सप्ताहन्त

अलिकति टाढा

चे शंकर |
पुस १६, २०७९ शनिवार १२:११ बजे

प्रायः आफूलाई प्रश्न गर्ने गर्छु, मलाई किन टाढा जान मन लागेको होला ? त्यसमाथि पनि आफूलाई भुलेर । हिमाली यात्राको बहावमा हराउनु, खोला किनारमा बसेर आफ्नै धुन सुन्नु, तालछेउ मनको छालसँग मडारिनु– यस्ता कुराले किन चाँडै तानिन्छु ? 

यो होटलमा ब्याग राख्नेबित्तिकै आएको सोच थियो । ब्यागबाट केही किताब र डायरी निकालेँ । डायरीको अगाडि कभरमा लेखेका शब्द If the universe did not need you, you wouldn't be here  देख्नेबित्तिकै अनुहारमा मुस्कान आउने गर्छ । मुस्कुराएँ । 


उही टोट ब्याग बोकेर बाहिर निस्केँ । लिफ्टको अगाडि टाँसिएको सिसाबाट फेवाताल, उडिरहेका प्याराग्लाइड र डाँडाकाँडा देखिँदै थिए । सुमधुर म्युजिक बज्ने लिफ्टले मलाई ग्राउण्ड फ्लोरमा रोकिदियो । पोखराको सफा सडकमा पाइलाहरू चलेसँगै कफी खान मन लाग्यो । यसपालि कुनै नयाँ कफी सप खुल्यो कि सोच्दै यताउता चहार्न थालेँ । मलाई आफ्नो धुन जस्तो ठाउँ खोज्नु थियो । धुन सुन्दै त्यहाँ बसेर केहीबेर आफैँसँग गम्नु थियो । जाँगर चले केही लेख्नु पनि । सफा लेकसाइडको स्ट्रिटले पुराना कयौँ स्मृतिहरूको सम्झना दिलाउँदै थियो । 

न्याना, चिसा, फुस्रिएका, फक्रिएका र ओइलाएका स्मृतिहरू । अनि भुलेका, छुटेका र हराएका पनि । यिनै स्मृतिहरूको एक्सप्रेसनभित्र र बाहिर खेलाउँदै थुप्रै कफी सपहरू छोड्दै अगाडि बढेँ । ती क्याफेहरूमा पहिल्यै पनि गइसकेको थिएँ । मेरो आँखा मुनलाइटमा पर्यो । रोकिएँ । 

बाराही घाटबाट आएको चिसो हावा अनुभूत गरेँ । त्यो हावाको झोँक्काले मुनलाइटको बाल्कोनीमा पुर्‍यायो र थचक्क बसायो । मुनलाइट मलाई एकदमै मन पर्ने ठाउँ । मलाई यो ठाउँ नामैले मन पर्छ । त्योभन्दा पनि धेरै यहाँको धुन । काठहरूको बनावट, मन्द संगीत, वरिपरि चर्को–चर्को स्वरले कुरा गर्ने कोही नहुनु । एक्लै गम्दै बस्नु र सोचहरूलाई निर्धक्क आउन दिनु । 

एउटा वाइन अर्डर गरेँ । म बसेको बल्कोनीको टेबल र मेच केही पुरानो छ । तर, मक्किसकेको छैन । मैले वर्षहरू बिताए जस्तै, यसले पनि घाम पानी गर्दै समय काट्छ । कसैले वाइन मेरो टेबलमा राख्यो र टेबलको बीचमा भएको मैनबत्ती जलायो । म उसको सबै क्रियाकलाप नियालेर हेरिरहेको थिएँ । उनी मुस्कुराइन् र टाउको हल्लाइन् । मैले भनेँ– धन्यवाद, एस्ट्रे पनि । 

गोजी छामेँ, चुरोट थिएन । मैले आफैँसँग बाचा गरेको थिए– अब चुरोट खान्न । फेरि पनि हारेँ– आफैंसँग । उनले एस्ट्रे टेबलमा राखिन् र अरु अर्डर सोधिन् । मैले हारेको स्वरमा दुइटा चुरोट मगाएँ । घामले बाटो काट्दै थियो । बायाँ उभिएको चौतारोबाट पातहरूलाई छल्दै किरणहरू नाच्दै थिए । ती न्याना किरणहरूले टेबलमा भएको डायरी र पेन्सिललाई पनि चुम्यो । वाइनको पहिलो चुस्कीको स्वादले खुसी भएको जिब्रोझैँ डायरी र पेन्सिलमा परेको किरण देखेर मन पनि खुसी भयो । 

एक्लै बसिरहेको थिएँ । तर, भित्र भने कोही मसँगै छ भन्ने अनुभूति भइरहेको थियो । खै किन हो ! मेरो शरीरको यो ठाउँसँगको सम्झनाले होला । कस्तो हुन्छ नि आफूलाई प्रेमिल मान्छेको नजिक पाउँदा, मनको संगीत कतैबाट सुनिँदा, कसैको सम्झनामा हराइरहेको बेला त्यो मान्छेको आवाज सुन्नु या देखिनु, यस्तै–यस्तै । कसैको अनुपस्थितिले तृप्त अनुभूति गर्नुको मज्जा बेग्लै हुँदो रहेछ । सुन्दर एक्लोपना । 

टेबलमा चुरोट र सलाई पनि आइपुग्यो । माथितिर हेरेँ र उनको नाम सोधेँ । उनले मुस्कुराउँदै भनिन्– पूर्णिमा । नाम सुनेर उनलाई मुस्कान फर्काएँ । पूर्णिमा अर्को टेबलतिर गइन् । मैले चुरोट सल्काएँ । खै किन हो चुरोट सल्काइरहँदा भने आफैँसँग हारेजस्तो लागेन । 

एकैछिनमा घाम बिस्तारै फेवालाई रंगीन स्पर्श गर्दै आफ्नो बाटो लाग्यो । स्ट्रिटमा बत्तीहरू बल्न थालिसकेका थिए । जाडो बढ्दै थियो । मानिसहरू बोल्दा मुखबाट बाफ निस्केको मलाई खुब मन पर्छ । मलाई त्यो बाफ आवाज जस्तो लाग्छ । मन पर्ने आवाज÷धुन । निस्कन्छ आवाजसँगै र हराउँछ, निमेषभरमै । पत्तो नपाई वाइन सकिसकेछु । त्यही मुखबाट निस्कने बाफ जस्तो । 

बाटोभरि मेरो दिमागमा सोध्न भुलेको पूर्णिमाको बाबाको कुरा, रोजर अनि मोरिसनको गीत र भर्खरै भेटेको शिव आइरहे ।

पूर्णिमाले मेरो टेबलमा अर्को वाइन राखिदिइन् । धन्यवाद भनेँ । पूर्णिमाले डायरीमा लेखिएको क्वोट पढिन् र खुसीले मुस्कुराइन् । 

‘तपाईं लेख्नुहुन्छ ?’ पूर्णिमाको अनुहारमा अघिकै झैँ मुस्कान थियो । 
‘अलि–अलि लेख्छु । तपाईं पनि लेख्नुहुन्छ ?’ 
‘पहिले, स्कुल पढ्दा लेख्थेँ ।’
‘कविताहरू लेख्नुहुन्थ्यो ?’ 
‘अलि–अलि कविता अनि गजल पनि,’ पूर्णिमाले भनिनसक्दै घण्टी बज्यो । 

त्यो किचनमा अर्डर तयार भएपछिको जनाउ घण्टी थियो । पूर्णिमा ‘एकछिन है’ भन्दै घण्टीको आवाजतिर गइन् । अर्को चुरोट सल्काएँ र लामो सर्को तानेँ । खै किन हो यो सर्को तान्दा हलुका अनुभव भइरहेको थियो । चिसो बढ्दै थियो । शरीरमा भएको सल थोरै मिलाएँ र वाइनको अर्को चुस्की लिएँ । 

भित्रबाट केनी रोजरको लुसिल भन्ने गीत बजिरहेको थियो । लुसिल सुन्दै म मुस्कुराइरहेको थिएँ । यो मुस्कानमा थोरै हात वाइनको पनि थियो । रोजरको आवाजमा हराउँदै मैले दोस्रो वाइन पनि सकेँ । पोखरा आउनु अनि यसरी हराउनु, सोच्दै आफैँसँग हाँसेँ । 

पूर्णिमाले खाली ग्लास उठाउँदै भनिन्– वान मोर ? 
आज कसैलाई भेट्नु थिएन । भेट्न मन पनि थिएन । हुन्छ भने र फेरि दुइटा चुरोट मगाएँ । वाइनले शरीर रमरमाइरहेको थियो । पूर्णिमाले टेबलको पुरानो एस्ट्रे सफा गर्न खोजिन् । पर्दैन भनेँ । टेबलको टिस्यु टिप्दै पूर्णिमाले भनिन् । 

‘लेखकहरू किन मुस्कुराइरहन्छन् ? उनीहरूभित्र खुसीको कुवा हुन्छ हो ?’ 
मैले भनेँ, ‘तपाईंलाई के लाग्छ ?’ अगाडि टक्क अडिएर पूर्णिमाले भनिन्– ‘मलाई त उनीहरू अभिनय गर्छन् जस्तो लाग्छ ।’  

‘कसरी ?’ मैले सोधेँ । 
‘आँखाहरूले कहिल्यै पनि ढाँट्दैनन् ।’ 
‘जस्तो ?’
‘जस्तो तपाईंको ।’ 
‘तपाईं अभिनय पनि गर्नुहुन्छ ?’ सोधेँ । 
‘अलि–अलि टिकटकमा ।’  
‘मेरा आँखाहरूमा के देखिन्छ त ?’
उनले मतिर हेरेर हाँस्दै भनिन् ,‘न दुःख, न सुख ।’
मैले मुस्कुराउँदै स्वीकारेँ र सोधेँ, ‘तपाईंले यस्तो कुरा कसरी पत्ता लगाउनुभयो नि ?’ 
‘मेरो बाबा पनि लेखक हुनुहुन्थ्यो ।’ 
‘अहिले पनि लेख्दै हुनुहुन्छ ?’ 
पूर्णिमाले लामो स्वास फेरिन् । उसलाई हेरिरहेको थिएँ । 
‘बाबा नबित्नु भएको भए म कत्ति कुराहरू सिक्न पाउँथेँ होला !’
मैले टाउको हल्लाउँदै ‘सरी’ भनेँ । 

पूर्णिमा ‘एक्सक्युज’ भन्दै वाइन रिफिल गर्न गइन् । दिमागमा आफ्नै आँखा खेल्न थाल्यो । मनमनै सोचेँ, पिएको दुई गिलास वाइनले मलाई नोस्टाल्जिक बनायो होला अनि आँखा राता र रसिला देखिए । स्मृतिहरूमा मेरो दिमाग हरायो होला । नोस्टाल्जिक हुँदा आँखाको भाका सायद दुःखी हुँदो हो । टुक्रिएको चन्द्रमा जस्तो । मुस्कुराउँदा आफूलाई बिर्सेँ होला अनि फिक्कापन अभिव्यक्त भयो । कुहिरोले ढाकेर धुम्म परेको साना–साना टापुहरू जस्तो । 

पूर्णिमाले वाइन र चुरोट टेबलमा राखिदिइन् । मैले फेरि पनि धन्यवाद भनेँ । उसले मेरो नाम सोधी । मैले बताएँ र कुराकानी गरेकामा कृतज्ञ भएको बताएँ । पूर्णिमाले खुसी हुँदै भनिन्, ‘थ्याक्यू, कोही–कोही मानिसहरूसँग बोलम्–बोलम् लाग्छ नि, त्यही भएर बोलेको ।’ 

फेरि उनलाई अंग्रेजीमा धन्यवाद भनेँ । पहिलेझैँ फेरि किचनबाट सूचक घण्टी बज्यो । पूर्णिमा आफ्नै काममा व्यस्त भइन् । हँसिलो, मिजासिलो अनि कोमल स्वर भएकी पूर्णिमा । मनमनै सोचेँ, ‘कसैको चरित्र र नाम कस्तो ठ्याक्कै मिल्ने ।’ 

तेस्रो वाइन मैले समय लगाउँदै सकेँ । डायरीमा केही लेख्न खोजेँ । लेख्नै मन लागेन । तल बाटोमा मानिसहरू कोही हात समाएर, कोही अंकमाल गर्दै त कोही नशामा रमाउँदै हिँडिरहेका थिए । सोचेँ– म पनि यो वाइन सकेपछि  यसैगरी हिँडिरहेको हुन्छु । यस्तै भीडमा । 

वाइन सकेँ र बिल मगाएँ । हातको चुरोटको सर्को तान्दै मैले पूर्णिमालाई खोज्न आँखाहरू ढुलाएँ । देखिनँ । एउटा केटा बिल लिएर आयो र टेबलमा राख्यो । म बिल तिरेर त्यहाँबाट निस्केँ । पूर्णिमालाई भेटेर उसको बाबाले लेख्नुभएको किताबहरूबारे सोध्ने मेरो चाहना पूरा हुनै पाएन । फेरि, अझै केही दिन बस्नु पनि त छ । पछि भेट होला नि लाग्यो । 

बाटो काटेर बाराही घाटतिर निस्केँ । पसलमा एकबट्टा चुरोट र दुइटा क्यान बियर किनेँ । क्रिसमसको समय भए पनि पोखरा शान्त नै थियो । पहिले जस्तो धेरै भीड थिएन । चिसो–चिसो रातमा एक्लै गम्दै हिँड्नुको रौनकमा म हराइरहेको थिएँ । पर कतै भ्यान मोरिसनको आवाजमा मुनडान्स बजिरहेको थियो । यो गीतको 
Can I just have one more moondance with you, my love 
Can I just make some more romance with you, my love 

भन्ने लाइन मलाई एकदमै आफ्नो लाग्छ । ताल छेउका पब र रेस्ट्रोहरू बन्द हुँदै थिए । हिँड्दै अर्को घाट पुगेँ । एकजना बूढा मान्छे एक्लै आगो ताप्दै बसिरहेका थिए । म नजिकै गएँ र सोधेँ– बसौँ बा ? उनले मेरो चुल्ठो बाँधेको कपाल, लामो दाह्री र हुलिया घुरेर नियाले र पोखरेली लवजमा भने– ‘बस्नुस् न केरे ।’ 

ब्याग भुइँमा राखेँ र आगो नजिकै बसेँ । बूढा मान्छे नशामा लठ्ठ रहेछन् । मनमनै लाग्यो– चुपो लागेर बसौं । एकछिन त्यसै गरेँ । बूढा स्टकोटको गोजी छाम्न थाले । दायाँ, बायाँ, भित्रको गोजीबाट केही पनि किकालेनन्, छाम–छाम छुमछुम मात्रै गरे । बूढाले टोपी खोले र हेरे । टोपीभित्र दश रुपैयाँको नोट देखियो । बूढाले पैसा गोजीमा राखे र खोके । आफूतिर गएको धुवाँलाई मैलो टोपीले पन्छयाउँदै दाउराका ठुटा मिलाए । ‘बा चुरोट खानुहुन्छ ?’ सोधेँ । 

खोक्दै उनले भने, ‘म चुरोट, रक्सी, गाँजा जे पनि खान्छु ।’ 

चुरोटको बट्टा खोलेँ र उनलाई तीन वटा चुरोट दिएँ । उनले किन यत्रो दिनुपर्यो भन्दै दुइवटा चुरोट मैतिर फर्काए । राख्नुस् राख्नुस् भनेर कर गरेँ तर राखेनन् । बलिरहेको निकाले र दाउरा झट्कारे । 

आगो निभेर काठको ठुटाबाट धुवाँ आइरहेको थियो । त्यसैबाट उनले त्यो चुरोट सल्काए । धुवाले गर्दा उनको आँखाबाट आँसु आयो । बायाँ हातले आँखा मिचे र आगो फुके । आगो बल्न थाल्यो । 

झोलाबाट अघि किनेको बियर निकालेँ र एउटा उनलाई दिएँ । हामी दुबैले बियरको क्यान चियर्स गर्यौं । मलाई अर्कै किसिमको आनन्द आइरहेको थियो । हजुरबुवा र हजुरमासँग हुर्केर होला मलार्ई बूढापाका मानिसहरू मन पर्छन् । कुरा गर्न या त्यसै उनीहरूको नजिक बस्न । यस्तो समयले आफूलाई हलुका बनाउँछ र बालापनमा फर्काउँछ । 
उनको घर सोधेँ । 

औंलाले पारि बलिरहेको बत्तीतिर देखाउँदै उनले भने, ‘उः त्यो पहेलो बलेको बत्ती नजिकै पर्छ ।’  

‘तपाईंलाई त माछाहरूले पनि चिन्छन् होला है ?’ ठट्यौली पारामा भनेँ । 

उनले बियरको लामो घुट्की लिए र हाँस्दै भने, ‘त्यसै भनौँ’ । एकछिन हामी दुवै बोलेनौँ । मैले उनले झैँ आगोको ठुटाले चुरोट सल्काएँ । उनले पहिले नै चुरोट सकिसकेका थिए । 

उनले मैले सल्काएको चुरोटतिर हेरे । मैले फेरि उनलाई तीनवटै चुरोट दिएँ । उनले मेरा आँखाहरूलाई केही बेर हेरेर मात्र चुरोट समाते । हात थोरै उनीतिर बढाएँ । उनले यसपालि तीनवटै चुरोट लिए । मेरो हातको बियर क्यान सकिइसकेको थियो । 

अन्धकार र आगोको न्यानोपनमा बसेर लामो लामो सर्को चुरोट तान्दै शून्यतालाई सुन्नुको आनन्द लिइरहेको थिएँ । उनको नाम सोधेँ । सक्किएको क्यान हल्लाउँदै उनले ‘शिव’ भने । उनले हातको चुरोटको खरानी चुट्की पड्काएर झार्ने रहेछन् । मैले यति बेर बसेपछि मात्रै नोटिस गरेँ । मेरो बुवा पनि चुरोट खाँदा यसै गरी चुरोटको खरानी झार्नुहुन्थ्यो । चुड्कीसँगै आवाज पनि आउँथ्यो । त्यतिबेला मलाई आवाज निकालेर चुड्की बजाउन र जिब्रो पड्काउन आउँदैन थियो । 

रात बढेसँगै चिसो पनि बढ्दै थियो । उनलाई हेरेँ, एउटा हातमा सक्किएको क्यान र अर्को हातमा सल्किरहेको चुरोट समातेर झुल्दै थिएँ । मैले अर्को चुरोट सल्काएँ । उनलाई हेरिरहेँ । एकैछिनमा उनी घुर्न थाले । बिस्तारै उठेँ र गल्लीहरू हुँदै १७ स्ट्रिटमा रहेको होटल ‘सिक्रेट हेभन’तिर निस्किएँ । बाटोभरि मेरो दिमागमा सोध्न भुलेको पूर्णिमाको बाबाको कुरा, रोजर अनि मोरिसनको गीत र भर्खरै भेटेको शिव आइरहे । 

चे शंकरका यी लेख पनि पढ्नुस् :


Author

चे शंकर

(चे शंकर नाट्य लेखक तथा निर्देशक हुन् ।)


थप समाचार
x