सप्ताहन्त

लिलाज मोटिभेसनल : तत्काल तत्ववोध !

लिलाराज खतिवडा |
साउन ९, २०७८ १४:३४ बजे

आज आफ्नो चेतनाको स्तर जाँच्ने बेला आएको छ । सतह, मध्य वा केन्द्र ? चेतनाको कुन तहमा छु म ?

के तपाईंले कहिल्यै आफूलाई यस्ता प्रश्न सोध्नुभएको छ ? के तपाईंलाई आफू वरपरका धेरै कुरा व्यर्र्थ छन् जस्तो लाग्छ ? के तपाईंलाई आफ्नो जीवन व्यर्र्थ जस्तो लाग्छ ? अनि अरुको जीवन नि ? 


ADVERTISEMENT

स्मरण रहोस्, यहाँ व्यर्र्थ त केही पनि छैन । एउटा झार उम्रिनुको पनि परम लक्ष्य छ । धर्तीमा उम्रिएका सारा वनस्पतिहरू फूल्न चाहन्छन् । फल्न चाहन्छन् । बीउ छरेर वा लहरा फिँजाएर उनीहरू आफ्ना सन्ततिहरूले अनन्तकालसम्म सारा धर्ती ढाकेको हेर्न मन पराउँछन् ।  

प्रकृतिमा सदियौँदेखि हरतरफ दीगो जिन्दगी ज्यूँने होड छ । ज्यूँदो रहने मात्रै होइन, उर्वर पनि रहने । अनि आफ्नो वंशको शक्तिशाली निरन्तरतामा लागिपर्ने । हमेसा धर्ती उधिन्ने अथक प्रयास अनि आकाशको गहिराइ चुम्ने गहन चाहना । यो नै बोटबिरुवा, अनेक वृक्ष र जीवहरूको अपरिसिम अभिप्सा हो ।

अब साल, सिमल र सतिसाल जस्ता बडेमानका वृक्षमुनि अन्य वनस्पतिहरू हुर्किन सकेनन् भनेर चिन्ता गर्नु बाघले हरिण खायो भनेर बाघ मास्ने अभियान चलाउनु जस्तै हुन आउँछ ।

साल, सिमल र सतिसालजस्ता विशाल वृक्षमुनि खुशीसाथ हुर्किन सक्ने वा तदनुरुप सेपमै भए पनि फसल दिन सक्ने वनस्पति, लहरा वा कन्दमुलहरू पनि हुने गर्छन् । जंगलमा हरिण प्रजातिको जनसंख्या ह्वात्तै बढे बाघको जनसंख्या पनि ह्वात्तै बढ्छ । यसको विपरित हरिण मासिए बाघ पनि मासिनु स्वाभाविक हो ।

तर प्रकृति त्यसको हो जो बलियो र स्वस्थ छ । घना जंगल ठूलाठूला वृक्षहरूकै हो । तर त्यसो भन्दैमा त्यहाँ ससाना वनस्पति र रुखहरूको अस्तित्व कमजोर हुन्छ भन्नु गलत हुन आउँछ । जस्तै ठूला वनस्पति पनि पहिले सानै थिए । र, अहिले ठूलाठूला भएका वृक्षहरू कालान्तरमा सुक्ने छन् र हिजोका जवान वृक्षहरू बडेमानका हुनेछन् । चक्र चली नै रहनेछ । 

उता बाघ, सिंह, चितुवाका अलावा पनि जंगलमा हरिण, स्याल, फ्याउरा, ब्वाँसा जस्ता अन्य कैयौँ जनावरहरू हुने गर्दछन् । प्रकृतिमा एउटा अद्भूत ‘इकोसिस्टम’ले काम गरिरहेको हुन्छ । यहाँ सब आफ्नै तरिकाले एकअर्काका परिपूरक भएर नै अस्तित्वरत छन् । हरिण मासिए बाघ पनि मासिनु, गोमन र अन्य विषालु सापहरू मासिँदा वातावरण नै विषाक्त भएर अन्य प्राणीहरू पनि मासिनु स्वाभाविक हो ।

अब साल, सिमल र सतिसाल जस्ता बडेमानका वृक्षमुनि अन्य वनस्पतिहरू हुर्किन सकेनन् भनेर चिन्ता गर्नु बाघले हरिण खायो भनेर बाघ मास्ने अभियान चलाउनु जस्तै हुन आउँछ ।

किनभने वातावरणको अदृश्य विषालु तत्वलाई त्यस्ता सापहरूले खिंचेर आफ्नो मुखभित्रको थैलीमा जम्मा गर्ने गर्छन् । जन्मजात कुनै गोमन सापको बच्चो विष लिएर जन्मिँदैन । विस्तारै ऊ वातावरणबाटै विष खिँचेर आफ्नो थैलीमा जम्मा गर्ने गर्दछ । विष उसको ‘डिफेन्स मेकानिजम’ अर्थात् प्रतिरक्षात्मक प्रणाली पनि हो । प्रकृतिले हरेक प्राणीलाई आ–आफ्नै विशेषताका प्रतिरक्षात्मक प्रणाली र बाँच्ने कला वा तरिकाहरू प्रदान गरेको छ । 

प्रकृति जुनसुकै जीवनलाई अगाध प्रेम गर्छ । प्रकृति स्वयम् खुब जान्दछ कि जीवनको निरन्तरतालाई कसरी मूर्तरुप दिने भनेर । अनि ऊ तदनुरुप अनेकानेक वातावरण र उपाय सृजना गरेर निरन्तर सृष्टि सञ्चालनका उर्जाहरू छरिरहन्छ, धर्तीमा । अर्को परिभाषामा प्रकृति भन्नु नै प्रजनन प्रकृया र जीवनको नैसर्गिक निरन्तरता हो । अस्तित्वको सतत प्रवाह हो !

उदाहरणहरू प्रशस्तै छन् । स्तनधारी जीवको कुरा गरौँ । प्रकृतिले भालेलाई यति धेरै बीउहरू प्रदान गरेको छ कि कुनै पनि स्तनधारी जीवको भालेले स्खलित गर्ने एक थोपा वीर्यमा अरबौँ अण्डाहरू हुने गर्छन् । एकपटकमा एउटा वा दुइटा बच्चा मात्रै जन्माउन सक्नेहरूलाई पनि किन दियो प्रकृतिले त्यति धेरै अण्डाहरू ? अण्डा याने जीवनको भरपुर सम्भावना । यसबाट यो प्रष्ट हुन्छ कि प्रकृति कमसेकम एउटाको ‘ग्यारेन्टी’ अवश्य लिन चाहन्छ । त्यसैले उसले अरबौँ, खरबौँ अण्डाहरूका बीचमा कम्तिमा एउटाको अस्तित्व हमेशा सुनिश्चित गरिदिएको छ । खरबौँ मट्यांग्रा हान्दा एउटा त कसो नलाग्ला ?

बनस्पतिहरूको फूलको परागमा पनि अनगिन्ती बीउहरू छुपेका हुन्छन् । कतिपय बिरुवाका पात, हाँगा र काण्डहरू पनि सिधै उम्रिन सक्छन् । त्यसैले परागसेचन भनौँ वा प्रजनन प्रकृया – प्रकृति हमेशा नयाँ जीवनको अथाह सम्भावनालाई आमन्त्रण गरिरहेको हुन्छ । वा तदनुरुप परिस्थितिहरू सृजना गरिरहेको हुन्छ । त्यसैले ढुंगाका कापमा पनि यदाकदा पिपल उम्रिन्छ । अनि बन्जर भूमिमा पनि विनाकारण वा कुनै अज्ञात कारण बीउहरू उम्रिएको भेट्न सकिन्छ । अर्कातिर पुतली र चराहरूले फूलका पराग र बीउहरू टाढाटाढा पुर्याएर उम्रिन सघाइदिन्छन् । र, प्रकृतिमा जीवनको शाश्वत वर्तुलले जसरी पनि वा जताबाट पनि लगातार फन्को लगाइरहेको हुन्छ ।

मानवमा पनि यत्रतत्र अनमेल जोडीका सुन्दर वा कुरुप बच्चाहरू जन्मिएर भयंकर, चमत्कारिक वा विध्वंसात्मक जीवन बाँचेका कैयौँ उदाहरणहरू भेटिने गर्छन् । महाभारतमा वर्णशंकरहरूको जनसंख्या बढ्नुलाई अनिष्ट र विनाशको रुपमा लिइएको छ । धर्तीमा उम्रिएका सबै बीजहरू कहाँ अमृत बनाउँछन् र ? यहाँ विष निर्माण गर्नेहरू पनि उत्तिकै छन् । प्रकृति त्यही अमृत र विषको समन्वयात्मक जोड वा घटाउ हो । मानवको प्रज्ञाले त्यसको गणित जान्नु र मिलाउनु अपरिहार्य हुन आउँछ ।

प्रकृतिले कुनैकुनै वनस्पतिलाई उनीहरू कहिल्यै नमासिऊन् भन्ने आशीर्वाद पनि दिएको छ । उदाहरणका लागि सिमलको बीउ कपासको भुवाले लपेटिनु वा सालका बीउहरू हल्का पात जस्ता हुनु । प्रकृतिलाई राम्रो हेक्का छ कि त्यस्ता वृक्षका मुनि उनका बीउहरू उम्रिँदैनन् । उम्रिए पनि हुर्किन सक्दैनन् । उनीहरूले उडेर टाढाटाढा नगई सुखै छैन । त्यसैले प्रकृतिले आफ्ना हरेक मामिलाहरूमा तदनुरुप नै व्यवस्था मिलाएको हुन्छ । सिमलको भुवा मानवको सिराने बनाउनका लागि त प्रकृतिले अवश्य पनि बनाएको होइन । कि हो ? 

प्रकृति कतिपय जीवहरूलाई कदापि मास्न चाहाँदैन । जस्तो माउसुली । माउसुलीको जीवन बाँच्ने अद्भूत कला एकपटक नियालेर हेर्नुहोस् । जब ऊ दुर्घटनामा पर्छ तब आफ्नो पुच्छर छिनालेर छोडी भाग्छ । दुश्मनलाई पुच्छरमा अल्झाएर माउसुली सुरक्षित स्थानमा पुगिसकेको हुन्छ । यस्तो सुरक्षासंयन्त्र अन्य जीवहरूलाई प्रकृतिले खासै दिएको छैन । 

हुन त मौरीसँग पनि आत्मरक्षाका खातिर एउटा खिल हुन्छ । र, त्यो आत्मघाती हुन्छ । मौरी समूहमा रहने हुँदा उसको आत्मघाती खिल अरु जीवलाई पनि एउटा यस्तो नसियत हो कि अर्को पटक दुश्मनले मौरीको प्रजातिलाई आक्रमण गर्नुअघि विचार गरोस् । मौरीको खिलमा अत्याधिक घातक विष नभए पनि त्यसले केही दर्द, हल्का ज्वरो र सुजनसमेत उत्पन्न गराउन सक्छ । यसप्रकार, मौरी आफ्नो प्रजातिको रक्षाका निम्ति आपतकालमा दुश्मनलाई डसेर चेतावनी दिँदै आफ्नो प्राण त्याग्न सक्छ ।

माउसुलीको प्रसंग भने निकै फरक र अद्भूत नै लाग्छ । प्रकृतिले उसलाई आपतकालमा आफ्नो शरीरको अभिन्न अङ्ग परित्याग गरेर भए पनि बाँच्ने आशीर्वाद दिएको छ ।

जन्मजात कुनै गोमन सापको बच्चो विष लिएर जन्मिँदैन । विस्तारै ऊ वातावरणबाटै विष खिँचेर आफ्नो थैलीमा जम्मा गर्ने गर्दछ । विष उसको ‘डिफेन्स मेकानिजम’ हो ।

यसप्रकार हामीले के बुझ्नु पर्यो भने, प्रकृति माउसुली मासिएको मन पराउँदैन रहेछ । अथवा, माउसुली प्रकृतिका लागि निकै नै महत्वपूर्ण जीव रहेछ ।
प्रकृतिको कुन गुप्त आयामसँग सम्बन्धित छ त माउसुलीको उक्त विचित्रको जीवन–प्रतिरक्षात्मक प्रणाली ? किन प्रकृतिले जगतमा लगभग उसलाई मात्रै त्यो कला दियो त ? यो भने खोजकै विषय हो ।

तत्काल तत्ववोध : केन्द्रीय चेतनामा चोट !

प्रकृतिले जीवहरूलाई प्रदान गरेको थप एउटा महत्वपूर्ण ‘अल्केमी’ हो, रुपान्तरण । एउटा लार्भा प्यूपामा रुपान्तरण भएपछि फेरि केही दिनमा एउटा सुन्दर पुतलीमा रुपान्तरण हुनपुग्छ । अण्डा लार्भा हुनु सामान्य जस्तो लागे पनि लार्भा प्यूपा हुने प्रक्रिया असामान्य हो । अझ प्यूपा पुतली हुन पुग्नु त  निकै विराट चमत्कार नै हो । 

प्रकृति एक महापाठशाला हो । अनि प्रकृति नै हो, हाम्रो परम गुरु । वा महागुरु । तर प्रकृतिले बुझाउने भाषा नितान्त अलग हुने गर्दछ । त्यो हामीले बोलिचाली वा लेखनीमा प्रयोग गर्ने भाषा जस्तो बिल्कुलै हुँदैन । प्राकृत भाषा अक्सर हुने गर्दछ, अमूर्त । जस्तो, पुतलीको जीवनचक्र देखेर हामीले केही सिक्नु जरुरी छ । मैले पुतलीको जीवन चक्रलाई वेदमा उल्लेख भएको वैखरी, मध्यमा, पश्यन्ति र परासँग समानान्तर गरेर हेरेको छु । 

वैखरी– अण्डा । मध्यमा– लार्भा । पश्यन्ति– प्यूपा । परा– पुतली ।

किनभने मानवलाई प्रकृतिले प्रदान गरेको सबैभन्दा मूल्यवान र महत्वपूर्ण आत्मसुरक्षा र प्रतिरक्षात्मक प्रणाली भनेको ज्ञान नै हो । मानवलाई प्रकृतिले स्वयमलाई र ब्रह्माण्डलाई नै जान्न सक्ने अद्भुत क्षमता प्रदान गरेको छ । प्रकृतिले मानवलाई प्रशस्तै वुद्धि, कौशलता र प्रतिभा पनि दिएको छ । तर मानवले तदनुरुप कार्यमा लाग्नु अनिवार्य हुन आउँछ । अथवा विद्यार्जन, अनेक संघर्ष, ध्यानसाधना आदिले मानवले आफूलाई तास्नु पर्ने हुन्छ । वा विकसित गर्नुपर्ने हुन्छ । मानवले आफ्नो चेतनालाई तिक्ष्ण र धारिलो बनाउनु अत्यावश्यक हुन आउँछ । 

किनभने, मानव शारीरिक रुपमा निकै नै कमजोर छ । गाईको बाच्छो जस्तो ऊ जन्मिनासाथ ठमठमी हिँडेर आमाको दूध चुस्न सक्दैन । मानवलाई बडो नाजुक तरिकाले हुर्काउनु पर्ने हुन्छ । नत्र सामान्य रुघाखोकी बिग्रेर निमोनिया भई उसको मृत्यु पनि हुनसक्छ । नाजुक शरीर टुट्न, फुट्न वा भाँचिन पनि सक्छ । मानव शरीरलाई हरहमेसा सुरक्षित र सन्तुलित राख्नुपर्ने हुन्छ । 

अर्कातर्फ मानवलाई अनेक कुरा वा विद्या सिकाउनु पर्ने हुन्छ । मानव हुनुको उपादेयतास्वरुप कालान्तरमा ज्ञानी वा सिद्ध भएपछि मात्रै कुनै पनि मानव जगतमा महामानव कहलाउन सक्ने सामथ्र्य राख्छ ।

मानवको सारा शक्ति स्वयम्भित्र अवस्थित छ । त्यसलाई हासिल गर्नका लागि ‘परा’ अवस्थामा पुग्नु जरुरी छ । बोल्ने पनि ‘परा’ र सुन्ने पनि ‘परा’ अवस्थाबाट हुनसके रुपान्तरण र चमत्कार एकसाथ हासिल हुने कुरामा दुई मत छैन । कैयौँ महापुरुषहरूले यसै ‘परा’ अवस्थामा पुगेर विभिन्न चमत्कारिक र ज्ञानवद्र्धक कार्यहरू सम्पन्न गरेका छन् ।

ऋग्वेद १.१६४.४५ मा उल्लेख भएअनुसार वाणीका चार प्रकारहरूको संक्षिप्त परिभाषा : वैखरी 

मानव शारीरिक रुपमा निकै नै कमजोर छ । गाईको बाच्छो जस्तो ऊ जन्मिनासाथ ठमठमी हिँडेर आमाको दूध चुस्न सक्दैन । मानवलाई बडो नाजुक तरिकाले हुर्काउनु पर्ने हुन्छ ।

यो दैनन्दिन बोलीचालीको भाषा हो । जहाँ सोचसमझको अभाव हुने गर्दछ । आम जीवनमा केही यस्ता कुराहरू पनि हुने गर्छ्न्, जहाँ सोचविचारको जरुरतै पर्दैन । यो सबैभन्दा बाहिर अर्थात् मुखबाट प्रकट हुने वाणी हो ।

मध्यमा  

अलिक विचार गरेर बोल्नु । यहाँ सोचसमझ र विचारको प्रादुर्भाव हुने गर्दछ । यहाँ चिन्तनमनन खोज र अध्ययनको आवश्यकता पर्दछ ।

पश्यन्ति  

हृदयबाट आएको वाणी पश्यन्ति हो । यो गहन, निर्मल, निष्छल र रहस्यमय हुने गर्छ ।

परा  

यो वाणी दैवी हुन्छ । निर्विचार अवस्थामा बोलिएको वाणी नै परा हो । यस अवस्थामा मन शून्य हुन्छ, जहाँ कुनै दैवी शक्तिको अवतरण हुने गर्दछ । यस वाणीको केन्द्र नाभी हो ।

वेदका ज्ञाताहरूको के मत छ भने, बहस या तर्कले कुनै पनि विवादको अन्त्य हुँदैन । सोचविचार गरेर, कुराहरूलाई प्रष्ट बुझेर सर्वहितमा बोल्दा कैयौँ प्रकारका संकटहरूबाट बाँच्न सकिन्छ । र, समाजमा श्रेष्ठ माहोल निर्माण गर्न सकिन्छ ।

मानवको सबैभन्दा महत्वपूर्ण खजाना जो प्रकृतिले नै प्रदत्त गरेको छ – ज्ञान प्राप्ति – आज हरेक जीवित मानवले आफ्नो अस्तित्वको मध्यमा अन्तर्मुखी भएर उक्त नैसर्गिक तत्वलाई खोज्नु अपरिहार्य भएको छ । आफैँलाई चिन्ने प्रयासविनाको जीवन व्यर्र्थ हो चाहे अर्थोक जे जस्तो मूल्यवान हासिल भएको होस् ।

यहाँ अण्डाहरूले लार्भा, लार्भाहरूले प्यूपा र प्यूपाहरूले पुतलीमा रुपान्तर हुने प्रयास हरपल गर्नु पर्दछ । समय यसै खेर फ्याल्नु भन्दा वैखरीबाट मध्यमा, मध्यमाबाट पश्यन्ति र पश्यन्तिबाट परातर्फ फाल हाल्ने अभ्यास गरिरहनु पर्दछ । अनि मात्रै हामी सतही चेतनाबाट केन्द्रीय चेतनातर्फ एक अभूतपूर्व यात्रा तय गर्न सक्षम हुनेछौँ ।

अन्यथा हामी आफ्नै बारेमा अद्भुत, चमत्कारिक र अलौकिक वास्तविकताहरूबाट वञ्चित नै रहने छौँ । तसर्थ मानवको प्राकृत ज्ञानलाई लोप हुन नदिन आजै आफूलाई चिन्ने र आफूभित्र अन्तर्निहित सुषुप्त शक्तिलाई जागृत गराउने महान कार्यतर्फ अभिप्रेरित हुनु सबैको लागि अत्यन्त आवश्यक छ । के अहिले भर्खर तपाईंलाई आफ्नो चेतनाको स्तर थाहा भयो ? 



Author

थप समाचार