सप्ताहन्त

चक्रवर्ती सम्राट

लिलाराज खतिवडा |
असार १२, २०७८ शनिवार ९:१६ बजे

निकै पहिलेको घटना हो । यो जगत् यति विराट छ कि यहाँ कैयन् रोचक घटनाहरू कैयन्पटक घटिसकेका छन् । कुनै समयमा एउटा युवक चक्रवर्ती सम्राट कहलियो । त्यसताका चक्रवर्ती सम्राटहरूले मुकुट लगाउनासाथ एक हप्ता घोडचढी गरेर पुगिने एउटा पर्वतमा नाम लेख्‍ने चलन थियो ।

नयाँ चक्रवर्ती सम्राटले पनि आफ्नो लावालस्कर लिएर बैंडबाजा बजाउँदै उक्त पर्वततर्फ यात्रा तय गर्यो । ऊ फुरुंग थियो । एउटा निश्चित भूभागको चक्रवर्ती सम्राट हुन पाउँदाको भब्य सान र शौकतको ऊ भरपूर मजा उठाइरहेको थियो । उसलाई लागिरहेको थियो कि हस्ताक्षर गरिने स्थानमा उसको भव्य स्वागत हुने छ । नभन्दै उसले भोरमा उक्त स्थान चुम्यो । स्थान सुनशान थियो ।


सूर्योदय हुन्जेलसम्म ऊ आफ्ना सैनिकहरूका साथ पाल टाँगेर बस्यो । सैनिकहरूले प्राप्त ठेगानाअनुसार हस्ताक्षर गर्ने विशाल चट्टानस्थित पार्कको मुआयना गरिसकेका थिए । चक्रवर्ती सम्राटलाई झिकाइयो । घामका ओजस्वी रापहरूको आडमा उसले चारैतिर हेर्‍यो...

त्यो एक वीरान स्थान थियो । त्यहाँ कुनै स्वागतद्वार थिएन । बोरा ओढेको एउटा बूढो मानिस त्यहाँ पालेझैँ बसेको थियो । सम्राटले सायद दर्जनौँ तोपको सलामीको अपेक्षा गरेको थियो । ‘हस्ताक्षर गर्ने ठाउँ कता हो ?’ उसले सोध्यो । 

बडा अल्छी पारामा बोरा ओढेको पालेले अगाडिको भीमकाय चट्टानतर्फ इशारा गर्‍यो । एउटा निश्चित भूभाग कब्जा गरेर चक्रवर्ती सम्राट हुन पुगेको त्यो युवक झिँजो मान्दै अघि बढ्यो । चट्टानमा उसले नियालेर हेर्यो । त्यहाँ यति धेरै हस्ताक्षरहरू पहिल्यै थिए कि उसले आफ्नो छिनो हथौड़ा घोप्ने ठाउँ पाएन । उसले चट्टान वरिपरि दुई-तीन फन्का घुमेर पनि हेर्‍यो । तर नयाँ हस्ताक्षर गर्ने कुनै झिनो स्थान पनि उसले त्यहाँ भेटेन । 

अनि निराश भएर उसले त्यही बोरा ओढेको पालेलाई सोध्यो, ‘एक सेन्टिमिटर स्थान पनि खाली छैन, कहाँ घोप्नु हो यो छिनो हथौडा ?' पालेले भन्यो, ‘एउटा मेटाएर गर्नू नि !’ 

उफ ! चक्रवर्ती सम्राटले एकफेर चट्टानको भित्तामा नियालेर हेर्यो । त्यहाँ यति धेरै हस्ताक्षर पहिल्यै गरिएका रहेछन् कि पुरानो मेटाएर नयाँ लेख्‍न थालेकै लगभग पचास वर्ष बितिसकेको रहेछ । त्यसपछि त्यो युवक हस्ताक्षर नै नगरी सैनिक इत्यादि छाडेर जङ्गल हान्निएको अहिलेसम्म भेटिएको छैन रे । (लाइफ रिसर्च एन्ड पब्लिकेशन प्रा.लि.बाट प्रकाशित चक्रवर्ती सम्राट : प्रेरक कथा संग्रहबाट)


Author

थप समाचार
x