सप्ताहन्त

संस्मरण र अनुभूति - २५

त्यो यात्रा नेपाली रेलको

वसन्त लोहनी |
साउन २१, २०७९ शनिवार ७:५८ बजे

एउटा अनौठो संयोग रेलको डब्बाभित्रको, जसले बाटो खोलिदिएको थियो उद्योग व्यवसाय गर्ने पुँजीको वेदप्रसादलाई। दिउँसोको रेलमा चढेका थिए उनी रक्सौलबाटै । अमलेखगन्जबाट आएको रेल राति भारतको रक्सौलमा नै वास बस्थ्यो। र, बिहान सबेरै गर्थ्यो पहिलो खेप अमलेखगन्ज तर्फको। नेपालले आफ्नै जमीन लिएको थियो यस प्रयोजनको लागि भारतको रक्सौल स्टेसनबाट केही पर। आफ्नै स्टेसन थियो जहाँ नेपाल जाने रेल अडिएको हुन्थ्यो। अहिले त्यो जमीनको हालत के छ थाहा भएन। धेरै जसो यस्ता सम्पत्तिहरू सेटिङ मिलाएर नै हराएका, बेचिएका या लिज काम नलाग्ने पारिएर गमन छन् । 

सायद पहिलो यस्तो सम्पत्ति बेचिएको बेलायतमा होला। लन्डनको दक्षिण पश्चिमस्थित करिब डेढ घण्टामा गाडीबाट पुगिने वकिङ भन्ने ठाउँको। त्यहाँ हाम्रो कन्ट्री हाउस थियो जुद्ध शमशेरले लन्डनमा सन् १९३४ मा लिगेसन खोल्न लगाएपछिको। त्यति वेला करिब ७० वर्षअगाडि बनेको त्यो लिगेसन खोलिएको भवनमा नै अहिले नेपाली दूतावास छ। यो कसरी खुल्यो भन्ने कुरा कुनै रोमाञ्चकारी कथा भन्दा कम छैन। बडो रसिलो-हँसिलो छ। एक पटक हेरौँ न कसरी लहड, उपयोग र उपभोग राज्य शक्तिसँग मिसिएर जन्मेको रहेछ त्यो कथा।


नेपाल एक स्वतन्त्र राष्ट्र हो भनेर चन्द्र शमशेरको पालामा सन् १९२३ मा बेलायतले नेपालसँग गरेको सन्धिबाट स्वीकारेको थियो। त्यसैले नेपाल र बेलायतबीच भएको उक्त सन्धिले लिगेसन खोल्ने व्यवस्था पनि गरेको थियो। चन्द्र शमशेरले लन्डनमा सो खोल्ने आवश्यकता महसुस गरेनन्। कारण उनी ब्रिटिसको उपनिवेशवादी नीति अन्तरगत संरक्षित भएर राज्य गर्दा बडी सुरक्षित ठान्थे। यसको अर्थ थियो उनी भारतीय उपनिवेशवादी हुकुमत अर्थात् ब्रिटिस इन्डियालाई मन नपर्ने कुनै खालको विवादमा पर्न चाहँदैन थिए । जुद्ध शमशेर अलि फरक ढङ्गबाट प्रस्तुत भए श्री ३ भएदेखि नै। विश्व परिदृश्य पनि बदलिँदै थियो। नेपाल स्वतन्त्र मुलुक भनेर सन्धिले स्वीकार गरिसकेपछि किन ब्रिटिस इन्डिया अन्तरगतको सम्बन्धमा मात्र पूर्ण रूपले पहिले जसरी बस्ने भन्ने भाव उनको मनमा आएको थियो। अर्थात् किन सीधा लन्डनसँग सम्बन्ध नगर्ने ?

यति नै वेला जुद्ध शमशेरको साइँलो छोरा बहादुर शमशेरको श्रीमतीलाई लागेको रोगको उपचार गर्न लामो समय लाग्ने र सो लन्डनमा गर्ने निधो भयो। राज्यको खर्चमा लन्डनमा बसेर कसरी गर्ने भन्ने उपाय बनेर निस्कियो लिगेसन खोल्ने कुरा। यसरी उपचारलाई सहज पार्न उक्त लिगेसन खोलिएको थियो लन्डनमा सन् १९३४ मा। र, यसरी बहादुर शमशेर त्यहाँ बसे नेपालको पहिलो दूत बनेर आफ्नी श्रीमतीको उपचारको लागि । र, दुई वर्षपछि सन् १९३६ मा काठमाडौँ फर्के उद्योग परिषद्को अध्यक्ष भएर, जुद्ध शमशेरको उद्योगीकरण अभियानको सुरुवात गर्न। फर्कँदा उनले युरोपको उद्योगहरूको स्थिति अध्ययन गरेका थिए। उनको सहायक थिए मीर सुब्बा गुञ्जमान सिंह जो पछि सन् १९५५ मा प्रधानमन्त्री सरहको प्रमुख सल्लाहकार बनेका थिए राजा महेन्द्रको प्रत्यक्ष शासन कालमा।

बेलायतमा हाम्रो राजदूतावास अन्तरगत रहेको त्यो फार्म हाउस सन् १९६३ तिर बिक्री गरिएको थियो। त्यति बेला नेपालको राजदूत थिए काली प्रसाद उपाध्याय। अहिले करिब २० अर्ब मूल्य पर्ने राजदूतावास भवन बेच्न पनि पटक पटक प्रयासहरू हुँदै आएका छन्। आखिरी पटक २०१३ मा बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला भएको थियो। तर बेलायतमा रहेका नेपालीहरू र मूलतः गोर्खा सैनिकहरूबाट व्यापक विरोध भइरहेकोले लगत्तै चुनाव गराउन आएको खिलराज सरकारले अगाडि बढ्ने आँट गरेन।

यसै गरी अलैँची कोठी भनिने नेपालको आफ्नै भवन थियो भारतको पटना र मिर्जापुरमा करिब १ सय ८० वर्ष अगाडि देखिको। नेपालको पूर्वी भाग मूलतः इलामको अलैँची भारतमा बेच्न त्यहाँ ल्याएर भण्डार गरिन्थ्यो र बिक्रीको लागि व्यवस्थापन हुन्थ्यो ती कोठीहरूबाट। पटनाको त पछिसम्म थियो परराष्ट्र मन्त्रालय अन्तर्गत। बेचियो पटनाको अलैची कोठी पनि सन् १९६३ तिर। त्यो मात्रै पनि होइन वाइङ एजेन्सीले लिएको कलकत्ताको भवानीपुरको चक्रबेरिया रोडमा साधारण भाडामा लिएको घर थियो। त्यो पनि गयो। तत्कालीन शाही नेपाल वायुसेवा निगमको कलकत्ताको मुटु चौरङ्गीमा रहेको अफिस र त्यस्तै दिल्लीको जनपथमा रहेको अफिस भवनहरू पनि गयो। ती अझै रहन सक्थे तर गए हातबाट।

भवानीपुर रोडको चक्रबेरिया रोडसँग जोडिएको त्यो भवन लिइएको थियो सन् १९१३ तिर जब चन्द्र शमशेरले बाइङ्ग एजेन्सी खडा गरे। त्यसको हाकिम बनाएर बिस वर्षको तन्नेरी सुब्बा भरतमणि दीक्षितलाई पठाएका थिए, चार कारिन्दा र एक सिपाहीसहित दिएर। ब्रिटिस इन्डियाको राजधानी कलकत्ताबाट दिल्ली भर्खर जसो सरेको थियो। तर जे थियो कलकत्ता नै थियो त्यति वेलासम्म। ह्वाइटवे लेडला कम्पनीको डिपार्टमेन्टल स्टोर जुन ब्रिटिस रुचीका अत्याधुनिक सामानहरूले भरिएका हुन्थ्यो। पार्क स्ट्रिटका नाइट क्लबहरू। मोजमज्जा र ऐस आराम, राति नसुत्ने त्यो सहरमा।

भरतमणिका काकाको छोरा, भाइ सिद्धिमणि, जो नेपालको अग्रणी चिकित्सक रहे र नेपाल चिकित्सक सङ्घको संस्थापक अध्यक्ष बने सन् १९५१ मा, उनी त्यही घरमा बसेर पढेका थिए। एउटा संयोग यो पनि। भरतमणि बाइङ्ग एजेन्सीको हाकिम आएर आउँदा वेदप्रसाद जन्मेका थिएनन्। तर करिब ४० वर्षपछि २०११ सालतिर वेदप्रसादकै अन्तर्गत काम गरेका थिए भरतमणिले नेपाल सरकारमा। र, हामी देख्थ्यो उनीलाई हाफ प्यान्ट लगाएर त्यो ठुलो बेलायती मोटरसाइकल भटभटाउदै हाम्रो ज्ञानेश्वरको गल्लीको घरमा बिहान आएका नियमित रूपमा। त्यो समयमा त्यो दृश्य गजबको थियो र टोलका मान्छेहरू जम्मा हुन्थे उनलाई हेर्न - बूढो मान्छेले कट्टु लगाएर त्यो अजङको मोटरसाइकल हाकेको।​

त्यो बाइङ्ग एजेन्सीको काम श्री ३ लाई चाहिने वा तालुकवालाले भने बमोजिमको सामान किनेर काठमाडौँ पठाउने थियो। भुक्तानी रकम जिन्सी अड्डाबाट आउँथ्यो। दोस्रो काम शासकका सन्तानहरू घुम्न बा औषधि गर्न आउँदाको व्यवस्था मिलाउने। तेस्रो, काठमाडौँबाट हटाइएकाहरूमाथि निगरानी राख्ने। र, चौथो थियो त्यहाँका कार्यालयसँग सम्पर्क र सम्बन्ध राख्ने। शासन पद्धति बदलियो, शासकहरू बदलिए र समय बदलियो। तर हाम्रा अहिलेका ४० कूटनीतिक नियोगहरूले गर्ने काम मूलतः अहिले पनि त्यो बिस वर्षे ठिटो सुब्बा भरतमणिले चलाएको बाइङ्ग एजेन्सीको जस्तै नै छ, जतिसुकैख पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीति भने पनि। खर्च बढेको छ, स्वरूप परिष्कृत भएको छ। वास्तविक अर्थमा भन्नुपर्दा नेपालको अहिले कुनै परराष्ट्र नीति नै छैन। न त्यो बिस बर्से सुब्बाको जस्तो लगन र इमान नै बाचेको छ अहिले।

सन् १९४८ मा कन्सुलेट जनरल कलकत्तामा स्थापना भएपछि त्यो चक्रबेरिया रोडको भवन त्यस अफिस अन्तरगत आयो र त्यस अफिसका कर्मचारीहरू बस्थे त्यहाँ। र, बस्थे अरू नेपालीहरू पनि जो त्यहाँ अध्ययनरत थिए। चौरङ्गीको पूर्वपट्टि नजिकै त्यो चक्रबेरिया रोडको भवनको दोस्रो तल्लाको एउटा कोठामा त म आफै बसेको थिए करिब ६ महिना १९५८ मा जुन वेला मेरो काका डा. रत्न प्रसाद लोहनी कलकत्ता मेडिकल कलेजमा हाउस सर्जन थिए। तेस्रो तल्लामा थिए कर्मचारी कस्तुरी बहादुर। मधु शर्मा, जो पछि राम्रो वकिल बने, उनी पनि बस्थे कानुन पढ्दै। कन्सल जनरल थिए सल्यानी राजा जितेन्द्र बहादुर शाह, ज्ञानेशवरको हाम्रो बाजेको घरको छिमेकी र वेदप्रसादको नजिकको मित्र।

म सम्झन्छु त्यो घर छेउको सानो ट्र्याङ्गुलर पार्क जहाँ तीन सडक भेटिन्थे। र, सम्झन्छु वेदप्रसाद लोहनीलाई लिन हावडा रेलवे स्टेसन गएको काकासँग जहाँ ट्याक्सी प्लेटफर्मसम्म नै जान्थ्यो। पछि मैले थाहा पाए त्यो स्टेसन बेलायतको एडिनबरा स्टेसनको ढाँचामा ब्रिटिसले बनाएका रहेछन्। त्यति वेला वेदप्रसाद लोहनी फर्स्ट क्लासको डब्बाबाट प्लेटफर्ममा ओर्लिँदाको दृश्य मेरो आँखा अगाडि अझै नाचिरहेको छ। पाइजामा, कुर्ता र स्यानडल लगाएको अनि ब्रिलक्रिम लगाएर पछाडि कोरेको काले कपाल। त्यो अग्लो ४३ वर्षको मान्छे एउटा भरिपूर्ण व्यक्तित्व थियो।

त्यो भवन बारे म अलि बढी लेखिरहेको छु किनकि कता कता मेरो बचपनको केही रमाइला क्षणहरू पनि त्यो भवनसँग गाँसिन पुगेका छन्। त्यसैले होला सन् १९१९ को मार्च महिनामा म र मेरी श्रीमती गुवाहाटीको कामाख्या दर्शन गरेर फर्कँदा अहिले भनिने कोलकोतामा केही दिन बिताएका थियौ। मेरो पहिलो चाहना भयो त्यो भवन हेर्ने। हङ्गरफोर्ड स्ट्रिटस्थित हामी बसेको होटेलबाट नजिकै रहेछ। त्यहाँको सबै याद हुरहुरती आयो तर त्यो घर देखिन मैले। यता खोजे, उता खोजे। सडकमा हिँडेका पुराना मानिसहरूसँग कुरा गर्दा थाहा भयो त्यो घर भएको ठाउँमा त स्वामी नारायणको मन्दिर बनेको रहेछ।

भारतको घर भाडा कानुन अनुसार त्यो हाम्रो हातबाट कहिले पनि नजाने भवन सेटिङ मिलेर नै घर मालिकको हातमा पुगेछ। उसले हतार हतार गरेर तुरुन्तै बजार भाउ भन्दा निकै कम मूल्यमा त्यो बेचिहालेछ। अनि भत्काएर त्यो ठाउँमा मन्दिर बनेको रहेछ। अरू दाजु भाइका सन्तानको सडकपट्टि बार्दली भएको त्यस्तै पुरानो घरको लहर चाहिँ जस्ताको तस्तै देखे मैले।  प्रश्न र उत्तर सँगै आयो मनमा - किन राष्ट्रको सम्पत्ति यसरी फलिन्छ? 'ग्रिड ' अर्थात् लोभ नै त होला। लोभ प्रदत्त उद्वेगले नै हाँकेको छ, झन् अहिलेको नयाँ नेपाल त। त्यसैले लाग्छ नेपालको इतिहासमा यो अत्यन्त पीडादायी समय हो हामी नेपालीहरूको। सपनाको कुरा गरेर के हुन्छ र? नेताहरूको सपनाले नै हाम्रो बिपना निलिरहेको छ।

रक्सौलको नेपाल गभरन्मेन्ट रेलवेले लिएको जमीन कता गयो भन्ने प्रश्नले उजागर गरेको विषयान्तरले निकालेको निष्कर्ष हो मुलुकको हित हिफाजत गर्ने मनस्थितिलाई कसरी लोभले जितेर आएको छ भन्ने हो। छलफलको समग्रतामा भनौँ या जसरी हामी समय-प्रवाहलाई हेरेर आएका छौ त्यस अर्थमा यो धेरै नै महत्त्वपूर्ण कुरा हो। जसरी हामी हिजोको परिवेश र आजको वास्तविकतालाई हेर्छौ त्यहाँ वेदप्रसाद एउटा सामान्य पात्र मात्र हो त्यो समय प्रवाहको जुन बनेको छ नेपालको इतिहास, राजनीति, धर्म, अर्थतन्त्र, युद्ध र अन्ताराष्ट्रिय सम्बन्धको। सामान्य पात्र वेदप्रसाद  रेलको एउटा डब्बाभित्र छन्। रेल पर्खिरहेको छ। कसलाई र किन? यसको उत्तर हो सुगौली।

जब शोषण बढ्छ मुट्ठीभरलाई धनी तुल्याउन तब देशले बाहिरी तागतसँग मुलुकको स्वार्थ जोगाउन जुध्न सक्तैन। अहिलेको नेपालमा भइरहेकै त्यही छ अर्कै स्वरूपमा, जुन सुगौली सन्धि अगाडिको समयमा भएको थियो। गरिबहरूले अदम्य साहस देखाएर लडे माटो जोगाउन। तर माटोको आम्दानी जति सबै आफै मात्र खाने शासक वर्गको बढ्दो लोभलाई टेवा दिने राज्य सञ्चालनको कारणले नै मूलतः हारेको हो नेपालले अङ्ग्रेजसँगको युद्ध सन् १८१५ मा। ब्रिटिसको दोहोरो जित भयो। हाम्रो जमीन लगे। हाम्रो तन्नेरी लगे। तन्नेरी त सन्धि अगाडि नै।

युद्ध हारेको नेपालले सन्धि अवलम्बनगर्न अलमलाएपछि  ब्रिटिसले चढाइ थाल्यो। अन्ततः नेपालको तर्फबाट गजराज मिश्र र इस्ट इन्डियाको तर्फबाट परिस ब्राडसले दस्खत गरेको सन्धि सन् १८१६ मा अवलम्बन गरियो। र, यो सन्धि गरेको ठाउँ सुगौली भएकोले यसको नाम नै सुगौली सन्धि रहेको छ। करिब एक तिहाइ जमीन नेपालको गयो त्यसपछि विधिवत्। यसरी खुम्चिएको नेपालको सिमानाबाट सुगौली करिब ५० किलोमिटर दक्षिण पश्चिम पर्दछ। २६ किलोमिटर अझ पश्चिम छ बेतिया जुन नेपालको राजनीतिसँग जोडिएको ठाउँ हो।

सुगौली नै थियो वेदप्रसादले चढेको रेल रोकिएको कारण पनि। किनकि सुगौली भएर नै आवागमन हुन्थ्यो भारतबाट काठमाडौँ आउन जान। देव नगरी भनिने विश्वको प्राचीन सहर बनारससँग नेपालीहरूको अनादि कालदेखि नै सम्बन्ध रहँदै आएको हो। काठमाडौँ भेगबाट पहिले हिँडेर बनारस जाँदा रक्सौलबाट सुगौलीपुगि त्यहाँबाट मुजफ्फरपुर र कर्नौल हुँदै जाने हिँडुवा बाटो थियो। राजा रजौटा जाँदा सैनिक सुरक्षा पनि हुने हुँदा ती सैनिक जवानहरूले कर्नौलमा रुखमुनि क्याम्प बनाएर बास बस्ने गरेको ठाउँलाई अहिले पनि पल्टनियाँ गाछी भनिन्छ। कर्नौलमा नेपालीहरूको बस्ती छ। र, त्यहाँ बसोबासगर्ने पहिलो नेपाली परिवार हो दीनानाथ उपाध्यायको सन्तानहरूको।​

पृथ्वीनारायण शाहले १७७३ मा इस्ट इन्डिया कम्पनीको पहिलो गभर्नर वारेन ह्यास्टिङलाई भेट्न दीनानाथलाई आफ्नो वकिल, अहिलेको भाषामा राजदूत, बनाएर पठाएका थिए। दीनानाथ कै वंशज हुन शैलेन्द्र कुमार उपाध्याय जो नेपालको परराष्ट्र मन्त्री पनि बने सन् १९८६ देखि १९९० को जनआन्दोलनबाट सत्ता परिवर्तन नहुन्ज्यालसम्म। पृथ्वी नारायण शाह युवराज हुँदा नै काठमाडौँ आइसकेका थिए अरूले नचिनिने भएर र मोहित भएका थिए चन्द्रागिरिबाट उपत्यका हेरेर। गोरखाको राजा हुने बित्तिकै काठमाडौँ लिने परिकल्पनाबाट हतियार किन्ने मनसुबासहित गोरखाबाट सन् १७४३ मा गरेको बनारसको यात्रा देवघाट हुँदै पटना भएर गरेका थिए। त्यसैले सायद सुगौली भएर जानु परेन उनको करिब १०० जनाको टोलीलाई। तर काठमाडौँ जाने आउनेको लागि भने सुगौली नै थियो, पहिले हिडेर होस् या पछि रेलबाट।

त्यसैले वेदप्रसाद चढेको रेल स्टेसनमा कुरिरहेको थियो। कुरिरहेको थियो सुगौलीबाट आउने रेललाई। पूर्वी नेपाल को होस् या पश्चिम नेपालको तराइ या तराइसँग जोडिएको भागबाट काठमाडौँ आउँदा मजफ्फरपुरमा या जहाँ रेल बदले पनि सुगौली भएर त्यो रेल रक्सौल आइपुग्थ्यो। रक्सौलमा त्यो सुगौलीको रेल आइपुग्ने बित्तिकै हतारो हुन्थ्यो सबैलाई कुल्ली खोज्न र सामान बोकेर नजिकैको नेपाली रेल अडेको स्टेसनमा जान। सुगौलीबाट आएको ब्रिटिस इन्डियाको रेलको यात्रुहरू नेपाली रेल चढेपछि रेलमा यात्रुको सङ्ख्या पनि पुग्थ्यो। बल्ल रेलले सिट्ठी बजाउँथ्यो यात्रा सुरुवातको।

नेपाली रेल त्यहाँबाट वीरगन्जमा आएर रोकिन्थ्यो। यात्रुलाई चिया पानी गर्न या रेलमा कोइला पानी भर्नको लागि होइन। मुख्य कुरा त राहदानीको लागि हुन्थ्यो। काठमाडौँ जान राहदानी बनाउनु पर्थ्यो त्यहाँ। नेपालीले नै बनाउनु पर्थ्यो। बिना राहदानी डाँडोभित्र छिर्न पाइँदैन थियो, नेपाल अटाएको काठमाडौँलाई सुरक्षित राख्न। चहलपहल र निगरानी राखिने सहर थियो वीरगन्ज। काठमाडौँको मुख्य सम्पर्क स्थल थियो यो। आकाश वाणी भएको। अझ ह्यान्डल घुमाएर गरिने टेलिफोन सम्पर्क पनि भएको टेलिफोन अफिससँग।

चिठ्ठीपत्र बोकेको झोलाको सुरक्षाको लागि हातमा एउटा घण्टी झुन्ड्याइएको भाला लिएर मान्छेले रिले दौड गरेर पुर्‍याइने हुलाकको चिठ्ठीपत्रहरू आउने जाने। शासनको र आम रैती बनेका नेपालीको पनि। काठमाडौँको मोफसलसँगको सम्पर्क वीरगन्जबाट नै विस्तारित हुन्थ्यो। राहदानी बनाइसकेपछि कोही हतार हतार प्लेटफर्ममा बेच्न राखिएको भन्टा या परवर किन्थे। घरको लागि मात्र होइन कसैलाई पाहुर दिन पनि हुने। एकाधले मासको दाल पकाउने ताप्के पनि किन्थे। यी पाइँदैन थियो काठमाडौँमा या महँगो पर्थ्यो। वीरगन्जबाट ल्याएको भन्टा भनेपछि विशेष तरकारी हुन्थ्यो। खानको लागि मात्र होइन। त्यसपछिको एक दुई दिन हिँड्दै जाँदा एक आपसमा भेट भएमा गफगाफ र कुरागर्ने मसला पनि।

नेपाल गभरमेन्ट रेलवेको आफ्नै सुरुवात र अन्त्यको कथा छ। सुरुवात भयो जब ब्रिटिस इन्डियालाई नेपालको लकडीको आवश्यकता अझ बढी भयो। यो आवश्यकता बढ्यो जब भारतमा रेल फैलावटको आवश्यकता बढ्यो। त्यसैले सन् १९२३ मा तराइको जङ्गलभित्र रेल छिरायो लकडी लैजान ब्रिटिसले। यो नै बन्यो कडी सन् १९२७ मा चालु भएको अमलेखगन्जदेखि रक्सौलसम्मको ४७ किलोमिटर लामो यो यात्रु रेलको। यो रेल सुरु हुँदा वेदप्रसाद १२ वर्षका थिए। र, वीरगन्जमा आइपुगेको रेलको झ्यालबाट हेरिरहँदा ३० वर्षका। केही सोचिरहेका थिए। निकास कतै नदेखिएको सोच। अन्त्यहीन यात्रामा परेको मान्छेको जस्तो।

उनी उद्योग सुरु गर्न चाहन्थे, मुलुकको विकाशको लागि। त्यसको लागि व्यापार गरेर पैसा कमाउन चाहन्थे, उद्योगमा लगानी गर्न। यसैको लागि छोराको नाममा प्रकाश इन्जिनियरिङ कम्पनी पनि खोलेका थिए। यहाँ नै हो पूर्ण विराम त होइन तर विराम लागेको अवस्था बनेको थियो उनको। घामले उज्यालो देखिएको प्लेटफर्म हेरिरहेका थिए उनका आँखाहरूले। तर मनभित्र हलचल थियो। सुरुङभित्र छिरेको अवस्थाको जस्तो। बन्द व्यापारको कुनै उज्यालो उनी देखिरहेका थिएनन्। तर हिम्मती थिए उनी। सीप, जाँगर र इमान भएको मानिसको लागि बाटो निस्किन्छ भन्ने विश्वास थियो उनको। यत्तिकैमा भङ्ग भयो त्यो एकोहोरो मनभित्रको मूक अन्तरसम्वाद एउटा गगनभेदी आवाजले। त्यो थियो रेलको सिट्ठी। जति जुम्सो अर्थात् सुस्त गतिमा हिँड्ने त्यो मिटर गेजको रेल थियो त्यो भन्दा कता हो कता फुर्तिलो सिट्ठी फुक्थ्यो। रेलले बिस्तारै प्लेटफर्म छोड्यो र जङ्गलभित्र घुस्यो।

चार कोसे झाडी भनिने त्यो हरियो जङ्गलभित्र रेल बिस्तारै हिँडिरहेको थियो। फलेक ठोकेको लामो सिटमा उनी मात्रै थिए। उनले बेडिङ माथिल्लो खाली बर्थमा राखेका थिए। र, ट्याङ्का आफू बसेको सिटमुनि। बेडिङभित्र सब अटाएको हुन्थ्यो। डसना, दोलाई र कम्बल र तकिया मात्र होइन लुगाफाटो देखि जुत्तासम्म कोचिएको हुन्थ्यो दुवैतिरको पकेटमा। र, त्यसलाई कसेपछि त्यो बेडिङ बन्थ्यो। उनलाई त्यो बेडिङ खोल्नै परेको थिएन। कारण सुत्नु परेको थिएन। सामुन्नेको सिटमा बसेका दुई तिन जना गफ गरिरहेका थिए। वेदप्रसादले त्यो गफ सुनेर पनि केही सुनेनन् किनकि उनलाई चासो नै थिएन यी सबमा। उनी आफ्नै धुनमा हराएका थिए। फलेकले बारेको उनको पछाडि दुई जनाले गरेको गफ प्रस्टसँग सुनिन्थ्यो। ती को थिए उनले देखेका थिएनन्। न शौचालय जाँदा आउँदा हेर्ने चासो नै राखे।

जङ्गलको दुबैतिर केही समयको अन्तरालमा जङ्गली जनावरहरू पालैपालो देखिन्थे। सबभन्दा टक्रक्क र धेरै देखिने चाहिँ चपल जनावर हरिण हुन्थ्यो। अति बिस्तारै हिँड्ने रेल भएको हुनाले लामो दृश्य देखिन्थ्यो। स्टेसन आए, रोकियो, स्टेसन गए। जीतपुर पनि रोकियो, केही बेर अड्यो र छोड्यो रेलले। यहाँनिर एउटा कुरा भनिहालौँ। जीतपुरमा अझै पनि त्यो पुरानो ट्र्याक अर्थात् रेलको लिग कतै कतै देख्न सकिन्छ। फलामको त्यो लिग जस जसले सके उस उसले चोरेर लगिसकेका छन्। रेलवेको कतिपय सम्पत्ति सक्नेले देखादेखी हजम गरे। वेदप्रसाद त्यो रेलबाट धेरै पटक यात्रा गरेका हुनाले उनलाई थाहा थियो ती भेगहरू। र, रमाउँथे उनी यसरी हरियो जङ्गलबीचबाट जाँदा। तर यस पटक उनी अधैर्य थिए, समय सकिन लाग्दा पनि जित्ने गोल हान्न नसकेको फुटबल खेलाडी जस्तो। उनलाई केही गर्नु थियो जिन्दगीमा। तर अवसर नै समात्न सकिरहेका थिएनन्।

रेल लिगमा हिँडिरहेको थियो। वेदप्रसाद आफ्नो तानाको प्रवाहमा। यत्तिकैमा रेल रोकियो। हेरे सिमरा रहेछ। डब्बा भित्रबाट कोही ठुलो स्वरमा अर्कोलाई भनिरहेका थिए, औलाले देखाउँदै - हेर, हेर ! त्यहाँ हवाईजहाज छ। हवाई जहाज थियो नै दाइने तिर चउरमा टक्रक्कै देखिएको। त्यो ठाउँ नै हो अहिलेको सिमरा एयरपोर्ट। त्यति वेलाको चउर। दोस्रो विश्व युद्धको वेला कुनै सानो अहिलेको पिलाटसको जत्रै साइजको हवाईजहाजले त्यो चउरमा फोर्सड् ल्यान्डिङ गरेको र  त्यही छोडिएको रहेछ। दोस्रो विश्व युद्ध भर्खर जसो सकिएको वेला थियो। डिब्बाका सबै यात्रुहरूको आँखाहरू त्यतै हेर्न थाले एकै पटक, जिल्ल परको अनुहार लिएर। तर वेदप्रसाद आफ्नै मनको यानमा थिए। र, यो पनि कि उनले पहिले नै देखिसकेको हुनाले ध्यान खिच्न सकेन यसले। त्यसैले यो कुराले पनि कुनै असर गरेन उनीलाई। फुर्तिलो सिट्ठी बज्यो। रेल गाडी फेरि हिँड्यो आफ्नो गन्तव्यतर्फ।

करिब १५ किलोमिटर जति बाकी थियो रेलले यात्रा तय गर्न। त्यसपछिको आखिरी बिसौनी अमलेखगन्ज। यति नै वेला वेदप्रसादले ध्यान आकृष्ट गर्‍यो पिगलेट शब्दले। जुन शब्द उनको पछाडिका दुई जनाले आपसमा कुरागर्दा दोहराइरहेका थिए। उनको ध्यान अनायास गयो यसमा। ती दुई सोम शर्माको सत्तुको भुँड्कोको कथा जस्तै गरी कथिरहेका थिए यसलाई लिएर। र, हौसिरहेका थिए। जङ्गी अड्डाको लिलामको सूचना गोरखापत्रमा छापिएको रहेछ तीन-चार दिन अगाडि। त्यो लिलाम हुने बस्तु रहेछ - पिगलेट। तिनीहरूको मुखबाट यसबारे सबै सुनेपछि वेदप्रसाद जुरुक्क उठे। अनि रेलमा एउटा कुनादेखि अर्को कुनासम्म हिँडेको हिँड्यै गर्न थाले आर्किमिडिजले पानीमा किन वस्तु तैरिन सक्छ भन्ने सिद्धान्त पत्ता लगाएपछि ‘युरेका’, ‘युरेका’ भनेर उछलकूद गरेजस्तो भानमा। वेदप्रसाद आल्हादित थिए यो सोचेर कि मौकाले एक पटक मात्र ढोका ढकढकाऊ छ मान्छेको जिन्दगीमा। उनको जिन्दगीमा मौकाले बल्ल ढकढकाएको छ। यस्तो सोचले उनीलाई 'पिगलेटको दुनियाँ'मा कता कता पुर्‍याएको थियो। यता रेल अमलेखगन्ज पुग्न लागिसकेको थियो। तर उनीलाई यसको हेक्का थिएन।

वेदप्रसादबारे वसन्तका लेख

- लामो निरन्तरतासँग मिसिएको छोटो यात्रा​

प्रकाशको जन्म, व्यवसायको सुरुवात

भत्केको घर र नबनेको दरबार

साइकलमा आएका राजा र त्यो डोम

‘जिनियस’ हुन् वेदप्रसाद

राँची पुगे वेदप्रसाद

राष्ट्रिय धरोहर बनेका ती दुई

- सृजनाको उन्मुक्त अभिव्यक्ति

- समानान्तर यात्रा- सिमेन्ट ढलान र फ्युजन प्रविधिको

गजबको मान्छे उहाँ, तपाईंको फादर

पौरखी सोचले सधाएका हातहरू

सरस्वती सदन कसरी बन्यो ?

ज्यामितिको पहिलो पुस्तक

साँघुरो मन, काँचो रोटी

शासक, शासकीय र शासनको स्वरूप

कडा अनुशासनभित्र ‘अराजक’ बनेर जे सिके

गुरुज्यूको चउरको फुटबल म्याच

वेदप्रसादको खोच्याउने घोडा

दोभानबाट निस्किएको अठोट

जङ्गबहादुरको काँधमा खेलेकी

संस्मरण र अनुभूति : टालिएका झ्यालहरू

‘सेल्फ मेड’ वेदप्रसादजी

नबाब, कबाब, सबाब र आदाबको सहरमा

वेदप्रसाद, जसले सरस्वती सदन ठड्या


Author

थप समाचार
x