महाकाव्यकार समको आलोचनामा शर्माले ओकलेको आगो
नेपाल एकेडेमीका सदस्य, प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सैनिक दीर्घ सेवा पट्ट, ले. कर्णेल बालकृष्ण सम (शमशेर जङ्गबहादुर राणा ?-लेखक) लाई नेपाली संसारले आजसम्म उनका नाटकहरू हेरेर सम्मान गर्दै आएको थियो ।
कालु पाँडेका बेलाको झ्याम्लाङे दौरा लगाई साइकलमा दगुर्ने बीसौं शताब्दीका समले ऋग्वेदको झोलमा राल चुहाउँदै आजका पिकासो र एलिअटतिर समेत ईखालु आँखाले हेर्न नबिर्सेको देख्दा उनको चाखप्रति हामीले छक्क पर्नुपरेको छ । जीउ सिंगार्नलाई शेक्सपियरको वेलाका ढँटूवारलाई बिर्साई चार घण्टा दिनहुँ बिताउने उनको कलाप्रेमी परिवारले उनलाई यो ‘चिसो चूल्हो’ (चुलो ? लेखक) को खिच्रो पकाउँदा कस्तो र के सघाउ र हुटहुटी दिन भ्यायो र दिन सक्यो बुझ्न हम्मे पर्छ ।
‘चिसो चूल्हो’ पनि उनको परिवार सुहाउँदो पाराले त्यान्द्रातुन्द्री, लफ्र्याङलेफ्र्याङ, उत्ताउला रङहरू, बनावटी भनाइहरू धुस्रोफुस्रोले सिंगारिएकै छ । अब कति दिन बाँचुला भन्ठानेरै होला समले आफ्नो सारा बल र बुता खर्च गरेर यसलाई रम्याउने जम्को गरेका थिए । उनका ज्ञानहरूको सारांश यहीं छ, भूगोल यहीं छ, इतिहास र दर्शन, विज्ञान धर्म यहीं छन् । चित्र यहीं छन्, परिवारका सदस्यहरूको नाउँ यहीं छ । ‘यहाँ के छैन, सबथोक छ !’
‘चिसो चूल्हो’लाई महाकाव्य होइन भनेर एम.ए.को पाठ्यक्रमबाट हटाइएछ । तर्कमा के दिइएछ भने यसको मुख्य पात्र सन्ते लुरे दमाई भएकाले महाकाव्यको पात्र हुन सक्तैन, किनभने पुराना संस्कृतका विद्वान्हरूको भनाइअनुसार मुख्य पात्र वीर, राजा वा ठूला घरानाको, धीर, सुरो आदि के के हुनुपर्छ । यो भनाइ थोत्रो र युग बिब्ल्याँटे हो ।
ठूला घरानाहरूको एकाधिकार जसरी राजकाजमा युगको विकास सँग-सँगै हट्तै गइरहेछ र जनतन्त्रवाद, समाजवाद र साम्यवादको फलाको जताततै आज सुन्न पाइन्छ, त्यसरी नै साहित्यमा पनि खालि कल्पनाका उडन्ते ईश्वरको बारेका कुराहरू र ठूलाबडा भनाउँदाहरूको विषयका कुराहरूको एकाधिकार हटी तिनको ठाउँमा युग-युगदेखि चुसिएका, हेपिएका र हप्काइएका तल्लो वर्गका जनताहरू आउन थालेका छन् । यो वैज्ञानिक विकास हो, प्रगति हो ।
समले पनि यसै प्रगतिको भलमा बगेर दमाईलाई आफ्नो महाकाव्यको मुख्य पात्र बनाएकामा अवश्य नै हामीले उनलाई जस दिन जान्नुपर्छ । दमाईलाई किन महाकाव्यको मुख्य पात्र बनाउन सकिँदैन भन्ने तर्क बाहुनवादका ढुँडीमा हुर्केका र काट्टो घिच्न पल्केकाहरूबाट सुन्न पाइएको छैन । प्रजातन्त्रेली नेपालमा भोलि कुनै योग्य दमाई प्रधानमन्त्री नहुन सक्नु सम्भव छैन, त्यस बेलामा पनि हाम्रो नेपाल राष्ट्रै रहनेछ-बिग्रने छैन । त्यस्तै ‘चिसो चूल्हो’ पनि सन्ते दमाईलाई मुख्य पात्र बनाउँदैमा महाकाव्यै नहुने भन्ने कुरो ढाँट कुरो हो- यो अवश्य नै महाकाव्य हो ।
विश्वमा जन्मेको जुनसुकै मानिस पनि महाकाव्यको मुख्य पात्र हुन सक्छ । यहाँ युग चेतना र वर्ग स्वार्थको कुरो आउँछ । पुरानो समयमा तल्लो तहका जनतालाई मानिस ठानिँदैनथ्यो- दास र चाकर ठानिन्थे तिनीहरू ! त्यति वेलाका चेतनशील थिए माथिल्लो तहकाहरू जसले तल्लो तहका जनताका हाड र रगत मासुमाथि महल ठड्याएर चैन गर्ने दाउ सिकेका थिए र बल जम्मा गरेका थिए ।
त्यसै हुनाले साहित्य पनि एकल्काँटे हुन्थ्यो- ठूला बडाको बारेमा काव्य लेखिन्थे । उनीहरूलाई वीर, धीर र उदारको संज्ञा दिइन्थ्यो, प्रचार गरिन्थ्यो । काव्यमा तल्लो वर्गका जनता वीर, धीर र उदार हुन नसक्ने कुरो लेखिन्थ्यो, किनभने त्यसको बिब्ल्याँटोमा लेख्नाले दासताका महलहरू विद्रोहको आगोमा पाक्ने थिए । दास युग र सामन्ती युगका यी पुराना विचारहरू डढेर गइसक्नुपर्ने र सडेर कुहिसक्नुपर्नेमा अझै रहिरहनाले के देखाउँछन् भने हाम्रो देश यो थोत्रा युगहरूबाट गुज्रिसकेको रहेनछ । यिनै थोत्रे युगहरू र विचारहरूको काट्टो गर्न पनि समले ‘चिसो चूल्हो’मा दमाईलाई मुख्य पात्र बनाउने प्रगतिशील पाइलो चालेका हुन् ।
‘चिसो चूल्हो’लाई सिरानदेखि पुछारसम्म उत्तिकै चाखले पढ्न सकिँदैन । बरु सूचीमा दिएको कुराबाट नै कथा छर्लङ्गसँग थाहा पाइन्छ । भित्र पसेर दर्शन र इतिहासहरूको पाखुरा सुर्काइ हेर्दा हाम्रो कपाल चटचटी दुख्न थाल्छ र समले खालि सूची मात्र लेखेको भए वा त्यसलाई केही बढाएको मात्र भए होइहाल्ने थियो भने जस्तो लाग्छ । हुन पनि पुरानो मान्यताको विरोध गरी दमाईलाई मुख्य पात्र बनाउने प्रगतिशील सम अरू कुराहरूमा पनि प्रगति गर्दैनन् ।
महाकाव्यमा दर्शनहरूको विवेचना, इतिहासको बयान, भूगोलको वर्णन र विज्ञानको विश्लेषण गर्नैपर्ने भन्ने विचार प्रगतिशील होइन । पुरानियाँ दक्षिण एसियालीहरूको भनाइअन्सार महाकाव्यमा हुनुपर्ने विभिन्न गुणहरूलाई उनले समावेशै गर्न खोजेकैले यो महाकाव्य टर्रो, तितो, पिरो र अमिलो गिजोलेर तयार पारेको कुरो भयो । सन्ते दमाईमै र गौरी छेत्रिनीमै महाकाव्य साँघुरिनु र सूक्ष्मिनु पर्थ्यो ।
उनीहरूका मनका भावनाहरूलाई केलाउनु र निफन्नु पथ्र्यो । सन्तेको मथिङ्गलदेखि उँभो उक्लेर नेपालको इतिहास बखान्ने, ग्रीसको बारेमा ज्ञानको फुइँ गर्ने, डार्विनको सिद्धान्त छाँद्ने र माक्र्सलाई लिएर पृथ्वीको ओरिपरि रिङ्गटा छुदुन्जेल कुद्ने समलाई सन्ते र गौरीमा भन्दा बढ्ता चाख आफूले पढेको ज्ञानको बारेमा दुनियाँलाई फलाको गर्ने कुरामा रहेछ भन्न कर लाग्छ । सन्ते र गौरीप्रति न्याय भएको छैन ।
जसको बारेमा महाकाव्य लेखिन्छ, तिनलाई अलपत्र छोडेर आफ्नो अल्मलिएको दर्शनलाई छाँद्नुपर्ने खाँचो थिएन । ‘नियमित आकस्मिकता’का लथालिङ्ग दर्शनवेत्ता, ‘आगो र पानी’का केही अलमलिएका तर धेरै सफल कवि, ‘म कहिल्यै पनि मर्दिन’ (नँ ?-लेखक) र ‘चिसो चुल्हो’मा आएर पनि जब उही करा घरिघरि लाज पचाएर दोहोर्याउँछन् हाम्रो मन उनीतिरबाट वाक्क भए आउँछ ।
त्यही ग्रीसको कुरो, उही वेद र उपनिषद्का फलाका, उनको ‘नियमित आकस्मिकता’का फेद न पुच्छरका सिद्धान्तहरू उनका आज-भोलिका हरेक रचनामा पाइन लागेका छन् । उनी कुनै बटुलोमा भाषण गर्दा समेत तिने कुरा पट्यार लाग्ने गरी दोहोर्याउँछन्, तेहेर्याउँछन् र चौबर्याउँछन् । उनको भाषणलाई रेकर्ड बनाएर हरेक सभा बटुलोमा बजाइने गरेमा उनलाई धेरै सजिलो पर्ने थियो-बोलिरहने वा पाउकष्ट गरिरहने झन्झटै पर्ने थिएन । त्यही कुरो उनका लेखोटहरूमा पनि मन्न सकिन्छ । उही मान्छेले घरिघरि लुगा फेरेझैँ उनै विचारहरू खाँदेर उनी आफ्ना लेखहरूका टाउका र केही शब्दहरू मात्रै फेर्छन् । विचारका हेराइले सम ‘आगो र पानी’मै मरिसकेका थिए । अचेल विचारमा मरेका समको पिसाचले हामीलाई पिरोलिरहेको छ । बूढेसकालमा लेखकहरूमा विचार दोहोरिनु नौलो कुरो होइन ।
अंग्रेजी साहित्यका प्रसिद्ध कवि वर्ड्स्वर्थ पनि बूढा हुँदै जाँदा समजस्तै फटाइँ गर्थे, पहिलेका राम्रा राम्रा शब्द, भाव र वाक्यांशहरू फेरि दोहोर्याएर उत्तिकै प्रभावशाली कविता अझसम्म लेख्न सक्छु भनेर जनतालाई अल्मल्याउँथे । सम पनि त्यही ड्याङका मुला हुन् र अब उनबाट मौलिक कुराको आस गर्नु अक्कासको फल आँखा तरी मर् भनेझैँ मात्तै हो !
कुनै पनि रचनामा लेखन्तेले जुन पात्रहरूको बारेमा लेखेको हुन्छ तिनका मनको, शरीरको, घटनाको र अरू सम्बन्धको बखान गर्नुपर्छ । ती पात्रहरूलाई चिनाउने, बुझाउने र छर्लङ्ग्याउने वातावरण, समय र परिस्थितिका गतिविधिको पनि छनक अवश्य नै त्यस रचनामा हुनुपर्छ तर ती पात्रहरूलाई अलपत्र छाडेर अक्कासमा रम्न घुम्न निस्कनु भने सफल लेखकको काम होइन । सन्ते दमाई र गौरी छेत्रिनीको बीचमा प्रेम छ । त्यो प्रेम राम्रो हो, प्रगतिशील हो । प्रेममा ती दुई भुट्भुटिन्छन्, छट्पटाउँछन्, उखर्माउलिन्छन् । त्यसको ओखती बिहे हो ।
दमाई र छेत्रीनीको बिहे आजको नेपालमा सामन्ते झ्याउरेहरूले असुहाउँदिलो ठहराए पनि प्रगतिशीलको फेटा गुत्न चाहने समले समेत गौरी र सन्तेलाई पर्सेको बोकाझै बिल्लिबाँठ पारेर छोड्नु असाध्यै चित्तदुख्तो कुरो हो । दमाईलाई महाकाव्यको मुख्य पात्र बनाउनु हुँदैन भन्नेहरू भन्दा सम एक पाइलो मात्तै अगाडि बढेका छन्- युगअनुसार क्रान्तिकारी वा जनतन्त्रवादी हुन सकेका छैनन् । बिहेको ता कुरै छोडौँ, गौरी र सन्ते एकाअर्कालाई अँगालो मारेर म्वाइँ खान पनि पाउँदैनन् ।
बिचराहरू एकअर्कासँग कुरा गर्न पनि पाउँदैनन्- टुलुटुलु मुखामुख गरेर थुक घुट्घुटो निल्छन् मात्तै । बात नमारीकन पनि त्यस्तो उखर्माउलो प्रेम वा मायाँ बढ्न सक्छ भन्ने कुरामा म पनि पत्यार राख्छु तर मेरो आफ्नो गाउँले र तल्लो वर्गमा हुर्केको गिदीले के भन्छ भने सन्ते जस्तो तन्नेरीले गौरीलाई एक वचन पनि ‘म तिमीलाई अग्घोरै माया गर्छु’ भन्न नसक्नु असुहाउँदिलो र नहुने कुरो हो । गौरी आईमाई भएकोले ‘तिम्रो स्वास्नी हुन पाए त नि’ भन्न नसक्ली रे लौ, तर ‘कसो दाइ, सन्चै छ ?’ भनेर मुख फोर्न त त्यसले अवश्य नै सक्नैपर्ने हो । तल्लो वर्गका तरुनी र तन्नेरीहरू निर्धक्कसँग एकाअर्कासँग बात मार्छन्, हाँसठट्टा गर्छन् ।
हात हालाहाल नगरी तल्लो वर्गमा प्रेम टुसाएको मेरा आँखाले त देखेको छैन । दर्बारमा हुर्केका बालकृष्ण सम शमशेर जङ्ग बहादुर राणा छँदै कुनै दमिनी वा कमिनीसित खिचिएका र उनको प्रेमलाई कुनै निठुरीले ठुन्क्याइदिएको हुनाले नै अहिले प्रजातन्त्रमा आएर बूढा पनि भइसकेकाले त्यस भावनालाई कुत्कुती लागी लागी व्यक्त गर्न खोजेका ता होइनन् ? किनभने माथिल्लो वर्गकाहरूमा देखादेखमै हुरुक्क हुने पारा देखिएको छ । तल्लो वर्गका जनताको अध्ययन नै समबाट भएको छैन ।
‘चिसो चूल्हो’लाई महाकाव्य होइन भनेर एम.ए.को पाठ्यक्रमबाट हटाइएछ । तर्कमा के दिइएछ भने यसको मुख्य पात्र सन्ते लुरे दमाई भएकाले महाकाव्यको पात्र हुन सक्तैन, किनभने पुराना संस्कृतका विद्वान्हरूको भनाइअनुसार मुख्य पात्र वीर, राजा वा ठूला घरानाको, धीर, सुरो आदि के के हुनुपर्छ । यो भनाइ थोत्रो र युग बिब्ल्याँटे हो ।
नयाँ विचारकाहरूलाई खुसी पार्न दमाई जस्तो छुन नहुने भनिएको सानो जातको ठिटो र छेत्रिनी जस्तो माथिल्लो जातको ठिटीसँग पनि प्रेम गराउन सकिन्छ भनेर मानवता र समताको व्याख्या समले एकातिर छाँटेका छन् भने अर्कातिर उनले सन्तेलाई एक पल्ट पनि गौरीको जीउलाई छुने अनुमति नदिएर पुरानियाहरूलाई थाम्थुम पार्ने जमर्को गरेका छन् । ‘प्रेमको भावना टुसायो रे लौ, तर मैले हाम्रो सनातन धर्मको उल्लङ्घन गरेकै कहाँ छु र, कहाँ सन्ते र गौरीले एकाअर्कालाई छुन्छन् र ?’ भन्ने भावना ‘चिसो चूल्हो’को कथामा लुकाएर समले छुवाछूतको नजानिँदो समर्थन गरेका छन् ।
मुखले समर्थन गर्नु, भाषण छाँट्नु वा गफ हाँक्नु एउटो कुरो हो र भने जति कुरालाई परेर व्यवहारमा ल्याउनु वा गरेर देखाउनु अर्कै कुरो हो । व्याख्यामा समता र भ्रातृत्वको फुटानीसाथ समर्थन गर्नेले आफ्ना पात्रहरूको जीवनमा समेत ती तत्त्वहरूको प्रयोग नगरेमा त्यस रचनाका लेखुवालाई उडन्ते, गफी र बुद्धिवादी अप्रगतिशील भन्नुपर्छ । यस्तो चमेरे नीति साह्रै डरलाग्दो र हानिकारक हुन्छ ।
महन्तको मुखबाट नेपालको इतिहास फलाक्न लगाएकोमा सन्ते र गौरीको प्रेमलाई चिन्नमा केही सघोट नपाइए पनि समको देश प्रेम देख्न पाइन्छ तर पशुपतिको महन्तले ग्रीसको इतिहास कुर्लेकोमा भने असुहाउँदिल्याइँ देखिन्छ र देखिन्छ सम आफैँ भूइँफुट्टा भएर कथामा तघारो भएर तेर्सिएको । सूची नहेरीकन महाकाव्य थाल्ने मान्छे कथा नढेकोमा उकुस्मुकुसिने छ, छटपटाउने छ, वाक्किने छ । घटना पटक्कै एक डेग अघि सर्दैन ।
जताततै शब्दहरूको कुदाइ छ, सीप छ-त्यसले कविता छ । गद्यमा साह्रै राम्रा कविताहरू यस महाकाव्यमा पाइन्छन् तर ती कविताहरूसित मुख्य पात्रहरूको केही सम्बन्ध छैन । पात्रहरूलाई चिन्नमा र बुझ्नमा सघाउ गर्ने जस्तै घटना र बयान पनि न लेखकले आफ्नो रचनामा जोर्न पाउँछ र जोर्नुपर्छ पनि । तर समले पट्टाइलाग्दो कवि गोष्ठी र यस्तै अरू कुराहरू यस महाकाव्यमा जोडेका छन् बिनाकारण । यो देख्दा कवि समले यस बडेमानको महाकाव्यमा ती बेग्लाबेग्लै गहिरा विषयहरूको थुप्रो नलगाई छुट्टाछुट्टै अंशमा छापेका भए धेरै असल हुने थियो भन्नुपर्छ ।
उदेक त केमा मान्नुपर्छ भने समको जीवनभरिको ज्ञानको थुप्रो समाजको अगाडि प्रकट गर्ने भाँडो सन्ते र गौरीको मामुली कथा कसरी हुन पुग्यो ? सन्ते र गौरीका शरीरको, घरबारको, छर्छिमेकको, घुम्न र काम गर्न जाने ठाउँको बयान, हावापानीको बयान र उनीहरूका मनको बयान गरेर पाठकहरूलाई कथातिर तानी अगाडि बढ्नुपर्ने आफ्नो उत्तरदायित्वलाई समले वास्ता गरेका छैनन् । महाकाव्यका विभिन्न सर्गहरूलाई एउटै मालामा गुथ्ने सन्ते र गौरीका कथा हुदाहुँदै पनि बेकामे फूलहरूका डङ्गुर नभेटिने गरी डोरी नै हराउँछ- सन्ते र गौरी नै कता पुग्छन् कता ! पात्रहरूको यस्तो अवहेलना गरिएको बिरलै रचनामा मात्तै देख्न पाइएला ।
‘चिसो चूल्हो’ले नेपालको दरिद्रतातर्फ औंल्याउँछ । चापागाउँको सन्ते दमाई नेपालका तल्लो वर्गहरूको प्रतिनिधि हो । उसको चुलामा आगो बल्दैन । त्यस चुलामा आगो नदेख्ता पीरले भुटभुटिने गौरीले पनि आगो बाल्न सक्तिन । ऊ पनि ता भुटेको मकै पोल्टामा हालेर गाई चराउन जाने ल्याकतकी ठिटो हो । ऊ गरिपकी छोरी भएकीले नै बूढो पोइसित पर्छे र बिधुई पारिन्छे । सेतो दर्बारमा सुसारे हुन पुग्ने गौरी माइतमा फर्केपछि बिरामी भएर मर्छे, सन्तको प्रेमको पीरले होला ।
सन्तेलाई गौरी मरेको सुनेर चोभारमा गएर हाम्फालेर जिभ्रो टोक्न मन लाग्छ, तर चोभार कराएको गौरी चिच्याएझैँ लाग्छ र उसमा अमर प्रेम जन्मन्छ । तन्नेरीले तरुनीलाई गर्ने छाले प्रेमको यो आदर्शवादी बखान अपत्यारिलो छ । बुद्धत्वभन्दा माथि उक्लेको भन्ठानिएको सन्तेको प्रेम गौरीको आङमा साँघुरिएको छ- गौरीको चोलोलाई अँगालेर मुटभुटिनुमा उकुस्मुकुसिएको छ ।
समाजका चिसा चुलाहरू तताउनु छ, तर समले तताउने आस देखाउन सकेका छैनन् । त्यसैले होला, कितापको खोलमा छापेको नक्सामा काठमाडौंको उत्तरतर्फ देखिने तीनोटा चुलाका ढुङ्गाझैँ बसेका हिउँका चुचुराहरू नेपालका गरिपहरूका चुलाहरू नतात्ने संकेत स्वरूप उभ्याइएका छन् । समले सन्ते र गौरोको असफल प्रेममा दुई थोपा आँसु झार्दै सन्तेका चुलाको आगालाई सधैँको निम्ति निभाइदिएका छन् । दमाई र छेत्रिनीमा प्रेम देखाउन खोज्ने प्रगतिशील समले त्यस चोखो प्रेमलाई बीचैमा निमोठेका छन् । समका सन्तेहरूले कहिले गौरीहरूलाई बिहे गर्लान् ? सन्ते र गौरीको बिहे हुन नसक्ने देखाउनुले पनि ‘चिसो चूल्हो’लाई ओह्रालेको छ ।
महाविद्यालयमा छात्रहरूले आफ्नो कागतमा विभिन्न प्राध्यापकहरूले दिएका विभिन्न विषयहरूका खेस्रा गज्याङमज्याङ गरेर सारेझैँ ‘चिसो चूल्हो’को लेखाइ छ । जीवनभरि समले पढेको ज्ञान यसमा थुपारिएको छ । उनको अध्ययनको क्षेत्र साह्रै विशाल भएकैले सो पच्न नसकी उकुस्मुकुस भएर उनले नराम्रोसित डकारेका छन् । यही झुसिलो डकार ‘चिसो चूल्हो’ हो ।
(आजभन्दा ५१ वर्षअघि साझा प्रकाशनबाट प्रकाशित पुस्तक ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’बाट ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया