सप्ताहन्त

दारिम्बाका जुका र घुम्टो ओढेको जून

गोपाल झापाली |
पुस १२, २०७९ मंगलबार ८:२६ बजे

हाम्रो घरमा पहाडबाट आउने आफन्तहरूको खाँचो हुने थिएन । खासमा पहाडबाट मात्र होइन, भारतको आसाम र मणिपुरबाट पनि पाहुनाहरू आइरहनु हुन्थ्यो । साँच्चै भनौं ?

पाहुनाहरू त आइरहे हुन्थ्यो जस्तो पनि लाग्यो । पाहुना आएका बेला घरमा कि त मासु पाक्थ्यो, त्यो पनि खसीको । नभए खीर वा ढकने त अवश्य । खान पनि मिठो मिठो पाइने अनि नपढे पनि हुने । 


पाहुना आएका बेला बुवा पाहुनासँगै गफ गर्न र गाउँ डुल्न व्यस्त, घरमा भएको बेलामा पनि धेरै हप्काई दम्काई गर्न नहुने रहेछ क्यार । त्यसैले केही दिन पाहुना आएनन् भने पनि के नभए–के नभए जस्तो हुने । सुन्ने हुने घर । 

अनि साथीहरू पनि भन्थे, तिमीहरूको त कति धेरै पाहुना आउँछन्, क्या मज्जा आउँछ होला नि ? म पनि हौसिँदै हो त अनि भन्थे र कोसेलीका अनेक परिकार खाएको सुनाउँथे । कतिपय पाउना छ ३/४ महिना पनि बस्ने । क्या मज्जा । पहाड ताप्लेजुङ र पाँचथरमा हाम्रा बढी आफन्त ।

पहाडमा हाम्रा घरतिरका, पाँचथरमा हजुरआमाका माइत–बुवाका मावलतिरका । प्रायः आइरहने । फेरि म स्कुल गएर आउँदा पनि पहाडका आफन्तहरू आएको परैबाट थाह पाउँथेँ । पहाडबाट आएका पाहुनाहरूमा एक प्रकारका सुगन्ध हुन्थ्यो, छुट्टै सुवास । यदि गन्ध नै आएन, पाहुना पर खेततिर छन् भने पनि हिँडेको देखेर पनि चिनिने । ओहो, आज त पहाडबाट पाहुना आएछन्, कोसेली खान पाइने भो भन्ने खुसी । 

खै कसरी योजना बन्यो, के भयो मलाई थाह छैन । तर बुवाकी मामाकी छोरी नैनकला दिदीको विवाह हुने भएछ । ५० को दशक भर्खरै सुरु भएको थियो । मेरो उमेर जोर अंकमा अलिक पुगेको थिएन । बेहुलीको घर, पाँथरको थर्पू । बेहुलाको घर झापाको काकरभिट्टा, भर्खरै मणिपुर भारतबाट आउनु भएका । 

घरबाट यात्रा कसरी सुरु भयो त्यो पनि केही थाह छैन । एकै पटक याद छ, झापाको बुधबारेमा गाडी रोकेको मात्र । म बुवाकी सानिमा, दवाड्ी हजुरआमाको साथ लागेर बिहे खान हिँडेको । गाडीमा एकजना चिनारु काकासँग भेटभयो, उहाँ बुधबारेमा उत्रनु हुने रहेछ । बस एकैछिन रोकियो । हजुरआमाले नाति केटो भोकाउँछ भनेर होला १० को नोट ति काकालाई दिनु भयो र उत्रिएपछि बिस्कुट किनेर झ्यालबाट दिनुहँ भन्नुभयो । तर ती काकाले बिस्कुट ल्याई नसक्दै गाडी दौडिइहाल्यो । न १० नोट हात पर्‍यो, न बिस्कुट । हजुरआमा निक्कै बेर रिसाउनुभयो, बज्याले ढिलो गर्दा १० रुपैयाँ गुम्यो भनेर हो वा नातिलाई खुवाउन पाइन भनेर हो । 

छोटो छोटो खालको बस थियो । अलिक बेर उत्तर लागेपछि त, पहाडी उकालो सुरु भई हाल्यो । म रोमान्चित भएँ, आहा पहाड आएछ । मलाई त बिहे घर पनि अब त आउन लागे जस्तो भयो । मैले सोधेँ–‘हजुरआमा, पहाड यही हो ?’ उहाँले पनि झ्यालबाट सिरसिर आउँदै गरेको हावा तिर देखाउँदै भन्नु भयो–‘हो त, बाहिर हेर न कति रमाईलो छ, हावा पनि चिसो चिसो आउन थालेछ ।’ म पनि थप रमिता हेर्न उत्साही भएँ । अलिक मास्तिर पुगे पछि फेरि सोधेँ–‘हजुरआमा, अब बेहुलीको घर आउँन आँटेको हो ?’ सायद मैले यो प्रश्न गर्दा हर्कटे छेउछाउ पुगेथ्यौं होला, अहिले सम्झँदा । उहाँले मलाई आफू तिर च्याप्दै भन्नुभयो–‘हैट, नानि कहाँ अहिले आउनु । दिनभरि गाडीमा कुदेपछि मात्र आउँछ नि ।’ उहाँको उत्तरले निराश बनाएर हो कि पहाडी घुम्ति सुरु भएर, मलाई थप अरु बोल्न मन लागेन । एकै छिन पछि मलाई टाउको घुमाई गायो । 

मधेशमा जन्मिएको केटो । फुच्चो । पहिलो पटकको पहाडी यात्रा । त्यो पनि दिनभरि गाडीमै कुद्नु पर्ने सुने पछि ओहो, के भन्नु ? खपिनसक्नु भयो । बिहान के खाएर हिँडेका थियौँ घरबाट, मलाई याद छैन । मुखबाट फर्किन सुरु भइहाल्यो । म बसको सिटको झ्याल तिर थिएँ । मैले मुन्टो बाहिर निकालेर ‘वाक’ गर्न खोँजे । तर चिसो हावा अनि भुराले मुन्टो बाहिर निकाल्दा हुन सक्ने खतराले होला, उहाँले त्यसो गर्न दिनु भएन । अहिले सम्झन्छु, थाप्ने केही थिएन । त्यसैले उहाँले दुई हातको अन्जुली बनाएर हातैमा मेरो ‘वाक’ थाप्नु भयो । एक छिन गरे पछि बोतलको पानी निकालेर धोईपखाली गर्नु भयो । मलाई पनि पुछ्पाछ गरी दिनुभयो । त्यस पछि म लखतरान भइहाले । 

आज मैले ति दिनको सम्झना गरी रहँदा मेरो छोरो म त्यस दिनको जत्रै लगभग भएको छ । छोरी अलिक सानी । म अहिले पनि छोराछोरीको ‘उल्टी वा सुल्टी’ हातैमा थाप्न घिनाउँदिन । खासमा त्यो दिन सम्झिएर पनि होइन । तर सुसुप्त मस्तिस्कमा हजुरआमाले मेरो ‘त्यो चिज’ हातैमा थापेको तस्विर गढेर हो वा किन हो मलाई थाह छैन । मैले मेरा छोराछोरीको पनि उसैगरी हातमा थाप्दा केटाकेटीका आमा, मेरी आमा वा मेरी हजुरआमा सबै घिनाउँछन् । मलाई सिकसिको लागे पनि, उस्तो घिन लाग्दैन । 

कुरा हुँदैथियो, पहाडी यात्राको । बाटोमा गाडी कहाँ कहाँ रोक्यो, के भयो, कसो भयो । मलाई सम्झना छैन । तर बिहान मैले झापाको बुधबारेमा जस्तो घाम देखेँ पूर्वतिर, पाँचथरको गोपेटार पुग्दा घाम त्यस्तै भएको थियो तर पश्चिम तिर । गाडी त्यहाँ सम्म मात्र जान्थ्यो त्यो बेला । हाम्रा तीन ओटा झोला थिए । केही कोशेली र केही लुगाफाटोका । गोपेटारमा हाम्रा काकाहरू अर्थात जुन बेहुलीको बिहे खान जाँदैथियौ, उहाँकै दाजुहरूको पसल थियो भन्ने मैले पनि सुनेको थिएँ । हजुरआमाले एउटा सानो र हल्का झोला मलाई पनि बोकाउनु भयो ।

उहाँले एउटा निधारमा नाम्लो जस्तो पारेर बोक्नु भयो र अर्को हातमा झुण्ड्याउनु भयो । उहाँले पनि काकाहरूको दोकान नदेख्नु भएको रहेछ । सोध्दै, पसल भएको ठाउँमा पुगियो । तर दुई दिन पछि घरमा बिहे हुने भएकाले उहाँहरूले बेलैमा दोकान बन्द गरेर लाग्नु भएको रहेछ । त्यस बेलाको संवाद मलाई खासै केही याद छैन । तर एउटा होटलमा पसेर हजुरआमाले तातोपानी माग्नु भयो । मलाई तातोपानी र बिस्कुट दिनु भयो, उहाँले तातोपानी पिउनुभयो । त्यस पछि सुरु भयो, ओह्रालो यात्रा । पैदलै पैदल । माटोलाई पैताला नौलो–पैतालालाई माटो । 

मलाई पहाडका हरेक अनुहार, हरेक बाटो–हरेक माटो, हावा–पानी सबै नौलो थियो । बोट–बुट्यान, फूल–फलेदाका लागि म जस्तो थिएँ, मेरालागि उनीहरू त्यस्तै नौला । मलाई देखेर ति बाटा–बुटा रोमाञ्चित भए कि भएनन् थाह छैन तर म चाँही उनीहरूलाई देखेर दिन भरि गाडीको थकान भुल्ने गरी रमाएँ । अलिक तल पुगे पछि हो क्यार, हजुरआमा बाटोको डिलबाट भिर तिर लम्किएर केही पहेँला दाना टिप्नुभयो । ‘ला त नानी खा, यो कत्ति मिठो हुन्छ’ भन्नु भयो । दिनभरि उल्टी गरेर कोक्याएको मुख, गाडीमा खुम्ली परेर कुँजिए जस्ता भएका गोडा र नौलो पहाडी बाटो ।

म मादक भएको थिएँ । ओहो, त्यस बेला दिनु भएका एकमुठी ति पहेँला गेडा त ख्याल स्वादिलो भएन । साँच्चै भनेको, त्यो स्वाद अहिले पनि मैले सम्झि रहेको छु । तर कस्तो थियो भनेर बखान गर्न कठिन छ । बिरानो भई सकेको आफ्नै मुखबाट छिरेको रषिलो सिँचाईले शरीरमा उर्जा थपियो । मैले सोँधेँ–‘हजुरआमा के को दाना हो, यो ?’ उहाँले –‘ऐसेलु हो नानी, यो मिठो हुन्छ भन्नु भयो ।’ मैले ऐँसेलु त्यस पछि खाएको पनि छैन तर स्वाद कस्तो हुन्छ भन्ने चाँही जिव्रोमै छ, बयान गर्न नसक्ने गरी । त्यस पछि खासै संवाद भएको त थाह छैन तर विस्तारै आँखै अगाडि घाम डुव्दै गरेको चाँही याद छ । केही क्षण पाईला चाले पछि बाटो नदेखिने अवस्था भयो । त्यस माथि हजुरआमा आँफैले बाटो भुलि सक्या, अनि तीन ओटा झोला, पिलो माथिका भारी भएका थिए । अनि घिस्रिदै गरेको म अर्को घाँडो । 

केही वेरको घिसिपिटी हिँडाई पछि बाटो छेउमा एकजना बटुवा उकालो आउँदै गरेको मलाई याद छ । उनैसँग हजुरआमाले बिहे घर थर्पु सम्म जाने बाटो सोध्नु भयो । अझै निक्कै बेर लाग्ने भनेको सुनियो । मलाई त खासै केही औडाहा थिएन हजुरआमासँगै भएकाले होला । हजुरआमामा थकानसँगै आतेस थपियो । वर्षौ पछि आएको माइत । बाटो कता हो भुलि सक्नु भएको थियो । त्यस माथि जवान हुँदै गरेको अन्धकार । बाटोमात्रै होइन, मन मस्तिस्क पनि अन्धकार हुँदै आयो । अलिक तल पुगे पछि सायद म हिडँनु भन्दा पनि घिस्रिन थालि सकेको थिँए । त्यसै माथि खुट्टामा के ले हो टोको जस्तो भयो ।

‘हजुरआमा मलाई त खुट्टामा के ले टोके जस्तो भयो ।’ भनेको याद छ । उहाँले यसो निहुरिएर ‘कहाँ हो नानी’भनेर छाम्नु भयो । मैले दुखेको ठाउँमा उहाँको औलो लगि दिँए । ‘बज्या जुका पो आएछ है नानीसँग त’ भनेर तानेर फालि दिनुभयो । मलाई जुका बारे खासै ज्ञान थिएन । त्यस्तो टोकाई र दुखाई बारम्बार भई रहयो । आँफैले पनि बेला बेला दुखेको ठाउँमा छाम्थेँ । मलाई त्यसको टोकाईको दुखाई भन्दा पनि घिमलाग्दो चिप्लोपनाले सिक्सिक् र डर लाग्दो । म बेला बेला चिच्याउँथेँ–‘हजुरआमा फेरि जुका ।’ उहाँ तान्दै फालि दिनु हुन्थ्यो । यहिक्रम चल्दै थियो । पिलपिल उज्यालो आउँदै गरेको एउटा घरमा पुगियो । हजुरआमाले परैबाट सोध्नुभयो–‘को हुनुहुन्छ घरमा ? हामीले त बाटो विर्सिर्यौ है, कहाँ पो आई पुग्यौ ?’ एकजना वृद्धा भित्रबाट कुप्रो शरीर लिएर बाहिर आउनु भयो । छोटो संवाद भयो । उहाँले भनेको अलि अलि याद छ–‘लु नानी तिमिले बाटो भुलेछौं, यो त दारिम्बा हो । अब यो तल्लो बाटो फेरो मारेर गयौ भने चाँही थर्पु पुग्छौं तर बाटो चाँही उताको भन्दा लामो छ ।’

त्यहाँको उज्यालोमा मेरो शरीर चेकजाँच भयो । कहाँ कहाँ जुका चढेको छ भनेर । मेरो शरीरले दुखेको थाह पाउन छोडेछ कि क्याहो, उज्यालोमा हेर्दा दुखाइनै नभएका ठाउँ पिठ्यू, गोडा र टाउकामा समेत गरी ४/५ ओटा जुका रहेछन् । हजुरआमाका गोडा पनि रक्ताम्यै । उहाँले म डराउँछु भनेर आफूलाई जुका लागेको चाँही नभन्नु भए जस्तो लाग्यो । ति घरवेटीले सान्त्वना दिँदै भनिन्–‘लु तिमेरु मधेशका मान्छे, बाटो पनि बिर्सेछौं, ओसिलो बाटो आउँदा जुकाले त मारि हाले छ नि ।’ भन्दै त्यही बत्तिको मट्टितेल हातमा खन्याई दिनुभयो । हजुरआमाले मेरो शरीर र गोडा तिर पनि दलिदिनुभयो । त्यसपछि खोई, कसरी विवाह घर पुगियो । बाटोमा के के भयो, खासै सम्झना छैन । तर पुगि सक्दा रात निक्कै छिप्पि सकेको चाँही त्यहाँ भन्दै हुनुहुन्थ्यो । बाटो बिर्सिदाँ लाग्ने समय भन्दा दोव्वर हिँड्नु परेको चाँही उहाँहरूले भन्नुभयो ।

मेरा लागि सबै नौला । मान्छे । बोट– बिरुवा । हावा–पानी । माटो । बोल्ने लवज र शैली । हिँड्ने छाँट । सबै सबै । अर्थात सिंगो पहाडनै नौलो थियो । म फुच्चो भुरो सबै नियालेर हेर्थेँ । मेरी घरैकी हजुरआमा पनि भदैको बिहे खान त्यहाँ केही दिन अघिनै पुग्नु भएको थियो । सँगै आउनु भएकी सानिमा हजुरआमा पनि घरधन्दामै व्यस्त । मेरा दामले दौंतरी पनि कोही चिनारु थिएनन् । त्यसैले म हरेक कुरा नियाल्दै, हेर्दै समय विताई रहेको थिएँ । सायद मध्यान्ह तिर होला, बिहे घर देखि तल्तिर पाखामा भतेर पाक्न थाल्यो । पत्तपत्ती धुँवा उडाउँदै ताँबे र पित्ले खड्कुलामा दाल र भात उम्लिदै थियो ।

एकजना वयश्कले भने–‘भुराहरूलाई दिन थाले हुन्छ है अब, दाल उम्लि सक्यो ।’ सायद पर उभिएर, पाखामा अढेस लागेर रमिता हेर्दै गरेको म पनि त्यही भुरामध्येको थिएँ । गाउँका अरु म जस्ता केटाकेटी आएर खेतका डिल, गोठका पिँढी, पाखाको अढेस जता जता जिउ अडिन्छ, उतै उतै बसे । म टुलुटुल हेर्दै थिएँ, एक महिलाले ‘आउ तिमि पनि बाबु’भने पछि म पनि सुस्तरी अघि बढेँ । सुकेका टपरीमा तातो भात र उम्लिदै गरेको दाल । मेरा कलिला हातलाई खपिनसक्नु भयो । कसो कसो गरेर, म पनि नजिकैको डिलमा पुगेँ, टपरी राखेँ । मलाई मेरा घर गाउँमा चाँही कसैले टपरीमा खान दियो भने हेपेको जस्तो लाग्थ्यो । थालैमा मात्र खाने चलन थियो । तर त्यहाँ त सबैले उसै गरी टपरीमा खाँदै गरेको देखे पछि चलनै यस्तो रहेछ भनेर चित्त बुझाएँ । तातो भात, तातै दाल । रस जति टपरीबाट चुहिहालेछ, बचेको दालको छोक्रासँग भात बुगुल्ट्याउँदै थिए । एक महिला हलुङ्गेका बाल्टिमा पित्ले डाडू बोकेर आई पुग्नु भयो–‘लु है दाल थप भुरा हो’ भन्दै । अरु सबैलाई एक एक डाडु खन्याई दिनुभयो ।

मैले उहाँलाई हेरेँ मात्र, बोलाउन सकिन । सायद, मेरै आमाको उमेरकी हुनुहुन्थ्यो, उहाँले पनि बुझ्नु भएछ ‘भुरा मनोविज्ञान’ । छेवैमा आएर भन्नु भयो–‘लु हात हटाउ त बाबा ।’ म आज्ञाकारी भएँ । उहाँले डाडु बाल्टिका फेदैमा पुर्‍याउनु भयो । डाडु भरि दालका छोक्रा आए । भएको रस पनि तर्‍याउनु भयो । अनि मेरो टपरीको भातलाई छोप्ने गरी खन्याउँदै भन्नुभयो–‘दिदीको बिहे खान विचरा मधेशबाट आएको नानी । मागि मागि खानु पर्छ है बाबु ।’ उहाँले डाडु गाढेर मलाई दाल दिनु पनि त माँयै त होलानि है । खै को हुनुहुन्थ्यो, अझै याद छैन मलाई । 

त्यहाँ बिहेको रात्रीलग्न थियो । मधेशमा पनि फाट्ट फुट्ट हुन्थे रातिका बिहे । म पनि एक/दुई ओटामा पुगेको थिएँ । साँझ पर्नै लाग्दा ‘लु है बेहुलाहरू पनि आई पुग्न आँटे’ भन्ने हल्ला फैलियो, बिहे घरमा । बेहुली पक्षका हर्ताकर्तालाई झनै हतार भयो । मलाई बोलाउने, चलाउने प्राय कोही भएन । फेरि मेरो स्वभाव चकचके खालको थिएन, एक ठाउँमा ‘बस्है’ भने पछि प्राय बस्थेँ । हजुरआमाहरू पनि त्यही भएर ढुक्क हुनुहुन्थ्यो सायद । बिहेघरको आँगनमा ढिकी भएको एउटा कटेरो थियो । म त्यही कटेरोको आडमा बसि रहेँ । बेला बेला ठेलमठेल गर्दै निम्तारुहरूको ओहोर दोहोर हुँदा म पेलिन्थे पनि । अलिक पछि हट्थेँ, चुपचाप । बेहुला आई पुगे पछि ताउर माउर बढिनै भयो बिहे घरमा । हुनु स्वभाविकै पनि थियो । उता जग्गेमा बिहे सुरु भयो । 

मलाई बिहेको जग्गे भन्दा आकर्षित पार्ने अर्को माहोल बन्यो त्यहाँ । केही अनौठो पनि लाग्यो । सुरुवाती बहुदलका केही वर्ष हाम्रा गाउँमा देउसी टोलीले बोक्ने जस्तै सामाग्री लिएर केही टाठाबाटाहरूको हुल भित्रियो । सायद दुईटा गिटार थिए । एउटा मादल । कङ्गो पनि भए जस्तो लाग्छ । बाँसुरी पनि थिए केहिका हातमा । बिहे मण्डपको केही पर तर सामुन्ने । घरका तन्दाको वरिपरि पर्दा हालियो । केही थान खाट लगेर सबैले रमिता देख्न सक्ने गरी अग्लो पारियो । बाजागाजा झाईझुँई गर्न थाले । म छेवैमा पुगे र रत्तिएँ । निक्कै मिठो आवाज भएका उद्घोषक थिए, मंगोल अनुहार परेका । केही शव्द मात्र याद छ मलाई ति उद्घोषकले भनेका–‘आज यस पोखरेल परिवारकी चेली नैनकलाको शुभविवाहको अवसरमा हामी भेला भएका छौं, हाम्री साथी नैनकला र यस पाँचथर थर्पूका ज्वाईसावको दाम्पत्य जिवनको शुभकामना दिन केही सांगितिक कोशेलीहरू यहाँहरू माझ राख्दैछौं...।’ ओहो, मलाई त गज्जव लाग्यो । आफ्नी साथीको बिहेमा गाउँका दौतरीहरू मिलेर सांगितिक कार्यक्रम ।

अहिले सम्झँदा लाग्छ, पञ्चायती व्यवस्था ढलेको केही वर्ष मात्र भएको थियो । गाउँ गाउँमा जनवादी सांस्कृतिक गतिविधीहरू उधुम हुन्थे । धेरै नयाँ कलाकारहरू पनि उदाउँदै थिए । तिनै उदियमान कलाकारहरूको जाँगर होला सायद त्यो माहोल पनि । गितार, मादल, कङ्गु र बाँसुरी एकसाथ फिँटिँदा माहोल महक बनेर आयो । त्यसैबेला कोही महिलाको आवाज आयो गीतको भाका बनेर–‘कान थापेर सुनी देउ दाजु ।’

त्यो भिडमा सायद तिनै सांगितिक टोलीकी सदस्य थिइन् वा अरु कोही चिनारु । मेरो भन्दा दोव्वर उमेरकी एक युवती । राती मधुरो बलेको मैनटोलको प्रकाशमा पनि चम्किने गोरो अनुहार । पाटे बर्को घुम्लुङ् ओढेकी । अनुहार चाँही चम्कि रहेको । घुम्टो ओढेको जून जस्तो त्यो अनुहार अझै पनि आँखै भरि नाचि रहको छ, त्यो हँसिलो र बाटुलो अनुहार । फाट्फुट्ट सुनिने उनको अवाज नजिकै बजि रहेको बाँसुरीको धुन भन्दा मिठो लाग्यो । खै कतिन्जेल चल्यो त्यो सांगितिक कार्यक्रम मलाई यादै छैन । जतिन्जेल चल्यो म त्यो सांगितिक महफिलमा रमाएँ कि उनको अनुहार हेरेर ? त्यो पनि भन्न सक्दिन । तर एउटा अचम्म लाग्छ अहिले, त्यो वाल्यकालमा पनि ति सुन्दर जवान स्त्री मलाई किन राम्री लागिन् ? हुन त के बालक, के वृद्ध । 

सुन्दर र सौन्दर्य त सबैलाई मन पर्नु स्वभाविकै त होला नि जस्तो पनि लाग्छ । अहिले सम्झँदा दिदी भनौ उनलाई । को थिइन्, कहाँ होलिन्, उनका छोरा छोरी हुर्की सके होलान् अहिले त । त्यो बेला म जत्रो थिएँ, मेरो छोरो अहिले त्यत्रै हुन लागेको छ । त्यसै गरी उनकी छोरी पनि मैले नचिनी राम्री लागेकी त्यस बेलाकी उनकी आमा जत्रै हुन लागिन् होला । सायद त्यस बेलाकी उनकी आमा जस्तै राम्री पनि होलिन कि ?

आधा रात विते पछि म कतै निदाएछु । सायद घर भित्र हो कि बाहिर पनि याद छैन । हजुरआमाले हतार हतार गरेर उठाएको सम्झना छ । ‘लु नानी उठ् उठ् । बिहे सकियो । बेहुला बेहुली हिँड्न आँटे । अहिले हामीलाई छोडेर जान्छन् नि फेरि । लु लु हामी पनि जानु पर्छ उनीहरूसँगै’ –हजुरआमाले हतार लगाउनु भयो । 

बेहुला बेहुलीलाई गोपेटार सम्म पुर्‍याउन रहेछ, केही सहयोगीहरू पनि अघि लागे । मेरी घरकी हजुरआमा, मलाई लिएर आउनी भएकी दवाड्ी हजुरआमा, बेहुला बेहुली अनि अरु केही । ताँती लागेर झिसमिसे उज्यालोमा बाटो लागियो । मलाई धेरै जनाको हुलमा हिँड्न रमाईलो पनि लागेको थियो । जाँदा त अँध्यारोमा जुका पन्छाउँदै जाँदा केही रमिता देखिएन बाटो भरि । केही बेर साँकसाँक सुँकसुँक गरेकी बेहुलीको घुम्टो पनि उघ्रिदै गयो । रोमान्चकताका विचमा बगेका आँसुका डोबहरू पनि मेटिए । पाईलाको गति बढ्यो, म पनि सँगै हिँड्ने प्रयत्नमा थिएँ ।

केही बेर हिडेँ पछि उज्यालो थपिँदै गयो, बाटो भरि रमिता पनि रमाईलो लाग्दै गयो । मलाई लागेको अचम्म त–ओहो, हाम्रो घर भन्दा पनि ठुला ठुला ढुंगा । कसले बोकेर ल्याएको होला यहाँ सम्म ? कसरी बोके होला ? कसैलाई सोधिन, आश्चर्य मात्र लाग्यो । मत बेहुली दिदीसँग फटाफट अघि लागेँ । बरु बेहुला, हजुरआमाहरू र अरु ठुला मान्छेहरू पो पछि पछि भए । गोपेटार आएर थकाई मार्दा पनि बेहुली दिदी भन्दै हुनुहुन्थ्यो–‘म त गोपाल पो हिँड्न सक्दैन कि भनेको उ र म पो सबै भन्दा अघि लाग्यौँ । 
 


Author

थप समाचार
x