सप्ताहन्त

तुइनको बाटोमा देशका दुर्गम दुःखहरू

सागर गैरे |
भदौ ११, २०७९ शनिबार १३:१ बजे

कविता लेख्‍न जति गाह्रो छ, कविता बुझ्न झन् गाह्रो छ । कविता बुझ्नु भनेको भूत, वर्तमान र भविष्य एकै पटक बुझ्नु हो । देश बुझ्नु हो, समाज बुझ्नु हो, मानिस र मानिसको मनोविज्ञान बुझ्नु हो । मानिस भित्रको सौहार्दता, एकाङ्कीपन या उत्कट चाहना आयामहरू छिमल्नु हो । कविता पढ्नु भनेको बौद्धिक चिन्तनमा लिन हुनु हो । आफैँले आफैँलाई जाँचको तराजुमा राखेर हेर्नु हो । 

मैले भर्खरै देशको ऐना हेरे जस्तो एउटा संग्रह पढी सिध्याएको छु । छवि अनित्यको कविता संग्रह तुइनको बाटो मेरो हातमा पर्यो । दाङका कवि नवीन अभिलाषीले यो कृति मलाई उपहार स्वरूप दिएका थिए । शीर्षकले भौगोलिक बिकटताको बारेमा भन्छ । नेपाली समाजले लामो समय तुइनको बाटो भएर जीवन बाँचेको छ, त्यसमा केटाकेटी देखि बुढा मानिसहरू उल्टो झुण्डिएर देश बाँचेका छन्, तर राज्यले केहि भन्‍न सकेनन् । बाँचेकाहरूले प्रश्न गर्न सक्छन् । कि तुइनबाट खसेकाहरू कहाँ पुगे ? त्यो दुर्घटना मात्रै थियो कि राज्य द्वारा गरिएको नियोजित हत्या ?


तुइन अहिले पनि यो देशको समाज विकास हो, अर्थतन्त्र हो, राजनीति हो, सम्बन्ध हो, कुटनिति हो, विचार हो, संस्कृति हो । नेपाली ग्रामीण विकासको अवधारणा बुझ्न नदिहरूको तुइनमा उल्टो झुण्डिएका नानीहरू देखे पुग्छ । विश्वका असम्भव भन्दा असम्भव ठाउँमा बाटो पुगेको छ । तुइन विस्थापन गाह्रो होइन । नेपालमा अझै पनि तुइनहरू छन् दुर्गम ठाउँमा ।

तपाईं आफ्नै तर्कलाई जित्न सक्नुहुन्‍न,
जब तर्कहरू बढेर ठुला हुन्छन ? (पेज १५)

एक बिहान हिँडेर देखाओस भगवानले,
मन्दिरबाट निस्केर खेतको आलीआली । (पेज १७)

प्रिय लाग्छ, उडिरहेको बाफ,
जसमा छ, भातको मीठो बासना । (पेज २१)

संग्रहभित्रका दुई चारवटा कविता हेर्नेबित्तिकै म लोभिइहालेँ । यो कृति चानचुने हैन भन्‍ने तत्काल लखकाटी हालेँ । किनकि असरल्ल कविताहरूले बजार खाइरहेका छन् । त्यसमध्य कति कविता कविताको मौहकतालाई सिध्याइरहेको छ । कविताको गुदी नभएका केवल खोक्रा कविताहरूले पाठक अन्यौलमा छन् । आखिर कविता किन मर्न थालेको छ ?

कवि अनित्यले कवितामा बहुसन्दर्भहरू जोडेका छन् । कवितामा दर्शन मिसाएका छन् । राजनीति लेखेका छन् । धर्म र त्यसका असरबारे चिन्तन गरेका छन् । मृत्युमाथि लेखेका छन् । 

एकदिन जब भेटिन्छ मृत्यु-
न मलाई कसैले बताउने छ
न म कसैलाई बताउने छु
मृत्युको हुलिया !
के तपाईं बताउनुहुन्छ ? (पेज–१८)

मृत्युको एउटा पाटो निकै सुन्दर छ त्यो हो, मृत्यु कतिबेला कुन स्वरूपमा आउँछ, कसैलाई थाहा हुँदैन । मृत्यु छ, मृत्युसँगै मान्छेको नश्वर शरीर सकिन्छ । मृत्युपश्चात् पनि मान्छेको नाममा धार्मिक कर्महरू छुट्दैन । धर्मले मान्छे नजेलिँदो हुँदो हो त मान्छेले पनि मृत्युलाई त्यत्तिकै सहज स्विकार्थ्यो होला जति जीवजन्तु र पशुपक्षीको संसारमा मृत्यु सहज हुन्छ । मान्छेको मृत्यु यति जटिल नहुनु पर्थ्यो ।

कवि देशको बारेमा चिन्ता गर्छन् । प्राकृतिक, भौगोलिक, पर्यावरणीय सबै कोणले देश ठिकठाक ? मान्छे मिलनसार छन् । शासकहरूको मानसिक स्तर किन दरिद्र छ ? सत्ताको कुर्चीमा आसीन हुनेबित्तिकै शासकको मनस्थिति किन परिवर्तन हुन्छ ? कसरी बदलाब आउँछ ? सत्ताको संरचनामा के त्यस्तो जादु छ जसले शासकलाई नै परिवर्तन गरिदिन्छ ? अहिलेको सबै नेपाली मानिसको सोधाइ हो जुन कुरा अनित्यले लेखका छन् । 

थाहा नहोस् कसैलाई
कसको हातमा छ सत्ताको स्टेरिङ
कुन प्रभुले थिचिरहेछ जबरजस्ती एक्सेलेटर
कुन सिद्धान्तको जलप लगाएर दौडिरहेछ समय
कुन शक्तिको घ्यु खाएर उग्राईरहेछ शासक
कुन मार्ग पछ्याउँदै बढिरहेछ देश
केही थाहै नहोस् । (पेज– ३)

तुइनहरू सधै दुर्गम मनोविज्ञानसँग जोडिन्छन् । एउटा बच्चाको, एउटा एउटा किशोरको, एउटा युवाको प्रगतिका बाटाहरू सधैँ खुल्ला राखिदिनुपर्छ सत्ताले । स–साना स्कुले नानीहरूका तुइनमा झुण्डिएका तस्बिर सार्वजनिक हुन्छन् बेलाबखत छापामा । सत्ता, दल, सञ्चारमाध्यमहरू सधैँ तुइनको राजनीति गर्न रुचाउँछन् ।

तुइनहरू सधैँ भौगोलिक विकटताको विम्ब किन बनाइन्छ ? तुइनमाथि सधै बहस हुन्छ । राजमार्गका निर्माणका कुरा उठ्छन् । पुल निर्माणका कुरा हुन्छन् । उस्तै छ कर्णाली अझै । तुइन विस्थापित होलान् तर तुइनमा झुण्डिएका जीवनहरू कहिले सुगमको श्वास फेर्लान् ? स्कुल हिँडेका नानीहरू तुइनमा एक दिन जित्छन् कि संसार ? कवि प्रश्न गर्छन् । 

‘तुइनमा
तुन्द्रुङङ झुन्डिन्छन् नानीहरू
चमेराजस्तै
र थाप्छन् ज्यानको बाजी
नानीहरू संसार जित्छन एक दिन ।’ (पेज २९)

हुन त कविता पनि ससाना कथाहरू नै हुन् ! शब्दले भन्‍न खोजे भन्दा बढी, बताउन खोजेभन्दा धेरै अर्थ दिन्छन् कविताले । कवि संसारकै उत्कृष्ट जीवन बाँच्ने प्रजाति हो । समाज हिँड्न खोजेको बाटो डोहो¥याउने जात हो कवि । स्वान्तसुखायमा बाँचेर समाजलाई आदर्श सिकाउने कवि क्षणभंगुरताको शासक र राज्यका संरचनासँग डराउँदैनन् । 

कविहरू व्यंग्य गर्न सिपालु हुन्छन् । 
शासकका दम्भहरू सँग डराउदैनन् ।
जातपात, छुवाछूत नेपाली समाजमा सदियौँदेखि खिल बनेर गढेका छन् । श्रम चल्छ, सीप चल्छ तर पानी किन चल्दैन ? राजनीतिक चेतनाको उभारले, प्रविधिको विकास र परिवर्तनको अभियानले जातपातका सीमारेखाहरू मत्थर बन्दै गएका त छन् तर त्यसका अवशेषले बेला बेला टाउको उठाउन खोज्छन् । त्यस्ता प्रवृत्तिविरुद्ध कवि अनित्यका शब्दहरू धार बनेर आएका छन् । प्रहार बनेर लेखिएका छन् । 
हर्कमान ठूल्बा !

यसपालि मेरा छोरीहरू
तिम्रा आँगनीमा भैलेनी गाउलान
मेरा छोराहरू तिम्रा आँगनीमा देउसी भट्याउलान
टन्‍नै दिन भन्‍नू ठूलीआमैलाई दानमा सेलरोटी
उनीहरूलाई कसैले भनेका छैनन्
अन्‍नको पनि जात हुन्छ !
(पेज ३२)

कति निम्छरो छ मान्छेको जिन्दगी । एक मुठ्ठी श्वासले धानेको छ उसको अस्तित्व । कवि जिन्दगीलाई गाडीसँग दाँज्छन्, तुलना गर्छन् । मान्छे र गाडीको गति उस्तै ठान्छन् उनी । 

गुड्‌दा गुड्दै फुस्किन सक्छ हावा
खुस्किन सक्छन चक्का
भाँचिन सक्छ सापट–पट्टा
फस्न सक्छ गियर

कवि नवागन्तुक नागरिक दाज्युभाइ, दक्षिणका शासकहरूको चाकरी गर्ने शासहरूलाई पनि व्यंग्य गर्छन् । चोकचोकमा छन् दिल्लीवाले हलुवाइहरू । टोलटोलमा छन् दक्षिणका भक्तहरू । दूतावासमा हाजिर लगाउनु, दूतावासमा बाँडिएको प्रसाद खानु चलिरहेछ यो खेल खुल्लमखुल्ला ।

सरल र सलल बगेका छन्, नदीको बेगजस्तै प्रवाहित छन् कविताहरू । एउटा परीक्षामा हार्नु जगतै हार्नु होइन । उनी प्रश्नमाथि प्रश्न सोध्छन् ? सरकारसँग समाजसँग आफैसँग ? प्रश्न सोध्नु उनको परिचय हो ? कर्तव्य हो या के हो ?
उनका कविताहरू छरिता छन्, छरिता भएरै सरल छन् र सरल भएरै पूर्ण छन् । उनका कवितामा फगत नाराको गन्ध भेटिँदैन । कविताको भाषा र लेखन शैलीमा एकदमै परिपक्वता र निखारता भेटिन्छ । उनले समाज बुझेका छन् । 

समयको लय सुनेका छन् । कविताको मूल्य र शक्ति जानेका छन् । त्यो कविता पढ्दा थाहा हुन्छ । एउटा सत्य के हो भने कवि बौद्धिक हुनैपर्छ । हिजोको समाजबारे थाहा पाएकै हुनुपर्छ, आजको आवश्यकता र प्राथमिकता महसुस गरेको हुनुपर्छ र भोलिको उज्यालो किरणको स्रोत पहिल्याउने क्षमताको हुनैपर्छ ।

व्यक्तिगत रूपमा म उनलाई चिन्दिनँ । उनलाई देखेको पनि छैन । उनको कविताहरू पढेपछि म ढुक्कसँग यति भन्छु उनी कविता लेख्‍नै जन्मिएका हुन् । उनी निरन्तर कविता विधामै समर्पित भइरहून् । कुनै दिन उनी कविता विधाका सेलिब्रेटी साधक बन्‍ने कुरामा कुनै शंका छैन ।

कृतिमा ५१ वटा कविता छन् । पुस्तक ९५ पेजसम्म फैलिएको छ । प्रायः कविता संग्रहहरू आकारमा साना, चिटिक्कका र पातला छन् । यो संग्रहको बाहिरी रूपमा कता कता के के नमिले जस्तो छ । कतिपयलाई त्यति आकर्षक नलाग्न पनि सक्छ किताबको आवरण । तर किताबको तौल आवरणमा सीमित छैन । 

हेटौंडाका शिक्षक हुन् छबि । उनी शिक्षकभन्दा बढी यो देशका सचेत नागरिक हुन् । उनको चेतनाको स्तर, चेतनाको गहिराइ अतुलनीय छ । त्यसैले त उनी यति सशक्त कविता लेख्‍न सक्छन् ।

कृति : तुइनको बाटो
कृतिकार : छवि अनित्य
प्रकाशक : आकृति क्रियसन हेटौंडा
तुइन स्केच : कृष्ण मर्सानी
मूल्य : २५०/-
प्रकाशन मिति : २०७८ चैत्र


Author

थप समाचार
x