सप्ताहन्त

नेपाली अर्थतन्त्रको अन्तर्य बुझाउने पुस्तक

पुष्पराज आचार्य |
मंसिर १९, २०७८ आइतबार ६:२४ बजे

अध्ययन र कार्यअनुभवले खारिएका अर्थविद् डा. रेवत बहादुर कार्कीले नेपाली अर्थतन्त्रका विविध पक्षलाई समेटर पुस्तक प्रकाशन गरेका छन्– ‘नेपालको अर्थतन्त्रका आयामहरू’ । नेपाली अर्थतन्त्रलाई सहज ढंगले बुझ्नका लागि यो पुस्तक निकै उपयोगी छ । लेखक आफैं नेपाल राष्ट्र बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा काम गरेका साथै नेपाल स्टक एक्स्चेन्ज, धितोपत्र बोर्ड तथा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तथा सेन्टर फर माइक्रो फाइनान्स– नेपालको अध्यक्ष भएर काम गरेकोले उनले पुस्तकमा व्यवहारिक अनुभवबाट आर्जित ज्ञानबाट समेत पुस्तकलाई अझै गहकिलो बनाएका छन् । 

पुस्तकमा अर्थतन्त्र मापन विधिदेखि नेपालको अर्थतन्त्रका प्रमुख विशेषताहरू, यसका सशक्त र कमजोर पक्ष तथा अवसर र चुनौतीको बारेमा विश्लेषण गरिएको छ । नेपाली अर्थतन्त्रका संरचनात्मक समस्याहरू र त्यसको निदानका बारेमा लेखकको चिन्तन पढ्न पाइन्छ । 


लेखकले नेपाली अर्थतन्त्रलाई कोभिड–१९ महामारी सुरु हुनुअघिको अवस्था र महामारी शुरु भएयताको अवस्थाको तुलनात्मक स्थिति समेत समेटेका छन् । कोभिड–१९ले शिथिल बनाएको नेपाली अर्थतन्त्रको पुनरुत्थानका लागि गहकिला सुझाव प्रस्तुत गर्ने क्रममा उनले वास्तविक क्षेत्र (रियल सेक्टर), सरकारी वित्त (बजेट), बैंकिङ्ग तथा वित्तीय क्षेत्र र बाह्य क्षेत्रको स्थायित्वका लागि गर्नुपर्ने कामहरूको फेहरिस्त प्रस्तुत गरेका छन् । 

कोभिड–१९ महामारीले अर्थतन्त्रमा बहुआयमिक असर पुर्‍याएको परिस्थितिमा उनले वास्तविक क्षेत्र अन्तर्गत जनजीविकाका लागि राहत तथा रोजगारीका कार्यक्रम, लगानी आकर्षण तथा मुद्रास्फिति नियन्त्रणमा जोड दिएका छन् । कोभिड–१९ का शुरुवाती दिनमा विभिन्न वस्तु र सेवाको मागमा कमी आएपनि कोभिड–१९ खोपको उपलब्धतासँगै जनजीवन विस्तारै सामान्य हुँदै जाँदा खासगरी आपूर्तिजन्य कारणले अहिले बजारमा उच्च मुद्रास्फिति (हाइपर इन्फ्लेसन)को सामना गर्न उपभोक्ता बाध्य छन् । एकातिर कोभिड–१९ले आम्दानी गुमेको स्थिति र त्यसविपरित उच्च मूल्यवृद्धिले गरिबी बढाउनसक्नेतर्फ लेखकले सचेत गराएका छन् ।

त्यस्तै सरकारको बजेट प्रणालीमा सुधारका लागि विद्यमान परिस्थितिलाई उपयोग गर्न सुझाव दिदैं उनले अवाञ्छनीय साधरण खर्चमा कटौती, सरकारी खर्चको चुस्त/प्रभावकारी व्यवस्थापन, बाह्य सहायताको व्यवस्थापन, विवेकपूर्ण राजस्व परिचालन गरी कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतभन्दा ठूलो घाटा बजेट बनाउन नहुने तर्क गरेका छन् । 

अर्थतन्त्रलाई चलायमान गराउन महत्वपूर्ण बैंक तथा वित्तीय क्षेत्रमा महामारीका कारण कर्जा असुलीमा समस्या हुनसक्ने, निष्कृय कर्जा बढ्न सक्ने, तरलता समस्या देखापर्न सक्ने स्थितितर्फ सचेत गराउँदै लेखकले वित्तीय क्षेत्रको प्रभावकारी नियमन हुन नसकेमा त्यसले प्रणालीगत संकट (सिस्टमिक क्राइसिस) निम्त्याउन सक्ने भएकाले प्रभावकारी नियमन तथा तत्कालीन संकट समाधानका लागि वित्तीय क्षेत्रमा आउनसक्ने समस्याहरूको यथार्थ समीक्षा गरी चरणवद्ध कार्यक्रम ल्याउनुपर्ने राय प्रस्तुत गरेका छन् । 

महामारीले बाह्य क्षेत्रको स्थायित्वमाथि चुनौती सिर्जना गरेको परिस्थितिमा आयात प्रतिस्थापन हुनसक्ने वस्तुहरूको मुलुकभित्र उत्पादन र वितरणमा जोड दिने, विलासी वस्तुहरूको आयात नियन्त्रण गर्ने र निर्यात बढाउनेतर्फ कार्यक्रमहरू यथाशीघ्र लागू गर्नुपर्ने औंल्याएका छन् । जलविद्युत्, उच्च मूल्यका कृषि वस्तु तथा जडिबुटी निकासी, कोभिड–१९ को असर कम हुँदै गएपछि विभिन्न आकर्षक प्याकेजमार्फत् बाह्य पर्यटक भित्र्याउने तथा भविष्यमा समेत आइपर्नसक्ने यस्ता संकटसँग जुझ्न नेपाली अर्थतन्त्रको उत्थानशीलता (रिजिलियन्स) अभिवृद्धिमा उनले जोड दिएका छन् । 

पुस्तकमा २०४८ को निर्वाचित सरकारले गरेका महत्वपूर्ण कानुनी, प्रशासनिक र संस्थाहरूमा सुधारपछि आर्थिक सुधारले निरन्तरता पाउन नसकेको र मुलुकको अर्थतन्त्र त्यही सुधारको जगमा उभिएको उल्लेख गर्दै सुधारका कार्यले निरन्तरता पाउनुपर्ने पक्षमा वकालत गरेका छन् । 

रेमिट्यान्स आप्रवाहले आयात बढ्न गएको र नेपाली समाजमा देखिएको उपभोगवादले सरकारले राजस्व पनि प्राप्त गरिरहेको तर सरकारले प्राप्त राजस्वलाई अत्यावश्यक पूर्वाधार (क्रिटीकल इन्फ्रास्ट्रक्चर) र उत्पादनशील क्षेत्रमा लगाउन नसकेका कारण नेपाली अर्थव्यवस्था रेमिट्यान्समा आधारित आयात र आयातमा आधारित राजस्वको दुष्चक्रमा परेको सत्यलाई उजागर गर्दै पुस्तकले रेमिट्यान्स अल्पकालीन साधन भएकाले त्यसको उपयोग गरी मुलुकमा पूर्वाधार निर्माण, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसके आर्थिक–सामाजिक क्षेत्रमा प्राप्त उपलब्धीहरू समेत धराशायी हुनसक्ने कमजोर जगमा नेपाली अर्थतन्त्र उभिएको भन्दै उनले नेपाली अर्थतन्त्रको गुह्य विशेषतालाई बडो सजीव ढंगले प्रस्तुत गरेका छन् । 

विभिन्न आर्थिक वर्षको बजेटको विश्लेषण गर्दै त्यसमा नीतिगत घोषणाहरू भएपनि कार्यान्वयनको कमजोरी सबैले लुकाउने गरेको र सरकारको बजेट घोषणा अनुसार काम हुन नसक्ने दुर्भाग्यपूर्ण स्थितिको चर्चा पुस्तकमा गरिएको छ । संघीयताको अर्थ–राजनीतिक आयामलाई पनि लेखकले महत्व दिएका छन् । 

बैंकिङ्ग वित्तीय क्षेत्र, पुँजी बजार सुधारमा आफैं सहभागी भएर तथा नेतृत्व लिएर काम गरेका डा. रेवतबहादुर कार्कीले व्यवहारिक अनुभवबाट प्राप्त ज्ञानको माध्यमबाट पुस्तकमा खँदिला पठनीय सामग्रीहरू प्रस्तुत गरेका छन् । सामाजिक कार्यमा समेत निकै सक्रिय लेखक कार्की नेपालमा पुँजी बजार सुधारका ‘भीष्मपितामह’ नै मानिन्छन् । उनको निरन्तरको अध्ययन र लेखनको प्रतिफलका रूपमा अर्थतन्त्रमा रूचि राख्ने आम पाठक सामु यो पुस्तक बजारमा आएको छ । अर्थतन्त्रमा रुचि राख्ने, अध्ययन र सोध गर्नेहरूका अतिरिक्त नीति निर्माताहरूका लागि समेत पुस्तक त्यत्तिकै उपयोगी देखिन्छ । 

पुस्तकको नाम : नेपालको अर्थतन्त्रका आयामहरू 
लेखक : डा. रेवतबहादुर कार्की 
वितरक : एम.के. पब्लिसर्स एण्ड डिस्ट्रिब्यूटर्स, भोटाहीटी, काठमाडौँ 
पृष्ठसंख्या : ४५०
मूल्य : ५०० रुपैयाँ 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x