सप्ताहन्त

ती कविता र गीत किन आए, कसरी आए ?

विमल आचार्य |
साउन २१, २०७९ शनिबार ११:५८ बजे

कवि एवं गीतकार दिनेश अधिकारी नयाँ पुस्तकसाथ हाजिर भएका छन् । तर, उनको यो नयाँ पुस्तकको नाममा ‘कथा’ शब्द दुदुइटा भए पनि यो कथाको किताब भने होइन । नाममा ‘कविता’ र ‘गीत’ शब्द एकेकवटा भए पनि यो न कविताको किताब हो, न गीतको । त्यसो भए यो के हो त ? यो मुक्त विधा हो । कविता र गीतको जन्मकथा हो । गर्भावस्थाको कथा र हुर्काइको कथा हो । गीत र कविताको जीवनी हो । सायद, यो निबन्ध हो । 

गीत सामूहिक विधा भएको हुँदा गीतकारसँगै आउने संगीतकार, गायकको पनि केही कथा यसमा अवश्यै छ । तर, यो पुस्तकका रचनाकार गीतकार भएको हुँदा यहाँ गीतकारको दृष्टिकोण नै स्वाभाविक रूपमा प्रधान छ । अधिकारीका लोकप्रिय र स्तरीय ११ कविता र १७ गीतको जीवनी पुस्तकमा समेटिएको छ । लोकप्रिय नभएका तर कुनै न कुनै रूपले रचनाकारको फरक वैशिष्ट देखाउने रचना पनि यसमा छानिएका छन् । 


लोकप्रिय व्यक्ति होस् वा रचना, तिनका आत्मकथा पढ्न रमाइलो हुने रहेछ । अझ रमाइलो के हुँदो रहेछ भने अधिकारीभन्दा उनका रचना झन् लोकप्रिय छन् । कहिलेकाहीँ सर्जक चिनिँदैन, सृजना चिनिन्छ । आफ्नो सन्तानबाट चिनिँदा मातापितालाई पनि रमाइलो लाग्ने रहेछ । यस्ता प्रसंग पुस्तकमा पढ्न पाइन्छ । माओवादी लडाकु शिविरमा ‘पहाड झुक्नुपर्छ’ गीतको प्रसंग यस्तै एउटा रमाइलोसँग आएको छ । 

अधिकारी प्रायशः घटनाको मियोमा भावना निर्देशित सरल काव्य रच्छन् । सरलताभित्र एउटा दृष्टिकोण हुन्छ, जसलाई मानवतागान भन्न सकिन्छ । अधिकारीका कविता संग्रह नयाँ संस्करणहरूमा पनि आउँछन् । मतलब उनका पाठक अरु कविका भन्दा बढी छन् । कविता विधामा मदन पुरस्कार प्राप्त गर्ने अधिकारी जवानीमै काव्यसुख प्राप्त गर्ने लेखक पनि हुन् । 

नारायण गोपालले गाएको कालजयी गीत ‘तिमी जुन रहरले’ लेख्दा अधिकारी टिजएजमै रहेछन् । 

भनिन्छ, कविता होस् वा गीत, भावना नै केन्द्र हो । तर, अधिकारी यसमा अपवाद रहेछन् । अक्षरमा आउने त भावना नै हो तर त्यो भावना धारण गर्ने कोरा कल्पनामा होइन, यथार्थमा हो रहेछ । अधिकारीका धेरै कविता र गीतको आफ्नै सन्दर्भ कथा रहेछ ।  

हट् घोटा हट्, बिहे, हर्कबहादुर, तिमी जुन रहरले, यो सम्झिने मन छ, तिमी यसै लजायौ, पहाड झुक्नुपर्छ आँधी रुक्नुपर्छ, निधारमा लर्काएर, पानी पानी भयो मेरो मन पनि यस्ता कीर्तिमय कृतिहरूको आत्मकथा रोचक छ । किताब पढ्न सुरु गरेपछि पाना पल्टाउन मन लागिरह्यो, यो पंक्तिकारलाई । 

अधिकारी जति सुन्दर गीत र कविता रच्छन्, त्यति नै व्यवस्थित अभिलेख पनि राख्दा रहेछन् । किशोर उमेरमा रचेका गीत–कविताको पनि दुरुस्त अभिलेख राखेका छन् । के अधिकारी आफ्ना रचना हिट हुन्छन् र पछि यसरी किताबै लेख्छु भनेर चालीस वर्ष पहिले नै सोच्थे ? किताब लेख्नु परोस् वा नपरोस्, आफ्ना हर सन्तानको गर्भधारण, गर्भधारणको समय र परिवेश, मनस्थिति र परिस्थिति, जन्म, नामकरण, प्रथम प्रकाशन आदि इत्यादिको रिकर्ड राखिदिनु सन्तानप्रति अभिभावकको कर्तव्य हुँदो रहेछ ।  

रचना कुन मितिमा लेखियो ? कुन मितिमा छापियो ? कहाँ बसेर लेखियो ? कसको अनुरोधमा लेखियो ? लेख्दा, लेख्न पूरा गर्न किन कहिलेकाहीँ वर्षाैं समय लाग्यो ? कसरी कसरी साह्रो गाह्रो भयो ? पहिला कहाँ छापिए ? गीत कसरी रिकर्ड भयो ? गीत माग्ने गायक÷संगीतकारलाई अरु कुन कुन गीत देखाइयो ? गीत रिकर्ड भएर आउँदा कसरी केही शब्द र उच्चारण बदलिए ? रिकर्डिङमा रचनाकार पनि किन साथै हुनुपर्छ ? कागज गराएर मात्र आफ्ना गीत गाउन दिने अधिकारीले यो एउटै पुस्तकमा सृजनाकर्मसँगै जोडिएर आउने व्यावहारिक पाटा पनि सिकाएका छन् । सिकाउँछु नभनीकनै सिकाएका छन् । 

नारायण गोपालले गाएको कालजयी गीत ‘तिमी जुन रहरले’ लेख्दा अधिकारी टिजएजमै रहेछन् । १९ वर्षमै उनले दिएको यी गीतिरचनाको कथा पढ्न पाउनु पाठकलाई खुसीको कुरो हो । 

अधिकारीको ‘यो सम्झिने मन छ’ मायाप्रेमको अर्काे पाटो हो । तर, यो गीत लेखनाथ पौड्यालको रचना ‘आयो टप्प टिप्यो’ जसरी घरीघरी आइदिन्छ । ‘जीवन भनूँ त घात छ’ गीत भक्तराज आचार्यको जीवनसँग कसरी जोडियो ? भक्तराज र दिनेशको सम्बन्धमा आएको उतारचढाव, भक्तराजको हस्ताक्षरयुक्त चिठी नै छापिदिएका छन् । यस्तै उनले अर्काे हस्ताक्षर पनि छापिदिएका छन्, ‘हर्कबहादुर’ कविता खण्डमा ।

साहित्यकार भनेपछि त्यो भुलक्कड हुन्छ, ल्याङफ्याङे हुन्छ, भद्रगोल हुन्छ भन्ने मान्यता छ, तर अधिकारी आफ्ना घटनाक्रम र दुर्घटनाक्रम दुरुस्त राख्न बडो सचेत रहेछन् । रचनामा अराजक बन तर जीवनमा अनुशासनमा बस— अधिकारले मुख नखोलीकन मुख खोलेका छन् । 

अधिकारीले ४१ वर्ष पहिले आफ्नै घर सर्लाहीको हरिवनमा ‘हर्कबहादुर’ कविता लेखेका रहेछन । यो कविता कोर्समा पनि भएको हुँदा नयाँ पुस्ताबीच पनि परिचित छ । अधिकारीकै घरछेउ हर्कबहादुर र उनको परिवार कटेरोमा बस्दा रहेछन् । यो कविता अर्का कवि विमल कोइरालाको ‘धुर्वे उर्फ ध्रुवबहादुर’ कविताको अनुकरण हो भन्दै धुम्बाराही, रिङरोड, चाबहिलका मधुकर चन्द्रबहादुर सिंहले २०३९ जेठको ‘रूपरेखा’मा छापेका रहेछन् । ‘जिब्रो नचलाई भन्ने हो भने त्यो सरासर चोरी हो’ भन्ने सिंहको आरोपको खण्डनमा लेखकहरू तारानाथ शर्मा, मदनमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, अशेष मल्लहरूले ‘प्रतिवाद’ गरेका रहेछन् । तारानाथ शर्माले त ‘गरिमा’ मासिकमा ‘अत्याधुनिक कवितामा नेपाली बहादुर’ शीर्षकमा अधिकारी र कोइरालाका बहादुरका अतिरिक्त क्षेत्रप्रताप अधिकारीको ‘धनबहादुर’ र श्यामलको ‘राइफलम्यान कीर्तिबहादुरको मूल्यांकन’ शीर्षकका चार कविता सँगै राखी समालोचनाको बहादुरी नै प्रदर्शन गरेका रहेछन् । 

अधिकारीको यो पुस्तक लेखकहरू, अझ नयाँ पुस्ताका लेखकहरूका लागि सृजना कसरी गर्न सकिन्छ भन्ने गाइडबुक पनि हो । सृजनात्मक लेखनका लागि उपदेश मात्र दिने व्यक्ति÷कृतिभन्दा सृजनात्मक लेखनको सफल उदाहरण पनि पेस गर्ने यस्ता पुस्तकले पाठकलाई पनि लेख्न जोस बढाउँदो रहेछ । 

पत्रकारितालाई हतारको साहित्य भनिन्छ । सायद अब यस्तो भन्दा पनि हुन्छ—  साहित्य, संगीत, कला स्वयं हतारको पत्रकारिता भएको छ ।
 

रचना पाठ्यपुस्तकमा राख्ने (बेच्ने) तर पारिश्रमिक नदिने कुरा उठाएका छन् । संगीतज्ञ अम्बर गुरुङ र रबिन शर्माले एउटै गीतका लागि गरेको महिनौँको लगातारको मेहनत, अधिकारी सम्झिन्छन्, ‘अहिले यस्तो मेहनत खै ! कसले गर्छ ?’ 

हाम्रो पत्रकारितालाई हतारको साहित्य भनिन्छ । सायद अब यस्तो भन्दा पनि हुन्छ—  साहित्य, संगीत, कला स्वयं हतारको पत्रकारिता भएको छ । सास फेरेभन्दा छिटोछिटो संगीत सृजना गर्न सक्ने अद्भुत प्रतिभाहरू भएको युगमा अधिकारी फेरि सिनेमाका लागि गीत नदिने भनेर बसेका छन् ।

उनको गीत–कविता सृजना र दर्शनका यो पढ्नुहोस् :

कवि/गीतकार दिनेश अधिकारीसँग जीवन–वार्ता : पैसा तिरेर गीत रेकर्ड गर्न सक्दिनँ, फिल्ममा त गीत दिन्‍नँ

​पुस्तक प्रकाशक शिखा बुक्सले यसमा अल्छी गरेको देखिन्छ । पाण्डुलिपि तयार भइसकेपछि सामान्य सम्पादन गराउनु प्रकाशकको धर्म हो । लेखकले पनि आफ्नो पुस्तक सकेसम्म कम त्रुटिपूर्ण हुनेगरी छाप्नेतिर सोच्नुपर्ने हो । यति सुन्दर पुस्तकमा बिकास, गौचरण, शीप, विनास, पक्षघर, सांस्कृति, सूचि, स्वाथ्र्य, सुडकेस जस्ता अशुद्ध शब्द बिझाउँछ । व्यक्ति होस् वा कृति, नाम दुरुस्त हुुुनुपर्ने हो । ‘कर्णाली दक्षिण बग्दो छ’, ‘स्विन कर्णालीका’, ‘इन्द्रवती’, 'विषय पराजय' यसरी नलेखिनुपर्ने हो । नेता वर्षमान पुनको थर ‘पुनः’ हैन, पुन हो । 

‘कहिले छायाँसँग खसेँ’ गीत सुन्दा हामी ‘पाइनँ’ सुन्छौँ । पुस्तकमा ‘पाइएन’ छ । ‘चाहिनँ’ सुन्छौँ, ‘चाहिएन’ छ । गीतकै बारेमा मात्र पूरै कथा लेख्दा यो पाटोबारे पनि लेखिदिएको भए श्रोता–पाठकलाई अलमल हुन्थेन होला ।  

रचनागर्भ भनेर पत्रपत्रिकामा फुटकर स्तम्भहरू आइरहन्छन् । ती पाठकहरूबाट रुचाइन्छन् पनि । कथाका सन्दर्भमा परशु प्रधानपछि कविता–गीतमा रचनागर्भको किताबै लिएर आउने अधिकारी सम्भवतः पहिला हुन् । उसो त पहिला हुनु कुनै ठूलो कुरो होइन । यो कृतिले कविता कसरी लेख्ने ? गीत कसरी रच्ने, संगीतसम्म कसरी पुग्ने भन्ने बाटो देखाउँछ । यो ठूलो कुरो हो ।

पुस्तकभित्र रमाइला प्रसंग बाक्लै छन् । पुस्तकले नयाँ पुस्ताका साहित्यकारलाई अभिलेखनका सवालमा अनुशासित बन्न प्रेरित गर्छ । विदेशतिर बाक्लै र यतातिर यदाकदा मात्र सृजनात्मक लेखनको कक्षा चल्छ । यो पुस्तक सृजनात्मक कक्षाको सन्दर्भसामग्री बन्न सक्छ । 
लेखक : दिनेश अधिकारी 
प्रकाशक : शिखा बुक्स 
संस्करण : २०७९ वैशाख
मोल : रु.३५०/-
पृष्ठ : १७८  


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x