सप्ताहन्त

‘अछूत’ बनाइँदाका मेरा अनुभव

इकागज |
भदौ १२, २०७८ शनिबार ८:५४ बजे

बाहुन पनि ‘अछूत’ बनाइएको थाहा छ ? मलाई त थुप्रै पल्ट अछूत भएर काढिएको अनुभव छ ! छूत र अछूत भनेर छुट्याउने हाम्रो समाजमा चलेको हरेक चलनले मलाई सानै उमेरदेखि छोयो । म छूत भएर खुसी भएको त मलाई थाहा छैन, तर म अछूत भएर दुःखी भएका उदाहरण चाहिँ थुप्रै छन् । कहिलेकाहीँ त्यस्तो दुःखले मलाई विद्रोही बनायो, भने कहिलेकाहीँ ऐन-कानुनको खोजीमा लगायो । 

तर, मेरो विद्रोह र ऐन-कानुनले मलाई अछूतबाट छूत बनाउन चाहिँ सकेनन् । आफ्नै जीवनको पाँच दशकभन्दा लामो समय बितिसक्यो तर अछूत हुने घटना भने एकपछि अर्को गर्दै घटि नै रहेका छन् । एक प्रकारको अछूतबाट छूत भएको महसुस हुन पाएको हुँदैन, अर्को प्रकारको अछूत हुने घटना घटिहाल्छ । यसरी म छूत र अछूत भएका अनेकौँ घटनामध्ये केही यस्ता छन्, जसले मलाई मानवीय भावनाको भुमरीभित्र विश्वासको किलो गाड्ने बाटो खोलिदिएका छन् ।


म घरको जेठो छोरो, बुवाको प्यारो छोरो । प्यारो पनि किन नहुनु नि, बुवाभन्दा ३९ वर्ष कान्छो छोरो, त्यसमा पनि तेस्रो बिहे गरेपछि मात्र जन्मेको । जता गए पनि बुवाले मलाई छोड्नुहुन्‍न थियो । मलाई बोकेरै हिँड्नुहुन्थ्यो र म पनि बुवालाई छोड्दिनँ थिएँ । 

राति सुत्दा पनि बुवासँगै सुत्थेँ तर भात खाने बेलामा भने मलाई सधैँ बुवाले चुलाको डिलमुनि नै बस्‍न लगाउनु हुन्थ्यो । सधैँ सँगै हुने बुवा मलाई भने छोड्नै मन लाग्दैन थियो र बुवासँग नै बसेर खान खोज्थेँ । बुवा लुगा फुकालेर, धोती फेरेर भात खान बस्‍नु हुन्थ्यो र मलाई चाहिँ ‘यता छुइन्छ है ! पछि व्रतबन्ध गर्नुपर्छ अनि मात्र चुलामा आउन पाइन्छ’ भन्‍नुहुन्थ्यो । म पनि होला भन्थेँ र डिलमुनि नै बसेर भात खान्थेँ । 

पहाडको ठाउँ खेतबारी मैले पनि गर्नै पर्थ्यो । एकदिन खेतमा पानी लगाएर फर्कंदै गर्दा बाटामा पर्ने पँधेरामा गाउँकी एउटी आमैले गाग्रामा पानी भरेर डोकामा बोकेर लान खोज्दा म त्यहाँ पुगेँ । हातखुट्टा धारामा धुनुपर्‍यो भनेर मफलर फुकालेर राख्न खोज्दा मफलरको छेउले उनको डोकाको छेउमा छोएछ ! आमैले त के के हो के के फलाक्तै डोको बिसाइन्, गाग्रीको पानी सबै घोप्ट्याइन् र मलाई ‘मेरो पानी छोइस, पर जा’ भनेर खेदिन् । अनि फेरि गाग्री माझ्न पो थालिन् । अनि फेरि पानी भरिन् र लिएर गइन्, म त ट्‍वाल्‍ल परेर हेरिरहेँ । त्यसपछि मात्र मैले धारामा आफ्नो काम गरेँ ।

हामी हजुरआमालाई ‘हजुरी’ भनेर बोलाउँथ्यौँ । हजुरीलाई बुढेसकालले सताएपछि पँधेरामा गएर नुहाउन छोड्नु भएको थियो । एकदिन हजुरीले पँधेराबाट नुहाउनलाई पानी कसले ल्याइदेला भन्‍नुभयो । त्यतिबेला घरमा मेरी बहिनी र म मात्र थियौँ । बहिनी अलि सानी थिई, ठूलो गाग्रीमा पानी ल्याउनै नसक्ने त्यो पनि धारा अलि टाढा नै थियो ।

बहिनीका आँखामा पानी मैले ल्याइदिए हुन्थ्यो भन्‍ने भाव देखेँ र मैले हजुरीलाई भनेँ, ‘म पानी ल्याउँछु बहिनीले पानी तताउँछे’ । उहाँले मेरो कुरा सोझै नकार्नु भयो र भन्‍नुभयो, ‘तँ गतिछाडा, व्रतबन्ध गरे पनि धोती-कछाड नफेरी भात खान्छस्, तैँले छोएको पानीले नुहाएर म बिटुली हुन्‍न बरु दुलही (मेरी आमा) आउन्जेल पर्खिन्छु । मैले बुझेँ, व्रतबन्ध गरेपछि पनि म त चोखो भएको रैनछु ।

‘म पनि भट्टराई कुलवंशकै छोरो हुँ’ भनेर जिद्दी पनि गरेँ तर मलाई त्यहाँ छिर्न कडासँग रोक लगाइयो । आजसम्म पनि कुलपूजाको त्यो कोठामा के हुन्छ त भनेर जान्‍ने मेरो मन ज्यूँका त्यूँ छ, मैले त्यहाँभित्र हेर्न पाएको छैन ।

हाम्रातिर भट्टराईको देवाली धुमधामसँग हुन्छ अरे, भन्‍ने मैले सुनेको हो तर हेर्न भने पाएको थिइनँ । एकपटक हेर्ने मौका पाएँ, ताप्लेजुङको दोभानभन्दा माथिको खेतमा देवाली हुने भएछ, मोरहाङबाट हामी केही भट्टराई दाजुभाइ बोका लिएर गयौँ । पूजाको व्यवस्थापन राम्रो थियो । विशेष पूजा गर्ने ठाउँमा सेउलाले घेरेर कोठाजस्तो बारेको थियो । त्यहाँ चाहिँ के गर्ने होला भनेर जान्‍न आफूलाई सारै खुल्दुली भयो । के होला त त्यहाँभित्र भनेर हेर्न धेरै कोसिस गर्दा पनि भित्र पस्‍न पाइनँ । ‘म पनि भट्टराई कुलवंशकै छोरो हुँ’ भनेर जिद्दी पनि गरेँ तर मलाई त्यहाँ छिर्न कडासँग रोक लगाइयो । आजसम्म पनि कुलपूजाको त्यो कोठामा के हुन्छ त भनेर जान्‍ने मेरो मन ज्यूँका त्यूँ छ, मैले त्यहाँभित्र हेर्न पाएको छैन ।

म संस्कृतका श्लोकहरूको उच्चारण राम्रो गर्थें रे । गुरुहरूले मलाई श्रीमद्भागवत, महाकाल शनिमृत्युञ्जय स्तोत्र, रुद्री, चण्डीको पाठ गर्नुपर्दा कहिलेकाहीँ मलाई पनि लगाउनु हुन्थ्यो । बाहुनको बिहेमा पढ्नुपर्ने महासङ्कल्प अप्ठ्यारो र लामो हुन्थ्यो । गुरुहरूले ‘यो सङ्कल्प विवाहमा सधैँ काम लाग्छ, तिमीलाई राम्रोसँग पढ्न पनि आउँछ, बेला बेलामा पढ्दै गर्नु र बिहेमा हामीसँग गएका बेला तिमीले नै पढ्नुपर्छ’ भन्‍नुभएको थियो ।

मैले त कण्ठस्थ पारेछु । धेरैवटा विवाहमा मैले त्यो सङ्कल्प कण्ठस्थ पाठ गरेँ । करिब ४० मिनेटमा सकिने कन्यादानलाई चाहिने त्यो सङ्कल्प कण्ठस्थ पारेँ पनि, गुरुहरूले दिएका सबै ज्ञान लिएर पूजा-पाठ गर्न जाने तापनि एक दिन तिनै गुरुले भन्‍नुभयो, ‘तिमी त होटलमा भात खान थालेछौ, अब तिमीलाई कसरी पाठ गर्न लगाउनु, कर्मकाण्डमा चलाउनु, तिमीले छोएको के खानु’ भनेर म पाठ गर्ने कामकै लागि पनि अछूत भएको घोषणा गरिदिनु भयो । 

मेरो गाउँमा एउटी राम्री दिदी थिइन् । माइतमै बस्थिन् । एकदिन उनको छोरो जन्मियो तर छोराको बाबु को हो भन्‍ने कुरामा चाहिँ गाउँलेहरू प्रस्ट रहेनछन् । गाउँका ठूलाबढाले तिनलाई ‘यो बच्चाको बाबु को हो भनेर सोधी खोजी गरे । दिदीले मधेसमा भएको एउटा मान्छे देखाइन् पनि तर त्यो मान्छे को हो भन्‍ने कुरा अरूले चिनेका थिएनन् । उनीहरूको घर मेरो खेत जाने बाटामै पर्थ्यो । सधैँ त्यही घरको बाटो हिँड्ने तर उनीहरूले भने मलाई खासै वास्ता गर्दैन थिए । एकदिन बिहान खेतबाट फर्किंदै थिएँ ‘नानी के छ, कताबाट आयौ, भोकाको जस्तो छै नि ? आज यहाँ हरिया मकै पोलेका छन्’ भनेर तिनै पानी पोख्ने आमैले भनिन् ।

भोकाको रैछु, मलाई पनि लोभ लागेछ, ‘हुन्छ’ भनेँ । अलि धेरै नै मकै थियो टन्‍न अघाएछु पनि । घर आएँ, आमाले ‘खाना खान आइज’ भन्दा ‘म अघाएको छु’ भनेँ । ‘के खाइस्’, भनेर सोध्दा त्यहाँ मकै खाएको कुरा सुनाएँ । त्यसबेला गाउँका केही मान्छे पनि हाम्रा घरमा आएका थिए । 

एकजनाले भने, ’त्यो घरमा जन्मेको बच्चाको न्वारन भएको छैन, न्वारन गर्न बाबु चाहिन्छ, बाबु भेटेकै छैनन् । त्यस्ताका घरको केही खायो भने, जसले खान्छ त्यसलाई गाउँका कुनै पनि घरमा पस्‍न नदिने, उसले छोएको नखाने र समाजबाट बहिष्कार गर्ने । ऐँचोपैँचो, पर्मा, सरसापट, आउने जाने जस्ता कुनै पनि काम नगर्ने भनेर पूरै गाउँले निर्णय गरेको छ । अब तँ पनि यो घरमा छिरिस् भने तिमीहरू सबैलाई गाउँलेले अलग्याउनेछन्’ । त्यसपछि त म आफ्नै घरभित्र पनि छिर्न नपाउने भएर ठूलो संकटमा परेँ, पूरै अछूत भएँ ।

बिस्तारै मधेसमा गएर केही समय बसेँ र पछि काठमाडौँ आएँ । आफ्नो काम पढाइ र जागिर सँगै लानुपर्ने थियो । विस्तारै गाउँका कुरा पुराना भए । स्थानीयसँगको सङ्गत पनि बढ्न थाल्यो । म पनि काठमाडौँकै हुन थालेँ । तारे होटलहरू चहार्नुपर्ने त जागिर नै थियो । विदेशी कम्पनीको कर्मचारी भएर होला विदेशीसँगको भेटघाट र तारे होटलका खानपिन पनि बाक्लिन थाले । लुगा फुकालेर र धोती वा कछाड फेरेर भात खानुपर्ने कतै भएन । 

बिहे काठमाडौँमै गरेँ । श्रीमतीले घरैमा बनाएका अनेकथरी खानेकुराको स्वादले ती तारे होटल र रेस्टुरेन्टका खानेकुराका परिकार र स्वादलाई बिर्साउन थाले । तर, उही श्रीमतीबाट म अछूत हुने शृंखला भने सुरु भयो । महिनावारीका बेलामा हुने अछूतको बारेमा त मलाई थाहा थियो । अष्टमी र पछिल्लो समयमा आएर मङ्गलबार पनि मलाई उसले खाना बनाएको ठाउँ, पूजा गर्ने ठाउँ र पूजाका सामग्रीहरू समेत छुन रोक लाग्यो ।

अहिले कोरोना भाइरसको महामारीले भएको लकडाउनका कारण लामो समयसम्म घरमै बस्‍नुपर्‍यो । छोरो पनि घरैमै भएको बेला कति उसले बनाएका मीठामीठा परिकार मात्रै खानु कुनै दिन त केही मीठो बनाएर उसलाई पनि खुवाऊँ न त भन्यो भने पनि श्रीमती र छोराले मैले बनाएको खानेकुरा छुँदैनन्, खाँदैनन् । किनभने मैले बनाएको खानेकुरा मलाई त मीठो लाग्छ तर उनीहरूलाई मीठो लाग्दैन, खान सक्तैनन् ।

बुवाको १५ दिनको मासिक सकेर काठमाडौँ आउने क्रममा तेह्रथुमको जिरिखिम्तीबाट धरान जाने बसमा चढेको थिएँ । धनकुटा बसपार्कमा पुगेर बस एकछिन रोकियो । बस चढेदेखि नै सँगै बसेको त्यो यात्राको साथी मलाई बाँकी यात्राको शुभकामना दिँदै ओर्लियो । मेरो कपाल खौरिएको थियो, मैले लगाएका सबै लुगा निक्खर सेता थिए । जुत्ता र मोजा पनि सेतै थिए । म भन्दा उमेरले पाँच-सात वर्ष बढी कै जस्ती देखिने एउटी दिदी बसमा चढिन, खाली सिट छ भनेर सोधिन् ।

बसका सह-चालकले म सँगैको खाली सिट देखाए । ती दिदीले अलि नजिक आएर मेरो टोपीदेखि जुत्तासम्मका सबै पहिरन हेरिन् र सोधिन् ‘अर्को सिट छैन ?’ सह-चालकले सोधे, ‘त्यो सिट के भयो ?’ उनले भनिन्, ‘यहाँ छुइन्छ ।’ केही बेरपछि बस धरानतिर हिँड्न लाग्यो । सह-चालकले मभन्दा केही पछाडिको सिटमा बसेको एउटा भाइलाई म सँगैको सिटमा बस्‍न आग्रह गरे र ती दिदीलाई तिनै भाइको सिटमा लगेर राखिदिए । 

म अछूत भएका यीभन्दा नितान्त फरक घटना पनि छन् । तर, अब एकछिन छुवाछूतसम्बन्धी तपाईंलाई लागेका सबै कुरा एकातिर राखेर मलाई बुझाइ हिनुहोस् है, के म अछूत भएको उमेर नपुगेर हो, कि सीप नभएर, कि फरक सोच लिएर हो, अरुको अन्धविश्वास बढेर या त परम्परालाई छोडेर हो वा कसैलाई साथ दिएर कि मलाई शोक परेर हो, कि अरुले विश्वास गरेका कुरामा विश्वास नगरेर कि के गरेर हो, म आफ्नै परिवार, कुलवंश, छरछिमेक, गुरुकुल, हिँडडुल लागतमा अछूत भएको ? मैले को कोसँग कानुनी लडाइँ लड्नुहोला, मेरा बुवासँग कि मेरी हजुरआमासँग कि त मेरा गुरुसँग वा मेरी श्रीमती र छोरासँग कि मेरा गाउँलेसँग वा मेरा बन्धुबान्धवसँग कि बाटो हिड्नेसँग कि मेरो आफ्नै ज्ञान, सीप, स्रोत तथा साधनसँग ? कुनै पनि एउटासँग लड्न मलाई बडो कठिन छ ।


Author

थप समाचार
x