रीतिरिवाज

‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै

इकागज |
चैत २७, २०७८ आइतवार ६:१३ बजे

फाइल फोटो

काठमाडौँ - चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । 


त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । 

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । 

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेका थिए । 

‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेका थिए । 

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ । 

सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएका हुन् । 

रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले बताए । 

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायण लगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

 आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने जनाइएको छ ।
–––


Author

थप समाचार
x