सप्ताहन्त

अजीको साथी मिट्ठू

सुदिन सुन्दर बज्राचार्य |
साउन २३, २०७८ शनिबार ११:५६ बजे

मैले पहिलो पटक अजीलाई फेसबुकको स्टोरीमा देखेको हो । म र मेरो सम्पादक साथी विजय प्रजापति, हाम्रो डकुमेन्ट्री  सिरिज  ‘कथाचार्य सर्टस्’ को लागि कथा खोज्दा खोज्दा थकित भइसकेका थियौँ । लकडाउनको समय भएकोले घर मै खुम्चिएका थियौँ ।

त्यसै बेला साथी विजयको फेसबुक स्टोरीमा मैले एकजना हजुरआमाले मैनाचरी काँधमा राख्दै भर्‍याङ झर्दै गरेको भिडियो देखेँ । म एकदम उत्सुक भएँ र विजयलाई फोन गरेर उहाँ को हुनुहुन्छ अनि चराको कथा के हो भनेर सोधिहालेँ । र त्यो समय मैले कल्पना पनि गरेको थिइँन कि अजी र मिट्ठूको कथालाई १ दिन मै १ लाखभन्दा दर्शकले हेरेर माया दिनु हुन्छ ।


पेसाले हामी डकुमेन्ट्री फिल्म मेकर हौँ र हाम्रो काम भनेकै हाम्रो समाजको समसामयिक चित्र हाम्रो डकुमेन्ट्रीमा उतार्ने हो । लकडाउन सुरु हुँदा हाम्रा प्रोजेक्ट सबै बन्द भएर हामी घरकै कोठामा सीमित हुन पुग्यौँ । त्यही समय सदुपयोग गर्न नै हामी ले ‘कथाचार्य सर्टस्’ भनेर हाम्रो वरिपरीको कथाहरु बटुल्दै सुरु गरेका थियौँ र त्यही क्रममा अजीसँग पहिलोपटक भेट भयो ।

अजी, अथवा नेपाल भाषामा ‘हजुर आमा’, विजयको अजी हुनुहुन्छ । तर अहिले धेरैजनाले वहाँलाई मिट्ठूकोको अजी भनेर चिन्‍नु हुन्छ । २०१५ को भूकम्पले घर भत्किएपछि, नयाँ घरमा बस्दै आउनु भएको अजी अनि परिवारलाई मैले भेट्न गएँ भक्तपुरमा । मैले डकुमेन्ट्री खिच्‍ने भनेपछि अजी एकदमै उत्साहित हुनुभएको थियो । ८५ वर्षको भए पनि एकदम बलियो अनि हामीसँग एकदम मजाले घुलमिल हुनुभयो । आँखा कम देख्नु भए पनि समय समयमा नाती अनि नातिनीसँग क्यारम पनि खेल्नु हुन्छ, कहिले काहीँ जित्नु पनि हुन्छ, तर धेरै जसो समय १२ बर्से नातीले नै जितिरहेको हुन्छ । 
 
अजीको माहिलो छोराले गुँडबाट खसेर मरणासन्‍न अवस्थामा रहेको मिट्ठूलाई करिब १ महिनाअघि भेटेका थिए । अजीको सामु ल्याउँदा भखरै दुई तीन दिनको थियो होला, मिठ्ठु । भुत्लाहरू केही नभएको, हेर्दा रातो थियो भन्‍नुहुन्थ्यो । अजी धेरै दयालु भएकैले मिट्ठूलाई घर ल्याइयो । यो सबै कुरा गरिरहँदा मैले भित्तामा एक जना बहिनीको तस्बिरमा माला लगाएको देखेँ र थाहा पाएँ कि भूकम्पमा अजीले आफ्नो नातिनी गुमाउनु भएको रहेछ । अजिले मिट्ठूलाई गरेको माया अनि स्याहार देखेर धेरै दर्शकले कतै अजीको नातिनी नै मिट्ठू भएर फर्केको त हैन भनेर पनि प्रश्न गरेका छन् । अब यो प्रश्नको उत्तर मिट्ठूसँग नै रहने भयो ।

अजीको कथा त्यस्तो नौलो त हैन । हामी धेरैले आफ्नो घरमा चरा पालेका देखेका नै छौँ । र मिट्ठू जस्तो मैना पनि धेरै देखेका हुन्छौँ । तर, अजीसँग कुरा गर्दै जादा उहाँले हाम्रो समाज कसरी सहरीकरणको नाममा प्रकृति र अरु प्राणी, चरा चुरुङ्गीहरूलाई असहज हुने गरी हामीले आफ्नो जीवनयापन गर्दै छौँ भन्‍नु भयो ।

उहाँ आफ्नो बाल्यकालमा पुग्नु भयो । त्यो बेला घाममा धान सुकाउँदा कति धेरै भंगेरा अनि अरु चरा आएर बिस्कुन खाएर  हैरान गर्थे । तर आजकल चराहरु खासै देखिन्‍नन्, देखिए पनि धेरै कम ।  अजीले हामीलाई पनि सानो छँदाको समयमा लैजानु भयो । हामी शनिबार कौसीमा न्यानो घाम ताप्दै, भङेरा अनि मैना चरीको चिरबिर चिरबिर सुन्दै बिताउँथेँ ।

उहाँको कुराहरु सुन्दै जाँदा म सोच्न बाध्य भएँ, कतै हामी सहरीकरणको नाउँमा अव्यवस्थित हुँदै प्रकृतिसँग झन् झन् टाढा त गइरहेका छैनौं ? अजीको नातीले त मिट्ठू सँग भेट्न पायो, तर के अब भावी पुस्ताले सहरमा देखिने चरासँग भेटघाट गर्न पाउँछन् त ? अहिले न त कुनै चराले गीत गाएको सुनिन्छ, न त देखिन्छ नै । धेरै प्रश्नहरु मनमा खेलाउँदै हामी अजीको घरबाट बिदा भयौँ । अब यो प्रश्न हामी सबै काठमाडौंबासीको मनमा खेलाउने अठोट लिँदै सम्पादनको काम अगाडि बढाउन आफ्नो घरतिर लाग्यौँ ।

पुरा भिडियो: 


Author

सुदिन सुन्दर बज्राचार्य

डकुमेन्ट्री निर्माता/फोटोग्राफर


थप समाचार
x