रीतिरिवाज

माटोको जोडाइबाट निर्माण हुँदै जयवागेश्वरी मन्दिर

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १७:२० बजे

फाइल फोटो

काठमाडौँ- भूकम्पको सात वर्ष पूरा भएपछि पूर्णरुपमा क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिरको गजुर माटोको जोडाइबाट ठडिन लागेको छ । माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न जयवागेश्वरी सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए । 

मन्दिरको गारो माटोबाट जोड्न साँखु र लुभुबाट माटो ल्याइएको थियो । पहेँलो र बलौटे माटो मिसाएर जोड्दा काम गर्न सहज भएको थियो । माटोले जोडेर भत्काउने क्रममा भित्र भेटिएका तीन तहको गजुरको भागसम्मको काम सम्पन्न भएको छ । तीन गजुर राखेर एक तह छोपिने भएको छ । त्यसमाथि अर्को तहले छोपेर बाहिर देखिने गजुर राख्न लागिएको कोषका निर्देशक मरासिनीले बताए । 


बुट्टा निकाल्ने, टुँडाल राख्ने र छानोको केही काम बाँकी छ । यो काम पनि आगामी असार मसान्तसम्म सकिने कोषले जनाएको छ । जयवागेश्वरीको उदाहरणपछि एकतले मन्दिर माटोको जोडाइबाट बनाउन सकिन्छ भन्ने पुष्टि भएको छ ।
   
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवी देवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना भेटिएपछि पुरातत्वविद्, संस्कृतिविद्लगायत विज्ञको समिति गठन भएको थियो । समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन दिएको थियो ।  
    
सडकमा रहेको मन्दिर पुनःनिर्माणका लागि चुना सुर्कीको लागत स्टिमेटसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको थियो । सम्झौता अनुसार मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्रलगायत संरचना भेटिएका थिए । त्यसका कारण निर्माण अवधि बढेको हो । पटकपटक थपिएको म्याद आगामी असारमा सकिँदैछ । त्यसबेलासम्म मन्दिर पुनःनिर्माण पनि सक्ने गरी काम भइरहेको छ ।
 
पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक महत्वका मन्दिर पहिले जस्तै पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानूनी व्यवस्थाअनुसार कोषलाई सुझाव दिएको बताउँछन् । 

माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएको उनले सुनाए । माटोको जोडाइबाट पुनःनिर्माण गर्दाभित्र भेटिएका चित्र फेरि राख्न सकिने विज्ञको भनाइ छ । पुनःनिर्माणमा विज्ञ समितिले आवश्यक सल्लाह सुझाव दिइरहेको छ ।

विज्ञ समितिको प्रतिवेदनअनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरेको थियो । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इँटाको बीचमा राखिएको माटोको परीक्षण गरिएको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताए ।  
 
रु तीन करोड १४ लाखमा जयवागेश्वरी मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको हो । विश्वसम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनःनिर्माणको काम गरिएको छ । कोषका निर्देशक मरासिनी जयवागेश्वरीको पुरानो संरचनाअनुसार पुनःनिर्माणको काम भएको बताउँछन् । 
 
भूकम्पको एक महिना पनि नबित्दै कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम सुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्द गरिएको थियो । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महिना बित्दा पनि नगरेपछि कोषले सम्झौता रद्द गरेको थियो ।  
     
सुरुमा पुरातत्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण सुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनःनिर्माणबाट पछि हट्न बाध्य हुनुपरेको शर्मा बताउँछन् । 
  
सतीप्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ । चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डन बताउँछन् । 
  
पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ मा भूकम्पले क्षति पुर्‍याएको थियो । पन्ध्र सम्पदा पूर्णरुपमा क्षति भएका थिए । पशुपति क्षेत्रका ८० सम्पदामा आंशिक क्षति भएको थियो ।
  
भूकम्पले प्रभावित ३२ जिल्लामध्ये २९ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म ६३० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । भूकम्पले अन्य संरचनामा क्षति पुगेका नवलपरासीका दुई जिल्ला र मुस्ताङका सम्पदामा भने क्षति नभएको उनले सुनाए । 
 
जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि

जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो । 
 
मन्दिरको कलेबर १२÷१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीय सन्देश मुनिकारले बताए ।  
  
जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ । 
  
जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन् । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ ।
      
गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहासविद्को भनाइ छ । ऐतिहासिक एवं सांस्कृतिकरुपले महत्वपूर्ण क्षेत्र भए पनि जयवागेश्वरीका सम्पदाको संरक्षण हुन नसकेकाको स्थानीयवासीको गुनासो छ । रासस


Author

थप समाचार
x