सप्ताहन्त

ऋग्वेदको नेपाली अनुवाद पढेपछि

राजाराम बर्तौला |
असोज ९, २०७८ ७:३० बजे

स्वामी प्रपन्नाचार्यद्वारा लिखित ‘वेदमा के छ ?’ भन्ने पुस्तक पढेपछि वेदप्रतिको कौतूहल र उत्सुकता बढेर गएको थियो । देवभाषासमेत भनिने संस्कृतको मूल प्रतिलाई सन्धि विग्रह गरेर फुटाएर पढ्न सक्ने सामथ्र्य नभएकाले ‘पुस्तकस्य तयो विद्या’ भएको थियो । सानैमा छ्यासमिसे आधुनिक विद्यामा हात नहालेर गुरुकुलतिर लागेको भए धर्म–संस्कृतिको मियो सनातनी परम्परालाई धान्न सकिने थियो होला कि ? त्यसको पछुतो रह्यो । यसबाट विमुख हुनुपरेको पीडा संस्कृत साहित्यले दिने सन्तुष्टिबाट वञ्चित भइयो । त्यो भाषा जसले मानवीय सभ्यताको ढोका खोल्यो, त्यो कठिन भयो अहिले ।

भन्न चाहिँ आफ्नो वंश परम्परामा यजुर्वेदाध्ययी भनेर भनिन्छ, तर वेदको पुस्तक देखेर नै भाग्नुपर्ने अवस्था छ, यो लेखकको । हामी जस्ताको यही कठिनाइलाई बुझेर होला, चारै वेदको नेपालीमा अनुवाद गरेर प्रकाशन गरी उत्सुक पाठकहरूलाई ठूलो गुण लगाउनुभएको छ विद्वान् तिलकप्रसाद लुइटेलले । 


हुन त यो शब्दानुवाद नभएर भावानुवाद मात्र हो भन्ने कुरा पढ्दै जाँदा खुल्दै पनि जान्छ । कतिपय स्थानमा अनुवादकले संस्कृतको जस्ताको तस्तै शब्दलाई राखिदिनु भएको छ भने कतै कतै अलमल पनि परेको देखिन्छ । एक ठाउँमा त ‘दास र आर्यनहरूविरुद्ध’ भन्ने शब्द परेका छन् । सम्भवतः दास र आर्यनहरूलाई एउटै लहरमा राख्न खोजिएको पक्कै होइन होला भन्ने लाग्छ । तर दास भन्ने शब्द परेको देखिँदा वैदिक कालमा पनि दास प्रथा रहेछ भन्ने मान्नुपर्ने भयो ।  

श्रुतिस्मृति परम्पराबाट पुस्तान्तरण हुँदै आएको वेदमा उल्लिखित भाष्य र कथ्य (कथा भन्ने) पौराणिक परम्पराको निरन्तरता हो युगौंयुगदेखि चल्दै आएको । यसरी हेर्दा सुनाइएका कथाहरूलाई, विम्बका रूपमा प्रयोग गरिएका पात्र या घटनाहरूलाई सम्झना गरेर एउटा गुरुकुलको शिष्यले प्रशिक्षित प्राचार्य बनी आफ्नै गुरुकुल स्थापना गर्दै पूर्वजहरूको अनुभव, मनोभाव, आदर्श, मर्यादा, सिद्धान्त र कौशललाई जीवन्त राख्दै निरन्तरता दिनु एउटा वैभवको कुरा हो र हामीले अहिले गौरव गर्ने विषय पनि हो । वंशपछि वंश, कुलपछि कुल गर्दै प्राज्ञ पठित र दीक्षित ऋषिहरू छन्दबाट मन्त्रहरू सिर्जना गर्दै समाजको अग्रगमनका अध्येता हुन् । वेदलाई लिखित रूपमा संहिताबद्ध गरिनुपूर्व यसले धेरै अवस्था पार गरेर आएको देखिन्छ । 

मानवीय सभ्यताको आदिम युगमा प्रथमतः भाषाको विकास भएको हुनुपर्दछ, संकेतबाट होस् या बोलेर । त्यस्तो भाषा जो परस्परमा बुझिने होस्, समुदायले सरोकार राखोस् र भावनात्मक रूपमा एकताबद्ध गरोस् साथै अन्तरमनको भावनालाई अभिव्यक्ति प्रदान गरोस् । भाषाले, संकेतले, ध्वनिले सञ्चारको विकास गरेको हो । सायद ध्वनिको महत्व धरै नै थियो, भाषाको विकासमा । यो ध्वनिको रूपलाई डिकोड गर्ने काम भने शिवको डमरुले गरेको हो भनेर हामी मान्दछौं । रुद्र, आदित्य, वसु अनि अग्निको उत्पत्तिसहित त्यसै समयबाट वेदको पनि प्रादुर्भाव भएको हुनुपर्दछ । 

बषट्कार भनेर अनेक पटक वेदमा भनिएको छ, तर त्यो बषट्कार के हो भनेर लेखिएको छैन । बषट्कारलाई रुद्रसँग पनि जोडिएको पाइएकाले यो ध्वनि उत्पत्तिको व्याकरणीय परिबन्दसँग गाँसिएको हुनुपर्दछ र यो जान्नका लागि थप अध्ययन आवश्यक पर्दछ भन्ने अनुमान गरियो । त्यस्तै सोमयाग यज्ञ भनेर भनिएको छ, त्यो के हो र कसरी गरिन्छ, खुल्दैन । 

ऋग्वेदको अध्ययन गर्दा निर्धन ऋषिहरू धनका लागि इन्द्र, वरुण, आदित्य, मरुतहरूसँग अनुनय–विनय गरेको देखिन्छ । तिम्रो प्रशंसामा हामी स्तोत्रहरू बनाउँछौं र सामगान गर्दछौं भन्दै हामीलाई धन प्रदान गर, स्वर्ण प्रदान गर, गाई र घोडा प्रदान गर, हाम्रो रक्षा गर भनेर भनिएको देखिन्छ । पूरै वेदभरि आफू र आफ्नो वंशको रक्षाका लागि प्रार्थना गरेको देखिँदा त्यस बेलाको समाज प्राकृतिक विपद्बाट बच्नका लागि, अनपेक्षित शक्तिबाट संरक्षित रहनका लागि परा–अपरा, देखिने–नदेखिने प्राकृतिक शक्तिको आह्वान गरेको हो भन्ने लाग्दछ । ऋग्वेद पढ्दै जाँदा धेरै स्थानमा यी यी देवशक्तिहरूले ऐश्वर्य प्रदान गरून् भनेर कामना गरिएको छ । खानका लागि अन्न, गाई, घोडा, स्वर्ण आदिको कामना गरिएको छ । यसले के देखाउँछ भने वेद कृषि युग सुुरु हुनुभन्दा अघिदेखि नै यसका मन्त्रहरू बन्न थालिसकिएको देखिन्छ । वेदमा गाईलाई रुद्रकी माता र अवध्य भनेको छ । यज्ञमा घिउको प्रचुर मात्रामा प्रयोग हुनु र घिउ प्रशोधनको प्रक्रिया समेतको विकास भएको देखिँदा यो युग कृषि पेसामा निकै अगाडि बढेको र विकास भएको देखिन्छ । 

वैदिककालीन समाज समाजिक संहितामा आबद्ध भइसकेको र सांस्कृतिक रूपमा गोलबद्ध भएको परिष्कृत अवस्थाका रूपमा देखिन्छ । सातवटा नीतिहरू उल्लंघन गर्नेलाई पापी भनिने छ र त्यस्तालाई संहार गर्नुपर्दछ भनेर भनिएको छ । ती सातवटा नीतिहरू के–के हुन् प्रस्ट लेखिएको देखिँदैन, तर सँगैका ऋचाहरू पढ्दा ईश्वरको अस्तित्व नमान्ने, यज्ञ नगर्ने तथा यज्ञमा विघ्न–बाधा उत्पन्न गर्ने जस्ता तीन नीति चाहि‘ प्रस्ट देखिन्छन् । यसले के दर्शाउँछ भने आर्यनहरू अग्निको प्रज्ज्वलन विधि अरनीबाट उत्पत्ति गराउने (अर्थात दुई काठहरूलाई घर्षण प्रक्रियाद्वारा अग्नि उत्पन्न गराउने) कार्यलाई महत्व दिन्थे र यज्ञद्वारा अग्निको उपासना गर्ने अग्निहोत्री थिए । यसैको अर्को पाटो के देखिन्छ भने सोही समयमा तत्तत् स्थानमा यज्ञ विरोधी अनार्यहरू पनि थिए जसलाई आर्यहरू असुर भन्न रुचाउँथे । असुर अर्थात यज्ञ नगर्ने, अनिश्वरवादी । 

नृवंसशास्त्रीहरूले मानिसको उत्पति अफ्रिका महादेशमा भएको र त्यहाँबाट झुण्ड झुण्डरूपमा फरक–फरक कालखण्डमा बाहिर आएर पृथ्वीका अन्य भागहरूमा छरिएर रहेका हुन् भनेर मान्दछ । त्यसरी अफ्रिकाबाट बाहिरिने क्रम दशहजार वर्ष अघिसम्म कायम थियो भनेर पनि भनिन्छ (युभा नोहा हरारी, होमो सापियन्स) । यी कुराहरू वैज्ञानिक खोज र अनुसन्धानमा आधारित भएर गरिएको अध्ययनको निष्कर्ष हो । आर्यनहरू ककेसिय पर्वतमालावाट गाई, घोडा लिएर दक्षिण बसाइ सरेको प्रजाति हो भनिन्छ । अध्येता म्याक्स मुलरको विचारमा ककेससबाट एउटा झुण्ड युरोपतिर र अर्को झुण्ड भारततिर लागेका हुन् । तर यो बसाई सर्ने क्रम कहिलेबाट सुुरु भयो भनेर भन्न कठिन छ । मेसोपोटामियामा उत्खननको क्रममा पाइएको लिंग पूजाको अवशेषले यसरी बसाइ सर्ने काम ईसापूर्व २ हजार वर्षदेखि भएको हुनुपर्दछ भन्ने अनुमान छ । 

आर्यनहरू बसाई सर्दा आफ्नो साथमा उन्नत र परिष्कृत भाषा, गाई, घोडा र गृहस्थका लागि अपरिहार्य शिल्पहरू लिएर झरेका हुनुपर्दछ । आर्यनहरूले भाषागत समृद्धि गरेर नै हजारौं वर्ष अगाडि भाषिक र धार्मिक अनमोल ग्रन्थहरूको रचना गर्न समर्थ भएका हुन् । समाजमा प्राज्ञ व्यक्तिहरू थोरै हुने भएकाले सर्वसाधारण अशिक्षित जनसमुदायलाई ज्ञान दिन, नीति र नियम सिकाउन, धर्माचरण गर्न, सांस्कृतिक विधिविधानहरू सम्पन्न गर्न कथ्य साहित्य र विम्बहरूको प्रचुर प्रयोग हुने गरेका रहेछन् भन्ने कुरो स्पष्ट देखिन्छ । चक्रको अनुसन्धान, रथको निर्माण, युद्धमा रथको प्रयोग जस्ता आविष्कारले आर्यनहरूको महत्वपूर्ण उपलब्धि देखिन्छ । त्यसैले ऋग्वेदभरि जहाँजहाँ इन्द्रको प्रशंसा गरिएको छ, त्यहाँत्यहाँ हरि नामको दु्रतगामी घोडा चडेर आउन आह्वान गरिएको छ । 

आर्यहरू बसाइ सरेर आउँदा हालको इरान, अफगानिस्तान, पाकिस्तानस्थित बलुचिस्तान, सिन्ध हुंदै विशाल भारतको गुजरात, उत्तर प्रदेश, पञ्जावसहित अन्य स्थानहरूमा फैलिएको देखिन्छ (रोमला थापर, ए हिस्ट्री अफ एन्सिएन्ट इन्डिया) । आर्यनहरू इरानबाट भारततर्फको यात्रामा लाग्दा बलुचिस्तान र सिन्धु क्षेत्रमा नगर सभ्यता विकास भइरहेको कुरा बलुचिस्तानको प्राचीन स्थलहरूको उत्खननबाट देखिएका माटाका भाँडा, हतियार, इँटा, नगरको वास्तुकला आदिले प्रमाणित गरेका छन् । सिंधु सभ्यता र हरप्पन सभ्यता ईसापूर्व ३३०० देखि १३०० सम्म रहेको देखिन्छ भन्ने अनुसन्धानकर्ताहरूको भनाइ रहेको छ । जसरी सिन्धु सभ्यता भनेर हालको सिन्ध प्रान्त जानिन्छ त्यसैगरी हरप्पन सभ्यता भनेर हालको पञ्जाबलाई जानिन्छ । त्यस समयमा १ हजार बस्ती थिए भनेर भनिन्छ । इन्द्रले नष्ट गरेरको ९९ पुरहरू यिनै मध्येको हुनुपर्दछ । 

ऋग्वेदमा उल्लिखित नदीहरू गङ्गा, जमुना, सरस्वती, सप्तसिन्धु, गोमती नामका नदीहरूले वेदको लेख्य परम्परा ईसापूर्व १५ सयतिर यही नदी सिञ्चित क्षेत्रमा भएको हो भन्ने मान्यता धेरै विद्वान्हरूको रहेको छ र यसमा विमति राख्नुपर्ने आवश्यकता देखिएन । वेद जतिखेर लेखियो त्यो समयमा सरस्वतीको जलप्रवाह वेगवान र कृषि प्रयोजनका लागि सर्वथा उपयोगी रहेको हुनुपर्दछ भन्ने कुरो सप्तसिन्धु र सरस्वतीको प्रशंसामा लेखिएका ऋचाहरूले प्रस्ट पार्दछन् । अहिले सरस्वती नदीको लुप्त अवस्थामा रहेको अनुमान गरिन्छ । दृश्यमा यसको अस्तित्व देखिँदैन । भौगर्भिक कारणले भूसतहमा आएको परिवर्तनले सरस्वती नदीको मुहान सुकेको हुनसक्दछ । 

इन्द्रलाई ऋग्वेदमा सर्वशक्तिमान देवताका रूपमा दर्शाइएको छ । दशमण्डलमा बाँडिएको ऋग्वेद प्रत्येक मण्डल एउटा कालखण्डको प्रतिनिधि हो भन्ने लाग्छ । एउटा कालखण्डको ऋषिहरूले सिर्जना गरेको वैदिक मन्त्रहरू शिष्यहरूले कण्ठाग्र गर्दै जाने र पछि आफू ऋषिको आसनमा पुगेपछि आफ्नै सिर्जनाहरू पनि थपथाप गर्दै जाने गरेको हो कि भन्ने देखिन्छ । 

वेदमा अग्नि, इन्द्र, आदित्य, वरुण, मरुत, अश्विनीकुमारहरूको अति नै धेरै गुणगान गरिएको छ । इन्द्रलाई जलप्रवाह रोकेर राख्ने वृत्तासुरलाई वज्र प्रहार गरी संहार गरेको कथासहित वृतहन्ता भनिएको छ । त्यसैगरी इन्द्रले असुरहरूको ९९ पुरलाई नष्ट गरेको भनेर लेखिएको छ । सम्भवतः आर्यनहरू आफ्नो गाई र घोडा लिएर अहिलेको बलुचिस्तान आइपुग्दा त्यहाँको नगर सभ्यतासँग परिचित भएको तर त्यहाँको नगरवासी आसुरी प्रवृत्तिको यज्ञ अनुष्ठान नगर्ने र आर्य संस्कृतिका विरोधी असुरहरू थिए कि भन्ने संकेत गरिएको छ । बलुचिस्तानमा गरिएको उत्खननबाट प्राप्त प्रमाणले त्यस कुरालाई बल प्रदान गरेको छ (रोमिला थापर, हिस्ट्री अफ अर्ली इन्डिया) । सहरमा सिसा बनाउने, माटोको भाँडा बनाउने, महिलालाई गहना बनाउने जस्ता शिल्पी काम हुन्थे भन्ने देखिएको छ । नगरबाहिर गाउँमा बस्ने आर्यहरूका ऋषिहरू जंगलमा कुटी बनाएर यज्ञ आदि कर्ममा रमाउने भएको हुँदा यिनीहरूको बीचमा सांस्कृतिक अन्तर्संघर्ष भएको हुनुपर्छ र इन्द्रको सहायताले ९९ वटा नगर बस्तीहरू ध्वस्त पारिएको हुनुपर्दछ । 

ऋग्वेदमा विष्णुको र रुद्रको प्रशस्तिमा केही केही ठाउँमा वर्णन गरिएको छ । ब्राह्मणस्पति जस्ता शब्दले ब्रह्मशक्तिको उल्लेख कतैकतै गरिएको भए पनि ईश्वरलाई अजन्मा र सबैको केन्द्रमा परमतत्वका रूपमा रहेको यही तत्व नै देवशक्तिको आश्रयस्थल हो भनेर भनिएको छ । 

यसरी हेर्दा इन्द्रलाई भौतिक र अभौतिक शक्तिका रूपमा प्रस्तुत गरिएको देखिन्छ । त्यो कसरी भने ९९ नगर नष्ट गर्ने इन्द्र सोमपान गरेर, रथारोहण भई युद्ध गरेर शत्रु पराजित गर्ने शक्तिका प्रतीक राजा हुनुपर्दछ भने वज्र प्रहार गरी वृत्तसुर वध गर्ने इन्द्र अभौतिक तर प्राकृतिक तत्व सम्मिलित आध्यात्मिक शक्ति हुनु पर्दछ । 
केही विद्वान्हरूको मत यो रहेको छ कि ऋग्वेद ईसापूर्व करिब १५ सयको वरिपरि लेखिएको हुनुपर्दछ । वेदमा वर्णित सुनका कुरा, नगरका कुरा र कृषिका कुराहरू हेर्दा वेद कृषियुग सुरु भएपछि रथको आविष्कार र खेत खन्ने जोत्ने आदि प्रविधिहरू विकास भइसकेपछिको अवस्थामा लेखिएको हुन सक्दछ । तर, वेदले आफू संहिताबद्ध हुन लामो कालखण्ड व्यतित गरेकामा कुनै मतान्तर हुन सक्दैन । 

संस्कृतले सर्वप्रथम परिष्कृत भाषाका रूप लियो । यसले व्याकरण सिर्जना गर्‍यो । वर्णमालाको विकास गर्‍यो। यी सबै गर्दा भाषाले सांस्कृतिक मान्यता पाउन पर्‍यो । समाजमा स्थापित भएर सांस्कृतिक मान्यता पाएपछि त्यसको विधिविधान बनाउने प्रक्रियासम्म आउन यसले हजारौं वर्ष व्यतित गरेको छ । हजारौं वर्षको ऋषिमुनिहरूको अथक प्रयासबाट सिर्जित धर्म र संस्कृतिको दायर तथा आयाम धेरै फराकिलो छ, उद्वात्त छ र शीर्ष छ । 

वेदलाई संहिताबद्ध गरेको इपू १५ सयको हाराहारीमा भए पनि सनातनी धर्म र दर्शनको जरो समाजमा प्रतिष्ठित थियो भन्ने त ईपू ६०० तिर बुद्ध धर्म सम्प्रदायको उदयले पनि देखाउँछ । यो बेलासम्म त सनातनी परम्परा निकै फैलिएको रहेछ भन्ने देखाउँदैन र इसाको पहिलो शताब्दीबाट सुरु भएको कृस्तानी र सातौं शताब्दीमा सुरु गरिएको इस्लाम त भर्खरै देखापरेका धार्मिक सम्प्रदायहरू हुन् । अतः प्राचीन र सनातनी धर्मको मूल हजारौं वर्षदेखि संरक्षित वेद नै हो । वेद हाम्रो मानव सभ्यताको साक्षी हो । वेद समस्त ज्ञान, विज्ञान, आचार, विचार र दर्शनको योग हो । यसको संरक्षण गरौं । 

  



Author

थप समाचार