सप्ताहन्त

मर्नुअघि नै मारौं मृत्यु !

लिलाराज खतिवडा |
असोज २२, २०७९ ७:५२ बजे

म हुर्किएको समाजमा मृत्युबारे केवल भय छ । अज्ञानता छ । बोध वा रियलाइजेशन छैन । मृत्यु के हो भनेर यहाँ कसैलाई गवेषणा गर्ने फुर्सद छैन । कारण, यहाँ सबै जीवनकै खोज गर्न र यसलाई भोग्न ब्यस्त छन् । यता जीवन नै यति मोहपूर्ण लाग्छ कि यो सब छाडेर जाने सोचसम्मले पनि मनमा गहन निराशा उब्जाइदिन्छ ।
सतहमा त सबै रटराट आवाजमा भन्छन्, हो एक दिन मरिन्छ । तर, एक तहभित्र सबै ठान्छन्, यो मर्छ । ऊ पनि मर्छ । तर मचाहिँ कहिल्यै मर्दिनँ ।

धम्मपद चिच्याएर बताउँछ, संसार जलिरहेछ, तिमी खित्का छोडेर हाँसिरहेका छौ ? 


यस्तो लाग्छ, दुनियाँ घाट वा चिहानघारीमा पनि अनावश्यक उत्सव मनाइरहेको छ । मृत्युको होइन, जीवनप्रति आशक्तिको उत्सव । बुद्ध पनि यहाँ आए र गए । हामीले ट्वाल्ल परेर केवल रमिता हेर्यौं । हेरिरह्यौं । संसार जलिरहेको छ र हामी त्यस आगोमा पेट्रोल खन्याइरहेका छौं । जीवनको शिक्षाले मात्रै यहाँ केही लछारपाटो लगाएन, त्यसैले अब चाहिएको छ यहाँ मृत्यु शिक्षा ।

जगतमा जिन्दगी अधूरो लाग्छ । जगतका अधिकांश मानिस यहाँ केवल जन्मोत्सव मनाउन ब्यस्त छन् । मृत्यु उत्सव त यहाँ विरलैले मनाउँदा हुन् । जन्मोत्सव भन्ने नै गलत छ । हरेक जन्मदिनमा मानिस एक वर्षले मृत्युको नजिक धकेलिएको अवस्थामा जन्मदिन मनाउने कि मृत्यु दिन ?

यहाँसम्म कि कसैको मलामी जाँदा वा किरिया बस्दासमेत मानिस आफूभित्रको मृत्युको अस्तित्वलाई बोध गर्दैन ।
ऊ ठान्छ, यो विचरा जो अहिले मरेको छ, उसले ठीकसँग जीवन ज्युँन जानेन । वा उसको आयु नै यत्ति थियो । 
तर, आफ्नो बारेमा ? 

के म आफ्नो समीपमा नै घुमिरहेको आफ्नै मृत्युको झझल्को अहिले भर्खरै महसुस गर्न सक्छु ?

सिल्भिया प्ल्याथले भनेकी छन्, मृत्यु अरुथोक जस्तै एउटा कला हो । तर, मान्छेहरू यहाँ जीवन ज्युँने कला सिकेर, सिकाएर हिँड्छन् । मर्ने कला अर्थात् दि आर्ट अफ् डाईङ् सिक्ने, सिकाउने विरलै भेटिन्छन् । स्कूल र कलेजमा पनि जन्मबारेमा मात्रै पढाइन्छ । मृत्युका बारेमा त्यहाँ चर्चासम्म गरिँदैन । यसलाई यसरी बुझाँै, यहाँ केवल रुख चढ्न सिकाइन्छ । ओर्लिन सिकाइन्न । मतलब, जिन्दगीको अग्लो रुख सकेसम्म चढेर अन्त्यमा टुप्पाबाट हाम्फाल्नुपर्छ, यहाँ । त्यस्तै त भइरहेको छ । छैन र ?

मृत्युलाई उदास गीत होइन, उल्लासको गीत बनाऔं । मृत्युमा शोक होइन, उत्सब मनाऔं । अनि मात्रै जिन्दगी सहज र समग्र बन्दछ । नत्र त हामी यहाँ आधाअधूरै जीवन सक्न बाध्य हुनेछौं ।

मानवका जम्मा सातवटा शरीर हुन्छन् । मृत्युमा एउटा शेष हुन्छ । अरु छ वटा शरीर त साथैमा छन् । के को विलाप ? के को शोक ? मृत्युमा शोक गर्नेहरूले मृत्युको बोध वा अध्ययन गरेनन् । नत्र कूल सातवटा हिरा खल्तीमा रहेकोमा केवल एउटा हिरा हराउँदा वा नष्ट हुँदा किन रुनु ? 

अर्कातिर, जीवनमा केवल मृत्युभन्दा यता हेर्न सिकाइएको छ । मृत्युभन्दा उताको बिराट जीवनलाई चियाउन सिकाइँदैन । यसै कारण जीवन र मृत्यु दुबै भयावह प्रतीत हुन्छन् । 

जीवन सहज गर्ने हो ? मृत्यु शिक्षा शुरु गर्नुहोस् । आफ्ना लागि र अरुका लागि पनि ।

सेक्सपियरले किंग लियरमा समाधान दिन खोजे, मानिसले जगतबाट बर्हिगमनलाई त्यसैगरी सहनु पर्दछ जसरी आगमनलाई । 
मृत्युबारे सबैभन्दा धेरै जानकारी दिएर जाने ओशो के भन्छन् भने, जन्मको हामीलाई स्मरण छैन । तर, मृत्यु हुन्छ भन्ने हेक्का वा जानकारी छ । तसर्थ अरु सबै काम भन्दा यसको बोध गर्नु टड्कारो हुन आउँछ । 

यसर्थ, जन्ममा म जिम्मेवार थिएँ कि थिइनँ, थाहा छैन । तर, मृत्युउपर म जिम्मेवार हुनुपर्छ र मर्नु वा मारिनुअघि नै यो के हो भनेर थाहा पाइसक्नु पर्छ । तब हुनसक्छ मरेर पनि म मर्दिनँ कि ?

जोसेफ ब्राउन भन्छन्, यहाँ मृत्यु हुँदैन । जगतहरूको परिवर्तन मात्रै हुन्छ ।

बोध वा रियलाइजेशन विचारको सतहबाट एक तहभित्र छिरेपछि मात्रै उत्पन्न हुने सत्य हो । तर, ज्ञानी पुरुषबाहेक पुरै दुनियाँ विचारकै तहमा बाँचिरहेको हुन्छ । अधिसंख्यक मानिस विचारभन्दा भित्र नपस्दै जीवन सक्छन् । विचारमा ज्यूँनेहरू शरीर र आत्माको बोध गर्न सक्दैनन् । विचार बादलसदृश हुन्छ । तुच्छ बादलले अनन्त आकाश र आकाशका विशाल पिण्डहरूलाई छेकिदिन्छ । आँखा बन्द गरेर ध्यान गर्दा के बोध हुन्छ भने, भृकुटीको अन्धकारमा अति शक्तिशाली प्रकाश सल्बलाइरहेको छ । 

यस्तो लाग्छ, सुदुरबाट एउटा तारा लगातार मतिर आइरहेको छ । यस्तो पनि लाग्छ कि मभित्रबाट पनि एउटा तारासदृश प्रकाश त्यो आइरहेको तारातर्फ गइरहेको छ । एकदिन यी टकराउँने छन् । परिणामस्वरूप शरिर छुट्नेछ र नयाँ यात्रा शुरु हुनेछ ।

यहाँ भन्न खोजिएको मेरो वा म केवल यो लेखक होइन । मानिसभित्रको म तत्वको कुरा गर्न खोजिएको हो । शरीरभित्र के त्यस्तो अति जीवित छ ? अति चेतनशील छ ? शाश्वत छ ? असमय छ ? शान्त छ ?

के यो विचार हो ? 
होइन । 

यो विचार भन्दा पनि भित्र हाम्रो केन्द्रमा अवस्थित त्यो अतिप्रकाश हो जो कि अपरिवर्तनशील छ र नित्य छ । यो हाम्रो धुरा हो । यस बाहेक सब परिवर्तनशील, अनित्य र मरणधर्मा छ । म भनेर मानिसहरू आफूभित्रको जुन केन्द्रतर्फ इशारा गर्छन्, त्यो यो तत्व हो । तर, यसलाई बोध गर्न चाहिँ चुक्छन् । किनभने त्यो उनीहरूले भन्ने म पनि विचारकै लेभलमा हुन्छ । वास्तविक म अति जाज्वल्यमान प्रकाशपुञ्ज हो । 

जान्नु र मान्नुमा तात्विक भेद छ । मान्दछु कि मेरो मृत्यु हुन्छ, एउटा कुरा भयो । जान्दछु कि मेरो मृत्यु हुन्छ, नितान्त फरक । 

सूफी फकीर फरीदा भन्छन्, जसले जान्यो कि मृत्यु अवश्यम्भावी छ, तत्क्षण ऊ मुक्त भयो । मृत्युपार भयो । अब कुनै पनि मृत्युले उसलाई मार्न सक्दैन ।

उदाहरणार्थ एउटा सलाईको काँटी कोर्नुहोस् । अब आफैंलाई सोध्नुहोस्, त्यो आगो सलाई कोर्नुअघि कहाँ थियो ? काँटी निभाउनुहोस् । पुनः आफैँलाई सोध्नुहोस्, त्यो आगो कहाँ गायव भयो ? के यो दृष्टान्त जीवन र मृत्युबारेको बन्द ढोका खोल्न सक्षम छैन ? एउटा विशेष घर्षणबाट शुरु हुने मानिसको जैविक यात्रा त्यो एकैछिन बल्ने सलाईको काँटि जस्तै हो । घर्षणअघि कहाँ थियो जीवन ? अथवा सलाई कोर्नुअघि कहाँ थियो आगो ? मान्छेको मृत्यु सलाईको काँटी निभेजस्तो हो । कहाँ अलप भयो आगो ?

आगो जहाँबाट आएको थियो त्यहीँ गयो । मान्छेको जन्म र मृत्यु पनि यस्तै हो । जहाँबाट आउँछ मान्छे, जान्छ पनि त्यतै । तर त्यो अब फगत मान्छे कहाँ ? त्यो त बिराटमा समाहित भइसकेको छ । 

जीवित अवस्थामा नै मृत्युलाई बोध गर्नेहरू मृत्युपार हुन्छन् । र जीवित अवस्थामा यो बोधगम्य छ । मुत्यु हामीभित्रै छ । मृत्युलाई बोध गर्दा मानिस अमर हुन्छ । किनभने मृत्युलाई जान्नासाथ अब यो मृत्यु रहँदैन । एउटा महाजीवनको अस्तित्वबोध हुन जान्छ । 

समग्रबाट जब हामी एउटालाई नियाल्छौं तब त्यो निकै स्यानो र कमजोर प्रतित हुन्छ । यसको विपरित जब हामी एकबाट समग्रलाई चियाउँछौं, तब त्यो बहुतै बिराट नजर आउँछ ।

कमसेकम, मृत्यु मेरो समाजमा बयान गरेजस्तो भयानक छैन । खोज गर्ने हो भने थाहा हुन्छ की मृत्यु एक आनन्द हो । सच्चिदानन्द । 
सनातन धर्ममा उल्लेख यस महान सूत्रलाई हेरौं,
असतोमा सद्गमयः
तमसोमा ज्योर्तिगमयः
मृत्र्योमा अमृतंगमयः
मृत्युमा अमृत, वाह क्या बात छ ! 

आँखा बन्द गरेर होशमा, केन्द्रतर्फ फाल हाल्दा जुन जाज्वल्यमान प्रकाशको जिकिर गरियो, स्वासप्रश्वासको होशसँगै त्यसको बोधमा मोद छ । त्यहाँ जुन आनन्द महसुस हुन्छ, त्यो मृत्युकै आनन्द हो । मृत्युको मजा जीवित अवस्थामा नै लिन सकिन्छ । किनभने यो प्रतिक्षण घटिरहेको हुन्छ । आँखा बन्द गरेर जीवित अवस्थामा हामी मृत्युलाई शरीरमा यताबाट हेर्छौं । मृत्युमा चाहिँ हामी शरीर छाडेर उता जान्छौं । र समग्रमा समाहित हुन्छौं । यो पानीको एउटा थोपा सागरमा मिलेसदृश हो । 
टमस मान भन्छन्, मृत्युका बारेमा धार्मिक दृष्टिले चिन्तन गर्नु जीवनको अभिन्न पक्ष हो ।

कवि शिरोमणि लेखनाथ पौड्यालका यी श्लोक मनन् गरौं,
यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उसको रहने घरै हो ।
यो भत्कदाँ दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।

ध्यान अर्थात् अन्तसको जागृत महायात्राले मृत्युलाई सहज बनाउँछ । गौतम बुद्धको ज्ञानमा होशपूर्वक शरीर छोड्ने सूत्रहरू समाहित छन् । विपश्यना गुरु सत्यनारायण गोयन्का विपश्यना साधनालाई ‘आर्ट अफ लिभिङ्’ होइन ‘आर्ट अफ डाइङ्’ भन्न रुचाउँछन् । र विपश्यना साधना गर्नेहरूले होशमा मृत्युवरण गरेका कैयौं दृष्टान्तहरू पनि पेश गर्छन् । 

लोभ, तृष्णा, द्वेष दुःखका प्रमुख कारण हुन् । जीवनप्रतिको आशक्ति र पलायन दुबै दुःखका कारण हुन् । बुद्ध दुःखबाट मुक्ति सम्भव छ भन्छन् भने त्यसको आधार दुःखको कारण थाहा पाउने प्रज्ञाको प्रष्फुटन र दुःखलाई झेल्नसक्ने शक्तिको साधनाद्वारा सम्बद्र्धन नै हो । दुःखलाई झेल्नसक्ने यसभन्दा अर्को सजिलो उपाय त बेहोशीको उपक्रम मात्रै हो ।

सेसिल रोड्सले मर्ने बेलामा भनेका थिए, ‘सो लिटल डन, सो मच टु डु । अर्थात्, यति थोरै मात्रै गरियो, कत्रो धेरै बाँकी रह्यो । 
तर, सेसिलको भनाईलाई म यसरी सच्याइदिन्छु, ‘सो मच डन, नथिंग इज लेफ्ट ।’ अर्थात्, बहुत कूछ गरियो, अब केही गर्न बाँकी छैन ।
भन्नै पर्दा, सेसिलको मृत्यु असन्तुष्ट मृत्यु हो । यो दुःख र रोदनले भरिएको मृत्यु हो । 
सामान्यतया मृत्यु दुई तरिकाले हुन्छ । कोही पहाड भएर मर्छन् त कोही कपास भएर । तिमी कुन रोज्छौ ?

निश्चय नै सबै कपाससरह हल्का मृत्युवरण गर्ने अभिलाषा राख्दा हुन् । तर उनीहरूको ब्यवहार भने पहाड जस्तो भारी मृत्युतर्फ उन्मुख हुन्छ । मृत्यु चिन्तनको अभिप्राय घरबार छाडेर घाटमा बस्न जानु भन्ने कदापि होइन । तर, घरबार छाडेको भाव लिएर घरमै बस्नु र आँखा बन्द गरेर स्वयंभित्र नजिकिँदै गरेको मृत्युलाई जान्नु भन्ने हो । 

यहाँ सन्तुष्ट मृत्युको खाँचो छ । जस्तो कि क्रिष्टिना रोजेटीले लेखेकी छिन्, ‘व्हेन आइ एम डेड्, माई डियरेस्ट, सिंग नो स्याड् संग्स फर मी ।’ अर्थात्, मेरो मृत्युपछि, हे प्रियतम, मेरो सम्झनामा कुनै उदास गीत नगाईदिनू ।

त्यसैले मारिनुअघि नै मारौं मृत्यु ! मृत्युलाई उदास गीत होइन, उल्लासको गीत बनाऔं । मृत्युमा शोक होइन, उत्सब मनाऔं । अनि मात्रै जिन्दगी सहज र समग्र बन्दछ । नत्र त हामी यहाँ आधाअधूरै जीवन सक्न बाध्य हुनेछौं ।

जाँदाजाँदै कवि शिरोमणि पौडयालकृत मृत्यु दर्शनका केही वाक्य राख्न चाहन्छु,
चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति । 
सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति । 
धुवाँ हाँस्तै उड्यो, विगत पथ हाँस्यो गगनको । 
खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको ।


Author

थप समाचार
ad
x