सप्ताहन्त

अबको सरकार चक्रे मिलनको

वसन्त लोहनी |
बैशाख १८, २०७८ शनिबार ९:३ बजे

भाषणको फोहरा होइन, विकासको लागि
भ्रष्टाचारको स्वरूप बदल्नको लागि
न ब्युटिफुल, न अग्ली
स्थूल रहन पाउँदैन भ्रष्टाचारले
कानुन संशोधनको नाटक भित्र
आयोग गठन-विघटनको एकाङ्की भित्र 
मिति टिपेक्स र परिवर्तन भित्र
बन्द भएर रहने दिन गए
हो, भाइरसको मित्र भ्रष्टाचार
स्वास्थ्य सामग्री खरिदमा
तर कति हेराफेरी? कति छलकपट ?
गर्दै गर्दै कति नाङ्गो हुँदै जाने
अब तरल हुनुपर्दछ त्रिवेणी बन्‍न
अपराध र राजनीतिसँग मिसिएर
अनि साँचोमा ढाल्न सकिन्छ 
जस्तो आकारमा पनि 
कलङ्कित, निस्कलङ्क
जस्तो रङ्गमा पनि
सेतो, कालो, गुलाफी
सत्ताको बदलिँदो स्वरूपमा

तरल राजनीतिमा 
यस्तो गङ्गा स्नानबाट पवित्र भएर
जसले व्यक्ति पूजा गर्न सक्छ
त्यसले उन्मुक्ति पाउँछ


मैले झन् देख्नुपर्ने हुन्छ उसको अपराध 
मैले सुन्‍नु पर्ने हुन्छ अपराध नियन्त्रण गरेको
त्यो पनि 
उसैको मुखबाट

टंकप्रसाद, बिपी, मनमोहन, गणेशमानलाई
देख्ने, भोगने, र सुन्‍नेहरू
राजनीतिलाई शिखर देख्थे
देश प्रेमको उज्यालो देख्थे
इमान जमान को भाका लिन्थे
अहिले - 
विकासको राजनीतिमा
विकासे फूलहरू
फुलिरहेका छन् स्वर्णिम बागमा
चरी मारिन्छन्, चरीहरू जन्मिन्छन्
महेशहरू हुर्कन्छन् 
गोकुलहरूले तुलो बेलेन्स गर्छन्
सुरुङबाट निस्केकाहरुले
मुलुकलाई अध्यारो सुरुङभित्र हुल्दैछन्
त्यसैले होला दीपक चाहिएको
उज्यालोको लागि

भ्रष्टाचारको गन्ध हटाउन
गन्ध निरोधक स्प्रे छर्ने 
संयन्त्र चुस्त तन्दुरुस्त छ
आशय हेरिरहेको छ
अपराधीकरण न्यून गर्न
अपराधीलाई जेल होइन
जेल सजाय पाएकालाई खुला छोड्नु पर्छ
बल्ल अनि हिसाब किताप मिल्छ
अपराधीलाई राज्यले किन पाल्ने ?
यो सिद्धान्तले सत्ता जोगिन्छ
वैतरणी तरिन्छ
अपराधी पाल्ने खर्च बच्छ 
जनताको पैसा जोगिन्छ
सरकार संवेदनशील छ
फजुल खर्च रोक्ने कुरामा

विकास भनेको समय हो
अविकासको विकासमा 
अब द्रुत गतिमा विकास गरेर
जनतालाई जिताउनु पर्छ
भट्टाबाट चोख्यउदा
समय अति विलम्ब भयो
त्यसैले सत्ताबाट नै चोख्याइन्छ अब
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको लागि
त्यो मात्र होइन
शून्य अपराधीकरणको लागि

खै के भनूँ ? 
एउटा निरीह प्राणी म !
सबलाई चाहिएको म
प्रयोग, उपयोग र दुरुपयोग गर्न
विजय-पराजयको यो अद्भुत खेलमा
जुन सत्ताको लङ्गुर बुर्जा बनेको छ
त्यसैले आगामी चुनाव उसैले जितोस्
अहिलेको भन्दा त राम्रो होला !
त्यसैले म भन्छु -
अबको सरकार चक्रे मिलनको


Author

थप समाचार
x