सप्ताहन्त

लघुकथा

हामी दर्शक

श्रीओम श्रेष्ठ ‘रोदन’ |
असार ११, २०७९ शनिवार १४:७ बजे

प्रश्न : पेट्रोल, डिजेल, मटितेल र ग्यासको भाउ किन जहिले पनि रातको बाह्र बजेदेखि लागू हुने गरी बढाउने गरिन्छ ?
उत्तर :  परम्परादेखि हुँदै आएकोले यो प्रचलनजस्तै बनेको छ । 

प्रश्न : पञ्चायत कालदेखि गणतन्त्रसम्म पनि उही प्रचलन हुनु राम्रो हो र ?
उत्तर : हुनुपर्ने परिवर्तन नै हो तर यस्तै भइरहेको छ । 


प्रश्न : मूल्य वृद्धि हुनासाथ विद्यार्थी सङ्गठनले गर्ने विरोध पनि त्यस्तै हो ।
उत्तर : विरोधको अर्थ हुँदैन तर परम्परा धान्ने गर्छन् अहिले पनि विद्यार्थीहरु ।

प्रश्न : मूल्य वृद्धि र विरोध किन नाटकजस्तै भइरहेको होला ?
उत्तर : इन्धनको भाउ बढाउनासाथ धेरैको बैङ्क खाता पनि बढ्ने भएकाले होला नि ।

प्रश्न : राति बाह्र बजेदेखि लागू गर्नुको कारण त्यही हो त ?
उत्तर : सत्य नै त्यही हो नि । दिनभरि ट्याङ्करहरुले डिपोहरुमा इन्धन भरिदिन्छन् । अनि हाकिम, वितरक, डिपो र ड्राइभरहरुलाई दसैँ आउँछ ।

प्रश्न : कसरी ?
उत्तर : राति दश बजेपछि मूल्य वृद्धि गर्ने बैठक बस्छन् । त्यसअघि विद्यार्थी नेताहरुसँग गोप्य भेट भइसकेको हुन्छ ।

प्रश्न : मूल्य वृद्धि हुनु र विद्यार्थीहरुले विरोध गर्नु पुरानै नाटक दोहोर्याउने मात्रै हो त ?
उत्तर : त्यही भएर हामी दर्शक बनेर ताली बजाइरहेका छौँ होइन र ?


Author

थप समाचार
x