विम्ब परिवर्तन गर कवि हो !
सिसिफस मात्रै एक्लो व्यक्ति होइन,
जसले पहाडका टाकुरामा ढुङ्गा अड्डाउन सकेन ।
म हुँ अर्को सिसिफस !
होइन भने, म हुनुपर्दछ ।
प्रमिथस मात्रै एक्लो व्यक्ति होइन,
जसले स्वर्गबाट आगो चोरी ल्यायो ।
तिमी पनि हौ अर्को प्रमिथस !
होइनौ भने, तिमी हुनुपर्दछ ।
कृष्ण, बुद्ध, मोहम्मद, जिसस मात्रै एक्ला व्यक्ति होइनन्,
जो पृथ्वीको अँध्यारोमा पिल्पिलाए ।
तिमी हौ अर्को, म हुँ अर्को !
होइनौँ भने, हामी हुनुपर्दछ ।
स्वरमा राम्रो कोइली कसले लेखेको ?
खोज र च्यात ती हरफहरू ।
र, नयाँ अक्षरमा लेख- कागको ‘काँ..काँ’ ।
काग कराएको तिमीलाई कठोर लाग्छ भने
तिमी यो हदसम्म मुलायम बन कि
कागको कठोर आवाजमा
जीवन्तता देख्न सक तिमी ।
अन्यथा कोइलीबारे मात्रै कविता लेख्न
तिमीलाई कुनै अधिकार छैन ।
लालीगुराँसबारे कविता लेख
तर तिहुरीबारे लेख्दिनँ भन्न तिमी पाउँदैनौ ।
गाईपूजा गर
तर गाईको मासु खानेबारे लेख्दिनँ भन्न तिमी पाउँदेनौँ ।
लेख तिमी-
गंगा र यमुना संरक्षणका कविता
तर यी नदी मानव हुन् भनेर तिमी सत्ताको भाषा बोल्न पाउँदैनौँ ।
लेख तिमी- विरुपाक्षबारे कविता
तर आमाले दिसा धोइरहँदा
सन्चो मानिरहेको बालकबारे पनि तिमीले लेख्नुपर्छ ।
तर तिमी लेख्देनौ,
तिमी त्यही लेख्छौ-
जो तिमीलाई लेखाइन्छ ।
मैले थाहा पाइसकेँ,
तिम्रो देश महान् छ,
भलै देश महानिशामा जकडिइरहोस् ।
तिम्री आमा महान् छिन्,
चाहे उनी जीवनभर दासी होइरहून् ।
तिम्रो प्रधानमन्त्री बाठो छ,
चाहे ऊ तिमीलाई नै पङ्गु बनाइरहोस् ।
तिम्रो प्रेमिकाको छाती हिमाल जस्तो छ,
चाहे तिम्रा कविताकै कारण
उनले आफ्नो छाती छोप्दै हिँड्न परोस् ।
मैले थाहा पाइसकेँ,
तिमीले लेख्दिएरै हिमाल अग्लिएका हुन् ।
तिमीले लेख्दिएरै नदी बगिरहेका हुन् ।
तिमीले लेख्दिएरै चराहरू उडिरहेका हुन् ।
तिमीले लेख्दैन थियौ भने-
झुसिलकिरा पुतली नै बन्थेन ।
अब त पुग्यो, अलि हुने कुरा लेख न यार !
मलाई थाहा छ,
आकाश आकाश होइन आमाको मजेत्रो हो,
भरियाको नाङ्ग्लो हो, किसानको थाप्लो हो ।
बादल बादल होइन, तिम्रो जिन्दगी हो,
तिम्रो भविष्य हो, तिम्रो सपना हो ।
यार,..कति दुःख बेसाउँछौ ?
यदि यति दुःखी नै छौ भने छोड कविता लेख्न ।
बन्दुक समाऊ, सत्ता अठ्ठाऊ, मोज गर ।
तिमीलाई जे हो, त्यो लेख्न कसले रोकेको छ ?
नचाहिँदा अलंकार र एकै विम्ब लेख्न कसले आँट दिइरहेको छ ?
सगरमाथा नचढीकन
सगरमाथाबारे तिमीमा यो आत्मगौरव किन ?
तिमीले भनेर हुन्छ ?
देखाऊ कुन गुलाब हो जसका काँडाले तिम्लाई घोचेन ?
देखाऊ कुन क्षितिज हो, जो तिम्रो प्रियसी ओठको रङ जस्तो रातो छ ?
देखाऊ कुन खहरे हो, जसलाई तर्दा तिम्रो बाउ पछारिएनन् ?
कहिले बुझ्छौ ?
उदाउँदो सूर्यबारे लेख्नु भनेको
पृथ्वीको अर्को धरातल अँध्यारो छ भन्नू हो ।
म मान्दिनँ कि,
सगरमाथाको चुचुरोभन्दा अग्लो अर्को थोक कुनै छैन ।
म मान्दिनँ कि,
बुद्धभन्दा अहिंसा चाहने अर्को कुनै व्यक्ति नै छैन ।
एउटा विम्बलाई कतिपटक लेख्छौ ?
एउटै सन्दर्भ स्रोतलाई कतिपटक खोतल्छौ ?
एउटै निष्कर्षमा कतिपटक पुग्छौ ?
पुग घरगाउँ, सहर बजार !
डुल, देश-देशावर, जङ्गल-खोच, समुद्र-गुफा !
सुन, कागको पनि का..का,
सारौंको पनि सल्याङबल्याङ्ग !
छामिहेर, खरानीको पनि तातोपन !
चिप्लेकिराको पनि खस्रोपन !
तिमी कवि हौँ भने मूर्ख बन्न पाउनेछैनौ
र यदि मूख्याइँ नै चाहन्छौ भने
मूर्खको परिभाषा फेर्ने ल्याकत राख ।
अन्यथा, एकै भाष्यमा कविता नलेख कवि हो,
अन्यथा, एकै विम्बमा कविता नलेख कवि हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया