गणेशमान सिंहको २५औं स्मृति दिवस
२०४६ सालको जनआन्दोलनको सेरोफेरोमा गणेशमान सिंहलाई सम्झिदाँ
२०४६ चैत २५ गते देशैभर कपर्यु लागेको थियो । यसै बीच नयाँ प्रधानमन्त्री र मन्त्रीहरूले आन्दोलनका क्रममा पक्राउ परेका महत्वपूर्ण नेताहरूलाई रिहा गर्ने र शीर्ष नेताहरूसँग भेटघाट र सम्पर्क बढाउने काम गरे । यसै क्रममा वामपन्थी नेता पद्मरत्न तुलाधर र कांग्रेसका दमननाथ ढुङ्गाना, वाममोर्चाकी साहाना प्रधानहरूलाई सरकारले रिहा गर्यो । त्यसै साँझ अस्पतालमा रहनुभएका गणेशमान सिंहसँग प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सद्भावना भेट गर्नुभयो । भोलिपल्ट प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुनः वीर अस्पतालमा गएर जनआन्दोलनका सर्वोच्च कमान्डर एवं सर्वमान्य नेता गणेशमानजीलाई भेटी सरकारसँग वार्ताको प्रस्ताव राखे । प्रधानमन्त्रीको प्रस्ताव तत्काल अस्वीकार गर्दै गणेशमानजीले भन्नुभयो– ‘हाम्रो सङ्घर्ष राजासँग हो, तपाईं (सरकार) सँग होइन ।’ प्रतिउत्तरमा प्रधानमन्त्री चन्दले भने– ‘ठीक छ, वार्ता गर्न गणेशमानजीले पुनः भन्नुभयो– ‘पहिला आन्दोलनको माग, पञ्चायतको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापना पूरा भएको सार्वजनिक घोषणा गराउनुहोस् अनि वार्ताको प्रक्रिया शुरू हुन्छ ।’ अब युद्ध जितिसकियो भन्ने चाल पाएपछि सर्वोच्च कमान्डर किन दच्किन्थे ? त्यसमाथि लौहव्यक्तित्व गणेशमान सिंह !
सर्वोच्च कमान्डर गणेशमान सिंहको प्रतिक्रिया लिएर राजदरवार फर्किएका प्रधानमन्त्री राजाको सकारात्मक सन्देश लिएर केही घण्टाभित्रै पुनः वीर अस्पताल फर्किए । (स्मरण रहोस्, त्यस बेलासम्म गणेशमानजीले आफ्ना सहयोगीहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, साहाना प्रधान, राधाकृष्ण मैनाली र झलनाथ खनालसँग बदलिएको परिस्थिति र वार्ताबारे छलफल गरी रणनीति बनाइसक्नुभएको थियो ।) प्रधानमन्त्री चन्दले गणेशमानजीलाई भने– ‘तपाईंका शर्तहरू मान्न सरकार तयार होइबक्सन्छ वार्ताका निम्ति प्रतीक्षारत होइबक्सन्छ । यो सन्देश सुनेपछि गणेशमानजीले प्रधानमन्त्री चन्दलाई भन्नुभयो– ‘राजाको औपचारिक सन्देश आइसकेको छैन । आउला ! ठीक छ । म वार्ताका निम्ति हाम्रा आधिकारिक नेताहरू पठाउनेछु । उहाँहरूसँग कुरा गरेर आजै श्री ५ बाट घोषणा भयो भने म पनि महाराजाधिराजसँग भेट गर्नेछु ।’ यसरी आन्दोलनको माग पूरा नभइसकेको परिप्रेक्ष्यमा आन्दोलनको सर्वोच्च कमान्डर स्वयं राजासँग भेट्न उपयुक्त हुँदैन भनेर उहाँले राजासँग भेट्न समेत परहेज गर्नुभयो । उहाँ प्रत्येक पाइला फुकीफुकी चालिरहनुभएको थियो । प्रत्येक सम्भावित दुष्परिणामबाट आन्दोलनलाई उहाँले बचाइरहनुभएको थियो ।
त्यसपछि गणेशमान सिंहको स्वीकृति लिएर नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइराला तथा संयुक्त वाममोर्चाकी अध्यक्ष साहाना प्रधान र सदस्य राधाकृष्ण मैनाली, चार जना नेताहरू जनआन्दोलनका प्रतिनिधिका रूपमा राजासँग वार्ता गर्न राति ९ बजेतिर नारायणहिटी राजदरवार जानुभयो ।
कर्युले गर्दा घरघरमा थुनिएका जनताबीच नेताहरू राजासँग वार्ता गर्न गएको चर्चा टेलिफोनका माध्यमबाट बिस्तारबिस्तार चल्न थाल्यो । दरवारमा वार्ता शुरू भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्नो नियमित प्रसारणको समय (क्रमशः ११ र १० बजेसम्म) भन्दा पछि पनि कार्यक्रम सञ्चालन गरिरहने सूचना प्रसारित गरे । त्यसपछि अधिराज्यभर नै जनताको उत्सुकताले सीमा नाघ्यो ।
राति ११ बजेर पाँच मिनेट जाँदा राजदरवारको हवाला दिँदै राजनीतिक पार्टीहरूमाथिको प्रतिबन्ध हटाइएको र संविधानमा यसै अनुसार परिवर्तन गरिने घोषणा गरियो । यस सम्बन्धमा राजदरवारबाट प्रकाशित विज्ञप्तिमा भनिएको थियो– ‘आजको अन्तर्राष्ट्रिय वातावरण र नेपालीहरूको एकतालाई समेत विचार गरी नेपालीहरूकै वर्तमान चाहना अनुसार नेपालको संविधान, २०१९ मा रहेको ‘दलविहीन’ शब्द हटाई तदनुसार समाजका विभिन्न विचारधारा प्रतिबिम्बित हुने गरी संविधान सुधार सुझाव आयोगले सुझाव लिई मौसूफका हजूरमा प्रतिवेदन जाहेर गर्नेछ । श्री ५ महाराजाधिराज सरकारबाट लोकसम्मतिमा आधारित राजनीतिक परम्परा र प्रजातन्त्रको आदर्शलाई नै व्यवस्थाको मूल आधार मानी समयसमयमा राजनीतिक सुधार गरिबक्सँदै आएको कुरा सबैमा विदितै छ ।’
यसको लगतै नेपाल टेलिभिजनले जनआन्दोलनका प्रतिनिधिहरूसँग दरवारमै संक्षिप्त अन्तर्वार्ता लिएर तत्काल प्रसारित गर्यो । उहाँहरू चारै जनाले नेपालको संविधानबाट ‘दलविहीन’ शब्द हटाई दलहरूमाथि लगाइएको प्रतिबन्ध समाप्त भएकाले जनआन्दोलन निश्चित रूपमा रोकिएको’ बताउनुभयो । उहाँहरूले वर्तमान सन्दर्भमा राष्ट्रिय पञ्चायतको व्यवस्था कायमै रहनु विरोधाभासपूर्ण देखिएकाले अब पञ्चायत छिट्टै विघटन हुनुपर्छ’ भन्ने माग राजासमक्ष राखेको पनि बताउनुभएको थियो । अन्तर्वार्ताको क्रममा कृष्णप्रसाद भट्टराईले ‘श्री ५ महाराजाधिराज सरकार अत्यन्त सज्जन व्यक्ति होइबक्सन्छ, मौसूफको उदारता र जनताप्रति रहेको उत्कट प्रेमको कारणले नै आज हाम्रो बहुदलको मागलाई स्वीकृति बक्स भएको छ’ भन्नुभयो भने गिरिजाप्रसाद कोइरालाले ‘अहिले हामीले ठूलो शुभ अवसर पाएका छौं, जसको इमानदारीका साथ आपसी मनमुटाव, ईष्र्या, द्वेषलाई त्यागेर राष्ट्रिय सहमतिको आधारमा प्रयोग गर्न हामीले सक्यौं भने नेपालको भविष्य उज्ज्वल हुन्छ र प्रजातान्त्रिक परिस्थितिमा अराजकता फैलाउन खोज्ने तत्वलाई सम्पूर्ण जनता र पार्टीहरू मिलेर एक्लो पार्नुपर्छ’ भन्नुभयो । श्रीमती साहाना प्रधानले ‘राजासँगको पहिलो भेटमा जुन किसिमको वातावरण बन्यो त्यसले नेपाली जनताले चाहेको स्वतन्त्रता र सम्पूर्ण मानव अधिकारहरू प्राप्त गर्ने सम्भावना आफूले देखेको’ स्पष्ट पार्दै ‘जनआन्दोलनमा नेपाली कांग्रेस र वाममोर्चाको एउटै कदम, आवाज र एउटै सोचाइ भएको’ बताउनुभयो भने राधाकृष्ण मैनालीले ‘निर्दलीयताको अन्त्य र बहुदल प्राप्तिको माग अहिले पूरा भएको भन्दै यसलाई हामीले उचित रूपले प्रयोग गर्यो भने नेपाली जनताले खोजे जस्तै राजनीतिक अधिकार उपभोग गर्न पाउनेछन्’ भन्नुभयो ।
यसरी प्रजातन्त्रको स्थापनाका लागि फागुन ७ गतेदेखि चलेको जनआन्दोलन पचासौं दिनमा सफलतामा पुगेर सम्पन्न भयो ।
देशमा राजनीतिक पार्टीमाथिको प्रतिबन्ध हटेको अर्थात् २९ वर्षपछि पुनः बहुदलीय व्यवस्था प्रारम्भ भएको घोषणा रेडियो र टेलिभिजनबाट सुन्नासाथ राजधानीका सम्पूर्ण जनता हर्षविभोर भएर आआफ्नो कौशीमा निस्की नारा लगाउन थाले । असीमित खुशीको कारणले कैयौं मानिस सडकमा उत्रे र नाच्दैगाउँदै हिंड्न थाले । आपसमा अबीर दलादल हुन थाल्यो । तर कर्फ्यु लगाउन खटिएका सशस्त्र प्रहरी र सैनिकहरूले तीमध्ये निकै जनालाई गोली हानेर मारिदिए । उनीहरूलाई कर्फ्यु समाप्त गर्ने आदेश दिइएकै रहेनछ । यसरी यस रात राजधानीको हर्ष, शोकमा परिणत भयो र उल्लास विषादमा बदलियो । आधिराज्यका अन्य शहरहरूमा भने हर्षोल्लास व्यक्त गर्ने क्रम रातभरि नै चलिरह्यो ।
विजय उत्सव चैत २७ गते
सङ्घर्ष, क्रान्ति, आन्दोलन या भनौं प्रतिस्पर्धामा पनि कसैले जित्ने वा कसैले हार्ने वा कसैले कसैलाई उछिन्ने कुरा स्वाभाविक हो । क्रान्ति वा आन्दोलनहरूमा राजनेताहरूले बेलैमा बुद्धि पुरर्याउन सकेनन् भने यदाकदा जित्नेले हार्ने र हार्ने पक्षले जितेका उदाहरण पनि अनेकौं छन् । राजनीतिमा कहिलेकाहीं यस्तो पनि स्थिति आइलाग्छ कि सङ्घर्षरत दुई पक्षमध्ये दुवैले जित्दैन । अन्त्यमा जित्ने त तेस्रो पक्ष पो भयो ! जो असम्बन्धित पक्ष हो । उसले ठाउँ कुठाउँमा आफ्नो टाङ यसरी पसारिदिन्छ कि वास्तविक कर्ताहरू पाखा लाग्दछन् र त्यो तेस्रो पक्ष चाहिं ठालु पल्टिन्छ र उसैले ‘तर’ मार्छ ।
२००७ सालको क्रान्तिको परिणति त्यही परिवेशमा सम्पन्न भएथ्यो । नेपाली कांग्रेसले राणाशासक विरुद्ध क्रान्ति गर्यो । त्यस क्रान्तिमा सयौं नेपाली मारिए । हजारौं घाइते तथा अपाङ्ग भए । लाखौं घरबारविहीन भए । राणाशासक विस्थापित पनि भयो । तर नेपाली कांग्रेस जो विजयी पक्ष हो ऊ स्थापित हुन पाएन । हार्ने पक्ष विस्थापित त भयो तर जित्ने पक्ष स्थापित हुन पाएन । स्थापित त भयो तेस्रो पक्ष अर्थात् राजा त्रिभुवन र भारत ! राजा त्रिभुवनको काँधमा बन्दूक राखेर भारतले सबैलाई कजायो । कांग्रेसले के गरोस् ? नखाऊँ दिनभरको शिकार; खाऊँ भने कान्छा बाबुको अनुहार ! के गर्ने ? हो यस्तो सङ्घर्षमा त्यस्तो अवस्था पनि आइलाग्न सक्छ । राजनेतालेसावधान हुनुपर्ने अवस्था यस्तैमा हो ।
आज चैत २७ गते पुनः त्यस्तै २००७ सालको जस्तो अवस्था कहीं नआइदियोस् भनेर सर्वमान्य नेता गणेशमान सिंह अत्यन्त सजग हुनुहुन्थ्यो । विजयश्रीको समाचारले उहाँलाई प्रसन्न तुल्याएको त हो तर उहाँ आफ्नो प्रसन्नतालाई पनि सावधानीपूर्वक खटाईखटाई अभिव्यक्त गरिरहनुभएको थियो । पहिलो चरण अर्थात् राजा– कांग्रेसको वार्ताकै बहानामा तेस्रो शक्ति (विदेशी) को प्रवेश हुन सक्दथ्यो । त्यो सम्भावनालाई गणेशमानजीले बडो जुक्तिपूर्वक टाढै राख्नुभयो र राजाकै दरवारमा वार्ता गराएर एउटा निष्कर्षमा पुर्याइदिनुभयो । फलतः दलमाथिको प्रतिबन्ध राजाले तत्क्षण हटाए ।
अझै एउटा माग जिउँदै थियो । त्यो थियो– पञ्चायती व्यवस्थाको अन्त्य । त्यो नभएसम्म गणेशमानजीले चैनको सास फेरिरहनुभएको थिएन । त्यसैले यही चैत २७ गते नै उहाँले अर्को एउटा भावोत्तेजक वक्तव्य प्रकाशित गर्नुभयो । उक्त वक्तव्यको पूर्ण पाठ यस्तो थियो–
‘प्रजातान्त्रिक सङ्घर्षको लामो इतिहासको क्रममा सदैव अग्रपंक्तिमा रहेको नेपाली कांग्रेस नेपालमा पूर्ण प्रजातन्त्र स्थापना गर्ने महान् यज्ञमा आफ्नो अग्रणी भूमिका खेल्ने दृढतालाई कायम नै राख्न चाहन्छ । इतिहासले सुम्पेको यो महान् दायित्वलाई हामीले अतीत कालका कठीनतम घडीहरूमा सबै थोकको बलिदान दिएर वहन गरेका थियौं भने देशको नियति र भविष्यप्रति जिम्मेवार रहेको एक मात्र पार्टीको नाताले भविष्यमा पनि उत्तिकै समर्पणका साथ पूरा गर्दै जानेछौं भन्ने हाम्रो सङ्कल्पमा कसैले पनि शङ्का नगरोस् ।
‘वर्तमान संविधानबाट दलविहीन शब्द झिकिनासाथै र राजनीतिक दलहरूमाथिको प्रतिबन्ध फुकुवा हुनासाथै प्रजातान्त्रिक आन्दोलनको काम पूरा भइसक्यो भन्ने भ्रमको शिकार न त नेपाली कांग्रेस छ न यसलाई सम्झौतावादी भन्ने अन्यायपूर्ण आरोप लगाई हिंड्नेहरूलाई यो सुहाउने कुरा हो । राजनीतिक दलहरूको विद्यमानतालाई स्वीकार गरेर यसका झन्डा र साइनबोर्ड जस्ता प्रतीकचिह्नहरू फर्काइँदैमा प्रजातन्त्रको पुनःस्थापना भयो भन्ने मोहजालमा नेपाली काङ्ग्रेस कहिल्यै फसेको छैन । जनताबीचबाट उब्जिएको यो सङ्घर्षशील पार्टीलाई आमनेपालीहरूको राजनीतिक चेतनाको स्तरको पूर्ण ज्ञान छ । जनता अब ठगिन सक्तैनन् । तिनीहरूले ठगिएको अनुभूति लिन बाध्य भएको अवस्थामा भोलि जनआक्रोशले के कस्तो रूप लिन सक्तछ र त्यसको वेगले ककसलाई कतातिर हुत्याइदिने हो भन्ने स्थितिबोध अब त सबैलाई भएकै हुनुपर्दछ भनी म आशा गर्न चाहन्छु ।
‘बहुदलीयताको सिद्धान्तलाई आगामी दिनहरूमा तर्जुमा गरिने शासनविधानमा कसरी र कुन हदसम्ममा इमानदारीपूर्वक समाहित गरिन्छ, त्यसै अनुरूपको प्रतिउत्तर नेपाली काङ्ग्रेसको हुनेछ । तसर्थ म भन्छु, प्रजातान्त्रिक संघर्ष जारी नै छ, यसको परिवेश र प्रकटीकरणको स्वरूप अहिले भिन्न छ । प्रजातन्त्रको पुनःस्थापना र आफ्नो नियति निर्धारणमा पूर्णतया सहभागी हुने नेपाली जनताको नैसर्गिक अधिकार पुनर्प्राप्ति नभएसम्म समय, परिस्थिति र अनुकूलता अनुसार सङ्घर्षको स्वरूप निरूपण गर्ने विकल्पहरूलाई नेपाली कांग्रेसले आफूमै सुरक्षित राखेको छ ।
‘दलविहीन शब्द झिकेपछि वर्तमान पञ्चायती संविधान एउटा विरोधाभासपूर्ण खोक्रो दस्तावेज भएको र यसका सञ्चालकहरूको संवैधानिक वैधता समाप्त भइसकेको तथ्य निर्विवाद छ । तथापि, विरोधाभासलाई टिकाइराख्नाले हाम्रो नोक्सानी भएर टिकाइराख्नेहरूको इमानदारी, विश्वसनीयता र परिवर्तित परिस्थिति अनुरूप आचरण गर्ने इच्छा नै शंकाको विषयवस्तु हुन जानेछ । ठगिंदा–ठगिंदा पाको भइसकेका, चार दशकदेखिको षड्यन्त्र, फरेब र विश्वासघातले सचेत भइसकेका नेपाली जनताको सम्मान गर्ने इमानदारीपूर्ण संस्कारको म अपेक्षा गर्दछु । यो युगका नेपालीहरू न त कमारा हुन् न रैती नै । तिनीहरूको एक मात्र चाहना राष्ट्रनिर्माणमा पूर्णतः सहभागी बन्न पाएका सम्मानपूर्ण नागरिक बन्नु हो । यो चाहनालाई पूरा गर्ने सङ्कल्पबाट नेपाली कांग्रेस यथावत् अविचलित छ ।’
गणेशमानजीको वक्तव्यले एकातर्फ राजालाई बाँकी माग पूरा गर्न पर्याप्त दबाव सिर्जना गर्यो भने अर्कोतर्फ नेपाली जनता जो विजयोल्लसित मनोभावनाले रमाइरहेका थिए, तिनलाई सावधान पनि गराएको थियो । २६ गते रातिको राजाको शाही घोषणा सुन्नासाथ आमजनता सडकमा विजयोल्लास व्यक्त गर्न चाहन्थ्यो तर कर्युका कारण मन खोलेर बाहिर निस्कन पाएका थिएनन् । २७ चैतको बिहानै सेनाले कपर्यु हटायो, त्यसपछि त जनसागर नै उर्लियो–विजय उत्सव मनाउन ।
बिहान ६.३० बजे बल्ल रेडियो नेपालले कपर्यु समाप्त भएको घोषणा गयो । त्यसपछि राजधानीका सडकहरूमा उल्लसित जनसमुदायको समुद्र उर्लियो । पार्टीका झन्डाहरू बोकेका, झन्डाकै लुगा लगाएका, अबीरले पुरिएका, हरेक वर्ग, उमेर र समुदायका जनता एकअर्कालाई बधाई दिँदै, अभिनन्दन गर्दै, बहुदलीय व्यवस्थाको स्वागतमा गदगद भएर गगनभेदी नारा लगाउँदै, गीत गाउँदै, नाच्तै, प्रजातन्त्रको असीम उल्लास प्रकट गर्दै जताततै हर्षविभोर जुलूसमा परिणत भए । तानाशाहीबाट मुक्ति र स्वतन्त्रता प्राप्तिको हार्दिक प्रसन्नता एक–एक नेपालीमा अटाईनअटाई छचल्किरहेको थियो । यस्ता जुलूस अधिराज्यका सबै भागमा निस्के र सर्वत्र प्रजातन्त्रको स्वागतमा विशाल आमसभाहरू भए ।
दिन जति छिप्पिदै गयो, जनताको हर्ष र उल्लास उति बढ्दै गयो । राजधानीका सडकहरू पनि अबीरले रङ्गिए । सडक, गल्ली र घरहरू चारतारे र हँसिया हथौडाअंकित राता झन्डाहरूले भरिए । काठमाडौंमा उर्लिएको ‘न भूतो न भविष्यति’, त्यो अथाह, अपार जनसमुदाय ब्यान्ड बाजार नौमती बाजा बजाउँदै, लोक र आधुनिक नृत्यहरू गर्दै अनन्त जुलूसका रूपमा शहर परिक्रमा गर्दै रह्यो । मोटरसाइकल, कार, ट्याक्सी, ट्याम्पो, भ्यान, जीप, बस, मिनिबस, ट्रक कुनै पनि सवारी साधन जुलूसमा सम्मिलित नभएको थिएन । अरू सारा संसार बिर्सेर सबै प्रजातन्त्रको स्वागतमा मग्न भए ।
काठमाडौंको कुनाकुनाबाट निस्किएका लाखौं जनताका जुलूसहरू थालीमा परिणत भए र तिनले तीनै शहरको परिक्रमा गरी अन्ततः दिनको ३ बजेतिर खुलामञ्चमा आयोजना गरिएको आमसभामा सम्मिलित भएको थियो । खुलामञ्चमा जनता नअटाएपछि खुलामञ्चका दायाँबायाँका चौडा सडकहरू पनि भरिभराउ भएका थिए । उक्त ऐतिहासिक सभालाई सम्बोधन गर्ने क्रममा सर्वमान्य नेता गणेशमान सिंहले भन्नुभएको थियो– ‘हामीले मागेको बहुदल हो, त्यो पाएका छौं । अरू कुरा पूरा हुन बाँकी छ । त्यसपछि मात्र पूर्ण प्रजातन्त्र आउँछ । त्यसका निम्ति सबै एकजुट भएर लाग्नुपर्छ ।’ नेपाली कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष मार्शलजुलुम शाक्यको सभापतित्वमा भएको त्यस आमसभामा पार्टीका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई, महामन्त्री गिरिजाप्रसाद कोइराला, जगन्नाथ आचार्य, हरिबोल भट्टराई, मङ्गलादेवी सिंह, बलबहादुर के.सी., बालकृष्ण खाण, संयुक्त वाममोर्चाकी अध्यक्ष साहाना प्रधान, मानार्थ अध्यक्ष तुलसीलाल अमात्य, पद्मरत्न तुलाधर, निर्मल लामा, कृष्णराज बर्मा, विष्णुबहादुर मानन्धर, वरिष्ठ वामपन्थी नेता मनमोहन अधिकारी, मालेका झलनाथ खनाल आदिले सम्बोधन गर्नुभएको थियो । सबैले जनआन्दोलनमा जनताको विजय भएको र यसको उपलब्धिलाई संस्थागत गर्न अथक प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
सम्बोधनको क्रममा गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो– ‘यो जीत हामी प्रजातन्त्रवादीको मात्र होइन, राजाको पनि जित हो । पञ्चायतको पनि हो ।’ कोइरालाको यो अभिव्यक्ति सुन्नासाथ आमश्रोता आक्रोशित भयो । तिनले कोइरालाको हुर्मत लिए । सभामा कोलाहल मच्चियो । कोइराला बोल्न चाहन्थे तर जनताले उनलाई बोल्न दिएनन् । जनतालाई शान्त हुन वामपन्थीका तर्फबाट काठमाडौंका पद्मरत्न तुलाधर र कांग्रेसका तर्फबाट हरिबोल भट्टराईले ठूलो मेहनत गरे । जनता केको शान्त हुनु ? अझ उग्र भए । अनि कृष्णप्रसाद भट्टराईले आफै उठेर प्रयत्न गर्नुभयो, तर त्यो पनि व्यर्थ नै साबित भयो । आखिरमा स्वयं गणेशमानजी ड्यासमा उभिएर तिनै चिच्याइरहेका आमजनतालाई फट्कार्दै भन्नुभयो– ‘तपाईंहरूले देशमा प्रजातन्त्र ल्याउन र मानव अधिकार स्थापित गर्न बलिदान दिनुभयो तर एउटा व्यक्ति वा नेताले बोलेको सुन्ने धैर्य पनि लिन सक्नुभएन ? तपाईंहरूलाई कसरी प्रजातन्त्रवादी भन्ने ? एउटा व्यक्तिलाई आफ्नो मनमा लागेको कुरा बोल्न पनि दिइँदैन भने कस्तो प्रजातन्त्र खोजेको हो हामीले ? यदि तपाईंहरू प्रजातन्त्रवादी हो भने धैर्य गरेर सबैको कुरा सुन्नुहोस् ।’ कसैको पनि कुरा सुन्नै नचाहने तिनै जनता गणेशमानजीको चाहिं फट्कार सहेर बस्यो । त्यसपछि क्रमिक रूपले सबै शान्त भए । अन्ततः कार्यक्रम शान्तिपूर्वक सम्पन्न भयो । यो घटनाले दुइटा कुरा प्रस्ट भयो । पहिलो कुरा के भने जनता राजा र पञ्चायतको नामै सुन्न चाहँदैन । दोस्रो कुरा– गणेशमान सही अर्थका जननेता हुन् । उनी आमजनताको प्रवाह विपरीत (Anti-current) पनि जाने हैसियत राख्छन् । यदि त्यसो नहुँदो हो त, अरूले अनुनय–विनय गर्दा समेत शान्त नहुने आमजनता गणेशमान सिंहको चाहिं फट्कार सहेर चुप्प किन बस्थे ? बस्यो त ! यसबाट पनि प्रमाणित हुन्छ कि गणेशमानजी जननेता मात्र होइन, उहाँ सही अर्थको सर्वमान्य नेता नै हुनुहुन्थ्यो ।
(गणेशमान सिंहसँग निकट रहेर काम गरेका ढकालद्वारा लिखित पुस्तक ‘लौहपुरुष’ मा समावेश जनआन्दोलन : २०४६ परिच्छेदबाट साभार अंश ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया