सप्ताहन्त

‘कथा कस्तुरी’ले मागेको प्राज्ञिक पहिचान

शिव रिजाल |
असार १८, २०७९ १२:३४ बजे

रङ्गकर्मी विद्यार्थीहरूका लागि भनी सञ्चालन गरिने तीन महिनादेखि एक वर्ष अवधिसम्मका प्रशिक्षण सत्रको समापनसँगै प्रदर्शन गरिने नाट्य प्रस्तुतिहरूलाई समकालीन नेपाली रङ्गमञ्चको प्रमुख भँगालो भनी मान्न सकिन्छ । गुरु निर्देशकहरू र प्रशिक्षार्थी कलाकारहरूले चलाउने सीप र कलाको यो प्रवाह एउटा सम्मान र सोच्नुपर्ने विषय भएको छ, अब ।

आधुनिक रङ्गमञ्च कलालाई विश्वविद्यालय तहसम्म अध्ययन र अध्यापन गर्नु गराउनुपर्छ विषयतिर उदासीन सरकारी शिक्षा तथा कला नीतिको परिवेशमा बाँचेका रङ्गकर्मी र दर्शकहरूलाई नेपालका विभिन्न सहरहरूमा सञ्चालन हुन थालेका यस्ता प्रशिक्षणले निकै महत्व राख्छ । ससाना प्रशिक्षण लिँदै आफ्नो अभिनय सीप र कला क्षमता वृद्धि गर्दै अघि बढिरहेको युवा पुस्ताका रङ्गकर्मी र तिनको जोस नै समकालीन नेपाली रङ्गमञ्चको मूल स्पन्दन हो ।


प्रसंग कथा कस्तुरीको प्रदर्शनको छ । काठमाडौँैको पिंगलास्थानस्थित नेपाल संगीत पाठशालामा केही समयदेखि रङ्गमञ्च गतिविधि बढिरहेको छ । एक्टर्स स्टुडियोको सक्रियतामा सञ्चालनमा आउन थालेको एउटा सानो आकर्षक मञ्च छ । आफ्नो संस्थाले सञ्चालनमा ल्याएको तीन महिने प्रशिक्षणको दौरानमा कलाकार दिया मास्केको निर्देशनमा तयार पारिएको यो प्रस्तुति हेर्न आउने दर्शकहरूको संख्या त्यो पानी परिरहेको साँझ पनि उल्लेख्य थियो । 

प्रकाश र संगीतको सुन्दर समायोजनसँगै खुल्ने मञ्च र यसमा प्रयोग भएको कथा कस्तुरीको सेटिङले दर्शकलाई कतै टाढाको परिवेशमा पुर्याउँछ । मञ्चको पछिल्लो भित्तामा कलात्मक रूपले खप्ट्याएर टाँसिएका जुटका बोरा र त्यसमाथि कोरिएका काला रेखाहरूले विशाल वृक्षहरू पृष्ठभूमिमा पारी उभिएको एउटा गाउँको परिवेश उद्बोधन गर्छ । जैपुन नाम दिइएको यो गाउँ यथार्थिक रूपले भन्दा पनि काव्यिक स्पन्दनले गर्दा विश्वासिलो लाग्छ, दर्शकलाई । मञ्चको देब्रे कुनामा तीन जना संगीतकारहरू छन् । तिनले प्रवाह गर्ने प्रत्यक्ष संगीतले यहाँ व्याप्त परिवेशलाई झनै जीवन्त बनाउँछ । बिस्तारै एकजना श्यामवर्ण र मझौला कद भएको व्यक्तिमाथि केन्द्रित हुन थाल्दछ, मञ्च । चुस्त छ, उसको कदम । फटाफट हिँड्ने र बोल्ने उसको शैली जीवन्त लाग्न थाल्छ । जंगली सर्पलाई पनि आफ्नो वशमा पार्न सक्ने जादु छ, उसको बोलीमा । उसले बजाउने बिन उसको आत्मविश्वास हो । 

नेपालको मधेसका बस्तीमा सर्प खेलाउँदै जीविका चलाउने परिश्रमी सपेरा समुदायको स्पन्दन अनुभूत गराउने उसको नाम मोटा पहलमान हो । तर यो पात्रलाई मञ्चमा उतार्न जीवन गौतम कलाकार नै किन छानियो होला ? एक घन्टा चालिस मिनेट लामो यो प्रस्तुतिमा निकै कलाकारहरूले काम गरेका छन्् । तर जीवनलाई नै किन यो भूमिका दिइयो होला ? त्यस्तैगरी कुटिल चरित्र बोकेको गाउँको मुखिया अनि नेता शान्तमणिको भूमिकामा किन प्रभाव शाही ठकुरीलाई नै रोजियो होला ? शान्तमणि आफ्नो राजनैतिक बल र धनको प्रभावले आम नरनारीलाई गुमराहमा पारेर आफ्नो फाइदा लिन माहिर छ । यो पात्रलाई मञ्चमा उतार्न अरु कलाकारलाई किन रोजिएन होला ? प्रेमभावले ओतपोत बनाइएको एक निडर युवक पात्रका लागि किन आकर्षक शरीर र उच्च कद भएका विकास खड्का नै छानिए होला ? यो युवा पात्रमा जोश छ, आफ्नो मालिकप्रति बफादार छ, ऊ । 

जसरी सपेराको वशमा सर्प पर्छ अनि बिनको धुनमा फतक्कै गल्छ, उसैगरी ऊ पनि कस्तुरीको रूप र यौवनले बजाउने धुनमा फतक्कै गल्छ । क्रोधको संसारबाट ऊ मायाको संसारमा आउँछ । तर विकास खड्का नै किन रोजियो त ? त्यसैगरी आफ्नो मायाजालमा पारेर युवा प्रेमीको हातबाट स्थानीय जाली नेता शान्तमणिको हत्या गरी आफ्नो पिताको मृत्युको बदला लिन सफल सुन्दर रूप अनि डाल भएकी महिला पात्र रच्न किन आयुष्यमा मगर नै छानियो होला ? यो प्रस्तुति हेर्दै गर्दा अनुप बरालले कास्टिङ डाइरेक्सनमाथि कमाएको प्रतिभाको छनक दर्शकलाई अनुभूति हुन थाल्दछ । 

सही कलाकारलाई सही पात्र दिनु भनेको आफैँमा सफल ढंगले कार्य सम्पादन गर्नु हो अनि विज्ञता प्रदर्शन गर्ने अवसर सिर्जना गर्नु हो । बराल यो गुह्य आफूभित्र राख्न भन्दा पनि आफ्ना विद्यार्थीहरूलाई सिकाउन चाहन्छन्, यो प्रस्तुतिमा । यो प्रस्तुतिको सबभन्दा बलियो पक्ष दर्शकलाई कास्ट डाइरेक्सन नै लाग्न थाल्दछ ।

आधुनिक रङ्गमञ्चमा काम गर्दा कास्ट डाइरेक्सनको भूमिका कतिसम्म प्रभावकारी हुन सक्छ, बराल आफ्ना प्रशिक्षार्थीहरूलाई यो बुझाउन सफल भएको देखिन्छन्, यहाँ । दर्शकको मनमाथि उनको यो जादुमय सीपले एक प्रकारको बिनको काम गर्छ । कथा कस्तुरीको प्रस्तुतिमा बरालको सिग्नेचर छ, यो देखिन्छ । नाट्य प्रस्तुतिका लागि बाँडिने भूमिका आफैँमा एउटा विशेष कार्य हो । आफ्नो नजिकका कलाकारहरूलाई भन्दा पनि पात्रले मागेको व्यक्तित्व झल्काउने प्रतिभाशाली कलाकारहरूलाई सही पात्रको भूमिकामा छान्न सक्नु पर्दछ । यो गर्न सक्ने क्षमता चानचुने होइन । बरालबाट युवा विद्यार्थीहरूले सिक्नुपर्ने कौशल अझ निकै छ । 

शालीनता झल्काउने भेषभुषाको प्रबलता छ मञ्चमा । कथाले मागेअनुसार मोटा पहलमानले लगाउने रंगीचंगी फेटाबाहेक सबै परिधानमा शालीनता झल्किन्छ । हल्का खैरो र नीलो रङका यी परिधान बजारबाट भाडामा ल्याइएको नभई कलाकारहरूको शारीरिक बनौटअनुसार निर्माण गरिएका हुन् भन्ने लाग्छ, दर्शकलाई । कलाकारहरूलाई यसरी भेषभुषामा मिहिन तरिकाले काम गर्न लगाएर निर्देशकले पक्कै पनि प्रशिक्षार्थी कलाकारहरूलाई रङ्गमञ्च कर्म चलाउन आवश्यक धैर्य र परिश्रम बोध गराउन खोजेको हो कि भन्ने भान हुन्छ । 

यी परिधानले प्रस्तुतिलाई थप गहनसँगै आकर्षक बनाएको छ । शान्तमणिले लगाउने टोपी सेतो रङको छ । कस्तुरीले निधारमा लगाउने कालो र सेतो रङका लहर, उसको आँखाका गाजल, शिरमाथि हरपल बसिरहने हरियो घुम्टो र पाइताला पनि छोप्ने फ्रकले बनाउने उसको चरित्र केही यथार्थिक केही रहस्यमयी लाग्छ । नयनराज पाण्डेको कथामा यो पात्रले बोक्ने कौतूहल मञ्चमा पनि प्रतिष्ठान भएको अनुभूति हुन्छ । प्रस्तुतिको दौरानमा प्रयोगमा आएका यी परिधान र प्रप्सलाई निर्देशकले किन यो हदसम्म ध्यान दिएको होला ? जे पायो अनि जस्तो पायो त्यस्तो वस्तु मञ्चमा उतार्न किन हुँदैन ? मास्केले आफ्ना विद्यार्थीहरूलाई रङ्गमञ्च प्रस्तुति गर्दा कति हदसम्म अनुशासन वहन गर्नुपर्दछ, कति हदसम्म सिर्जनशील हुनुपर्दछ, यो अनुभूति गराउन खोजेको भान दर्शकलाई हुन्छ । लाठीको प्रयोग बडो सिर्जनशील ढंगमा गरिएको छ । 

कथा कस्तुरीले नाटकीकरण गरेको सपेरा समुदायको कथा स्वयं नेपाली रंगकर्मीहरूको पनि हो । आफ्नो प्राज्ञिक पहिचान र व्यावसायिक हकहितका लागि बिन बजाउने बेला भयोे ।

शान्तमणि र यादव खेमाबीच व्याप्त हिंसात्मक प्रतिस्पर्धा दर्शाउने लाठीको खेल होस् या मोटा महलमानको घरमा आगो लागेको दृश्य प्रस्तुति गर्दा होस्, प्रप्सको प्रयोग सिर्जनशील ढंगमा भएको छ । एउटा निश्चित अर्थमा सीमित राख्न भन्दा पनि बहुल अर्थ र आयाममा ढालिरहनु पर्दछ, प्रप्सलाई । निर्देशकले यी प्रशिक्षार्थी कलाकारहरूलाई सिकाएको यो अभ्यास बडो सह्रानीय छ । एक्टर्स स्टुडियोलगायत अन्य नाट्य संस्थाहरूले काठमाडौँैमा सञ्चालन गर्ने प्रशिक्षण सत्रको अन्त्यमा प्रस्तुति गरिने अधिकांश नाट्य प्रदर्शन हेरेको छु । यस्ता प्रस्तुतिमा हेरिनुपर्ने विषय भनेको यी प्रशिक्षार्थीहरूलाई रङ्गमञ्चको के कस्ता पक्षमाथि घोत्लिन लगाइयो, के कस्ता दर्शन र पद्धतिमा साधना र अभ्यास गराइयो, यो नै हो । कथा कस्तुरीलाई हामी सफल निर्देशक र जिम्मेवार गुरुले पेसागत रूपमा निभाएको एउटा जिम्मेवार कामका रूपमा लिन सक्छौँ । 

नयनराज पाण्डे हाम्रो समयका सबभन्दा वाचाल कथाकार हुन् । उनको यो कथामा पनि केन्द्रीकृत राजनैतिक र शक्ति संरचनामाथि प्रश्न गरिएको पाइन्छ । स्थानीय लवजमा स्थानीय परिवेशका पात्रहरू मूलधारको इतिहासमाथि प्रश्न गर्छन्, उनलाई यो आत्मविश्वास आएको केही समय मात्र भएको छ । यो देश बनाउनमा तिनका पिता पुर्खाको पनि योगदान छ, त्यही भएर इतिहासमाथि तिनको प्रवेश तिनको अधिकार हो । पाण्डेका यी पात्रहरू वाचाल छन् । उनीहरूमा आफ्नो जाति संस्कृतिको पहिचान स्थापित गर्ने जोस प्रबल छ ।

आफ्ना मिथक र आस्थालाई उनीहरू पुरानो समयका थाँग्ने कुराभन्दा पनि मानव समाजमा पुनरावृत्ति भइरहने घटना र मानवीय चरित्र बुझ्न र बुझाउन सकिने कथाको रूपमा परिभाषित गर्न रुचाउँछन् । समकालीन नेपाली समाजको राजनैतिक अनि मनोवैज्ञानिक चरित्र र नयनराज पाण्डेका कथाका पात्रहरूले बोक्ने चरित्रबीच एउटा पातलो पर्दा छ । कथा भन्ने वा लेख्ने शैलीलाई पुनर्ताजगी दिँदै कथ्य शैलीलाई रूपान्तरण गर्न खप्पिस पाण्डे र आधुनिक रंगमञ्च विद्यालाई अभ्यास गर्न चाहिने सीप र सिर्जनशील सामथ्र्यलाई नयाँ पुस्तका कलाकारसम्म हस्तान्तरण गर्न खप्पिस बराल एक अर्थमा एउटै डुंगामा सवार सहयात्रीहरू हुन् । यो प्रस्तुति हेर्दा दुबै सर्जकहरूप्रति सम्मान जागेर आउँछ । 

अन्त्यमा, निर्देशक मास्के र बरालको जोडिले निर्माण गरेको कार्य सम्पादन गर्ने समूह विद्यागत रूपमा रंगमञ्चलाई व्यवसायीमुखी बनाउने सोचमा सफल भएको अनुभूति हुन्छ, दर्शकलाई । अभाव अनि अमैत्री सरकारी कला नीतिबीच पनि क्रियाशील रही समकालीन नेपाली रंगमञ्चलाई पुस्तान्तरण गर्न सफल यस्ता कलाकारहरूको प्रस्तुतिबाट सिक्नैपर्ने भनेको यो देशको कला अनि शिक्षा संस्कृतिको नीति बनाउन जिम्मा पाएका विज्ञहरूले हो । यो देशमा आधुनिक रंगमञ्च सिक्न चाहिने युवा विद्यार्थीहरू पनि छन् ।

यसलाई सिकाउन अनि प्रशिक्षण गर्न सक्ने सक्षम कलाकार गुरुहरू पनि छन् । त्यही भएर विद्यालयदेखि विश्वविद्यालयसम्म यसलाई अध्ययन र अध्यापनको विषयका रूपमा विकास गर । आधुनिक नेपाली रंगमञ्च अब फैलिन खोजिरहेको छ, यसले प्राज्ञिक अनि व्यावसायिक रूपान्तरण खोजिरहेको छ, यो बुझ । कथा कस्तुरीले नाटकीकरण गरेको सपेरा समुदायको कथा स्वयं नेपाली रंगकर्मीहरूको पनि हो । आफ्नो प्राज्ञिक पहिचान र व्यावसायिक हक हितका लागि बिन बजाउने बेला भयो ।



Author

थप समाचार
ad
x