सप्ताहन्त

म ‘पापिनी’ बन्‍न तयार छु

सृजना खड्का |
भदौ २६, २०७८ ८:१३ बजे

‘केटीहरू मात्रै बस्‍नू, केटाहरू सबै बाहिर निस्किनू’ भन्दै एनजीओको एक टोली कक्षा-कोठाभित्र पस्यो । त्यो बेला म रत्नराज्य स्कुलमा कक्षा सातमा पढ्थेँ । एनजीओ टोलीको ‘उर्दी’ सुनेर छात्रहरू लहरै कक्षाबाट बाहिरिए । एकजना भने बाहिर जान मानेन । जिद्दी गरेर ऊ कक्षामै बस्यो । बाहिर गएका साथीहरू पनि ‘भित्र के भइरहेको छ ?’ भनेर कक्षा कोठाका झ्याल-झ्यालबाट चिहाउन थाले । 

तर, उनीहरूबाट त्यो अधिकार पनि खोसियो । झ्यालबाट चिहाउनेले केही नसुनून् भनेर झ्याल-ढोका पूरै बन्द गरियो । कक्षा-कोठा बाहिर भएका विद्यार्थी मात्रै होइन, भित्र भएका हामी पनि उत्तिकै उत्सुक थियौँ ।  हाम्रो उत्सुकता मेटाउँदै एकजनाले भनिन्- ‘आज हामी महिनावारीबारे कुरा गर्दैछौँ ।’ 


ADVERTISEMENT

बल्ल बुझ्यौँ, केटाहरूलाई बाहिर पठाउनु र झ्याल-ढोका ढ्याम्मै लगाउनुको अर्थ । महिनावारीबारे छलफल लामै चल्यो । धेरै साथीले आ-आफ्ना जिज्ञासा राखे । जिद्दी गरी हामीसँग कक्षा-कोठामा बसेका छात्रले पनि आफ्नो प्रश्न राखे, ‘यो केटाहरूले सुन्‍न नहुने कुरा हो ?’ उताबाट जवाफ आयो- ‘पछि आफैँ बुझ्छौँ ।’

छलफल सकियो । बाहिरिएका सबै छात्र एक-एक गर्दै कक्षा कोठाभित्र पसे । सबैले जिद्दी गरी कक्षा-कोठामै बस्ने साथीलाई जिस्काउन थाले । ‘यो त केटी पो रहेछ’, ‘केटीहरूको कुरा सुन्‍न लाज लागेन ?’ यी र यस्ता सवाल उनले स्कुल पढुन्जेल झेलिरहे । 
महिनावारीबारे भएको छलफलमा सहभागी भएकाले उनी मजाकको पात्र बनिरहे । स्कुलमा एनजीओ टोली आएकै महिना म पहिलो पटक महिनावारी भएँ । 

दिदीको महिनावारी कथा
एक दिन दिदीलाई महिनावारीबारे जिज्ञासा राखेँ । ‘मलाई दुई हप्तासम्म अँध्यारो बुइँगलमा लुकाएर राखिएको थियो,’ दिदीले आफ्नो अनुभव सुनाउनुभयो, ‘घरको धुरी, उदाउँदो सूर्य र गाउँका पुरुषहरूलाई हेर्न बन्देज थियो ।’ हे¥यो भने मरेपछि तातो कराहीमा हाल्नेदेखि रगतको पोखरीमा डुबाउनेसम्मका कथा उहाँलाई सुनाइएको रहेछ । 

‘हुन त पहिलोपटक महिनावारी हुँदा २२ दिन लुकाएर राख्‍ने चलन थियो,’ दिदीले भन्‍नुभयो, ‘तर, मेरो परीक्षा भएकाले १४ दिन मात्रै बसेँ ।’ त्यही १४ दिन पनि कहिले जाला जस्तो हुन्थ्यो रे उहाँलाई । ट्वाइलेट घरबाहिर थियो । दिउँसो जान पाइँदैनथ्यो । कोपरा हुन्थ्यो । राति सबै सुतिसकेपछि टाला धुन, कोपरा फ्याँक्न अँध्यारो बुइँगलबाट बाहिर निस्कन पाइन्थ्यो । दिदीको कहालीलाग्दो कथाले मलाई अत्यायो । 

महिनावारीबारेको छलफलमा सहभागी भएकाले उनी मजाकको पात्र बनिरहे ।

त्यसै दिन मैले महिनावारी भएपछि लुकाउने निर्णय गरेँ- ‘मरेपछि जे पर्ला देखा जाएगा । तातो तेलमै फ्राई हुने कि रगतको पोखरीमै डुब्ने । तर, अहिलेका लागि भने चुप बस्‍ने ।’

पहिलोपटक महिनावारी हुँदा
पहिलोपटक महिनावारी भएँ । के गरुँ, कसो गरुँ भयो । एकातिर मरेपछि तातो तेल र रगतको पोखरीले झस्काइरह्यो, अर्कोतिर अन्धकार बुइँगलले डर देखाइरह्यो । यी दुईमध्ये एकलाई रोज्नुपर्दा मैले तातो तेल र रगतको पोखरी रोजेँ । किनकि, महिनावारी लुकाउने निर्णय त पहिला नै गरिसकेकी थिएँ । 

बुइँगलको बसाइबाट मुक्ति पाएकामा एक मन रमाएको थियो, अर्को मनमा भने तातो तेल र रगतको पोखरीको डर कायमै थियो । जसले मलाई सताउनु सतायो । कक्षामा शिक्षकले पढाइरहँदा मेरो ध्यान किताबमा भन्दा तातो तेल र रगतको पोखरीमा डुबिरहेको हुन्थ्यो । सुत्‍ने, उठ्ने, खाने, खेल्ने जतिबेला पनि म यसैबारे सोचिरहेकी हुन्थेँ । बिस्तारै, म साथीहरूबाट टाढिन थालेँ । उनीहरूले बोलाउँदा झस्किन थालेँ । एकोहोरिन थालेँ । लगभग छ महिनाजति बुइँगलको अन्धकारभन्दा पनि भयानक डरको अन्धकारसँग जुधेँ । 

‘साथीसँग मनका कुरा’ 
त्यसताका म रेडियो कार्यक्रम ‘साथीसँग मनका कुरा’ नियमित सुन्थेँ । किशोरकिशोरी र युवा लक्षित कार्यक्रम भएकाले असाध्यै मन पथ्र्यो । कार्यक्रममा नाटक पनि सुन्‍न पाइन्थ्यो । एउटा एपिसोड महिनावारी विशेष थियो । निकै चासो दिएर सुनेँ । महिनावारीबारे नाटक बज्यो । 

नाटक महिनावारी बार्ने चलनविरुद्ध थियो । ‘महिनावारी नबार्दा पाप लाग्छ’ भन्‍ने कुरालाई नाटकले भ्रम बतायो । मिथ्या हो भन्यो । यो सुनेपछि मलाई ठूलो ढाडस मिल्यो । सही निर्णय गरेको भन्‍ने लाग्यो । मनोबल बढ्यो ।

बाबा, म र महिनावारी 
कसैलाई नभन्‍ने निर्णय गरे पनि महिनावारी नबार्न सोचे जति सजिलो थिएन । मेरो बाबा असाध्यै कडा । कुलको धामी । महिनावारी हुँदा उहाँलाई छोयो भने देउता आउँछ भनेको सुनेकी थिएँ । भक्तपुरमा आमाघर (मामा नभएकाले हामी मामाघरलाई आमाघर भन्छौँ) छ । सानैदेखि म आमाघर र काठमाडौँ, बानेश्वरमा सानिमासँग बढी बसेँ । त्यसैले बाबासँग बस्ने मौका कमै मिल्यो । 

घर गएको बेलामा ममीसँग ‘म महिनावारी बार्दिनँ’ भन्थेँ । ‘नबार तर बाबालाई थाहा नदिनू’ भन्‍नुहुन्थ्यो । एकपटक बाबाले थाहा पाउनुभयो । थाहा पाउनेबित्तिकै जनै फेर्नुभयो । नुहाएर ज्यानमा सुनपानी छर्किनुभयो । उहाँले मलाई केही भन्‍नुभएन, मैले पनि उहाँलाई केही भनिनँ । तर, त्योबेला भन्‍न मन लागेको थियो- ‘हजुर काठमाडौँ आउँदा मैले धेरैपटक महिनावारी भएको बेला खाना बनाएर खुवाएकी छु ।’

मैले तातो तेल र रगतको पोखरी रोजेँ । किनकि, महिनावारी लुकाउने निर्णय त पहिला नै गरिसकेकी थिएँ ।

भाइलाई पनि बाबाले कुल धान्‍न, शुुद्ध बनाउन जनै झुन्ड्याइसक्नुभएको छ । तर, बाबाको शुद्ध र जनैधारी छोरा आजभोलि बहिनी र मेरा लागि प्याड बोकेर आउँछ । हट ब्याग किनेर ल्याउँछ । किनभने, महिनावारीको छलफल कक्षाबाट हामीले उसलाई बाहिर राखेका छैनौँ । महिनावारीका सबै अनुभव उसलाई सुनाएका छौँ । 

‘पापिनी बन्‍न तयार छु’ 
ऋषि पञ्चमीको कथाअनुसार ‘महिनावारी बार्दा भएको गल्ती सुधार्न व्रत बस्‍नुपर्छ । खोलामा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्नुपर्छ । ३ सय ६५ पटक गाईको गोबर, माटो र खरानी घसेर नुहाउनुपर्छ । यसो गर्दा महिनावारी हुँदा गरिने पापबाट मुक्ति पाइन्छ । यसो नगरे बाँझी हुने, कुष्ठरोग लाग्ने र अर्को जन्ममा कुकुर्नी भएर जन्मिइन्छ ।’

मलाई लाग्छ, ऋषिपञ्चमी यस्तै-यस्तै मनगढन्ते कथा भन्‍ने दिन हो । महिनावारीजस्तो जैविक प्रक्रियाबारे अनावश्यक त्रास फैलाउने दिन हो, ऋषिपञ्चमी । अबका पुस्ताले यस्ता मनगढन्ते कथा पत्याउनेवाला छैनन् । मैले अहिलेसम्म महिनावारी बारेकी छैन, न ऋषिपञ्चमीको पूजा नै गरेकी छु । न यसको व्रत बसेकी छु । यदि यसो गर्दा ‘पापिनी’, ‘कुकुर्नी’ भइन्छ भने म जे बन्‍न पनि तयार छु ।



Author

सृजना खड्का

स्वास्थ्य तथा सुरक्षा मामिलामा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार