सप्ताहन्त

बद्‍मास ‘हरिबहादुर’ !

चिरञ्‍जीवी मास्के |
बैशाख ११, २०७८ शनिवार १९:१८ बजे

पुस्तक कस्तो राम्रो हुन्छ ? यो पटक कुन पुस्तक पढ्ने होला ? आम रुपमा जिज्ञासा राख्दा धेरै पुस्तकका नाम आए, ‘रजगज’, ‘मदनकृष्णको म’, ‘चिना हराएको मान्छे’ आदि आदि ।

पुस्तक पसलमा गएँ, धेरै पुस्तक र्‍याकमा सजिएका थिए तर मेरा आँखा ‘‘हरिबहादुर’’मा गएर रोकिए । मैले धेरै टाउको नदुखाइ हरिवंश आचार्यको ‘‘हरिबहादुर’’ किनेर ल्याएँ । झण्डै एक हप्तामा ‘‘हरिबहादुर’’ पढी भ्याएँ ।


‘हरिबहादुर’ जति बद्मास छ, ‘हरिबहादुर’ले जति बेइमानी गरेको छ त्यो भन्दा कैयन गुणा बढी बेइमानी समयले ‘हरिबहादुर’ माथि गरेको छ । र, समाजले मानव जाति माथिनै गरेको छ । ‘हरिबहादुर’ त एउटा पात्र न हो यो समाजको । कैयन ‘हरिबहादुर’हरूले समाजको तालमा तरङ्ग पैदा गरिदिएका छन् । समयको छालमा सप्तरङ्ग पैदा गरिदिएका छन् ।

‘हरिबहादुर’ त बद्मास छँदै थियो । समाउने न टेक्ने, टुहुरो ‘हरिबहादुर’को बदमासी नै सहारा भै दियो जवानीमा । बालककाल देखिनै सहारा खोसिँदै गएको ‘हरिबहादुर’सँग अधवैशे उमेरमा पनि त्यही बदमासीले मात्र साथ दियो । ‘हरिबहादुर’ पढ्ने हरेकले ‘हरिबहादुर’लाई मात्र गाली गर्छाै बदमास भयो भनेर । तर कसैले पनि ‘हरिबहादुर’ बदमास हुनुको कारण खोज्दैनौं । ‘हरिबहादुर’मा असल पात्रहरु पनि त छन् । मदनबहादुर, लाहुरे आदि । खै त तिनीहरूले ‘हरिबहादुर’लाई सुधार्न केही प्रयत्न गरेको ? ‘हरिबहादुर’को हजुरआमा कमली आमाले अलिअलि सुर्धान प्रयत्न गरेकी हुन तर पार लागेन । हैन भने ‘हरिबहादुर’कै काका पूर्णबहादुरले पनि त बेवास्ता गरेका हुन् ।

एउटा नेपाली उखान छ, ‘हुनेलाई जाहिँताहीँ, नहुनेलाई कहीँ न कहीँ । बदमास ‘हरिबहादुर’लाई अलैची जस्तो श्रीमती पर्नु पथ्र्यो त । अलि असल, अलि भलाद्मी, अलि पढालिखा श्रीमती ‘हरिबहादुर’को भागमा भै दिएको भए तै सुध्रने थियो कि ! कमली आमालाई मन नपरेको अलैंची ‘हरिबहादुर’लाई एकै नजरमा स्वर्गको अप्सरा झैं लागी । त्यसैले त भनेको बेइमान ‘हरिबहादुर’लाई समयले नै बेइमानी गरेको छ ।

पुस्तक वास्तवमै पुस्तौनी दस्तावेज हो । ‘हरिबहादुर’ले यो कुरालाई प्रमाणित गरिदिएको छ । राणाकालबाट सुरु भएको ‘हरिबहादुर’ले पञ्चायत हुदै गणतन्त्रमा आएर विश्राम लिएको छ । नेपालमा एउटा कुरा निक्कै प्रचलनमा छ । व्यवस्था फेरियो तर नेताहरूको बानी फेरिएन अर्थात नयाँ सिसीमा पुरानै रक्सी हाल्ने काम भयो । ‘हरिबहादुर’ले त्यही कुरा बोलेको छ । राणाकालको जर्साबको हैकम, रवाफ र सान जति थियो गणतन्त्रका मन्त्री शेरविक्रम गर्जनको हैकम, रवाफ र सान पनि उस्तै छ ।

हरिवंश आचार्यले राजनीतिलाई यति नजिकबाट बुझेका रहेछन् कि ‘हरिबहादुर’मा राजनीतिको तीन कालखण्डलाई राम्रोसँग केलाउन भ्याएका छन् । राणाकालको रवाफ, जीवनशैली र सामाजिक परिवेश, पञ्चायत कालको परिवेश र प्रजातन्त्र/गणतन्त्र कालको परिवेश, यी तीन कालखण्डको समय, समाज र स्वरुप हुबहु उतारेका छन् ‘हरिबहादुर’मा ।

‘हरिबहादुर’को मध्यान्नतिर अलिकता आस बाँडेका छन् हरिवंश आचार्यले । राजनीतिको आस, परिर्वतनको आस, माओवादीको आस । तर उनको आस ‘हरिबहादुर’को अन्ततिर पुग्दा मन्त्री शेरविक्रम गर्जनको व्यवहारसँगै मरिसकेको छ । बरु क्यान्सरले थला परेकी अलैंचीको पीडा र पीडासँग पौंठेजोरी खेल्न नसक्दा ‘हरिबहादुर’ले खाएको हारसँगै हरिवंश आर्चायले पनि राजनीतिक हार बेहोरेका छन् ।

‘हरिबहादुर’को मध्यान्नतिर अलिकता आस बाँडेका छन् हरिवंश आचार्यले । राजनीतिको आस, परिर्वतनको आस, माओवादीको आस । तर उनको आस ‘हरिबहादुर’को अन्ततिर पुग्दा मन्त्री शेरविक्रम गर्जनको व्यवहारसँगै मरिसकेको हुन्छ । बरु क्यान्सरले थला परेकी अलैंचीको पीडा र पीडासँग पौंठेजोरी खेल्न नसक्दा ‘हरिबहादुर’ले खाएको हारसँगै हरिवंश आर्चायले पनि राजनीतिक हार बेहोरेका छन् सायद ।

‘हरिबहादुर’ खराबै मात्र हुन् त ? कि खराबै खराबको संगतले झन् खराब भएका हुन् ? कुनै समयको शेरे भालु कसरी मन्त्री शेरविक्रम बन्न सके ? अनि किन ‘हरिबहादुर’ चाहीँ गाविस अध्यक्षसम्म पनि हुन सकेन ? अनुत्तरित छन् यी प्रश्न ‘हरिबहादुर’लाई केलाएर हेर्दा । आखिर शेरे भालुलाई त माओवादीको द्वन्द्वले मन्त्री बनाएको हो नी । राजनीतिमा लागेपछि जस्तो सुकै पाप पनि पखालिन सक्छ भन्ने उदाहरण बनेका छन् शेरे भालु ।

राजनीति पापी हो कि मानिसले राजनीतिलाई पापी बनाउँदै छ थाहा छैन तर राजनीति पापी हुँदै गएको छ । यर्थाथमा कतिले सुनेका छन्, कतिले भोगेका छन् माओवादीको १० वर्षीय द्वन्द्व कालमा धेरैको पाप पखाल्ने काम भएको छ । राजनीति पापी हुँदैन थियो भने ‘हरिबहादुर’ले त्यत्रो सेवा गरेको शेरविक्रम गर्जनले क्यान्सर लागेर छट्पटाइ रहेकी अलैंचीलाई जसरी पनि ओखती गरिदिन सक्थ्यो नी ।

खर्चको अभावमा ‘हरिबहादुर’ले आफ्नो प्राणभन्दा प्यारी अलैंचीको उपचारसम्म गर्न सकेन । क्यान्सरले छट्पटिँदै अलैंचीले ज्यान फालिन् तर बिचरा ‘हरिबहादुर’ले केही गर्न सकेन । अलैचीको मृत्यु पछि पनि दाह संस्कारको पैसा नहुँदा विवश ‘हरिबहादुर’ले आफ्नो संस्कार संस्कृति समेत थाँती राखेर अलंैचीको मृत शरीरलाई बागमतीमा बगाइ दिन्छ । त्यतिबेला ‘हरिबहादुर’सँग दिने केही थिएन । भन्ने एउटै शब्द थियो – अलैंची मलाई माफ गरिदे, अलंैची मलाई माफ गरिदे, अलैँची मलाई माफ गरिदे.....।

‘हरिबहादुर’ले धेरै बद्मासी गर्‍यो, सुध्रँदै सुध्रेन ‘हरिबहादुर’ । ‘हरिबहादुर’लाई सुर्धान पुर्णबहादुर काका, मदनबहादुर, लाहुरे कसैले पनि प्रयत्न गरेनन् । के ‘हरिबहादुर’ सुध्रनै नसक्ने हो त ? क्यान्सरले श्रीमतीको मृत्यु भएपछि ‘हरिबहादुर’ले बगाएको आँशु रङ्गमञ्चमा कलाकारले ग्लिसिरिन लगाएर निकालेको आँशु जस्तै हो त ? हैन ‘हरिबहादुर’ पनि त मानिसनै हो नी ।

आँशु त मनबाट नै निस्कन्छ भनेको हैन ? त्यसो भए ‘हरिबहादुर’लाई सुर्धान किन प्रयत्न नगर्ने त ? जिम्मा ‘हरिबहादुर’का लेखक हरिबंश आचार्यलाई नै । ‘हरिबहादुर’ – २ मा कमली आमाको सपना पूरा हुने छ । मदनबहादुरले एउटा असल छिमेकी पाउने छ । अलैंचीले जस्तो हरु कसैले अकालमै मृत्युवरण गर्नु पर्ने छैन । र बाबु आमा भई कन पनि कृष्णे जस्तो टुहुरो कसैले हुनुपर्ने छैन् ।


Author

थप समाचार
x