सप्ताहन्त

किताबी कुराकानी

बाजुरामा स्कुल पढ्दा कोर्सबाहिरका कुनै किताब पढेको याद छैन

ट्वीटर र इन्स्टाको जमाना, छोटो–छोटो पढेर धारणा बनाउने !

विमल आचार्य |
असोज ९, २०७८ ८:३० बजे

मानव विकास सूचकांकमा पुछारतिर रहेको बाजुराको पनि पुछारतिर कोल्टीमा जन्मी–हुर्की त्यहीँबाट विद्यालय शिक्षा पूरा गरेका अंगराज तिमिल्सिना आफ्नो एक बारको जुनीमै १७औँदेखि २१औँ शताब्दीको जिन्दगी भोगिरहेका छन् । अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेपछि डाक्टरीतिर तयारी गर्दागर्दै उनले बाटो मोडे, त्रि–चन्द्र कलेजबाट अर्थशास्त्र र गणित विषय लिएर स्नातक टप गर्दै अमेरिकाको थिंक ट्यांक र्‍यान्ड कर्पोरेसनअन्तर्गतको ग्य्राजुएट स्कुलबाट डाक्टरी उपाधि लिए । आर्थिक नीति विश्लेषणमा विद्यावारिधि गरेका तिमिल्सिना हाल संयुक्त राष्ट्र संघअन्तर्गत रहेर ४० भन्दा बढी देशको चिन्ता–चिन्तन गर्छन्, एक सयभन्दा बढी देश डुलिसकेका छन्। अंगराजले झन्डै दुई तिहाइ दुनियाँमा नीतिगत सल्लाहकार भई राज गरेका छन् तर नेपालमा भने उनको रजगज खासै देखिँदैन । स्कुल पढ्दासम्म कोर्सबाहिरका किताब पढ्ने अवसर नपाएका तिमिल्सिना किताबी–किरो हुन् । पढ्नुहोस्, तिमिल्सनासँग विमल आचार्यको किताबी कुराकानी :

पछिल्लो पटक कुन पुस्तक पढ्नुभयो ? 
‘फिफ्टी सिक्रेट्स् अफ सिंगापुर्स सक्सेस’ पढेँ । 


कस्तो रहेछ यो किताब ?
किताब धेरै नै मन पर्‍यो । मैले त्यो किताब पढिसकेर नेपाली कांग्रेसका नेता गगन थापालाई दिएँ । अक्सर सिंगापुरको सफलताको श्रेय त्यहाँका प्रधानमन्त्री ली क्वान युको नेतृत्व, उनको ‘भिजन’ र ‘टिम’लाई दिने गरिन्छ । सन् १९६५ मा पाँच सय डलरभन्दा अलि बढी प्रतिव्यक्ति आय भएको सिंगापुर सन् २०१८ मा आइपुग्दा झण्डै ६५ हजार डलरको आयमा पुग्नुमा खास ‘सिक्रेट्’ के हो ? सिंगापुरको शिक्षा, स्वास्थ्य, यातायात, विमानस्थल, ‘पोर्ट’, वित्तीय क्षेत्र, ‘टेक्नोलोजी र इनोभेसन’को क्षेत्र विश्वका उत्कृष्टमध्येमा पर्नुको रहस्य के हो ? विकासका कुन–कुन क्षेत्रलाई सिंगापुरले प्राथमिकतामा राख्यो ? कुन परियोजनाले राष्ट्रको विकासमा फड्को मार्न सहयोग गरे भन्नेबारे यस किताबमा ५० वटा कुराको राम्रोसँग बयान गरिएको छ, जसलाई सिंगापुरको सफलतामा ‘फिफ्टी सिक्रेट्स्’ भनिएको छ । 

यहाँ त दुनियाँभर डुलिरहनुहुन्छ क्यारे, साथमा कुनै त्यस्तो किताब पनि बोक्नुहुन्छ कि ? 
किताब बोकेरै हिँड्ने बानी त छैन । एक चोटि किताब पढ्न थालेपछि अक्सर पढेरै सिध्याउँछु । किताब पढेर सकेपछि म सकेसम्म त्यो किताब अरुलाई दिन्छु, ‘होर्डिङ्’ गर्ने बानी छैन । तर सुशील शर्माजीले म अघिल्लो चोटि नेपाल आउँदा परमहंस योगानन्दको जीवनसम्बन्धी ‘अटोबायोग्राफी अफ अ योगी’ किताब दिनुभएको थियो । 

धर्म कुनै व्यक्ति र उसको भगवान्बीचको सम्बन्ध हो भन्ने लाग्छ, मलाई । योग (अचेल योगा बढी सुनिन्छ) शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यको सन्तुलनको विधि वा माध्यम ठान्छु म । म त्यति धेरै धार्मिक वा आध्यात्मिक होइन, तर सुशीलजीले ‘यो किताब अमेरिकाको आइफोन बनाउने याप्पल कम्पनीका संस्थापक स्टिभ जब्स, भारतका क्रिकेट कप्तान विराट कोहली आदिले मन पराएको किताब हो, एकचोटि पढेर हेर्नुहोस्’ भन्नुभयो । यो किताबको अंग्रेजी भाषा अलि सजिलै नबुझिने र जटिल खालको भएकाले मैले दुई–तीन चोटि दोहोर्याएर, तेहर्याएर पढेँ । 

योगीको आत्मकथा पढ्दै जाँदा समग्रमा जीवनको उद्देश्य के हो ? मान्छेले भित्री शान्ति कसरी प्राप्त गर्न सक्छ ? खुसी र सुख के हो ? यी कसरी प्राप्त हुन्छ ? यस्ता विषयमा यो किताबबाट धेरै ज्ञान मिल्यो । करिब छ महिना पहिले नेपालका उनै एक वरिष्ठ पत्रकार सुशीलजीको स्वर्गवास भयो । अहिले म उहाँकै सम्झनाका कारणसमेत यो किताब बोकी हिँड्छु ।

यहाँको पठनमा कागज–इकागज, मैले भन्न खोजेको हार्ड कपी–सफ्ट कपी, पठनमा प्रविधिको प्रयोग के–कस्तो छ ?
म अहिले किताब ‘आइप्याड्’मा ‘डाउनलोड्’ गरेर पनि हेर्ने गर्छु । केही किताब त साइकल चलाउँदा, हिँडडुल गर्दा वा ‘एक्ससाइज’ गर्दासमेत ‘अडिओ’मा सुन्ने गर्छु । अनलाइनबाट पाइने किताब ‘पेपर ब्याक’भन्दा सस्ता पनि हुन्छन् । 

पढ्दापढ्दै थाँती राखेका किताब सम्झिनुहुन्छ ? 
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ‘अ प्रमिस्ड ल्यान्ड’ संस्मरण । मेरो आइप्याडमा यसको ‘सफ्ट कपी’ पनि छ, तर किन हो कुन्नि, उनका यसअघिका दुइटा किताब ‘द ओडासिटी अफ होप’ र ‘ड्रिम्स फ्रम माई फादर’ पढ्न जति आतुरी थियोे, त्यत्तिकै चाख यसमा भएन ।

यहाँले कुन किताब पटकपटक पढ्नुभयो होला ?
पाँच–छवटा किताब छन्, मैले धेरै चोटि पढेका । देवेन्द्रराज पाण्डेको ‘नेपाल्स फेल्ड डिभलप्मेन्ट’, कुलचन्द्र गौतमजीको ‘लस्ट इन ट्रान्जिसन’, नारायण वाग्लेजीको ‘पल्पसा क्याफे’, एसेमुग्लु र रबिन्सनको ‘ह्वाई नेसन्स् फेल’, माल्कम ग्लाड्वेलको ‘आउटलायर्स ः द स्टोरी अफ सक्सेस’ र विलियम पाउन्ड्स्टोनको ‘हाउ टु प्रेडिक्ट एभ्रिथिङ’ । 

बाजुरातिर फर्काैं, बच्चा बेलाको पहिलो पठन सम्झिँदा कुन किताब सम्झिनुहुन्छ ?

बाजुरामा स्कुल पढ्दा कोर्सका पाठ्यपुस्तकबाहेक खासै अरु किताब पढेको याद छैन । पछि काठमाडौंमा पढ्न आएपछि बीपी कोइरालाका सबै किताब धेरैचोटि पढेको छु । त्यो बेला जतिचोटि पढे पनि धीत नमरे जस्तो हुन्थ्यो, विशेष गरी उनका मनावैज्ञानिक साहित्यका किताब । सायद भर्खर युवा अवस्थामा प्रवेश गरेकाले पनि होला, उनका किताब स्वादले पढियो । बीपीको साहित्यले काल्पनिक संसारमा लगेर मनभित्र कुण्ठित भएका भावना र चाहनालाई उन्मुक्तिसाथ कथा र उपन्यासमा व्यक्त गर्ने भएकाले धेरैलाई पढ्न रुचि बढ्नु स्वाभाविक हो भने बीपीको राजनीतिक र आर्थिक दर्शनले भने विश्व र नेपालको यथार्थलाई व्याख्या गर्न सघाउँथ्यो । 

यहाँले उपहार दिएका–उपहार पाएका किताब ?
आफूले उपहार पाउनेभन्दा अक्सर मैले नै धेरैलाई किताब दिएको छु होला कि ! किताब उपहारमा कमै पाइन्छ । यसको एउटा कारण, अक्सर चर्चामा आएका किताब पढिहाल्ने बानी छ । मलाई दुई जना साथीले मन परेका दुई किताब दिएका छन् । एउटा ‘फिक्सन’मा आधारित ‘द गर्ल अन द ट्रेन’ । यसको पछि चलचित्र पनि बन्यो । अर्काे स्टेफन हकिङ्सको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम फ्रम द बिग ब्याङ टु ब्ल्याक होल्स’ । मेरो गणित र विज्ञानको ‘ब्याकग्राउन्ड’ भएकाले होला, हकिङ्सको किताब धेरै मन पर्यो । ब्रह्माण्ड कसरी सुरु भयो ? समय कसरी सुरु भयो ? ‘ब्ल्याक होल’ के ? के ब्रह्माण्ड फैलिँदै गएको छ ? ‘स्पेस’ र ‘टाइम’को कुरा गर्दा कुन ‘स्पेस’ कति ‘स्पिड’मा छ भन्ने कुराले कोही कति छिटो बूढो हुने कुराको निर्धारण हुने आदि कुरा पढ्दा धेरै रोचक लाग्छ, यो किताबमा ।

पढ्न मन लागेर नपाएको किताब ?
म्याक्स विलीले सन् १९३४ मा लेखेको ‘हिन्दू हेभन’ भन्ने किताब । अमेरिकी ‘मिसिनारिज’ले भारतमा गरेको कामबारेको उपन्यास हो यो, जुन किताब भारतमा प्रतिबन्ध गरिएको थियो । यो किताब राम्रो वा नराम्रो भन्दा पनि यसमा खास के लेखिएको रहेछ भन्ने मेरो खुल्दुली हो ।

किताब अक्सर कसरी छान्नुहुन्छ, कहाँ किन्नुहुन्छ ?
अक्सर म यात्रा गर्ने भएकाले विमानस्थलका किताब पसलतिर किन्छु तर कुनै कुनै सहरमा ‘विन्डो सपिङ’ गर्दै जाँदा किताब पसलभित्र छिरेर पनि किन्ने गरेको छु । आजभोलि त कुनै किताब लोकप्रिय छ र मेरो चासो जागेमा ‘अनलाइन’बाट पनि किन्छु ।

कुन समय धेरै किताब पढ्नुभयो ?
मैले धेरै किताब सायद सन् २००० देखि सन् २००७ सम्म पढेँ । मैले विद्यावारिधि गर्ने बेला आफ्नो कोर्सका किताब पढ्दा झ्याउ लाग्यो भने पुस्तक पसलतिर गएर नयाँ किताब ‘सेल्फ’बाट तानेर त्यही पसलको छेउछाउमा घण्टौं बसेर किताब पढेर सिध्याउँथे । इच्छा छ भने किताबै किन्नुपर्छ भन्ने छैन । पढ्नका लागि लाइब्रेरी वा किताब पसल पनि जान सकिन्छ ।

यहाँलाई मन परेको पुस्तकालय ?
विश्वमा ‘वाओ’ भन्ने पुस्तकालय त वासिंटन डीसीमा रहेको ‘दी लाइबे्ररी अफ कंग्रेस’ नै हो । त्यसपछि म सान्टा मोनिका क्यालिफोर्नियामा बस्दा युनिभर्सिटी अफ क्यालिफोर्निया एट लस एन्जलस (युसीएलए) को पुस्तकालय पनि खुब मन पथ्र्याे । तर पुस्तकालयसँगको मेरो पहिलो साक्षात्कार चाहिँ हाम्रै त्रिभुवन विश्वविद्यालयको पुस्तकालय हो । 

पुस्तकालयसँगका कुनै रमाइला अविस्मरणीय क्षण सम्झिनुहुन्छ ?
दी लाइबे्ररी अफ कंग्रेसले हरेक दिन १२ हजार नयाँ ‘आइटम’ (किताब, फोटो, भिडियो, नक्सा आदि) आफ्नो भण्डारमा थप्छ भनिन्छ । सन् २०१८ मा १७ करोड भन्दा बढी ‘आइटम’ थिए भनिन्छ । त्यही लाइब्रेरी अफ कंग्रेसबाट एक पटक जानेर हो या अन्जानमा, हाम्रा नेपाली राजदूतले एउटा किताब लुकाएर बाहिर लिन खोजेको किस्सा कहिलेकाहीँ ‘डिप्लोम्याटिक सर्कल’मा चलेको पाइन्थ्यो ।

पुस्तक किन्नुअघि समीक्षा पनि पढ्नुहुन्छ ? 
कुन किताब पढ्ने भन्ने निर्णय प्रायः समिक्षा पढेर नै गर्छु । यद्यपि आफूले चिने–जानेका लेखकका किताब भने समीक्षा नहेरेर नै पढिन्छ ।
किताब पढिसकेपछि राम्रो लागेका किताब अरुले पनि पढून् भन्ने लाग्दा के गर्नुहुन्छ ? पुस्तकबारे प्रतिक्रिया–समीक्षा लेख्नुहुन्छ ?
आफूले पढेका पुस्तकबारे प्रतिक्रिया–समीक्षा त लेख्दिनँ, तर अघि भनेजस्तै आफूले पढिसकेपछि ती पुस्तक अरुलाई दिने गर्छु । त्यो पनि कुन किताब कसलाई मन पर्छ होला भन्ने आँकलन गरेर दिन्छु । 

यहाँलाई पुस्तक पढूँ पढूँ लाग्ने प्रिय समय कुन हो ?
यात्रा गर्दा प्लेनमा कि त किताब पढ्ने कि ‘मूभी’ हेर्ने बानी छ, तर कुनै किताब राम्रो लागे नसकिन्जेल पढेर सिध्याउँछु । पढ्ने कुनै विशेष ठाउँ वा समय भन्ने छैन । अझ भन्ने नै हो भने मलाई जे काममा रुचि लाग्छ, म धेरै समय खानासमेत नखाई–नसुती त्यही काम गर्ने मेरो बानी छ । यसलाई राम्रो वा नराम्रो के बानी भन्ने ?

यहाँसँग भएको दुर्लभ पुस्तक ? 
खासै दुर्लभ भन्न मिल्न पुस्तक त मसँग छैनन्, तर अर्थशास्त्रका पुराना किताबलगायत मसँग झन्डै १० हजार जति किताब छन् । विभिन्न ठाउँमा स्टोर गरेर राखिएका छन् मेरा किताब । यी किताब म नेपालको कुनै पुस्तकालयलाई दिने पक्षमा छु ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेताहरू पुष्पकमल दाहाल, केपी शर्मा ओली र बाबुराम भट्टराईलाई कुन–कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
२१ सौं शताब्दीको नेतृत्व कस्तो हुनुपर्छ ? विश्वको शक्ति सन्तुलनमा देखिएको परिवर्तनका अतिरिक्त चौथो औद्योगिक क्रान्ति भनेको के हो ? नेतृत्वमा सफल व्यवस्थापन र ‘टीम वर्क’ कस्तो हुनुपर्छ ? ‘इमोसनल इन्टेलिजेन्स’ (भावुक बुद्धिमता) भनेको के हो ? आदि बारेको जानकारी हुन जरुरी छ । हेनरी किसिन्जरको ‘वल्र्ड अर्डर’, मार्टिन जाकको ‘ह्वेन चाइना रुल्स द वल्र्ड’, क्रिस्टोफर कोनर्सको ‘इमोसनल इन्टेलिजेन्स फर द मोडर्न लिडर’, मेट्रका र गाजेस्कीको ‘द फ्युचर अफ पलिटिकल लिडरसिप इन द डिजिटल एज’ र ब्लानचार्ड र जोनसनको ‘द वान मिनट म्यानेजर’ पढ्दा यो नयाँ प्रविधि र नयाँ शताब्दीमा कस्तो नेतृत्व आवश्यक छ त भन्ने धेरै कुरा थाहा हुन्छ ।

यहाँले किनेको सबैभन्दा महँगो पुस्तक ?
हार्ड कभरमा आएका किताब प्रायः महँगा हुन्छन् । आफैँले एउटा च्याप्टर लेखेको सन् २०२० मा आएको ‘ह्यान्डबुक अन करप्सन, इथिक्स एन्ड इन्टिग्रिटी इन पब्लिक एडमिनिस्ट्रेसन’ किताबको एउटा प्रति निःशुल्क पाइयो भने अर्को प्रति २५२ अमेरिकी डलर तिरेर किनेको छु । 

कम होहल्ला भएका गज्जबका पुस्तक(हरू) कुन–कुन लाग्छ तपाईंलाई ?
नेपाली किताबमा अमर न्यौपानेको ‘सेतो धरती’ र युग पाठकको ‘उर्गेनको घोडा’; अंग्रेजीमा रामचन्द्र गुहाको ‘इन्डिया आफ्टर गान्धी’ र उनको किताबको विश्लेषणसँग सहमत नभए पनि नोम चोम्सीको ‘हु रुल्स द वल्र्ड’ किताब ।

तपाईंको पठन मेन्युमा विषय र विधा बढीजसो के छ ?
म अर्थशास्त्र, विकास र सुशासन, फिक्सन, नन–फिक्सन, बायोग्राफी (आत्मकथा) र अन्तर्राष्ट्रिय सम्बन्ध आदि बारेका किताब पढ्छु । एकताका बायोग्राफीमा खुब चाख थियो । आइन्स्टाइनदेखि स्टेफन हकिन्ससम्म, कार्ल मार्क्स, लेनिन, माओदेखि महात्मा गान्धी, मार्टिन लुथर किङ र नेल्सन मण्डेलासम्म, हिटलरदेखि अब्दुल कलामसम्म । कसको जिन्दगीबाट के प्रेरणा पाइन्छ भन्दा पनि मलाई यी असाधारण व्यक्तित्वहरूलाई के मन पथ्र्याे, के मन पर्दैनथ्यो, हामी जस्ता सर्वसाधारण व्यक्तिभन्दा यिनको सोच, जीवनचर्या र निजी जिन्दगीको रोचक पक्ष के थियो त भन्नेबारे जान्ने मेरो खुलदुली थियो ।

तपाईंले पढ्ने जर्नल/अनुसन्धानात्मक लेखन ?
राजनीतिशास्त्र र अर्थशास्त्रका केही जर्नलहरू पढिन्छ, रुचिअनुसार । किताब वा अन्य कुनै अनुसन्धानको विषयवस्तुअनुसार जर्नलको ‘एक्सेस’ गर्ने गरिन्छ । तर नियमित रुपमा फरेन पोलिसी म्यागजिन, दी इकोनोमिस्ट र अरु पपुलर न्युज पेपरका विचार लेख पढ्ने गरिन्छ । अहिले प्रविधि र इन्टरनेटले यति सजिलो बनाइदिएको छ कि आवश्यकताअनुसार पढ्ने कुरामा पहँुच राख्ने हो । पहिलेको जस्तो किताब जम्मा गरेर बस्नुपर्ने अवस्था पनि छैन । त्यही भएर किताबदेखि पत्रपत्रिकासमेत अहिले डिजिटल रुपमा पाइन्छन । धेरै सूचना र ज्ञान त अनलाइन भइयोे भने निःशुल्क पनि पाइन्छ, पैसा तिरेर ग्राहक पनि बनिराख्नु पर्दैन । 

नेपालमा अनुसन्धानात्मक लेखन–पठन कस्तो पाउनुभएको छ ?
बाहिरका प्र्रतिष्ठित जर्नलमा कति नेपाली प्रोफेसर र अनुसन्धानकर्ताका लेख छापिन्छन्, मलाई आँकडा थाहा छैन । बाहिर त कुनै ‘एजुकेसनल इन्स्टिच्युट’को गुणस्तर कुन–कुन जर्नलमा कति लेख वा अनुसन्धानको परिणाम छापिए वा कुनै प्रोफेसरले कुन नयाँ किताब लेखे भन्ने कुराले मापन गर्छ । विशेष गरी राज्यको नीति निर्माण अनुसन्धानमा आधारित वा आँकडा र तथ्यमा आधारित हुनुपर्ने हो । अहिले नेपालमा एमसीसी सम्झौताको खुब चर्चा छ । यसको बहसलाई अनुसन्धानकर्ताभन्दा पनि राजनीतिज्ञले ‘लिड’ गरेको देखिन्छ । हुनुपर्ने चाहिँ अनुसन्धानकर्ताले यसका बुँदा–बुँदा केलाएर सम्भावित फाइदा र बेफाइदाबारे बोलेपछि मात्रै राजनीतिज्ञले त्यसैमा टेकेर निर्णय लिनुपर्ने हो । समग्रमा लेखन–पठन कम भएको भन्दा पनि यसको गुणस्तरमा कमी आएको हो कि ? अर्कोतिर अहिले ट्वीटर र इन्स्टाको जमाना पनि आयो । सकभर लामो नपढ्ने, छोटो–छोटो पढेर त्यसैका आधारमा आफ्नो धारणा बनाउने !

नेपालमा कस्ता पुस्तक लेखिए हुन्थ्यो भन्ने लाग्छ ?
समाजलाई अगाडि बढाउन सबै खाले पुस्तक आवश्यक पर्छ । हाम्रो इतिहास र संघर्ष बुझाउने, समाजमा प्रेरणादायी भूमिका निभाएका व्यक्तिहरूको जीवनबाट आउने पुस्ताले सिक्ने, देशको समाज, राजनीति, विकास र अर्थतन्त्रलाई केलाएर सही दिशा दिन सघाउने आदि सबै खाले किताब आवश्यक हुन्छ । विशेष गरी देशको नीतिलाई योगदान दिन अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक नीति, विकास नीति, सुशासन आदिबारे अनुसन्धात्मक किताब आएनन् भने देशलाई माथि उठाउन सहयोग मिल्दैन । अर्कोतिर साहित्यसम्बन्धी किताबहरूले समाज र मानव जातिको अभिप्रेरणा र सृजनात्मकतालाई जोगाइराख्ने काम गर्छन् ।

कहिल्यै कुनै किताब चोर्नुभएको छ ?
विद्या चोरेर सिके पनि पाप लाग्दैन भनिन्छ, तर मैले किताब चोरेको चाहिँ सम्झना छैन ।
मनमनै पढ्नुहुन्छ, तर सस्वर वाचेर पनि कि ?
धेरैजसो त मनमनै पढ्छु । तर कहिलेकाहीँ स्वर बाहिर निकालेर पनि पढ्न मन लाग्छ ।  

आफूलाई मन परेका केही पुस्तकको नाम लिइदिनुस् न ?
यसमा विधाअनुसार भन्नुपर्ने हुन्छ । फिक्सनमा ह्यारी पोर्टरका सबै किताब र नन–फिक्सनमा युभल नोहा हरारीको ‘स्यापियन्स ः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ अनि जेरी डायमन्डको ‘गन्स, जम्र्स एन्ड स्टिल’ । आत्मकथामा बीपीको आत्मवृत्तान्तदेखि नेल्सन मन्डेलाको ‘लङ वाक टु फ्रिडम’ । नेतृत्वले सकारात्मक वा नकारात्मक पक्ष कता लान्छ भनेर बुझ्न लौरेन्स रीजको ‘हिटलर्स करिस्मा ः लिडिङ मिलियन्स इनटु दी अबिस’ र निर्मल कुमारको ‘माई डेज विथ गान्धी’ । अन्तर्राष्ट्रिय राजनीति र महाशक्तिबारे बुझ्न एन्ड्रु टेलरको ‘द राइज एन्ड फल अफ द ग्रेट एम्पायर्स’ र फ्रान्सिस फुकुयामाको ‘पोलिटिकल अर्डर एन्ड पोलिटिकल डिके’ । 

कुन लेखक भेट्दा धेरै खसी हुनुभयो ?
लेखक भेटेर त्यस्तो ‘वाओ’ भन्ने त भाको छैन तर ‘द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ लेखेर चर्चा कमाएका फ्रान्सिस फुकुयामा पछि मेरो विद्यावारिधिको सल्लाहकार बनेका थिए । उनीसँगै म पनि सह–लेखक भएको दुई–तीनवटा किताब पनि छापियो । 

तपाईं आफूले लेख्न चाहेको वा लेखिरहेको पुस्तक ?
मैले तीनवटा किताब लेख्ने सोच बनाएको थिएँ । निकट भविष्यमा फेरि यी तीन लेखकीय काममा पुनर्विचार गर्न पनि मन छ । 

(१) नेपाल आफ्नो ‘पोटेन्सियल’अनुसार किन बनेन ? 
(२) मैले देखेको संसार : मेरो १०२ देशको यात्राको संस्मरण 
(३) मेरो जिन्दगी : बाजुरादेखि ब्रुकलिन हाइट्ससम्म । 

किताबी कुराकानी अलि लामै भयो, अब एउटा प्रश्‍नमा बिट मारौँ होला । पठनसित जोडिएको कुनै रोचक सन्दर्भ/घटना सुनाइदिनुस् न ।

मलाई जीवनकहानी भएका किताब मन पर्ने भएकाले पढ्दै जाँदा महान् व्यक्तिका रोचक कुरा पनि थाहा पाउँदै गएँ । जस्तो कि, विश्व प्रख्यात वैज्ञानिक आइज्याक न्युटन क्याम्ब्रिजमा पढ्दा खासै मेधावी छात्र थिएनन् । उनले बीए पास गर्दा कुनै ‘अनर’ वा ‘डिस्टिङ्सन’ (विशिष्ट श्रेणी) मा पास गरेका थिएनन् । तर उनले एमए पास गरेपछि मात्र उनको अनुसन्धान र लेखनले उनका प्रोफेसर र सहकर्मीबीच चासोका विषय बने । यसबाट के थाहा हुन्छ भने प्रगतिका लागि मेहनत गर्यो भने केही समय ढिलो भन्ने होला लगनशीलताले लक्ष्य भेटाउँछ । संसारमा ठूलो नाम कमाएका र विश्वलाई वैज्ञानिक क्रान्ति दिने न्युटनको आफ्नो व्यक्तिगत जीवन भने नीरस जस्तै थियो । विवाह नगरेर आजीवन कुमार थिए भनिन्छ, न उनकी कुनै प्रेमिका थिइन्, न त नजिकको कुनै साथी नै ।

गणित र भौतिकशास्त्रकाका प्रतिभाशाली अल्बर्ट आइन्स्टाइन सानोमा स्कुल जाँदा उनी देखी उनका गुरुहरू यति धेरै आहत थिए कि उनले शिक्षकलाई अनगन्ती प्रश्न सोध्थे । उनका शिक्षकहरू आइन्स्टाइनले अरु बच्चा–बच्चीको जस्तै नियम पालन गर्न नसिक्ने हो भने जिन्दगीमा केही गर्न नसक्ने भन्ठान्थे तर आइन्स्टाइन भने सृष्टिको रहस्य पत्ता लगाउन यी प्रश्न सोध्ने काम जारी राखेरै जिन्दगीमा महान् बन्न सफल भए । जुरिकमा रहेको फेडेरल पोलिटेक्निक स्कुलबाट गणित र भौतिकशास्त्रमा एमए गरेर पनि आइन्स्टाइनले सुरुमा पढाउने जागिर नपाएर सानो सरकारी जागिर सुरु गरेका थिए, जीवन गुजारा गर्न । तर यही जागिरले उनको सौखअनुसार गणितीय अनुसन्धानका लागि प्रशस्त समय दिलायो । आइन्स्टाइनको जीवनको अर्को रोचक पक्ष के भने जब जब गणितका गाह्रा प्रश्न हल गर्न नसक्दा उनी भायोलिन बजाउन सुरु गर्थे आफ्नो रचनात्मक र सृजनात्मक कार्यलाई अझ निखार्न । तर आइन्स्टाइनका केही आनीबानी अरुका भन्दा अलि भिन्न थिए । ‘कोन’मा आइसक्रिम खाएर सहर घुम्नु उनको दिनचर्या जस्तै थियो भने दिमागले सोच्ने काममा बाधा हुन सक्छ भनेर उनी मोजा लगाउँदैनथे भने लामा ब्यागी खालका स्विटर र प्यान्ट लगाउँथे ।

५३ वर्षको छोटो उमेर मात्रै बाँचे पनि कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको कलम वा लेखाइमा यति बल थियो कि उनका चिठी वा लेखले जोसुकैलाई अहिल्यै क्रान्तिमा होमियौँ जस्तो हुन्थ्यो । सन् १९१७ मा बोल्सेभिक क्रान्तिको सफलतापछि आफ्नो काम के हो भन्ने उत्तरमा लेनिनले लेखेका थिए, ‘चिठी लेख्नु’ । यथार्थमै लेनिनको कलम कति बलियो थियो भने चाहे पत्रिकामार्फत सम्प्रेषित उनका विचार होऊन् या पार्टीका कमरेडहरूलाई लेखेका चिठी, यिनले आगो पैदा गर्थे र उनका विचार पढ्ने जोसुकै क्रान्तिमा होमिन तत्पर हुन्थे । बोल्सेभिक क्रान्तिका बेला बगेको रगतको खोलोबारे धेरैले यसो पनि भन्छन्– ‘त्यो लेनिनको थिएन, उसको कलमको खराबी थियो ।’



Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार