने हामी नै थियौँ ।’ 


दशकअघिसम्म तिहारमा दिनरात रामायण कथा भट्याएर देउसीभैली खेल्ने चलन थियो । देउसीभैलीका लागि रातभर अनिँदो बस्ने गरिन्थ्यो । मादल घन्काएर जुहारी गाइन्थ्यो । केटाकेटीदेखि बुढाबुढीसम्मको उत्साहजनक सहभागीता रहन्थ्यो । देउसीभैली खेल्नअघि प्रत्येक घरमा मादलको तालमा गीत गाउँदै नाचिन्थ्यो । एक घरबाट अर्को घरमा जाँदा मादल बजाएर गीत गाउँदै रमाईलो गर्दै जाने गरिन्थ्यो । अहिले, मादल कम बजाइन्छ, झ्याउने भाका कम गाउने गरिन्छ । त्यसको सट्टा साउण्डबक्समा गीत बजाएर हिँड्न थालिएको छ । भैली खेल्ने प्रचलन त हराइसकेको छ । भट्याउँदा पनि रामायणजस्ता धार्मिक कथा भन्न छाडिएको छ । हिजोआज देउसी पनि भाईटिकाको दिन र अघिल्लो दिन मात्र खेल्न थालिएको छ । देउसीभैलीलाई दान स्वरुप रुपैयाँ, जाँडरक्सी, सेल रोटी र फुलफुल दक्षिणा दिने गरिन्छ । खानेकुरा सोही घरमा बाँडेर खाने प्रचलन छ । 

धर्म परिवर्तन गरेर क्रिश्चियन धर्मावलम्बी बनेका कतिपय स्थानीय पनि देउसीमा सहभागी हुन छाडेका छैनन् । उनीहरु मादल बजाउँछन्, गीत गाउँछन् र नाच्छन् तर ‘देउसी रे’ भन्दैनन् ।


Author

थप समाचार
x