रीतिरिवाज

छाउ हुँदा शौचालय प्रयोग गर्न रोक

इकागज |
फागुन १०, २०७८ मगलवार १६:७ बजे

फाइल फाेटाे

मार्तडी- जिल्लाको बडीमालिका नगरपालिका–८ रावलबाडाकी गौरी रावलले महिनावारी (छाउ) भएका बेला  कहिल्यै पनि शौचालय प्रयोग गर्न पाइनन् । छाउ भएका बेला उनी बिहान बेलुकी खोला र जङ्गलको झारी खोज्दै जाने गर्थिन् ।

घर नजिकै बनाइएका शौचालयमा छाउ भएका बेला घरका मान्छेले प्रयोग गर्न नदिँदा जङ्गलको झाडी वा खोलामा धाउन बाध्य भएको रावलको गुनासो थियो । छाउ भएका महिलाले शौचालय प्रयोग नमिल्ले मान्यता रही आएकाले गर्दा धामी झाक्रीले पनि यसै कुरालाई प्रश्चय दिँदै आएको  उनको भनाइ थियो । 


उक्त वडाका अधिकांश महिलाले पनि छाउ भएका बेला गोठमै बस्ने र शौचालय प्रयोग गर्न नपाउने गरेको पाइएको छ । छाउ भएका बेला घरभित्र बस्दा देउता रिसाउने र गाईभैँसीले दूध दिन छोड्नेजस्ता कुसंस्कार रही आएकाले महिलालाई घरभित्र बस्न नदिने गरिएको नाम नबताउने  एक महिलाको गुनासो थियो । 
उनका अनुसार परम्परादेखि मान्दै आएको प्रचलनलाई तोड्न सकिएको छैन। उक्त वडालाई छाउ गोठमुक्त घोषणाका लागि अनुगमनका क्रममा सम्बद्ध महिलाले आफ्ना समस्या दर्साएका थिए । धार्मिक परम्पराअनुसार महिला छाउ भएपछि घरभन्दा पर बस्नुपर्ने पोषिलो खानेकुरा खान नहुनेजस्ता  प्रचलन अझै व्याप्त छ । वर्षाको समयमा त छाउ भएको बेला झनै बस्न गारो हुन्थ्यो भने हिँउदको समयमासमेत छाउगोठमा बस्न निकै समस्या हुने गरेको गौरीले बताइन् । 

उनले भनिन्, 'भुईंमा सुत्नुपर्छ, चिसोले सारै सताउछ, असुरक्षित महसुस हुन्छ, कीराफट्ग्रा र सर्पको निकै डर लाग्छ, आफ्नो समुदायका सबै यही छाउगोठमा आउँछौँ र  पराल विछ्याएर सुत्छौ ।' 

 गौरीले छाउ गोठमा बस्नुमात्र समस्या होइन शौचालयसमेत प्रयोग गर्न नपाउनु अर्को समस्या भएको बताइन् । दिनमा शौच लागे दिसापिसाब च्यापेर रातिसम्म पर्खनुपर्छ, कुसंस्कारलाई हटाउन त हामी चाहान्छौँ तर घरका पुराना मान्छेहरु मान्दैनन् परिवर्तन गर्न खोजे झन उल्टै रिसाउने र डर तथा धम्की दिने गरेको उनको गुनासो थियो । 

ऐडिबाडाकी एक महिलाले पहिलैदेखि देवता मान्दै आएका र छाउ भएको बेला नछुट्टिए देवता लाग्ने डरले हामीले छाउगोठमै बस्ने गरेको बताइन् । उनले यो प्रथा हटाउन त मन भए पनि हामीले देवताका डरले अहिलेसम्म हटाउन सकेका छैनौँ भनिन् ।  

छाउगोठ शिक्षितकै घरमा पनि भेटिएका छन् । उक्त वडामा बढीजसो कर्मचारी र सुरक्षाकर्मीका घरमा छाउगोठ देखिएको थियो । नगरपालिकाको छाउपडी गोठमुक्त अभियानअन्तर्गत वडा नं ८ मा यही फागुन २४ गते छाउगोठमुक्त वडा घोषण गर्ने तयारी गरेको पनि घोषणा चुनौतीको विषय भएको बताइएको छ ।  रासस


Author

थप समाचार
x