सप्ताहन्त

धन्य, तिम्रो लोकतन्त्र !

केदार पनेरु |
असार १९, २०७८ शनिबार ७:११ बजे

यो लोकतन्त्रमा 
म बाख्रा पाल्छु
तिमी महलमा बसेर मासु खान्छौ 
म घाँस काट्छु तिमी दूध खान्छौ
पसिना बगाउँछु  म  
तर तिमी बेस्सरी रमाउँछौ 
दुःखको सागरमा डुबेको हुन्छु म 
तर तिमी जीवन यस्तै हो भन्छौ 
खै कस्तो अन्तर्विरोधको लोकतन्त्र र मेरो जिन्दगी  
मैले उन्‍नत प्रजातन्त्रको कुरा गर्दा 
तिमी यसलाई पलपलमा निमोठ्न कोसिस गर्छौ
मैले जुटेर निर्माणको आह्वान गर्दा 
तिमी फुटाउने कुचेष्टा गर्छौ 
कस्तो दिन भोग्नु परेको रैछ 
किन यस्तो संघर्ष गरिएछ ? जस्तो लाग्छ 
न प्रजातन्त्र ठीक बाटोमा हिँड्छ 
न लोकतन्त्र, न गणतन्त्र नै 
मात्र हर्लक्क बढेछ 
लाठे भएर हुर्केछ महलहरूमा 
अहंकार अनि स्वेच्छारिता बोकेर हिँडिरहेछ
जसलाई जे मन लाग्छ गरे भो 
लुटे पनि भयो कुटे पनि भयो 
मारे पनि भयो 
निमोठे पनि भयो 
यहाँ सबथोक छुट रहेछ 
वाह लोकतन्त्र  
संघर्षका दिनमा 
एक्लै एक्लै कति हिँडियो 
न खान पाइन्थ्यो न लाउन 
हामी कालकोठरीका यउटै योद्धा 
एउटै कोठामा कति थुनियौँ, कति सास्ती खेप्यौँ 
बदलामा तिमी महलमा पुग्यौ 
सान र सौकातमा हुर्कंदै छौ 
तर म जस्ताको तस्तै छु 
जहाँको तहीँ छु 
म भुइँमान्छे भएको छु 
कुनै परिवर्तन छैन 
उही विचार
उही संघर्षका याद बोकेर बाँचिरहेछु 
तर हाम्रा छानो चुहिएको छ 
मक्किएका छन् खाबाहरू 
हामी पसिना काढिरहेछौँ
बदलामा कस्तो गणतन्त्र ल्याइदिएछौ तिम्रा लागि 
कस्तो प्रजातन्त्र ल्याइदिएछौ
यहाँ त 
रोग पनि हामीलाई नै 
शोक पनि हामीलाई नै 
बेथा पनि हामीलाई 
बाढी पनि हामीलाई 
पहिरो पनि हामीलाई  
तर केहीले पनि नछुने तिमीलाई 
धन्य तिम्रो लोकतन्त्र



Author

थप समाचार
x